कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

फर्जी खबरको विषाक्तता

शब्द साक्षी
सीके लाल

काठमाडौँ — गएको साता अन्तर्जालमा एउटा विचारप्रधान पोर्टलले प्रस्तुत गरेको महत्त्वहीनजस्तो लाग्ने समाचारले गर्दा कतिपय अतिशय संवेदनशील राष्ट्रवादीको रक्सीको गिलासमा सानोतिनो आँधीतुफान नै सिर्जित भयो । नहोओस् पनि किन ! समाचारको शीर्षक नै त्यस्तै थियो, “एक पूर्व भारतीय जासुसको खुलासा, ‘रअले फ्याँकेको हो– नेपालमा राजतन्त्र’ ।”

फर्जी खबरको विषाक्तता

सम्बन्धित प्रस्तुतकर्ताको अन्धराष्ट्रवादी रुझान सार्वजनिक रहेकाले पोर्टलका अधिकांश परिदर्शकले त्यस खबरलाई खासै गम्भीरतापूर्वक लिएनन् । हराएको कुखुरा त चीलले लगेको हो भनेर दोष पन्छाउने स्यालहरूको कोकोहोलो ठम्याउन सामान्यजनलाई धेरै समय लाग्दैन, तर खोटो नोट सक्कलीभन्दा छिटो परिचालित हुन्छ भने आहान त्यसै बनेको होइन ।

अर्को एउटा छापा माध्यमका अति उत्तेजित समाचार संयोजकले स्वयं पत्रकार सम्मेलनमा सहभागी भएजस्तै गरेर ‘डेटलाइन’ समेत हाल्दै ठोकुवा गरिदिए, ‘भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस (रअ) का पूर्वअधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालसँग हातेमालो गरेको जनाएका छन् ।’

कुनै पनि घटना वा प्रवृत्तिबारे सहजै आकलन गर्न सकिने किसिमको प्रतिक्रिया जनाउने व्यक्तिहरूलाई अंग्रेजीमा ‘युजुअल सस्पेक्ट्स’ भन्ने चलन छ । तिनलाई मन नपर्ने नेपालको हरेक राजनीतिक घटनाक्रमका पछाडि भारतको हात देख्ने त्यस्तै प्रचलित पात्रहरूको एउटा जमात काठमाडौंमा राणाकालदेखि नै रहँदै आएको छ ।

तिनैमध्येका एक स्वनामधन्य पत्रकारिताका गुरुले उस्तै प्रकारको अर्को विचारप्रधान पोर्टलमा “नेपालबारे ‘रअ’ का पूर्वविशेष निर्देशकको पुस्तक र त्यसले निम्त्याएको तरङ्ग” शीर्षक राखेर गहन विश्लेषण पस्किए । सम्बन्धित सबै समाचार एवं विचारको स्रोत भने लोभ्याउने उद्धरणका साथ अपूरो सामग्री प्रस्तुत गर्ने कलामा महारत हासिल गरेको अन्तर्जालको भारतीय पोर्टल ‘डीएनए’ थियो ।

समाचारभित्रका अनगिन्ती असंगति देखेर हुनुपर्छ, कोलम्बोमा बसेर दक्षिण एसियाली पत्रकारिता गरिरहेका शुभाङ्ग पाण्डेको मनमा कौतूहल जागृत भयो । उनले अंग्रेजीको मूल समाचार हेरे । त्यसमा उनले स्पष्टता भेट्टाएनन् । पुस्तकका प्रकाशकसँग सम्बद्ध व्यक्तिसँग सम्पर्क गरे । उत्तर झनै गोलमटोल आयो । अनि उनले त्यही गरे, जुन प्रत्येक अन्तर्विवेकशील जिज्ञासुले ठोस धारणा बनाउनुअघि गर्नुपर्छ । उनले अन्तर्जालमा सहजै उपलब्ध पुस्तकको ई–प्रति किनेर पढे।

त्यसपछि नाम र तिथिमिति केही पनि नमिलेको पुस्तकका असंगतिहरू प्रस्टिए । सनसनीपूर्ण समाचार बनेको पुस्तकको विषयवस्तु सत्य घटनामा आधारित भनिए पनि वास्तवमा त्यो कलाविहीन प्रकृतिको काल्पनिक कृति रहेछ । नेपालमा अन्धराष्ट्रवादको विध्वंसक प्रवृत्तिसँग परिचित उनले तत्कालै त्यस उत्तेजक समाचारको सत्यतथ्य आफ्ना ‘ट्वीट’ शृंखलाद्वारा सार्वजनिक गरे।

