कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राजावादीसँग आत्तिनु पर्दैन

युवराज ज्ञवाली

नेपाली समाज अहिले पुरानो चिन्तन–प्रवृत्ति र नयाँ राजनीतिक परिस्थिति बीचको तीव्र अन्तरविरोधको चरणबाट गुज्रिँदै छ । नेपालमा जनवादी क्रान्ति सम्पन्न भए पनि नेपाली समाजको आर्थिक क्षेत्रमा प्रमुख रूपले दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रण कायमै छ ।

राजावादीसँग आत्तिनु पर्दैन

डरलाग्दो किसिमले बढ्दै गएको व्यापार घाटा र बढ्दो भ्रष्टाचार त्यसको एउटा उदाहरण हो । विकासको हरेक संरचनाबाट प्राप्त कमिसन, तमाम भ्रष्टाचारबाट प्राप्त मोटो रकम तथा तस्करी लगायतका अवैध धन्दाबाट कमाएको पुँजीले मुलुकको अर्थतन्त्रलाई नियन्त्रणमा राखेको छ । जनताका असन्तुष्टिलाई आधार बनाएर प्रतिगामी तत्त्वहरूले उत्साहित भई टाउको उठाउने प्रयास गरेका छन् । अर्कातिर, उग्रवामपन्थी अराजकतावादले पनि समाजका कतिपय समस्यालाई उपयोग गर्न खोजेको छ ।


समाजका विभिन्न क्षेत्रमा सामन्तवादका अवशेष कायमै छन्, जसले हरेक व्यक्तिलाई कुनै न कुनै रूपले प्रभावित पारेका छन् । गुणस्तरहीन विकास संरचना, चर्को युवा बेरोजगारी, गरिबी, पछौटेपन जस्ता तमाम समस्याबाट नेपाली समाज अहिले पनि

ग्रस्त छ ।


राजनीतिक व्यवस्था र नेतृत्व नयाँ भए पनि राज्य संयन्त्रमा भने पुरानोको निरन्तरतामा केही सुधार गर्नुबाहेक अपेक्षित रूपान्तरण आएको छैन । कार्यशैली र प्रवृत्ति पुरानै छ । कम्युनिस्ट पार्टीको सरकार बनेसँंगै लाखौं श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आउने अनि मुलुकको विकासले गति लिने ठूलो अपेक्षा थियो । तर, परिणाम त्यस अनुरूप आउन सकेन र असन्तुष्टिले ठाउँ पाए । कम्युनिस्टविरोधी विभिन्न देशी–विदेशी शक्तिले यसबाट फाइदा उठाउने भरपूर प्रयास गर्ने नै भए ।


अहिले नेपाली जनताले संघीय, प्रादेशिक र स्थानीय सरकारका सकारात्मक र कमजोर दुवै पक्षको प्रत्यक्ष अनुभूति गरिरहेका छन् । सबै तहका सरकारले गरेका कामको परिणाम कस्तो रह्यो, यो प्रमुखतः आम जनताले मूल्यांकन गर्ने विषय हो । यो सरकार जनताले बनाएको र जनताप्रति नै यसको जवाफदेहिता भएकाले जनताले जे भन्छन्, सरकारको कामको अन्तिम सत्य पनि त्यही नै हो ।


पञ्चायतकालदेखि नै लामो समयसम्म आर्थिक क्षेत्रमा पकड जमाउँदै आएको दलाल पुँजीपति वर्गले राजनीतिक क्षेत्रमा समेत प्रभाव पार्दै आयो । अहिले पनि सत्ताको सहयोगबिना त्यो वर्गको प्रभुत्व कायम हुन नसक्ने भएकाले सत्ता र त्यसको हरेक तहको नेतृत्वलाई आफ्नो हित अनुरूप प्रयोग गर्न उसले हरसम्भव प्रयास जारी राख्ने कुरा स्वतःसिद्ध छ ।


यसको अर्थ उसले पुँजीको दलाली चरित्र, भ्रष्टाचार र कमिसनखोरीलाई जतिसक्दो बढाउनु हो । सत्तासीन नेकपाको भर्खरै प्रकाशित राजनीतिक प्रतिवेदनमा प्रस्ट उल्लेख भए अनुसार पनि दलाल तथा नोकरशाही पुँजीवाद नै वर्तमान नेपाली समाजको प्रगतिको प्रमुख अवरोध हो । त्यसैले वर्तमान सरकार, जनता र सत्तासीन पार्टीको सम्पूर्ण ध्यान समाजलाई दलाल पुँजीवादको नियन्त्रणबाट मुक्त गर्ने दिशामै केन्द्रित हुनु जरुरी छ ।


