२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

शिक्षण, मानौं 'माइकल काँक्रा’

हरिहर तिमिल्सिना

गत वर्षको कुरा हो । राज्यले निकालेको मर्यादा क्रममा सारा मुलुक अटायो, शिक्षक अटाएन । सायद शिक्षकको मर्यादा नभएर ! मर्यादा गर्नुपर्ने कुनै उल्लेखनीय कारण नभेटिएर पनि होला । यो मुलुकको सबैभन्दा निम्छरो पेसा नै शिक्षण हो भन्ने ठानिएर होला । आफैं निम्छरो पेसा रोज्नेले अरूले मर्यादा राखेन भनेर रोइलो गर्नुको औचित्य पनि छैन होला ।

शिक्षण, मानौं 'माइकल काँक्रा’

मेरा एक छिमेकी बुबा भन्दै हुनुहुन्थ्यो, ‘जेठा छोराले दुःख पाउने भो । मास्टर सकेर मास्टर भो । बरु कान्छाले प्रगति गर्‍यो । बीचमै पढाइ छोडेर ठेक्कापट्टामा लाग्यो । जग्गाको काम पनि गर्‍यो । अहिले ऊ मालामाल छ । दुईचारतिर घर–घडेरी जोडेको छ । गाडी किनेको छ । जेठाले भूकम्पले भत्काएको घर पनि बनाउन सकेन ।’


ती बाको लवजमा जेठा छोराप्रति धिक्कारी र कान्छा छोराप्रति स्याबासीको भाव प्रतिबिम्बित थियो । यसरी बाउहरू छोरालाई मास्टर बनाउनभन्दा डन र दलाल बनाउनमा गर्व गर्न थालेका छन् ।


तपाईं कुनै पनि स्कुलको कुनै पनि कक्षामा गएर ‘शिक्षक बन्न चाहनेले हात उठाऊ’ भन्नुहोस् । हातहरू उठेनन् भने आश्चर्य नमाने हुन्छ । यो वर्षौंदेखिको परिदृश्य हो । वर्षौंसम्म रहिरहनेछ । शिक्षण पेसा आजसम्म पनि रहर र रोजाइ बन्न सकेन । किन यस्तो भइरहेको छ ? कसैलाई खोज्ने र बुझ्ने फुर्सद छैन ।


हुन त शिक्षक सेवा आयोगमा फारम भर्नेको भीड देख्ने मानिसलाई यी कुरा बकबास लाग्न पनि सक्छन् । यसै सन्दर्भमा मलाई यहाँ भक्तपुरका काँक्रा व्यापारीको स्मरण भइरहेको छ । तिनले दुई थुप्रा काँक्रा बेच्न राखेका थिए । एकापट्टि सग्ला र सिलिक्क परेका काँक्रा थिए । अर्कापट्टि गाँडा र गर्चा अनि बाङ्गा र टिङ्गा । त्यस्ता बाङ्गा–टिङ्गा काँक्रालाई ‘माइकल काँक्रा’ भनिँदो रहेछ ।


ती काँक्राको मोल सस्तो थियो । म एकछिन उभिएर हेरुन्जेल सबैले बढी मोल तिरेर सग्ला काँक्रा किने । सग्ला काँक्रा सकिएपछि मात्रै एकाध मानिसले नाक खुम्च्याई खुम्च्याई माइकल काँक्रा किने, जुन रहरको रोजाइ थिएन, बाध्यताको थियो । हाम्रो शिक्षण पेसाले कहिलेसम्म माइकल काँक्राको नियति भोग्ने होला ?


अन्तर्राष्ट्रिय साक्षरता दिवसका सन्दर्भमा शिक्षा मन्त्रालयले उत्कृष्ट नतिजा ल्याउन सफल हुने विद्यालयलाई पुरस्कृत गर्ने गरेको छ । यसले पक्कै पनि स्कुलहरूलाई हौसला दिन्छ । मन्त्रालयले शिक्षकहरूलाई पनि पुरस्कृत गर्ने परिपाटी बसालेको छ, जसले शिक्षण पेसालाई मर्यादित बनाउन थोरै भए पनि मद्दत गर्छ ।


विद्यालयले गर्ने शैक्षिक उन्नति र बोर्ड परीक्षाको नतिजाका आधारमा पुरस्कारका लागि विद्यालय छान्ने गरिँदो रहेछ । यसो हुनाले विद्यालय छान्ने काम त्यति गाह्रो देखिँदैन तर उत्कृष्ट शिक्षक कसरी छान्ने ? यो पक्कै पनि गाह्रो काम हो । जहाँ गाह्रो त्यहाँ साह्रो भनेझैँ यसपालि मन्त्रालयलाई शिक्षक छान्न झनै गाह्रो स्थिति सिर्जना भयो भन्ने गाइँगुइँ पनि सुनियो । मास्टरसापहरूको ठुलै दौड चल्यो रे ! लबिङ, भनसुन र पावर प्ले हुन खोजे रे !