त्यसै ट्वीट शृंखलामा आधारित मूल समाचार यस अखबारको सहप्रकाशन द काठमान्डु पोस्ट दैनिकको मुख्य पृष्ठमा प्रकाशित पनि भएको थियो । कथा भने त्यहीं टुंगिँदैन । फर्जी खबर छापेर सनसनी फैलाएका वरिष्ठ पत्रकारले आत्मालोचनाको साटो औपचारिक पक्षपोषण गर्ने प्रकारको ‘ऐपलोजिअ’ लेख्दै पूरै डरको खेती गर्ने गरी स्तम्भ नै प्रस्तुत गर्न भ्याएका छन् । शीर्षकले सोच्न निम्त्याउँदैन, बरु चेतावनी दिन्छ, ‘एउटा पुस्तकले ल्याएको भुइँचालो, तर क्षतिको परिणाम आउन बाँकी नै छ !’


प्रविधिको मायाजाल

अन्धराष्ट्रवादी रुझान भएका प्रचलित पात्रहरूको जमातमा आधा शताब्दी उमेर काटेकाहरूको बाहुल्य छ । तिनले अभ्यास गर्ने पत्रकारितामा तथ्य भनेको आधिकारिकता हो । दोषयुक्त समाचारको स्रोत भारतको प्रचलित पोर्टल भएकाले त्यसको आधिकारिकतामा प्रश्न उठाउने आवश्यकता महसुस नहुनु पुरानो पिढीका पत्रकारका लागि अनौठो होइन ।

आधिकारिकता यथास्थितिलाई निरन्तरता दिने बहाना मात्र हो भन्ने अवधारणालाई अंगीकार गरेका शुभाङ्गजस्ता नयाँ पुस्ताका केही लगनशील पत्रकार आफ्नै ‘पुष्टि पूर्वाग्रह’रूपी पेसागत दोषबाट मुक्त हुनसमेत निरन्तर प्रयत्न गरिरहेका हुन्छन् ।

सत्येतर (पोस्ट–ट्रुथ) भनिने समसामयिक परिस्थितिमा वस्तुगत तथ्यभन्दा पनि भावावेश एवं पूर्वाग्रहको दक्ष व्यवस्थापनले जनमत निर्माण गर्न थालेको छ । त्यसैले फर्जी खबरको खेतीपाती राम्रै फस्टाएको छ । एक अन्तर्विवेकशील पत्रकारको हस्तक्षेपले गर्दा प्रतिवेदित हुनुपर्नेमा उत्पादित समाचारका सम्भाव्य जोखिमहरू केही कम भए ।

चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतविरोधी नारा लगाउँदै लैनचौर पुग्ने ‘स्वस्फूर्त’ भीडलाई प्रहरीले नियन्त्रणमा लिनुपर्ने अवस्था आएन । तर भ्रामक खबर जनवृत्तमा बहसको विषय बन्नुपर्ने बेला भने भयो । छिमेकी भारतमा उत्तेजना फैलाउने मिथ्या समाचारको विस्तारले निर्दोषलाई अनियन्त्रित भीडले पिटेर मार्ने ‘लिन्चिङ’ प्रवृत्तिरूपी दावानल फैलिँदै गएको छ । अपेक्षाकृत उपेक्षणीय औपन्यासिक समाचारको गम्भीरतालाई ठम्याउन सकियो भने, तत्काललाई टरेको दुर्घटनाका पाठहरू भविष्यका लागि उपयोगी ठहरिन सक्नेछन् ।

समस्या परम्परागत पत्रकारितामा पनि छ । सत्ताको आकर्षणमिश्रित आतंकले गर्दा महत्त्वाकांक्षी कलमजीवीहरू शक्तिको आशुलिपिक हुन रुचाउँछन् । भारतमा आन्तरिक संकटकाल लागेका बेला पत्रकारहरूको निरीह प्रवृत्तिबारे वरिष्ठ राजनीतिकर्मी लालकृष्ण आडवाणीले विषादपूर्ण टिप्पणी गरेका थिए— तिनलाई झुक्न भनिएको थियो, लम्पसार परे ।