वर्तमान सरकार वास्तवमा दलाल पुँजीवादसँंगको संघर्षको सबैभन्दा महत्त्वपूर्ण मोर्चा हो । सरकारको समग्र कामको भूमिकाले दलाल पुँजीवादलाई परास्त गरी राष्ट्रिय पुँजीको विकास गर्ने र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने दिशामा केन्द्रित हुँदै गर्दा कसले कसलाई रूपान्तरण गर्ने हो, त्यो नेपाली अर्थतन्त्र र जनताको जीवनमा आउने परिणामबाट प्रमाणित हुन्छ ।


यस्तो अन्तरविरोधमा दलाल पुँजीवादले विभिन्न तहको नेतृत्वलाई खरिद गर्न सफल भयो भने कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खानु अनिवार्य हुनेछ । नेकपाको राजनीतिक प्रतिवेदनमै सत्तामा पुगेपछि कम्युनिस्ट पार्टीमा आर्थिक आचरणमा गम्भीर समस्या आउन सक्छ भनी उल्लेख गरिनुले पनि अहिलेको संघर्ष निकै कठिन र चुनौतीपूर्ण रहेको प्रस्ट हुन्छ ।


लाखौँ जनताको विश्वासका आधारमा बनेको वर्तमान सरकार र नेकपालाई युगौँदेखिको शोषण, उत्पीडन र विभेदमा परेका जनताको मुक्ति र समृद्धिको काम गर्ने ऐतिहासिक अवसर छ । त्यसका लागि उसलाई आवश्यक कानुन निर्माण एवं योग्यतम जनशक्तिको परिचालन गर्न कसैले रोक्न सक्तैन ।


देश र जनताको हितका लागि आवश्यक पर्‍यो भने संविधान संशोधन गर्नसक्ने हैसियतसमेत छ । मुलुक निर्माणको सबैभन्दा अनुकूल अवसर पनि हो यो । नेपालको राजनीतिमा विगतमा बन्द र हडतालका कारण निकै ठूलो समस्या उत्पन्न हुने गर्थ्यो, तर अहिले त्यो अवस्था पनि छैन । राम्रो काम गर्न यति बेला कसैले रोक्न सक्तैन ।


नेपालको अत्यन्त योग्य र सक्षम जनशक्ति स्वदेशमा काम नपाएर विदेश जान बाध्य छ । त्यो जनशक्तिलाई सरकारले स्वदेशमै उपयोग गर्न सके मुलुकले फड्को मार्न धेरै कुर्नुपर्दैन । सरकारमा रहेको पार्टीसँंगै पनि हरेक क्षेत्रमा उत्कृष्ट काम गर्न सक्ने सक्षम जनशक्ति छ ।


आफैभित्रको जनशक्तिको उचित पहिचान र सही परिचालन गर्नसक्ने हो भने जनताको सपना साकार पार्न सकिने पर्याप्त सम्भावना र आधार विद्यमान छ । विगतमा पार्टीको शक्तिलाई मूलतः राजनीतिक परिवर्तनको काममा परिचालित गरियो, तर अब त्यसलाई जनताको सुखशान्ति र समृद्धिका लागि परिचालन गर्नुपर्ने नयाँ कार्यभार नेकपाको काँधमा आएको छ ।


नेतृत्वले पार्टी पक्षका लाखौं युवालाई राज्यको दोहन गरेर व्यक्तिगत मोजमज्जा र भोगविलासमा होइन, व्यापक उत्पादनको काममा परिचालन गर्ने र उनीहरूमार्फत समाजको लाखौं युवाशक्तिलाई समेत परिचालन गर्न जान्ने हो भने, खतरनाक रूपमा बढ्दै गरेको व्यापार घाटा धेरै हदसम्म कम गर्न सकिन्छ । तर नेपाली समाजको त्यो क्रियाशील विशाल शक्ति आज के गर्दै छ ? वर्तमान नेतृत्वले ठन्डा दिमागले सोच्नु जरुरी छ ।


नेपाली समाजमा दलाल पुँजीवादबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहर–बजार मात्र होइन, प्रभावित नभएको कुनै गाउँ पनि सायद छैन । त्यसको वास्तविक चरित्रबारे पार्टी पंक्ति र जनतालाई सचेत पार्नु आवश्यक छ । नेपालले जुन हदसम्म उत्पादन वृद्धिमा प्रगति गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा प्रगति हासिल गर्नेर्छ, तदनुरूप नै दलाल पुँजीवाद क्रमशः कमजोर हुँदै जानेछ । विभिन्न स्तरको नेतृत्व वर्ग व्यक्तिगत स्वार्थ र भोगविलासमा डुब्न थाल्यो भने नेपालमा कम्युनिस्ट पार्टीको सरकार बन्नुको कुनै सार्थक परिणाम प्राप्त हुनेछैन ।


