महावीरलाई एक रुपैयाँ

सविता विमली

काठमाडौँ — फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ संकलनका लागि उनले आफूले पाएका पुरस्कार तथा पदक लिलामीमा राखे । सन् २००७ मा उनले प्राप्त गरेको म्यागासेसे पुरस्कार पनि लिलामीमा राखे ।

यद्यपि ती पुरस्कार बिक्री भएका छैनन् । केन्द्रलाई दिने भनी घोषणा गरिएको जग्गा केन्द्रको नाममा अझै लगिएको छैन । किनकि भोलि कतैबाट आवश्यक रकम संकलन नभए त्यही जग्गा बेच्ने योजना छ ।


अहिलेसम्म केन्द्रमा करिब ७ करोड संकलन भएको छ । यही क्रमले आवश्यक रकम संकलन हुन वर्षौं लाग्नेछ । सरकारले कुनै आर्थिक सहयोग गरेको छैन । देश/विदेशमा रहेका श्रमजीवी/कर्मजीवी नेपाली तथा केही विदेशी सहृदयीहरूका सहयोगले यो संस्था स्थापित हुन खोजिरहेको छ ।


उनी उदारमनाहरूले गरेका सानातिना सहयोग रकम फेसबुकमा लेखिरहन्छन् । चेक, रसिद, बैंक भौचर, तस्बिर सेयर गरिरहन्छन् । एउटा यस्तो सिर्जनशील व्यक्ति रकम संकलनको सुसेधन्दामा अल्झिरहनु बडो टिठलाग्दो छ ।


प्रिय पाठक ! महावीरलाई आविष्कारको सिर्जन यात्रामा लागिरहन हामी सहयोग गर्न सक्छौं ? सत्ताले त सदैव दुर्गा प्रसाईं, शारदाप्रसाद अधिकारीलाई नै सहयोग गर्ने हो । महावीरहरू सत्ताको प्राथमिकतामा कहिल्यै पर्दैनन् । जुनसुकै समय, विचार र पार्टीको सत्ता भए पनि सिर्जनालाई उत्प्रेरित गर्न सदैव चुकेको छ ।

हामी महावीरलाई उत्प्रेरित गर्न सक्छौं कि ?


२०६८ को जनगणना अनुसार नेपाली २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना छौं । १४ देखि ५९ वर्ष उमेर समूहको संख्या ५६.९६ प्रतिशत छ । र यो उमेर समूह अद्यापि कर्मशील छ ।


संविधान घोषणापछि तीन तहको निर्वाचन सम्पन्न भयो । संघीय संसद तथा प्रदेशसभा निर्वाचनमा मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ थियो । १ करोड ५ लाख ८७ हजार ५ सय २१ (६८.६३ प्रतिशत) मतदाताले मतदान गरेकोमा ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएको र ९.७१ प्रतिशत मत बदर भएको थियो ।


यस निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ थियो । जसमा तत्कालीन एमाले ३१,७३,४९४ (३७.१ प्रतिशत), नेपाली कांग्रेस ३१,२८,३८९ (३६.६ प्रतिशत), तत्कालीन एमाओवादी केन्द्र १३,३,७२१ (१५.३ प्रतिशत), राजपा ४,७२,२५४ (५.५ प्रतिशत) र संघीय समाजवादी फोरम ४,७०,२०१ (५.५ प्रतिशत) रहेको साथै करिब १० लाख मत बदर भएको तथा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसकेका बाँकी ४४ दलले पाएको करिब १० लाख मतको संसदमा प्रतिनिधित्व हुन सकेन । समानुपातिक मतका आधारमा के भन्न सकिन्छ भने करिब ९० लाख मानिस राजनीतिक रूपमा कुनै विचार, सिद्धान्तसँग आबद्ध छन् । म लोकप्रिय मततर्फ गएकी छैन ।


अहिले संघीय संसदमा २७५, राष्ट्रियसभामा ५९ तथा प्रदेशसभामा ५५० गरी ८८४ सांसद छन् । स्थानीय तह अन्तर्गत ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिकामा २९३ मेयर/उपमेयर, ४६० गाउँपालिकामा ४६० अध्यक्ष/उपाध्यक्ष, ६,७४३ वडाध्यक्ष, ६,७४३ महिला/दलित महिला सदस्य, १३,४८६ खुल्ला सदस्य गरी ३५,२२१ जनप्रतिनिधि छन् ।


