१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

संस्कार कि दासता ?

रामेश्वरी पन्त

एक्काइसौं शताब्दीको उत्तरार्धमा पनि एकथरी नेपाली महिला पितृसत्ताको ढाल बनेर पैरवी गरिरहेछन् । कसरी शिक्षित भनिएका महिलाहरू परम्परा जोगाउने नाममा दासत्वको निकृष्ट परम्परालाई निरन्तरता दिन्छन् भन्ने कुराको उदाहरण भर्खर बिदा लिएको यो वर्षको तीजमा देखियो ।

संस्कार कि दासता ?

थोरैमात्र पनि हीनताबोध नगरी तीजमा लोग्नेको खुट्टा पखालेको पानी खाएको तस्बिर सगर्व सामाजिक सञ्जालमा पोस्ट गर्ने होडबाजीमा पत्रकार र विदेशमा गएर विद्यावारिधि गरेका नयाँ पुस्ताका महिला अगाडि आए ।


आफूलाई विकृति र विसंगति विरुद्ध उभ्याएको ठान्ने एकजना पत्रकारले श्रीमतीले आफ्नो खुट्टाको जल खाँदै गरेको तस्बिर सगर्व सार्वजनिक गरेपछि त्यसको विरोधमा बोल्नेहरू जति निस्के, पत्रकार पत्नीले ‘संस्कार जोगाएको’ भन्दा वाहवाही गर्नेको संख्या पनि कम देखिएन । यसैबीच ‘धर्म र संस्कार जोगाउन खोज्दा आफ्नो खेदो गरेको’ भन्ने पत्रकार पत्नीको आशय पनि केही अनलाइनमा पढ्न पाइयो । यसै प्रसंगको पक्षपोषण गर्दै एकजना साहित्यकारले लेखे–‘हामी नेपाली संस्कृतिमा छौं ।


हाम्रा आमा, सासूहरूले सिकाएको संस्कृति, सभ्यता र संस्कार कहिल्यै गलत हुँदैन । वर्षदिनमा एकपटक श्रीमानको गोडा धोएर पानी खानु भनेको बद्रीनाथ, केदारनाथ र मुक्तिनाथको दर्शन गरेर पाउ स्पर्श गरेजस्तो पुण्य प्राप्त हुनेछ ।’ यी विद्वानलाई साथ दिन केही पीएचडीधारीहरू पनि अगाडि आएको पाइयो, जसको नजरमा महिलाको स्थान र मुक्तिको धाम तिनका लोग्नेको पाउ हो ।

७ वर्षको उमेरमा बिहे गरेर पराइघर भित्रिएकी मेरी आमाले म सानो छँदा मेरो कपाल कोरिदिंँदै गाएको गीत अझै सम्झन्छु ।

‘कोरिबाटी नानी घर जाउली

स्वामीज्यूका पाउको जल खाउली ।

स्वामीज्यूका पाउको जल कस्तो ?

माली गाईका दूधको तर जस्तो ।’


सानोमा आमाले गाएको यो गीत लोरीजस्तै लाग्थ्यो । तर जब बुझ्ने भएँ, सबैभन्दा घिनलाग्दो गीत यही लाग्यो । बुबा बाँचुन्जेल आमाले तीजमा मात्र होइन, हरेक दिन बिहानै बुबाको गोडा पखालेको पानी खाएर आफूलाई धन्य पार्नुहुन्थ्यो । जति सम्झाए पनि मान्नुभएन । सायद आमालाई त्यो ‘जल’ माली गाईको दूधको तरजस्तै लाग्दो हो ।


तर जति जल खाए पनि बुबा ६० वर्ष पनि नपुग्दै स्वर्गे हुनुभो, ९१ वर्षकी आमा अहिले आफ्ना छोरी, नातिनीहरूमा आएको परिवर्तन देखेर दङ्ग हुनुहुन्छ । पुस्तैनी विरासतमा आएको त्यो गीत आमासम्म मात्रै सीमित रह्यो । कुनै छोरीलाई कहिल्यै सोध्नुभएन, ‘तिमीहरूले ज्वाइँको गोडाको जल किन खाएनौ ?’ भनेर । आजका आमा, सासूहरू छोरी–ज्वाइँ र छोराबुहारीले सँगै खाना पकाएको, एउटै टेबुलमा बसेर खाएको, सँगै भाँडा माझेको हेर्न लालायित छन् ।


तर किन केही शिक्षित पुरुष महिलालाई तिनको पाउभन्दा माथि देख्न चाहँदैनन् ? धर्म र संस्कृतिको आडमा थोपरिएका यस्ता कुपरम्परालाई जीवित राख्न चाहन्छन् ? आफूलाई लोकतन्त्र र समानताका मसिहा ठान्ने नेताहरू विधिनिर्माणको सर्वोच्च थलोमा पुगेर छोरीले समानता खोजे संस्कार मासिने र परिवार ध्वस्त हुने ऐलान गर्छन् ।


