शिक्षण, मानौं 'माइकल काँक्रा’

हरिहर तिमिल्सिना

गत वर्षको कुरा हो । राज्यले निकालेको मर्यादा क्रममा सारा मुलुक अटायो, शिक्षक अटाएन । सायद शिक्षकको मर्यादा नभएर ! मर्यादा गर्नुपर्ने कुनै उल्लेखनीय कारण नभेटिएर पनि होला । यो मुलुकको सबैभन्दा निम्छरो पेसा नै शिक्षण हो भन्ने ठानिएर होला । आफैं निम्छरो पेसा रोज्नेले अरूले मर्यादा राखेन भनेर रोइलो गर्नुको औचित्य पनि छैन होला ।

मेरा एक छिमेकी बुबा भन्दै हुनुहुन्थ्यो, ‘जेठा छोराले दुःख पाउने भो । मास्टर सकेर मास्टर भो । बरु कान्छाले प्रगति गर्‍यो । बीचमै पढाइ छोडेर ठेक्कापट्टामा लाग्यो । जग्गाको काम पनि गर्‍यो । अहिले ऊ मालामाल छ । दुईचारतिर घर–घडेरी जोडेको छ । गाडी किनेको छ । जेठाले भूकम्पले भत्काएको घर पनि बनाउन सकेन ।’

ती बाको लवजमा जेठा छोराप्रति धिक्कारी र कान्छा छोराप्रति स्याबासीको भाव प्रतिबिम्बित थियो । यसरी बाउहरू छोरालाई मास्टर बनाउनभन्दा डन र दलाल बनाउनमा गर्व गर्न थालेका छन् ।

तपाईं कुनै पनि स्कुलको कुनै पनि कक्षामा गएर ‘शिक्षक बन्न चाहनेले हात उठाऊ’ भन्नुहोस् । हातहरू उठेनन् भने आश्चर्य नमाने हुन्छ । यो वर्षौंदेखिको परिदृश्य हो । वर्षौंसम्म रहिरहनेछ । शिक्षण पेसा आजसम्म पनि रहर र रोजाइ बन्न सकेन । किन यस्तो भइरहेको छ ? कसैलाई खोज्ने र बुझ्ने फुर्सद छैन ।

हुन त शिक्षक सेवा आयोगमा फारम भर्नेको भीड देख्ने मानिसलाई यी कुरा बकबास लाग्न पनि सक्छन् । यसै सन्दर्भमा मलाई यहाँ भक्तपुरका काँक्रा व्यापारीको स्मरण भइरहेको छ । तिनले दुई थुप्रा काँक्रा बेच्न राखेका थिए । एकापट्टि सग्ला र सिलिक्क परेका काँक्रा थिए । अर्कापट्टि गाँडा र गर्चा अनि बाङ्गा र टिङ्गा । त्यस्ता बाङ्गा–टिङ्गा काँक्रालाई ‘माइकल काँक्रा’ भनिँदो रहेछ ।

ती काँक्राको मोल सस्तो थियो । म एकछिन उभिएर हेरुन्जेल सबैले बढी मोल तिरेर सग्ला काँक्रा किने । सग्ला काँक्रा सकिएपछि मात्रै एकाध मानिसले नाक खुम्च्याई खुम्च्याई माइकल काँक्रा किने, जुन रहरको रोजाइ थिएन, बाध्यताको थियो । हाम्रो शिक्षण पेसाले कहिलेसम्म माइकल काँक्राको नियति भोग्ने होला ?

अन्तर्राष्ट्रिय साक्षरता दिवसका सन्दर्भमा शिक्षा मन्त्रालयले उत्कृष्ट नतिजा ल्याउन सफल हुने विद्यालयलाई पुरस्कृत गर्ने गरेको छ । यसले पक्कै पनि स्कुलहरूलाई हौसला दिन्छ । मन्त्रालयले शिक्षकहरूलाई पनि पुरस्कृत गर्ने परिपाटी बसालेको छ, जसले शिक्षण पेसालाई मर्यादित बनाउन थोरै भए पनि मद्दत गर्छ ।

विद्यालयले गर्ने शैक्षिक उन्नति र बोर्ड परीक्षाको नतिजाका आधारमा पुरस्कारका लागि विद्यालय छान्ने गरिँदो रहेछ । यसो हुनाले विद्यालय छान्ने काम त्यति गाह्रो देखिँदैन तर उत्कृष्ट शिक्षक कसरी छान्ने ? यो पक्कै पनि गाह्रो काम हो । जहाँ गाह्रो त्यहाँ साह्रो भनेझैँ यसपालि मन्त्रालयलाई शिक्षक छान्न झनै गाह्रो स्थिति सिर्जना भयो भन्ने गाइँगुइँ पनि सुनियो । मास्टरसापहरूको ठुलै दौड चल्यो रे ! लबिङ, भनसुन र पावर प्ले हुन खोजे रे !

