विस्तारित डेंगुको भयावह रूप

सम्पादकीय

सरकारी संयन्त्रहरूको अक्षमता र नागरिक स्वजागरणको अभावका कारण दसौं हजार संक्रमित भइसक्दा पनि मुलुकमा चार महिनादेखि फैलिएको डेंगु नियन्त्रणमा आउन सकेको छैन । धरान क्षेत्रबाट सुरु भएको यो रोगको संक्रमण कम्तीमा ४८ जिल्लामा फैलिइसक्यो ।

विस्तारित डेंगुको भयावह रूप

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यसबीचमा सरकारी अस्पताल पुग्नेकै संख्या ७ हजारभन्दा बढी छ । निजी क्लिनिकमा जँचाउने र स्वास्थ्य संस्था नपुगेका समेत गरी डेंगुबाट प्रभावितको संख्या ७० हजार पुगेको अनुमान छ । यीमध्ये ६ जनाको त यही रोगका कारण मृत्यु भएको प्रमाणित भइसक्यो ।

धरानमा मात्रै पाँच हजारभन्दा बढी संक्रमित छन् । प्रदेशसभाद्वारा ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषित उक्त सहरका कति टोलमा संक्रमणले नछोएको घर भेट्न मुस्किल छ । झापा, मोरङ, चितवन, धादिङ, उदयपुरलगायत जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । काठमाडौंमै पनि सयौंको संख्यामा प्रभावित भइसके । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । आइतबार मात्रै चार सयजना स्वास्थ्य जँचाएर फर्किए । रोगको संक्रमण पहाडी जिल्लाहरूमा पनि उक्लन थालेको छ ।

मुलुक नै डेंगुमय बनिसक्दा पनि नियन्त्रणका प्रभावकारी उपायहरू अपनाइएका छैनन् । आवश्यक जनचेतना अभियान पनि चलेका र चलाइएका छैनन् । यसबाट अति प्रभावित क्षेत्रमा चलाइएका केही अभियान फिक्का बनेका छन् । सर्वसाधारणले सिकेका ज्ञान व्यवहारमा उतारेका छैनन् ।

स्वास्थ्य सेवा विभाग र शुक्रराज अस्पताल परिसरमै डेंगु संक्रमित लामखुट्टेको अन्डा र लार्भा पाइएको छ । उपचारमा संलग्न चिकित्सक र मन्त्रीलगायतका उच्च पदस्थ अधिकारीहरू पनि संक्रमित भएका खबरले आम जनमानसमा त्रास बढेको छ । बेलैमा आवश्यक सावधानी नअपनाउने र नियन्त्रणको प्रभावकारी पहल नगर्ने हो भने यसले अझ भयावह रूप लिने निश्चित छ ।

डेंगु भाइरस एडिस एजिप्टाई र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ । दिउँसो टोक्ने यी लामखुट्टेले नै चिकनगुनिया, यलो फिभर, जिका संक्रमणसमेत फैलाउँछन् । यो रोग मानिसबाट मानिसमा सर्दैन । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्छ ।

डेंगु संक्रमण भएका बिरामीलाई शरीर, हात, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, रिंगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छन् । प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्नु हुँदैन । स्वास्थ्य संस्था पुगेर परीक्षण गराउनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार छिटो रोग पत्ता लगाई उचित चिकित्सकीय हेरचाह पुर्‍याउन सके मृत्युदर एक प्रतिशतभन्दा कम हुन्छ ।

डेंगुबाट बच्न विकास गरिएको खोप प्रभावकारी देखिएको छैन । यसबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै हो । त्यसका लागि प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्छ ।

झ्याल–ढोकामा जाली लगाउनुपर्छ । दिउँसो सुत्दा झुल टाँगेर सुत्नुपर्छ । घर बाहिर निस्कँदा पूरा बाहुला भएको पोसाक लगाउनुपर्छ । लामखुट्टेले नटोक्ने मलम या स्प्रे प्रयोग गर्नुपर्छ । डेंगु संक्रमितले स्वास्थ्यलाभ गर्दा पनि अरूलाई नसरोस् भनेर झुलभित्रै बस्नुपर्छ ।

डेंगु नियन्त्रणका लागि लामखुट्टेका अन्डा र लार्भा नष्ट गर्नुको विकल्प छैन । यस्ता लामखुट्टेलाई हुर्कनै नदिन घरभित्र मात्र होइन, वरिपरि पनि पानी जम्न दिनु हुँदैन ।

घरायसी प्रयोजनका लागि आवश्यक पानी पनि हावा नछिर्ने गरी बिर्को लगाएर वा टम्म छोपेर राख्नुपर्छ । भाँडाकुँडा, गमला, छत, बरन्डा, बार्दलीलगायत घरका सबै अन्तरकुन्तरहरूमा पानी जम्न दिनु हुँदैन । एउटा मात्रै लामखुट्टे छुट्यो भने पनि त्यसको वंश वृद्धिले छोटो समयमै टोल नै प्रभावित पार्न सक्छ । डेंगुको संक्रमण झन्–झन बढ्दै जाने भएकाले यसलाई त्यसै छोड्नु हुँदैन ।

लामखुट्टे र त्यसका लार्भा नष्ट गर्न सरकारी संयन्त्रहरूले आवश्यक तदारुकता देखाउनुपर्छ । समुदाय स्वयंलाई जागरुक बनाउनुपर्छ । यसका लागि स्थानीय सरकारहरू अग्रसक्रिय हुनुपर्छ भने संघीय र प्रदेश सरकारले यसमा सघाउनुपर्छ ।

धरानमा प्रि–मनसुनताकै देखिएको डेंगुलाई तुरुन्त नियन्त्रण नगरिएकैले मनसुन सुरु भएपछि अवस्था स्वतः जटिल बनेको हो । पूरै मुलुकमा फैलन दिएर स्थिति अझ भयावह बन्न दिनु हुँदैन । डेढ दशकयता मुलुकमा पटक–पटक डेंगु देखिएको छ । नौ वर्षअघि बढी ९ सय १७ जनामा डेंगु भेटिँदा पाँच जनाले ज्यान गुमाएका थिए ।

तसर्थ सरकारले दीर्घकालीन नै दृष्टि राखेर यस्ता लामखुट्टेबारे अध्ययन गरी नियन्त्रणका उपाय पहिल्याउन पहल गर्नुपर्छ । अर्कोतर्फ, संघीयता कार्यान्वयनसँगैको कर्मचारी समायोजन अन्योलको असर डेंगुमा पनि परेको छ । देशमा प्रकोप फैलिरहँदा किट नियन्त्रण गर्ने दक्ष जनशक्तिहरू करिब एक वर्षदेखि जिम्मेवारीविहीन छन् । ‘मलेरिया इन्स्पेक्टर’ लाई ‘फाजिल’ मा राखिएको छ भने भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दीमा कटौती गरिएको छ । देशमा यस्ता निरीक्षकको खाँचो अझ धेरै छ ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?