माथिदेखि तलसम्म सरकार बनेको अवस्थामा हाम्रो समाज र पार्टीभित्रको एउटा महत्त्वपूर्ण पंक्तिले पार्टी र राज्यको शक्तिलाई व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षापूर्तिमा केन्द्रित गर्न सक्छ । अर्कातर्फ, निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्न चाहने इमानदार पंक्ति जिम्मेवारविहीन भएर किनारामा पर्ने अवस्था आउन सक्छ । त्यो स्थितिलाई नेतृत्वले समयमै सच्याउन सकेन भने अन्ततः असफलता भोग्नु अनिवार्य हुनेछ ।


मुलुक सञ्चालन र निर्माण वर्तमान नेतृत्वको मुख्य जिम्मेवारी भएकाले समाज र पार्टीभित्रैबाट पनि आलोचना र टीकाटिप्पणी आउनु अत्यन्त स्वाभाविक हो । लोकतन्त्रमा सत्ता सञ्चालन गर्नेहरूको आलोचना आवश्यक छ । समाजबाट आउने आलोचनाले नेतृत्वलाई सच्याउन औषधिको काम गर्छ । यस्तो बेला आलोचनाका स्वरहरूलाई दबाउनतिर होइन, समयमै आफूलाई सच्याउनतिर लाग्नु बुद्धिमानी ठहर्छ ।


जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काम गरे सरकारको जयजयकार हुनेछ । पार्टीका नेता–कार्यकर्ता प्रशंसाको पात्र बन्नेछन् । राज्यको यति ठूलो शक्तिलाई आम जनताको हितमा परिचालित गर्न जान्ने हो भने सरकारको विरोधमा सडकमा उत्रनेहरू स्वतः निस्तेज हुंँदै जान्छन्, उनीहरूलाई जनताको समर्थन हुँदैन । तरिका जान्ने हो भने अहिलेको अवस्थामा राजावादीहरू पुनः फर्केर आउने हुन् कि भनेर आशंका गर्नुपर्ने आवश्यकतै पर्दैन ।


कुनै पनि वस्तुको विकास र विनाशमा आम रूपमा आन्तरिक अन्तरविरोध प्रमुख कारण हुने गर्छ । बाह्य कारण त सहायक मात्र हो । वर्तमान सरकार र नेकपाले ठीक ढंगले काम गर्ने हो भने राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि शक्तिले यो सरकार र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न सक्नेछैन । लाखौँ जनता सडकमा उत्रेर फ्याँकिएका राजावादीहरूसँंग अहिले आत्तिनुपर्ने कुनै आवश्यकता छैन ।


तर पार्टीलाई संस्थागत रूपले सञ्चालन गर्न नसक्ने, पार्टीलाई एकताबद्ध पार्न नसक्ने, सिंगो पार्टी पंक्तिलाई ठीकसंँग परिचालित गर्न नसक्ने, पार्टीका अन्तरविरोधको सही समाधान दिन नसक्ने र राज्यसत्तालाई जनताको सेवा गर्ने साधनभन्दा सत्तामा बस्नेहरूको स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोज्ने हो भने, मुलुकमा नसोचेको परिणाम नआउला भन्न सकिँंदैन । त्यसैले यो अत्यन्त गम्भीर, जिम्मेवार र संवेदनशील भएर सोच्ने बेला हो ।


दलीय व्यवस्थामा जनताको समर्थनप्राप्त अमुक दलले सरकार सञ्चालन गर्ने हो । त्यसैले सरकार चलाउने पार्टी राम्रो भयो भने देश पनि राम्रो बन्छ । पार्टीभित्रै भ्रष्टहरू बढ्दै गए भने, सरकार पनि भ्रष्टहरूको अखडामा परिणत हुन्छ, जनताले दुःख पाउँछन् ।

वर्तमान सरकार पुरानो राज्य संयन्त्रलाई विस्थापित गरेर होइन, त्यसैलाई कायम राखेर त्यसको नेतृत्व गर्ने ठाउँंमा पुगेको छ ।


त्यसैले राज्य संयन्त्रमा राजतन्त्रको पालादेखिका संरचना, सुखसुविधा, कार्यशैली, आचरण कायमै छन् । तीमध्ये कति अहिलेका लागि आवश्यक छन् र कति बदल्नुपर्ने अवस्थामा छन्, व्यापक छलफल गरी रूपान्तरण गर्नु जरुरी छ ।


अहिलेको अवस्थामा विगतको राजतन्त्रकालीन अवस्थाभन्दा पृथक् किसिमले, तलदेखि माथिसम्म सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले सम्भव भएसम्म ‘सादा जीवनशैली’ अपनाउनुपर्छ । आम जनताका नजरमा पहिलेका र अहिलेकामा प्रस्ट भिन्नता देखिनु जरुरी छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?