आत्महत्या टार्न सकिन्छ

डा. सरोजप्रसाद वझा

आत्महत्या अर्थात् आफैले जानी–जानी गरिने आफ्नो हत्या झट्ट हेर्दा कुनै रोगसँग सम्बन्धित देखिँंदैन, सामाजिक समस्याका कारण यस्तो भएको भन्ने लाग्छ, जुन सत्य होइन । विभिन्न देशमा गरिएका शोध–अनुसन्धान अनुसार, आत्महत्या शारीरिक (जैविक), मानसिक तथा सामाजिक समस्याको सम्मिश्रणका कारण गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुटीओ) का अनुसार, हरेक चालीस सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्ने गरेको छ । हाम्रो छिमेकी भारतमा मात्रै हरेक दुई मिनेटमा एक जनाको आत्महत्या हुने गरेको छ । यद्यपि नेपालमा आत्महत्याबारे शोध–अनुसन्धान कमै भएको छ, तथापि प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकले बताउँछ— हरेक दिन करिब सोह्र जनाले आत्महत्या गर्ने गरेका छन् । वास्तविक तथ्यांक योभन्दा बढी हुन सक्छ ।


डब्लुटीओको सन् २०१६ को तथ्यांक अनुसार, विश्वमा १५–२९ वर्ष उमेरका युवाको मृत्युको दोस्रो कारक आत्महत्या हो । त्यसमाथि विश्वमा हुने आत्महत्याको सबैभन्दा बढी, अर्थात् ७९ प्रतिशत, नेपालजस्ता अल्प र विकासशील देशहरूमा हुने गरेको छ । विश्वभर हरेक वर्ष ८ लाख मान्छेको ज्यान आत्महत्याबाट जाने गरेको छ ।


यसरी हेर्दा आत्महत्या जनस्वास्थ्य सम्बन्धी जटिल समस्या रहेको र यसको रोकथाम ठूलो चुनौती बनेको छ । त्यसैले जनचेतनाका लागि हरेक १० सेप्टेम्बरलाई आत्महत्या रोकथाम दिवसका रूपमा मनाउन थालिएको छ । यो वर्षको नारा छ— ‘सबैजना मिलेर आत्महत्या रोकथाम गरौं’ (वर्किङ टुगेदर टु प्रिभेन्ट सुसाइड) ।


नेपालमा आत्महत्यालाई प्रहरीले अपराध अन्तर्गत राख्ने गरेको छ । पश्चिमी मुलुकहरूमा चाहिँ यसलाई राष्ट्रिय स्वास्थ्य रेकर्डमा उल्लेख गरिन्छ । करिब २५ राष्ट्रमा आत्महत्यालाई गैरकानुनी मानिएको छ । २० राष्ट्रमा, इस्लामिक कानुन अनुसार, आत्महत्या प्रयास गर्नेलाई पनि दण्ड–सजाय वा जेल चलान गर्ने गरिन्छ ।


युरोपको कुनै पनि मुलुकमा अचेल आत्महत्या वा आत्महत्या प्रयासलाई अपराध अन्तर्गत उल्लेख गरिँंदैन । यद्यपि १९ औं शताब्दीसम्म अधिकांश युरोपेली मुलुकमा आत्महत्यालाई अपराध मानिन्थ्यो । अस्ट्र्रेलियामा पनि अपराध मानिँदैन । अमेरिकामा गैरकानुनी मानिँदैन, तर आत्महत्या प्रयासलाई केही दण्ड–सजायको व्यवस्था गरिएको छ ।


भारतमा गैरकानुनी मानिएको थियो र आत्महत्या प्रयासबाट बाँंचेकालाई एक वर्ष जेल पठाउने व्यवस्था थियो । तर अप्रिल २०१७ मा भारतीय संसदले मानसिक स्वास्थ्य कानुन पास गरेर आत्महत्यालाई अपराधबाट हटायो । त्यो कानुन जुलाई २०१८ देखि लागू भैसकेको छ ।


नेपालको परिप्रेक्ष्यमा देवानी र फौजदारी कानुनमा सबै प्रकारका शंकास्पद आत्महत्याको प्रहरीबाट अनुसन्धान गर्नुपर्ने उल्लेख छ । तर आत्महत्या वा आत्महत्या प्रयासलाई अपराध मान्ने अथवा दण्ड–सजाय गर्ने प्रावधान देखिंँदैन । नेपालमा आत्महत्या गैरकानुनी नभए पनि जनमानसमा यसबारे गलत बुझाइ छ ।


आफ्नो ज्यान लिने निर्णय गर्न कसैलाई पनि सहज हुन्न । त्यसैले कसैले आत्महत्या किन गर्‍यो भन्ने बुझ्न व्यक्तिविशेषका विभिन्न पक्ष केलाउनु जरुरी हुन्छ, न कि कुनै एउटा सामाजिक पक्ष । व्यक्तिविशेषको शारीरिक स्वास्थ्य तथा वंशानुगत संरचना, मनोवैज्ञानिक स्वास्थ्य, सामाजिक–धार्मिक र कानुनी समस्या तथा दीर्घकालीन शारीरिक अशक्ततालाई यसमा विश्लेषण गर्नुपर्ने हुन्छ ।


विभिन्न अध्ययन अनुसार, आत्महत्या गर्नेहरूको मस्तिष्कमा विशेषतः सेरेटोनिन नामक रसायनको कमी रहेको पाइन्छ । तर पनि आत्महत्याको कुनै एउटा मात्र कारक हुन सक्दैन । डिप्रेसन भएका, लागुऔषध प्रयोगकर्ता, अत्यधिक मद्यपान गर्ने (अल्कोहल डिपेन्डेन्ट), व्यक्तित्व सम्बन्धी समस्याहरू भएका, स्क्रिजोफ्रेनिया भएका, आत्तिने रोग (एंक्जाइटी) भएका व्यक्तिहरूले आत्महत्या गर्ने सम्भावना बढी हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।


आत्महत्या नेपालसहित विश्वकै जटिल जनस्वास्थ्य समस्या भए पनि यसलाई रोकथाम गर्न सकिन्छ । नेपालमा सर्वप्रथम आत्महत्या वा आत्महत्या प्रयासलाई अपराधको अवधारणाबाट निकाल्नु पनि अत्यावश्यक छ । अनिमा सरकार र नागरिक समाज दुवै मिलेर आत्महत्याका लागि प्रयोग गरिने कीटनाशक औषधि, मादक पदार्थ लगायतमा निगरानी र अनुगमन गर्नुपर्छ ।


मानसिक स्वास्थ्य समस्याको उपचारको व्यवस्था, स्वास्थ्यकर्मीलाई यसको पहिचान र रोकथाम सम्बन्धी तालिम, जनमानसदेखि लिएर स्कुल–कलेजमा जागरण कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । चौबीसघण्टे टेलिफोन हटलाइन तथा उपचार सेन्टरको सुविधा पनि आत्महत्या रोकथाममा महत्त्वपूर्ण हुन सक्छन् ।


लेखक त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक हुन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?