पहिला पनि राज्यस्तरबाट विभिन्न पुरस्कार बाँडिन्थे । गोदबा पाउने सूचीमा शिक्षकको नाम चामलमा बियाँ खोजेझैँ खोज्नुपर्ने हुन्थ्यो । अहिले पनि राज्यले विभिन्न दिवसका नाउँमा बाँड्ने पुरस्कारमा शिक्षकलाई न्यायोचित स्थान दिइएको पाइन्न । यी कुरा आफ्नै ठाउँमा छन् । पुरस्कार नै सबै कुरा होइन । जब हामी हाम्रा प्राचीन मूल्य र मान्यतालाई सम्झिन्छौँ, तब शिक्षण पेसाप्रति गर्व महसुस गर्नुपर्ने थुप्रै कारण भेटिन्छन् ।

‘गुरुदेवो भव’ भनेर शिक्षकलाई देवतासित तुलना गरिएको छ । ‘गुरु आफू जलेर अरूलाई उज्यालो दिने मैनबत्ती हो’ भनेर शिक्षकलाई त्याग र सेवाको प्रतिमूर्ति भन्न खोजिएको छ । ‘गुरु किनारामा बसेर हजारौँ यात्रीलाई डुङ्गा तार्ने माझी हो’ भनेर शिक्षकलाई सेवा र समर्पणको नमुनाका रूपमा प्रस्तुत गरिएको छ ।

शिक्षण एकदमै पवित्र पेसा भए पनि अहिले हेलत्तोमा परेको छ । शिक्षक भनेका गफास्टक, ठग, कामचोर र अल्छी मानिसको झुन्ड हो भन्ने आम मानसिकता छ । शिक्षकलाई लाग्ने गरेको अर्को आरोप हो– ‘शिक्षकलाई पढाउनबाहेक अरू सबै थोक आउँछ ।’ त्यसैले शिक्षण पेसा जहिले पनि तिरस्कारमा पर्ने गरेको छ । अब शिक्षकले भन्न सक्नुपर्छ– हामीलाई कसैको पुरस्कार चाहिन्न । बरु कसैले तिरस्कार नगरे पुग्छ । अरूले तिरस्कार नगर्नका लागि हामी आफैं पनि केही कदम चाल्न सक्छौँ ।

शिक्षकले पाठ्यपुस्तकबाहेकका अन्य किताब पढ्दैनन् भन्ने अर्को आरोप पनि छ । केही हदसम्म यो सत्य पनि छ । शिक्षक एकदम अध्ययनशील हुन जरुरी छ । हामी सकेसम्म बढीभन्दा बढी किताब पढौँ । स्कुल–स्कुलमा ‘पढाउनेले पढौँ’ अभियान सञ्चालन गरौँ । पठनपाठनमा दत्तचित्त बनौँ । हामी अनुशासित, मिहिनेती, परिश्रमी र लगनशील भयौँ भने हाम्रा विद्यार्थीले त्यही सिको गर्नेछन् । ‘जस्ता गुरु त्यस्तै चेला’ भन्ने उखान त्यसै चलेको होइन ।

समाज बदल्ने जिम्मेवारी शिक्षककै काँधमा हुन्छ । शिक्षण पेसाको मर्यादा फर्काउन अब शिक्षक आफैं लागिपर्ने बेला आएको छ । शिक्षण पेसा हजारौँ विद्यार्थीको भविष्य निर्माणसित जोडिएको हुन्छ । शिक्षकको गुमेको साख र इज्जत फर्काउन पुरस्कारले मात्रै सक्दैन । त्यसैले पुरस्कारको पछि लाग्न छोडेर विद्यार्थीको पछि लाग्नु जरुरी देखिन्छ ।

विद्यार्थीको पछि लाग्ने शिक्षकले पुरस्कार खोज्दै कुद्नु आवश्यक छैन । त्यस्ता शिक्षकलाई खोज्दै कुनै दिन पुरस्कार आफैं आइपुग्नेछ । त्यसमाथि आफूले पढाएको विद्यार्थी भविष्यमा गएर ठूलो मानिस भई कुनै दिन सम्झिदियो भने एउटा शिक्षकका लागि त्योभन्दा ठूलो पुरस्कार अरू के हुन सक्छ ?

