२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बीपीलाई बुझ्ने आआफ्नै दृष्टि

कुलचन्द्र वाग्ले

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जसरी बुझे पनि हुने बनाइएको छ । प्रायः मानिस अरूका विचारलाई आफूअनुकूल हेर्ने गर्छन्, आआफ्नै व्याख्यामा तौलिन्छन् । त्यस्तो व्याख्यामा सम्बन्धितकै विचार–अभिव्यक्तिलाई उल्टोसुल्टो पार्ने पनि गरिन्छ । सायद आयामिक विचार–व्यक्तित्वप्रति हुने यस्तै हो ।

बीपीलाई बुझ्ने आआफ्नै दृष्टि

कान्तिपुरमा प्रकाशित सीके लालको ‘बीपीको मधेस दृष्टि’ लेखले एउटा बहस सतहमा ल्याएको छ । त्यसबारे केही भन्नुअघि, बीपीलाई आआफ्नै अनुकूलतामा बुझ्ने दृष्टिबारे लेखूँ ।

मेलमिलाप नीतिको हवाला दिएर कसैले उहाँलाई राजावादी साबित गर्न पूरा शक्ति लगाएका छन् । कोही गणतन्त्रलाई बीपीको चिन्तन र स्वीकृतिबाहिरको मान्दैनन् । राष्ट्रवाद र देशभक्तिबारे बीपीको चेत–चिन्तनलाई दरबारिया दूरबिनबाट हेर्ने पनि भए । राजनीतिमा अनेक लाञ्छना कथेर प्रहार गरिएका बीपीको लेखनीप्रति पनि त्यही अन्याय भयो । बीपीलाई व्यापक लाञ्छित गर्नमा पञ्च–कम्युनिस्ट गठबन्धन सक्रिय रह्यो । छिटफुट त्यो क्रम अद्यापि छ ।

सीके लालको लेखमा जे ‘द्वेष’ भन्न खोजिएको छ, पेटबोली त्यो भन्न वा बताउन तथ्यमा समर्थ छैन । उनकै शब्द सापटी लिएर, ‘सिल्ली सिजन’ मा बहसका लागि यो लेख प्रस्तुत गरिएको चाहिंँ स्विकार्न सकिन्छ । ‘समाचारबाहिर वैचारिकता बाँकी छ भन्ने देखाउन बुद्धिमत्ता प्रदर्शन गर्नुपर्ने हुन्छ’ लेख्ने उनले लेखमा मधेसबारे बीपीको होइन, आफूले गढेको कुरा बीपीको भनेर प्रक्षेपित गर्ने बुद्धिमत्ता प्रदर्शित गरेका हुन सक्छन् । त्यसमा प्रस्तुत दृष्टि लालनिर्मित हो ।

बीपीकै भनाइले पुष्टि हुने उदाहरण त्यसमा छैन । सीके लालले त्यस बखतको कालचेतनाका अग्रणीलाई वर्तमान मान्यताका आधारमा मूल्यांकन गर्न मिल्दैन भन्ने पनि स्विकारेका छन् । उनले उद्धृत गरेका बीपीको भनाइ ‘म पनि मधेशी हुँ’ लगायतले बीपीको मधेस दृष्टिलाई नकारात्मक पुष्टि गर्दैनन् । न्याय भए जस्तो पनि लाग्दैन ।

कमजोरी सच्याउने बीपीको जागरुकताको मुक्तकण्ठले प्रशंसा गरेका लेखकले ‘निरन्तर सच्चिने प्रयत्न ऐतिहासिक रूपले महत्त्वपूर्ण व्यक्तित्वहरूको प्राथमिक पहिचान हो । त्यस मान्यताको रापमा बीपीको दृश्यमान मधेस द्वेष क्षणभरमै पग्लेर बग्छ’ पनि लेखेका छन् । यति लेखेपछि फेरि ‘द्वेष’ देख्नुको आधार भेटिँदैन ।