अस्ति मात्र नागरिकता सम्बन्धी बहसमा प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी (?) भनिँदै आएको दलका एकजना सदस्य जो कुनै बेला गृह राज्यमन्त्रीसमेत भइसकेका थिए, उनैले ‘नागरिकता वितरणमा समानता हुनुपर्छ’ भन्ने आवाजलाई ‘संस्कृति विरोधी’ भन्दै ‘महिलाले समानता खोजे संस्कार मासिन्छ र परिवार ध्वस्त हुन्छ । त्यसैले छोरीलाई समानता माग्न नसिकाउँ’ भनेको सुनियो ।


यदि उनको यो अभिव्यक्ति पर्टीकै धारणा हो भने खेदपूर्ण छ । छोराहरूसँगै अन्तरिक्ष यात्रा गर्न सक्षम छोरीहरूलाई ‘तिमीहरूका लागि चारधाम तिम्रा पतिको पाउ हो । अतः त्योभन्दा बढ्ता अधिकार र समानता नखोज’ भन्ने ? यस्ता नेताबाट कस्तो आस गर्नु नागरिकले ? योभन्दा लज्जाजनक अभिव्यक्ति अर्को के हुनसक्ला ?


यो बहसमा म आफ्नै घरको भविष्य पस्कँदैछु । समान पढाइ, समान प्रतिस्पर्धा गर्दै समान योग्यतामा पुगेका मेरा छोराछोरी दुबैले पेसा मिलाएर विवाह गरे भने व्यस्तता चारैजनाको उस्तै होला । र, पनि प्रकृतिले सुम्पेको अतिरिक्त जिम्मेवारी मेरा छोरी र बुहारीले बहन गर्नैपर्छ । यसका बावजुद के हामी आमाहरू यी छोरीहरूलाई ‘तिमीहरूले परम्परा र संस्कार जोगाउने जन्मजात ठेक्का लिएका छौ । अतः आफ्नो पेसा बाहेक दैलोकुचो, भातभान्सा गर्नु, लोग्नेलाई काम सघाउन नभन्नु, हामीलाई पनि आराम चाहिन्छ नभन्नु, महिला र पुरुष बराबर हकका हिस्सेदार हुन् भन्ने कुरा गर्दै नगर्नु । यसो भनेमा तिम्रो घरपरिवार ध्वस्त हुनेछ’ भनेर पढाउनु ?


छोरीलाई समान शिक्षा र समान अधिकार व्यवहारमा लागू हुन यस्तै तगारा बाधक भएकाले छोरी, बुहारीले धर्म, संस्कार, परम्परा र पारिवारिक मर्यादाका नाममा शारीरिक तथा मानसिक यातना भोगिरहेका छन् । केही दिन अघिमात्र एक चिकित्सक छोरीको दर्दनाक अवस्थाको आलेख पढ्दा मैले आफ्नी छोरीको भविष्य सम्झेँ ।


के परिवारको कथित मर्यादा र सेवा पुर्‍याउनकै लागि भोलि मेरी छोरी पनि आफ्नो पेसा छाड्न बाध्य पारिएली ? के भोलिको उसको जीवनसाथीले पनि उसलाई ती चिकित्सक छोरीलाई जस्तै घर सम्हाल्न तैंले पेसा छाड्नुपर्छ भन्ला ? के सार्वजनिक पेसामा समान हिस्सेदारी गरेको सहने छोराहरूले घरको काममा हिस्सेदारी गर्न सक्दैनन् ? के मेरो छोराले यो सबै गर्न सक्दैन ? तँ छोरी होस्, त्यसैले तँ संस्कारी हुनुपर्छ । बिहेपछि लोग्नेको गोडा ढोग्नुपर्छ भनेर घोकाउँ ? अथवा समान पेसाबाट सँगै फर्केकी बुहारीलाई बिहानै छोराको टेबुलमा चिया पुर्‍या’ भनेर आदेश दिऊँ ?


परिवार विघटन हुन्छ भनेर यी सब गर्नु हुँदैन । पुरुष र महिला दुबैको समान भूमिकाले मात्र परिवारको अस्तित्व रक्षा हुन्छ । परिवार जोगाउन छोरीहरूले मात्र आफ्नो स्वभिमानको बलि दिनुपर्छ भन्ने सामन्ती सोच र दास मानसिकता पाल्नेहरूले गर्दा नै आज कैयौं छोरीको जीवन नर्क भएको छ । कैयौं बुहारी हिंसाको सिकार भएर जीवनबाटै विमुख बन्नुपर्ने अवस्था छ । त्यसैले चाहे नागरिकतामा होस् या सम्पत्तिमा, पेसागत होस् या घरको जिम्मेवारीमा छोरा र छोरीलाई समान रूपले जिम्मेवार बनाऊँ ।


छोरी र बुहारीको समान हक हुनुपर्छ । तर विदेशी नागरिकको हकमा ‘एक हातमा नागरिकता, अर्को हातमा बुहारी’ भनेर जसले हाम्रा छोरीलाई नैतिक शिक्षा पढाइरहेछन्, उनीहरू सच्चिनुपर्छ । विदेशी बुहारीको हकमा केही प्रावधान राखिनुपर्छ र केही वर्षको अन्तराल हुनुपर्छ । हाम्रा छोरीहरूजस्तै राष्ट्रियतालाई पनि सस्तो र कमजोर पार्ने कोसिस नगरेकै वेश ।

प्रकाशित : भाद्र ३०, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?