यस वर्षको प्रतिष्ठित एसियाली रेमन म्यागसेसे सम्मानप्राप्त भारतीय पत्रकार रवीश कुमार सेनाको हेलिकप्टर, प्रधानमन्त्रीको विमान वा पुँजीपतिको बैठककोठाबाट तिनका आशय अनुसार समाचार एवं विचार प्रवाहित गर्ने सन्निहित मिडियाकर्मीहरूको जमातका लागि ठाडै ‘गोदी मिडिया’ (ल्यापडग मिडिया) शब्दावली प्रयोग गर्ने गर्छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको प्रभामण्डलबाट चमत्कृत कतिपय वरिष्ठ नेपाली सम्पादकहरू पनि तेस्रो मधेस आन्दोलनताका ‘डोली मिडिया’ बन्न पुगेका थिए ।

अनित्य च्यूतिका (टेम्परेरी ऐबरेसन्स) का बावजुद मूलधारका मिडियाकर्मीहरूमा स्वतन्त्र, निष्पक्ष एवं वस्तुपरक देखिनुपर्ने पेसागत आचारसंहिताजनित दबाब हुन्छ । ‘शौकिया’ मिडियाकर्मी त्यस्ता सबै मूल्य, मान्यता एवं प्रावरोधहरूबाट मुक्त हुने भएकाले फर्जी खबरको खेतीपातीमा ती अत्यधिक क्रियाशील देखिन्छन् ।

सामान्यजन स्वयंले समाचार संकलन, विश्लेषण एवं प्रसारण गर्ने ‘नागरिक पत्रकारिता’ को अवधारणालाई अन्तर्जालको विस्तारले स्थापित गरेको छ । उत्पादन खर्च न्यून, प्रसारण खर्च त्यसभन्दा पनि कम एवं जवाफदेहिता लगभग शून्य भएकाले अन्तर्जाल पत्रकारिताको आकर्षण दुनियाँभर बढ्दै गइरहेको छ ।

यस प्रकारको पत्रकारिताको मूल समस्या के हो भने, तात्कालिकताको दबाबले गर्दा अपरिपक्व समाचारलाई अनुशोधन गर्ने स्रोत, क्षमता वा इच्छाशक्ति धेरैजसो प्रस्तोतामा हुँदैन । पारम्परिक पत्रकारितामा समयको सीमारेखा अनुल्लंघनीय भए पनि समाचारको तथ्यपरकता पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । सीमारेखा मेटिएको चौबीसघण्टे भनिने अन्तर्जालको पत्रकारितामा प्रस्तुत गरिएका अन्तर्वस्तुको विश्वसनीयता जाँच गर्ने जिम्मेवारी परिदर्शकको हो । बजारशास्त्रमा ‘केभिऐट एम्प्टर’ सिद्धान्त अनुसार क्रेता सावधान हुनुपर्ने भएजस्तै समाचारप्रति सचेत हुनुपर्ने जिम्मेवारी पाठक, श्रोता, दर्शकका परिदर्शकको हो ।


सामाजिकताको विभ्रम

फर्जी समाचार (फेक न्युज) शब्दावलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यधिक प्रचलित तुल्याएका छन् । उनी आफूलाई मन नपर्ने समाचारलाई तत्काल ‘फेक न्युज’ घोषणा गरिदिन्छन् । उनका लागि समाचारप्रधान टीभी च्यानल सीएनएनदेखि प्रतिष्ठित दैनिक द न्युयोर्क टाइम्सजस्ता सबै परम्परागत मिडिया फर्जी हुन् ।

यथार्थ के हो भने, द वासिङ्टन पोस्टको तथ्यजाँच अनुसार आफ्नो ९२८ दिनको कार्यकालमा राष्ट्रपति ट्रम्पले १२,०१९ मिथ्या दाबी प्रवाहित गरेका थिए । त्यो भनेको औसतमा उनी हाकाहाकी प्रतिदिन झन्डै १३ झुट बोल्दा रहेछन् ।

आलोचकहरूले ‘फेकु’ उपनाम दिएका भारतीय प्रधानमन्त्री वा ‘हावादारी कहलिएका’ नेपाली प्रधानमन्त्रीका अनगिन्ती झुटभन्दा बरु अपवादजन्य सत्यको गणना सहज ठहरिनेछ । त्यस्ता सबै असत्य फैलाउनुमा परम्परागतभन्दा पनि अन्तर्जालका पत्रकारहरूको भूमिका बढी हुने गरेको छ ।