अध्ययन, जेल र प्रवासमा बिताएका वर्षहरूको फेहरिस्त प्रस्तुत उक्त लेखमा बीपीको मधेस दृष्टिबारे स्वनिर्मित व्याख्यालाई आधार दिन सीके लालले लेखेका छन्, ‘नेपालको संस्कृति एवं समाजबारे बनारस, कलकत्ता एवं दार्जिलिङका प्रवासीहरूसँग सिक्नुपर्ने भयो । ... उनीहरूको अल्पसंख्यकप्रतिको द्वेषभाव (बीपीले) नजानिँदो तवरले ग्रहण गरे ।’ अर्को ठाउँमा लेख्छन्, ‘उनको मधेसबारेको बुझाइ आसेपासेले सुनाएको कुरामा आधारित एवं सतही थियो ।’ यसको पुष्टि हुने कुनै उद्धरणचाहिंँ छैन । सिक्नु नराम्रो होइन । के मधेसबारे बीपीको बुझाइ वा दृष्टिको सीमा उनले खिचेको रेखाभित्र मात्रै सीमित छ त ? उनको मूल्यांकन अनुमानमा सिर्जित देखिन्छ । स्वयं लेखका वाक्यहरू यथार्थपरक कम, विरोधाभासी बढी लाग्छन् ।

कमी–कमजोरी सच्याउने बीपीको तदारुकताबारे उनले ठाउँ–ठाउँमा लेखेको भनाइ सग्लै एक पटक पढौं— ‘सुधारवादी राजनेता भएकाले वस्तुस्थिति बदलिएको चाल पाउनासाथ आफ्नो विचार बदल्न बीपी कत्ति पनि ढिलो गर्दैनथे । दूरदर्शी थिए, त्यसैले आफ्ना कमी–कमजोरीलाई सच्याउने तत्परता बीपीमा अन्य समकक्षी राजनीतिकर्मीहरूमा भन्दा धेरै थियो । उनी तत्कालीन कालचेतनाका प्रतिनिधि पात्र हुँदाहुँदै पनि गल्ती सकभर नदोहोर्‍याउने प्रयोगधर्मी राजनीतिकर्मी निःसन्देह थिए ।’

बीपीको वैचारिक वा कार्यनीतिक तत्परताको यति धेरै बखान गरिसकेपछि पनि विद्वान् लेखक किन उनको मधेस दृष्टिमा खोट देख्ने अनुमान लगाउँछन् ? बीपीको बौद्धिकतामा लेखकले सच्चिने तत्परता देखेका छन् भने, आफ्नो मधेस दृष्टिमा केही कमी–कमजोरी थाहा पाउँदा नै बीपी स्वयंले सच्याएको मान्नुपर्ने कुरा लुकाएका छन् । त्यसरी सच्चिने व्यक्तित्वको मधेसज्ञान आसेपासे र प्रवासीको कानेखुसीमा सीमित भन्ने खालको व्याख्या उनकै भनाइले निराधार लाग्छ ।

सीके लालले अर्कातर्फ लेखेका छन्— ‘...समाज सुधार, साहित्य सिर्जना, संस्कृति निर्माण एवं राजनीतिक परिवर्तनमा उत्तिकै दक्खल भएको पुनर्जागरण व्यक्तित्व (रेनसान्स पर्सनालिटी) भन्न मिल्ने बीपी मरणोपरान्त खस–आर्य जमातका लागि आदर्श स्वरूप (आइडिअल) बन्न पुगेका छन् ।’ बाहुन कुलमा जन्मिनु बीपीको दोष होइन ।

बीपी विचारको उदात्तता त उनै लालले वर्णन गरेकै छन् । अनि बीपीमा लाल स्वयंले देखेको बहुव्यक्तित्वलाई संकुचित पारामा किन जातिवादी आरोपित गर्न उत्साहित वा भ्रमित छन् ? बीपीले गरेको सामाजिक–आर्थिक विभेदविरुद्धको विद्रोह कुनै जाति वा क्षेत्रविशेष मात्रै थिएन । उहाँले फैलाएको चेतना कुनै जाति र क्षेत्रविशेषको बन्धक भयो र ?