करिब १ लाख ३० हजार निजामती कर्मचारी रहेको तथा आवश्यक नपुग कर्मचारी लिने क्रम चलिरहेको छ । करिब ९५ हजार सेना, ७२ हजार प्रहरी, ३७ हजार सशस्त्र, आधारभूत तथा माध्यमिक तहमा कार्यरत करिब २ लाख २५ हजार शिक्षक, त्रिभुवन विश्वविद्यालयमा करिब ८ हजार शिक्षक तथा करिब ७ हजार कर्मचारी छन् । यसमा २ हजारभन्दा बढी आंशिक शिक्षकहरू पर्दैनन् । अन्य विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको संख्या करिब ५ हजार छ ।


निजी विद्यालयहरूको छाता संगठन प्याब्सनमा करिब पाँच हजार तथा एनप्याब्सनमा १५ सय विद्यालय आबद्ध रहेको र तिनमा करिब २ लाख शिक्षक तथा कर्मचारी कार्यरत छन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा करिब ९ लाख निजी कम्पनी दर्ता छन् र ती कम्पनीमा दैनिक काम गर्ने न्यूनतम २ जनाको हिसाबले अनुमान गर्ने हो भने पनि त्यो संख्या १८ लाख हुन आउँछ । विभिन्न उद्योग तथा कलकारखाना, व्यापार तथा व्यवसाय, बैंक तथा वित्तीय संस्था, निजी सञ्चार माध्यम, निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरतहरूको संख्या कति होला ? जो महिनापिच्छे आम्दानी गर्छन् वा तलब बुझ्छन् ।


करिब ४० लाख नेपाली शिक्षा तथा रोजगारीको सिलसिलामा देश बाहिर छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ सय २० मिलियन डलर करिब १३ अर्ब ऋण लिन सरकारले वार्ता टोली गठन गरेको खबर पढेपछि महावीरले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘ऋणै लिने भए अर्को १ अर्ब थपेर ऋण लेऊ र त्यो १ अर्ब राष्ट्रिय आविष्कार केन्द्रलाई ऋण देऊ ।’ त्यो ऋण केन्द्रले समयमै चुक्ता गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित ५ अर्ब १ करोड रकम अपुग भएपछि आगामी ५ वर्षमा खर्च गर्नेगरी उक्त रकम बराबरको ऋण लिन लागिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले कस्तो नतिजा दियो भनेर लेखिरहनु परोइन ।


माथिको तथ्यांकले बोल्छ, कुनै न कुनै पेसामा आबद्ध नेपालीको संख्या उल्लेख्य छ । हामी राजनीतिक रूपमा सचेत जाति हौं । समानुपातिक मतको संख्याले पनि त्यो चेतनाको संकेत गरेको देखिन्छ । यो सब हेर्दा कम्तीमा ५० लाख कर्मयोगी छौं । पेसाकर्मी छौं । यो देशभित्रको संख्या हो । राष्ट्रकै अर्थतन्त्रको बलियो आधार रहेको वैदेशिक रोजगारी जोडिएको छैन । ५० लाख कर्मयोगीसँग मेरो अनुरोध छ, हामी प्रत्येक दिन राष्ट्रिय आविष्कार केन्द्रको नाममा १ रुपैयाँ छुट्याऔँ । यो रकम १ दिनमा ५० लाख १ महिनामा १५ करोड र १ वर्ष (३६५ दिन) मा १ अर्ब ८२ करोड ५ लाख हुन्छ । यो रकम हामी ५० लाख कर्मजीवीको हरेक दिनको मात्रै १ रुपैयाँले सम्भव छ ।


यो रकम महावीरको सपनाको लागि सञ्जीवनी हुनसक्छ । महावीरका सपना हामी नेपालीका लागि राष्ट्रिय समृद्धिका आधार हुन् । हाम्रो सपना हाम्रै पालामा समृद्धिको साकार रूप देख्ने हो । सत्ता शारदाप्रसादहरूकै मात्र भइरहँदा हामी जनता महावीरका हुन सक्छौं कि ? राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालयन बैंकको ठमेल शाखाको खाता नं. ०१९०६३२२०६००१७ तपाईंको दैनिक १ रुपैयाँलाई पर्खिरहेको छ । आउनुहोस्, यो १ रुपैयाँबाट हामी समृद्धिको नयाँ आधार निर्माणमा सहयात्री बनौं । सहयोगी बनौं ।

प्रकाशित : आश्विन १, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?