सत्ताको आडमा अपराध

सम्पादकीय

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा व्यापारी–व्यवसायीसँग जबर्जस्ती रकम असुली गर्ने गिरोहसँग जोडिएको देखिएपछि सत्ता र अपराधबीचको भूमिगत सम्बन्ध फेरि एकपटक चर्चामा आएको छ । आफ्ना दाइ प्रभावशाली मन्त्री रहेको पारिवारिक नाताको आडमा उनले फिरौती धन्दा चलाएको वा त्यस्तो धन्दा चलाउने गिरोहसँग निकट सम्पर्कमा रहेर काम गरेको घटनाक्रमले देखाउँछ ।

सत्ताको आडमा अपराध

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यही आरोपमा उनलाई यथेष्ट प्रमाणसहित पक्राउ गरेको र उनीलगायत अन्य केहीविरुद्ध अदालतमा मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ । यो प्रकरणले मुलुकमा सत्तासँगको सम्बन्ध, सहयोग वा प्रभावमा कुन स्तरका आपराधिक क्रियाकलाप हुने गरेको रहेछ भन्ने झल्को दिएको छ ।

दुई वर्षअघि राजधानीमा नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो, जसका मुख्य योजनाकार समीरमान बस्नेतसँग गृहमन्त्रीका भाइ नरेशको सम्बन्ध गाँसिएको देखिएको छ । हाल केन्द्रीय कारागारमा थुनामा रहेका समीरले त्यहींबाट फिरौतीको योजना बनाउने र उनका कारिन्दाले नरेशलगायत सत्तानिकट व्यक्तिहरूको संरक्षणमा रकम असुलीलगायत अन्य आपराधिक गतिविधि गर्ने गरेको प्रहरीको भनाइ छ । यसले हाम्रो राज्य सञ्चालनमा रहेको बेथिति–विसंगतिलाई मात्र देखाउँदैन, राजनीतिक प्रभाव दुरुपयोगको दृष्टान्तसमेत झल्काउँछ ।

सीआईबीले सम्भावित दबाब–प्रभावलाई मतलब नगरी गृहमन्त्रीका भाइलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्न थाल्नु आफैंमा प्रशंसनीय कार्य हो । तर गिरफ्तारीपछि स्वास्थ्य अवस्थालाई कारण देखाउँदै निजलाई केही समय हिरासतमुक्त अवस्थामा राखिनु र अन्य घटनाभन्दा विपरीत यसबारे समयमै विवरण सार्वजनिक गर्न नचाहनुले धेरथोर आशंका गर्ने ठाउँचाहिँ छाडेको छ ।

अनुसन्धानको संवेदनशीलताका कारण यस्तो भएको हो वा निजका दाइ मुलुकको गृहमन्त्री रहेका कारण दबाब सिर्जना भएको हो भन्नेबारे केही समयमै प्रस्ट होला । अब प्रहरीले अदालतमा दह्रो आधार–प्रमाण पेस गरेको खण्डमा मात्र नरेशप्रति नरम व्यवहार गर्न वा उनलाई जोगाउन खोजेको होइन भन्नेमा विश्वस्त हुन सकिन्छ । सीआईबीले यो मामिलाको भित्री तहसम्म पुगेर स्वतन्त्र अनुसन्धान गर्नुपर्छ, जसमा गृह प्रशासनबाट कुनै किसिमको हस्तक्षेप हुनुहुन्न ।

गृहमन्त्रीका भाइको नाम फिरौती रकम असुलीमात्र नभई मुलुककै एउटा चर्चित हत्याकाण्डमा समेत संलग्न आपराधिक गिरोहसँग जोडिएको छ । निजले आफ्ना दाइ गृहमन्त्री रहेको हैसियत एवम् प्रभाव देखाएरै यस्ता क्रियाकलाप गरेका हुन् । त्यसैले यस मामिलामा गृहमन्त्री रामबहादुर थापा स्वयंले यथार्थ के हो भन्ने प्रस्ट्याउनुपर्छ ।

आफूसँगको नाता–सम्बन्धका आडमा आफ्ना भाइले अनधिकृत गतिविधि गरिरहँदा उनी किन बेखबर रहे अथवा समयमै किन रोक्न सकेनन् भन्ने स्वाभाविक प्रश्न यहाँनेर उठ्छ । यदि यसबारे उनलाई कुनै जानकारी थिएन भने पनि यस मामिलाको नैतिक जिम्मेवारी लिँदै जनतासमक्ष क्षमायाचना गर्नुपर्छ र आगामी दिनमा यस्ता पदीय प्रभाव दुरुपयोग हुन नदिने उचित बन्दोबस्त मिलाउनुपर्छ । सबभन्दा मुख्य कुरा यस मामिलामा सीआईबीलगायत सरकारी निकायहरूलाई बिनादबाब निष्पक्ष ढंगबाट काम गर्ने वातावरण उपलब्ध गराउनुपर्छ ।

नरेश थापाको संलग्नता फिरौती रकम असुली वा त्यसका निम्ति सत्ताको संरक्षण प्रदान गर्ने सीमासम्म मात्र हो अथवा समीर–समूह संलग्न हत्याकाण्डजस्ता घटनामा पनि उनी जोडिएका छन्, त्यस दिशामा समेत पर्याप्त अनुसन्धान गरिनुपर्छ ।

राजनीति, सत्ता र शक्तिका आडमा अपराध गर्ने प्रवृत्ति नयाँ होइन । यस्ता गतिविधिमा नयाँ–नयाँ पात्रहरू जसरी जोडिँदै गएका छन्, त्यसले हामीकहाँ राज्यशक्तिको दुरुपयोग कुन स्तरमा बढ्दै छ भन्नेसमेत देखाउँछ । गृहमन्त्रीका भाइ जोडिएको घटना त संयोगवश सार्वजनिक भएको एउटा दृष्टान्तमात्र हो, अन्य थुप्रै मन्त्री, नेता र उच्च ओहदावाल व्यक्तिहरूका आडमा आर्थिक चलखेल एवम् आपराधिक कर्म गर्ने ठूलो जमात मुलुकमा फैलिरहेको छ ।

खासगरी सत्ताको संरक्षण मिल्यो भने जे पनि गर्न सकिन्छ भन्ने मनोविज्ञान व्याप्त हुँदै गएको छ । पहुँच हुने र नहुने दुइटा वर्गको विकास समाजमा भइरहेको छ । सत्ताको आड–भरोसा र आशीर्वाद पाएका प्रभुत्वशाली व्यक्तिहरूका बलमिचाइँमा बहुसंख्यक नागरिक पिल्सिनुपरेको छ ।

कुनै कागतालीले सार्वजनिक भएको गृहमन्त्रीका भाइ संलग्न आपराधिक मुद्दामा निजलगायत दोषीहरूमाथि उचित कानुनी सजाय भयो भनेमात्र यस्तो प्रवृत्ति केही निरुत्साहित हुनेछ, अन्यथा सत्ताको आडमा जे पनि गर्न पाइन्छ भन्ने मनोविज्ञानले नै टेवा पाउनेछ ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?