ब्रेइटबार्ट न्युज नामक अति दक्षिणपन्थी धारको अन्तर्जाल पोर्टल राष्ट्रपति ट्रम्पको प्रारम्भिक अधिप्रचार संवाहक बनेको थियो । अपवादबाहेक गोदी मिडियाले भारतको लगभग पूरै सञ्चार ‘स्पेक्ट्रम’ कब्जा गरिसकेका भए पनि तिनलाई दिशानिर्देश गर्ने काम आपइन्डिया पोर्टलले गर्छ । नेपालमा पनि डोली मिडिया छ्यापछ्याप्ती छन्, जसमध्ये केहीले ‘ओलीयार’ जमातका लागि आधिकारिक अधिप्रचारको काम गर्छन् ।

सञ्चार विधाका क्यानाडेली दर्शनशास्त्री मार्शल म्याकलुहान (सन् १९११–८०) द्वारा प्रतिपादित ‘द मिडियम इज द म्यासेज’ अन्तर्जाल माध्यमका लागि सही ठहरिएको छ । फर्जी खबर फैलाउन अन्तर्जालजत्तिको तीव्र, प्रभावशाली एवं निस्तेज पार्न गाह्रो हुने माध्यम अर्को हुन सक्दैन ।

सत्यले जुत्ताको तुना बाँधुन्जेल झुटले आधा पृथ्वीको परिक्रमा भ्याइसकेको हुन्छ भन्ने सूक्तिको श्रेय सामान्यतया अमेरिकी लेखक मार्क ट्वेनलाई दिने गरिन्छ । केही तथ्य–जाँचकर्ताहरूका अनुसार त्यस प्रचलित उद्धरणका सही स्रष्टा आयरिस व्यंग्यकार जोनाथन स्विफ्ट हुन् । स्रोत जो भए पनि उक्तिको सत्यतामा भने अझ वृद्धि भएको छ ।

लेख्य सामग्रीको कालखण्डमा मिथ्या कथ्यको यात्राले आधा पृथ्वी मात्र भ्याउने गर्थ्यो, निनैतिक सञ्जालमा ‘मिम’ भनिने अनुशीर्षक तथा पाठसहितका तस्बिरहरूमार्फत सम्प्रेषित फर्जी खबर निमेषभरमा सारा दुनियाँ ढाक्ने गरी संक्रमित (भाइरल) भइसक्छ । त्यस्तो चमत्कारमा (अ)सामाजिक सञ्जालको भूमिका प्रमुख छ ।

फर्जी खबरको संक्रमणले गर्दा दर्जनौं सामान्यजनले ज्यान गुमाउने अवस्था देखेपछि सन् २०१८ मा बेलायतको बीबीसी वर्ल्ड सर्भिस ग्रुपले भारतमा पनि एउटा गुणात्मक अनुसन्धान गराएको थियो । त्यस विश्लेषणात्मक अनुसन्धानको मोटामोटी निष्कर्ष अनुसार, राष्ट्रवादसँग सम्बन्धित समाचारको सत्यापन नगरी सम्प्रेषित गर्ने प्रवृत्ति (अ)सामाजिक सञ्जालहरूमा व्यापक छ । छोटो ‘मिम’ प्रयोग गरिने त्यस्ता उत्तेजक सामग्रीले प्रापकलाई तत्काल ‘केही गर्न’ बाध्य पार्छन् । अनि गोरक्षक भनिने भिजिलान्तेहरू निरीह अल्पसंख्यकको ‘लिन्चिङ’ गर्ने जघन्य अपराध गर्छन् । बच्चा अपहरणको आरोपमा तिनका आफन्त मारिन्छन् । (अ)सामाजिक सञ्जालका राष्ट्रवादीहरू आफ्ना ‘उपलब्धि’ परस्पर बाँडेर त्यस्तो कुकर्मलाई झन् बढावा दिन्छन् ।

हिन्दी फिल्म ‘राजी’ मा अग्रणी पात्रको एउटा संवाद छ, ‘देशको अगाडि कोही केही होइन, मै पनि होइन ।’ ‘फर्जी’ भन्ने उर्दु शब्दको स्रोत ‘फर्ज’ अर्थात् कर्तव्य हो, जसले झुटलाई आवश्यक ठहर्‍याउँछ । त्यसैले फर्जी खबरको प्रत्युत्तर निरन्तर निगरानीबाहेक केही हुन सक्दैन ।

नेपालको अवस्था अद्यापि भारतजत्तिको कहालीलाग्दो भइसकेको छैन । सावधानीका उपायहरू पहिल्याउन भने जरुरी हुन गएको छ । अन्तर्जाल एवं (अ)सामाजिक सञ्जालका प्रयोगकर्तालाई सचेत तुल्याउन अनगिन्ती अन्तर्विवेकशील पत्रकारको अझ बढी अग्रसरता चाहिएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?