पहिला पनि राज्यस्तरबाट विभिन्न पुरस्कार बाँडिन्थे । गोदबा पाउने सूचीमा शिक्षकको नाम चामलमा बियाँ खोजेझैँ खोज्नुपर्ने हुन्थ्यो । अहिले पनि राज्यले विभिन्न दिवसका नाउँमा बाँड्ने पुरस्कारमा शिक्षकलाई न्यायोचित स्थान दिइएको पाइन्न । यी कुरा आफ्नै ठाउँमा छन् । पुरस्कार नै सबै कुरा होइन । जब हामी हाम्रा प्राचीन मूल्य र मान्यतालाई सम्झिन्छौँ, तब शिक्षण पेसाप्रति गर्व महसुस गर्नुपर्ने थुप्रै कारण भेटिन्छन् ।


‘गुरुदेवो भव’ भनेर शिक्षकलाई देवतासित तुलना गरिएको छ । ‘गुरु आफू जलेर अरूलाई उज्यालो दिने मैनबत्ती हो’ भनेर शिक्षकलाई त्याग र सेवाको प्रतिमूर्ति भन्न खोजिएको छ । ‘गुरु किनारामा बसेर हजारौँ यात्रीलाई डुङ्गा तार्ने माझी हो’ भनेर शिक्षकलाई सेवा र समर्पणको नमुनाका रूपमा प्रस्तुत गरिएको छ ।


शिक्षण एकदमै पवित्र पेसा भए पनि अहिले हेलत्तोमा परेको छ । शिक्षक भनेका गफास्टक, ठग, कामचोर र अल्छी मानिसको झुन्ड हो भन्ने आम मानसिकता छ । शिक्षकलाई लाग्ने गरेको अर्को आरोप हो– ‘शिक्षकलाई पढाउनबाहेक अरू सबै थोक आउँछ ।’ त्यसैले शिक्षण पेसा जहिले पनि तिरस्कारमा पर्ने गरेको छ । अब शिक्षकले भन्न सक्नुपर्छ– हामीलाई कसैको पुरस्कार चाहिन्न । बरु कसैले तिरस्कार नगरे पुग्छ । अरूले तिरस्कार नगर्नका लागि हामी आफैं पनि केही कदम चाल्न सक्छौँ ।


शिक्षकले पाठ्यपुस्तकबाहेकका अन्य किताब पढ्दैनन् भन्ने अर्को आरोप पनि छ । केही हदसम्म यो सत्य पनि छ । शिक्षक एकदम अध्ययनशील हुन जरुरी छ । हामी सकेसम्म बढीभन्दा बढी किताब पढौँ । स्कुल–स्कुलमा ‘पढाउनेले पढौँ’ अभियान सञ्चालन गरौँ । पठनपाठनमा दत्तचित्त बनौँ । हामी अनुशासित, मिहिनेती, परिश्रमी र लगनशील भयौँ भने हाम्रा विद्यार्थीले त्यही सिको गर्नेछन् । ‘जस्ता गुरु त्यस्तै चेला’ भन्ने उखान त्यसै चलेको होइन ।


समाज बदल्ने जिम्मेवारी शिक्षककै काँधमा हुन्छ । शिक्षण पेसाको मर्यादा फर्काउन अब शिक्षक आफैं लागिपर्ने बेला आएको छ । शिक्षण पेसा हजारौँ विद्यार्थीको भविष्य निर्माणसित जोडिएको हुन्छ । शिक्षकको गुमेको साख र इज्जत फर्काउन पुरस्कारले मात्रै सक्दैन । त्यसैले पुरस्कारको पछि लाग्न छोडेर विद्यार्थीको पछि लाग्नु जरुरी देखिन्छ ।


विद्यार्थीको पछि लाग्ने शिक्षकले पुरस्कार खोज्दै कुद्नु आवश्यक छैन । त्यस्ता शिक्षकलाई खोज्दै कुनै दिन पुरस्कार आफैं आइपुग्नेछ । त्यसमाथि आफूले पढाएको विद्यार्थी भविष्यमा गएर ठूलो मानिस भई कुनै दिन सम्झिदियो भने एउटा शिक्षकका लागि त्योभन्दा ठूलो पुरस्कार अरू के हुन सक्छ ?

प्रकाशित : भाद्र २२, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?