सीके लालले केही कारण दिएर बीपी भए अहिलेको कांग्रेस विघटन गरिदिन्थे पनि भनेका छन् । त्यस्तै ‘...बाँचुन्जेल गद्दार घोषणा गरेका पुष्पलाल श्रेष्ठ एकाएक युगद्रष्टाको रूपमा साम्यवादी इष्टदेवतामा पुनःस्थापित भएका छन् ।’ उनको यो भनाइप्रति गर्नेले अलग्गै बहस गर्लान् । उनको पृथ्वीनारायण शाह र भानुभक्त आचार्यबारेको टिप्पणी पनि एकांगी छ । उनको सदाबहार जातिवादी आरोप यहाँ पनि छ । लेखकको शैली अनुरूप नै कर्मको मर्मभन्दा जातलाई अग्राधिकारमा राखिएको छ ।

मधेसको मात्रै होइन, हिमाली र पहाडी जीवनप्रति बीपीको दृष्टिलाई उहाँको राजनीतिक दर्शन र यात्राको मर्मबाट हेर्नुपर्छ । प्रजातान्त्रिक, समाजवादी बीपीको दृष्टि कुनै क्षेत्र र जातिविशेषका लागि फरक–फरक थियो भन्ठान्नु आफैमा दोषपूर्ण हुन्छ । प्रजातन्त्र र समाजवादी दर्शन सबै नेपालीका पक्षमा समान हो भन्ने आफै स्पष्ट हुन्छ ।

मूल दर्शन–दृष्टिबाट पर हटेर व्यावहारिक तर सानो उदाहरणमा लेखकले सरोज कोइरालालाई ठाउँ छोड्ने तराईको यादवलाई किन बीपीले तनहुँ वा कास्कीबाट उम्मेदवार बनाउनुभएन भन्ने खालको प्रश्न गरेका छन्, तर सरोज कोइरालाले राजनीतिक र चेतनाको कर्मथलो तराई मधेसलाई नै बनाएको बिर्सिएका छन् । उदाहरण दिऊँ रामजीवन सिंहको । उनले कर्मथलो दोलखा बनाए । त्यहींबाट नेपाली कांग्रेसको महासमिति सदस्य र राष्ट्रिय सभा सांसद पनि बने । तराई मधेसका नेपालीले रामजीवनले झैं पहाडको राजनीति गर्न किन गाह्रो मान्छन् ?

बीपीले स्पष्ट शब्दमा ‘पहाडे वा मधेसी भावनाले मुलुकको उन्नति हुँदैन’ (विश्वेश्वरप्रसाद कोइराला, प्रतिनिधि संकलन, प्रधान सम्पादक प्रदीप गिरी) भन्नुले उहाँको मधेस र देश दृष्टिको समग्रता उद्बोध गराउँछ । तराई कि मधेस भन्ने विवाद हालैका वर्षमा निकै भयो, खास गरी संविधान बनाउँदाको आसपास । बीपीको उल्लिखित भनाइमा ‘मधेस’ उहिल्यै प्रयोग भएको छ । यस्तो तथ्यप्रति सीके लालले आँखा चिम्लिदिएका छन् ।

बहुआयामिक विचारका हिसाबले जहिले पनि चर्चायोग्य व्यक्तित्वको अर्को नाम हो— बीपी । सीके लालकै शब्दमा, बीपीको वार्षिकी र १०६ औं जयन्तीबीच बीपीको मधेस दृष्टिबारे उनले बहसको नयाँ विषय सतहमा तानेर राम्रो गरेको चाहिंँ मान्नुपर्छ । भलै त्यो उनी रचित दृष्टि नै किन नहोआस् । क्षणभरमै पग्लिसकेको द्वेषलाई जीवन्त देख्न चाहने कलमलाई साधुवाद !

प्रकाशित : भाद्र २४, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?