प्रकाशित : भाद्र २२, २०७६ ०८:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयाँ पुस्ताका ९ नाटक

कान्तिपुर संवाददाता

विराटनगर — आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघर यति बेला नाटकमय बनिरहेको छ । यहाँ १० दिनसम्म विभिन्न नाटक मञ्चन हुने छन् । प्रायःजसो स्थापित र प्रशिक्षार्थी रंगकर्मी देखिने नाटकघरको मञ्चमा यसपटक विद्यालय तहका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् ।

शुक्रबार साँझैदेखि नाटकघरमा विद्यार्थीहरूले आफ्नो सिर्जना प्रदर्शन सुरु गरेका छन् । विद्यालय नाटक महोत्सवमा विभिन्न ९ विद्यालयको सहभागिता छ । सबै नाटक गरेर सयभन्दा बढी विद्यार्थीहरू कलाकारको रूपमा सहभागी छन् । केही शिक्षक–शिक्षिका पनि कलाकारका रूपमा सामेल छन् ।

विराटनगरमा आरोहण गुरुकुल स्थापना भएपछि विभिन्न समयमा नाटक मञ्चन हुने गरे पनि केही समययता भने यहाँको रंगमञ्च सुस्ताएको थियो । ‘यो महोत्सवले फेरि एकपटक रंगमञ्चलाई सक्रिय बनाउने छ भन्ने आशा छ,’ महोत्सव उद्घाटन गर्दै प्रदेश नम्बर ३ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले भने, ‘समाजको सकारात्मक रूपान्तरण पनि नाटकले सघाउने छ ।’

महोत्सवको पहिलो प्रस्तुतिका रूपमा धीरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार पारिएको नाटक ‘म–नैतिक’ नाटक मञ्चन गरियो । प्रत्येक दिनको प्रदर्शनमा ५० प्रतिशतभन्दा बढी दर्शक विद्यार्थी नै रहने आयोजकको दाबी छ । महोत्सवमा विराटनगर महानगरपालिकाभित्रका ८ र रंगेली नगरपालिकाको १ विद्यालयले नाटक मञ्चन गर्ने छन् ।

विराटनगरको सत्यनारायण माविका विद्यार्थीले शनिबार ‘अँध्यारो बाटो’ नाटक प्रस्तुत गरे । आइतबार अन्नपूर्ण एकेडेमीले ‘मिहिनेत र परिश्रमको फल’, पारागन एकेडेमीले सोमबार ‘दसैं’ र सेन्ट जोसेफ स्कुलले मंगलबार ‘लक्ष्मीपूजा’ नाटक प्रदर्शन गर्ने छन् ।

विराटनगरस्थित आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटकमा अभिनय गर्दै विद्यार्थी । तस्बिर : कान्तिपुर
यसैगरी, सप्तकोसी बोर्डिङ स्कुलले बुधबार ‘छाउपडी’, बूढानीलकण्ठ स्कुलले बिहीबार ‘नासो’, लिलिपुट स्कुलले शुक्रबार ‘प्रधानमन्त्री, श्री श्री रविशंकर विद्या मन्दिरले शनिबार ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक स्कुलले भदौ २९ गते ‘परिवेश’ नाटक प्रदर्शन गर्ने छन् । नाटकमा मौलिक नेपाली संस्कृति, सामाजिक पक्ष, नैतिक सन्देशमूलक कथाका साथै विभिन्न सामाजिक विकृतिमाथि व्यंग्य गरिने विषयवस्तुसमेत समेटिएका छन् ।

अधिकांश नाटकमा सकारात्मक सोचतर्फ प्रेरित गर्ने खालका सन्देश समावेश रहेको आरोहणले जनाएको छ । ‘हरेक पक्षमा नकारात्मक कुरा विकसित भइरहेको सन्दर्भमा विद्यार्थीलाई सकारात्मक सोच्न प्रेरित गर्ने खालका सन्देश दिन खोजिएको हो,’ आरोहणका अध्यक्ष भैरव क्षेत्रीले भने । विराटनगर महानगरपालिकाको सहकार्य रहेको महोत्सवमा भदौ २९ गतेसम्म हरेक दिन साँझ ४ बजे विभिन्न ९ विद्यालयले नाटक मञ्चन गर्ने छन् ।

प्रकाशित : भाद्र २२, २०७६ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT