तीज : उन्मुक्तता कि उत्पीडनको विरेचन ?

सावित्री गौतम

आँगनीको छेउ पनि धान सुकाउन चाहिन्छजाऊ चेली आफ्नै घर अंश पाइन्छ...ठ्याक्कै तीन वर्ष भयो, यो पुरानो तीज गीतको एउटा अन्तराले दिमागमा ठोक्न थालेको । यही गीतले ठोक्न थालेपछि नै केही वर्ष अगाडिसम्म रहेका तीज सम्बन्धी मेरा मान्यता अचेल क्रमशः भत्किन थालेका छन् ।

सबैभन्दा बढी त यो र अरू थुप्रै तीज गीतकै कारण ‘माइती र चेलीको आत्मीयता दर्शाउने’ चाडका रूपमा मैले चिन्दै आएको तीज अचेल विरानो लाग्न थालेको छ । नत्र तीज सम्बन्धी मेरा मान्यता यस्ता हुन्थे— विश्वमै यस्तो ‘मौलिक’ चाड कतै छैन । वर्षमा एक दिन महिलाले ‘उन्मुक्त’ भएर नाच्ने चाड ! ‘माइत’ जान र ल्याउन नपाएर रुवाबासी गरिरहेका दिदीबहिनी, दाजुभाइ, बाबुआमा ! यस्तो पो त माइती र चेलीको ‘आत्मीयता’ ! कोमल वलीहरूले पो बिगारेका, नत्र तीजका गीत त विश्वमै सबैभन्दा उत्कृष्ट !

बिहे गरेको सुरुदेखि ‘तीजमा माइत जाने’ प्रचलन नधानेकी आमाकी छोरी मेरा लागि पनि तीज कहिल्यै ‘माइत’ गएर मनाउने चाड बनेन । मुग्लिङ–नारायणगढको झन्झटिलो बाटो सम्झेर ‘बर्खाको समय भएकोले मरिमेटी गरेर जानु नपर्ने, एक महिना मात्र कुरे दसैंमा भेट भइहाल्ने’ भन्ने हरफ जपेर पोखरामा बस्थेँं ।

तर वरिपरिका महिला ढल्की–ढल्की माइत गएको देखेको झोँकमा म यहाँ बोलाउने संस्था र साथीकहाँ दर खान पुग्थेँं । नाचगानमा सहभागी हुन्थेंँ । ‘आँगनीको छेउ पनि धान सुकाउन चाहिन्छ’ जस्ता अनेक गीतले दिमागमा ठोक्न थालेपछि उक्त काम लगभग बन्द भएको छ ।

तीजको मिथकीय 'मौलिकता’
धार्मिक मान्यता अनुसार हिमालय पर्वत र मेनकाकी छोरी पार्वतीले आफ्ना बाबुआमाले आफूलाई नसोधिकनै आफ्नो बिहे भगवान् विष्णुसँग गरिदिने सल्लाह गरेको सुन्छिन् । तर उनले सानैदेखि महादेवलाई पतिका रूपमा चाहेकी थिइन्, जुन पूर्वजन्ममा उनका पति थिए भनेर वर्णन गरिएको छ ।

राजकुमारी हैसियतकी पार्वतीले पनि म विष्णुसँग होइन, महादेवसँग बिहे गर्छु भनेर खुलस्त भन्न सक्दिनन् र घरबाट भागेर जंगलमा गई तपस्या गर्छिन् । सबै कुरा ध्यानदृष्टिले हेर्न सक्ने महादेवलाई सानैदेखि यो केटीले आफूसँग बिहे गर्न चाहेकी हो भन्ने कुरा थाहा हुन नसक्ने कुरै थिएन । तर उनैको तपस्याबाट प्रसन्न भएका महादेवले उनको ‘चरित्र विचार’ गर्ने मौका गुमाउँदैनन् र उनलाई इन्द्रको रूप लिएर लोभ्याउन थाल्छन् ।

पार्वती श्राप दिन तयार भएपछि हत्तपत्त ‘म महादेव हुँ’ भन्छन् । त्यस्तै ऋषिपञ्चमीको पूजा त्यस्तो पूजा हो, जसमा महिलाले महिनावारी भएका बेला वर्षभरि नजानेर गरेका पाप, अर्थात् झुक्किएर भान्सा छोएका जस्ता ‘पाप’ कट्टी गर्न विशेष विधि अनुसार पूजा गर्नुपर्छ । पूजा सकेपछि कसरी महिनावारी भएका बेला भान्सा छोएकै कारण कुनै आमा आफ्नै छोराको घरमा कुकुर्नी भएर र उसका पति गोरु भएर जन्मिएका थिए भन्ने कथा पनि सुनाइन्छ ।

पार्वतीले त जंगलमा गएर, एक्लै बसेर, घुर्क्याएर बाबुआमालाई मनाउन कोसिस गरिन् भन्न मिल्ला । आजका पार्वतीको दिनसम्म आइपुग्दा त उनीहरूले ‘म फलानोलाई आफ्नो जीवनसाथी बनाउँदै छु’ भनेको कुरा उनीहरूको नितान्त व्यक्तिगत निर्णय हुनुपर्ने हो । तर आजसम्म पनि नेपाली घरहरूमा कैयौं पार्वती छन्, जो अन्य जातसँगको वा आफूसँग धनसम्पत्ति वा पढाइ–लेखाइ नमिलाई गरेको ‘प्रेम’ सफल होओस् वा सकेसम्म त्यस्तो परिवारले नस्वीकार्ने खालको प्रेम नै नपरोस् भनेर निराहार व्रत बस्न बाध्य छन् । अर्का थरी विवाहित पार्वती छन्, जो लोग्नेको कमाइ खान पाएकामा ‘कृतज्ञ’ छन् र उसका लागि ‘प्रेम र सद्भाव’का नाममा व्रत बसेर कृतज्ञता जाहेर गर्छन् ।

समाजको संरचना आजसम्म पनि यस्तो छ, लोग्नेमान्छेले प्रशस्त पैसा कमाएर स्वास्नी र छोराछोरी पाल्नुपर्छ । त्यसैले बहुसंख्यक बाबुआमा यस्ता लोग्नेमान्छेको सुरक्षा र लामो आयुको ग्यारेन्टी आफ्ना छोरीहरूले व्रत बसिदिएर गर्नुपर्छ भनी सोच्छन् । मृत्यु जस्तो स्वाभाविक प्रक्रियाबाट कोही पनि वञ्चित छैन भन्ने थाहा हुँदाहुँदै पनि बाबुआमा छोरीलाई आर्थिक रूपमा आत्मनिर्भर हुन्जेल घरमा बस्न दिँंदैनन् । पढाइ समेत पूरा गर्न नदिई ‘राम्रो’ कमाइ भएको ज्वाइँको जिम्मा लगाउन हतारिन्छन् ।

अनि जिन्दगीभर ज्वाइँको ‘सुरक्षा’ छोरीले चुरापोते उनिदिएर र तीजको व्रत बसेर गरिदेओस् भनी कामना गरिरहन्छन् । यसो नगरेकैमा ज्वाइँलाई ‘केही’ होला र त्यसपछि हुने छोरीको बिजोग नहेर्न र कथंकदाचित् त्यो बिजोगपछिको सम्पूर्ण झन्झट आफूले ब्यहोर्नु नपरोस् भन्ने त्रासबाट बच्न उनीहरू झुन्डिने आशाको एक मात्र त्यान्द्रो हुन्छ । त्यो हो— छोरीले लगाइदिने चुरापोते र वर्षको एकपटक बसिदिने तीजको व्रत ।

'आत्मीय तीज’ : फगत एक भ्रम
सामाजिक रूपमा तीज कुनै–कुनै भेगका खस–आर्य समुदायका महिलाले वर्षभरि खान–लाउन नपाएका कारण माइतीले एकजोर लुगा हालिदिने र बर्खाभरिको थकाइ माइत गएर मेट्ने चाड हो भनेर अनगिन्ती पटक व्याख्या भइसकेको छ । विष्णु माझीको बहुचर्चित गीत ‘झन् माथि सार्छु, झन् तल झर्छ, हाइ मेरो फरिया’ गीतले भनेको छ, ‘मुन्टोले टेकेर भए पनि माइत आउँछु, पखाला लागे पनि पेटभरि खान्छु, हेर त बाआमा तिम्री छोरी कस्ती थिई, आज हाड मात्रै बाँकी छ’ आदि ।

बिमाकुमारी दुराको पुरानो गीत छ, ‘घ्यु भरेर राखे आमा फूल भरेको टिनमा, बाँचे भेट होला आमा वर्षदिनमा’ । यस्ता गीत अनगिन्ती छन् । लोग्नेको घरमा खान नपाउने महिलालाई जुन घरबाट कुशको टुक्रो छिनालेर ‘आजदेखि तँ हाम्रो घरको सदस्य रहिनस्’ भनेर बर्खास्त गरेर, ‘गोत्र सारेर’ कन्यादान गरेर पठाइएको हुन्थ्यो, अर्थात् पैतृक घर, त्यहीँ गएर उनीहरूले वर्षको एकपटक पेटभरि खान पाउने आस हुन्थ्यो । उनीहरू आफ्ना भोगाइलाई गीतका रूपमा गाउँथे र वरिपरिका मान्छे धरधरी रुन्थे ।

तर लोग्नेको घरमा खान नपाएकी ‘चेली’लाई दर खुवाउन लालायित तिनै बाबु वा दाजुभाइले फेरि छोरी, दिदीबहिनीले ऋषिपञ्चमीमा व्रतको दीयो माग्दा ‘छोराहरूलाई चाहिन्छ’ भन्ने जवाफ दिएको र सम्पत्ति माग्दा ‘आँगनीको छेउ पनि धान सुकाउन चाहिन्छ’ भनेका गीत प्रचलित छन् ।

त्यसैले यो ‘आत्मीयता’ त्यतिन्जेल धरापमा पर्दैन, जबसम्म छोरीहरूले ‘माइत’ आएर केही नबोल्ने, पस्केर दिएको दुईछाक चिल्लो भात खाने, देखाइदिएको बिस्तरामा सुत्ने, जाने बेला दुई–चार रुपैयाँ र बढीमा एकजोर लुगा पोको पारेर सुरुक्क जानेभन्दा बढी माग गर्दैनन्, जबसम्म उनीहरू ‘बिहे गरेका आफ्ना दाजुभाइको हैसियत र बिहे गरेकी आफ्नो हैसियत बाबुको घरमा असमान कसरी भयो’ भनेर कुरा उठाउँदैनन् ।

अर्काति, ‘जाऊ चेली आफ्नै घर अंश पाइन्छ’ भनेको ‘आफ्नो’ अर्थात् लोग्नेको घरमा चल–अचल सम्पत्तिमाथि महिलाको अधिकार कति छ, सबैलाई थाहै भएको कुरा हो । आजसम्म पनि नेपाली घरहरूमा ससुराले मर्ने बेला मात्रै छोरा अर्थात् महिलाको लोग्नेलाई र कथंकदाचित् लोग्नेको असामयिक मृत्यु भएमा ‘बुहारी पोइल जान्छे’ भनेर नाति अर्थात् महिलाको छोरालाई र त्यो पनि अठार वर्ष पुगेपछि मात्र अंश दिने हो ।

त्यसमा पनि छोरी भए वा महिला निःसन्तान भए त त्यो आश पनि बन्द हुन्छ । ‘चेली’ले दुःख बाँड्ने चाडका रूपमा चिनिएको तीजको विरोधाभास यस्तो छ, चेलीले माइतीले आफ्नो दुःख थाहा नपाऊन् भनेर मागेर भए पनि झपक्क लुगा–गहना लगाएर माइत जानेसमेत चलन छ । बाढीमा बगेर मृत्यु भएकी एक बुहारीका तर्फबाट गाइएको एउटा पुरानो गीत नै छ, ‘बाबाले भन्नुभयो कान्छी छोरी पियारी, ससुराले भन्नुभयो गहना बिगारी’ । गीतहरूले गरेको व्याख्या मात्र होइन, सामाजिक व्यवहार नै हेर्ने हो भने पनि खस–आर्य महिलाले न आफ्ना बाबुआमाकहाँ सम्मानजनक र समान व्यवहार पाएकाछन्, न त सासू–ससुराकहाँ । त्यसैले ‘आत्मीयताको प्रतीक तीज’ फगत एक भ्रम हो ।

'मौलिकता’ का बर्दीधारी 'मोरल पुलिस’
आफूमाथिका पचासौं असमानता र अपमान थाहा नपाएरै वा पाएरै नेपाली महिलाले तीजलाई ‘उन्मुक्ति’को पर्व भन्ने भ्रममा वर्षदिनभरिका पीडा एकदिन नाचेर बिर्सने कोसिस गर्छन् । अलिअलि भए पनि सामाजिक मान्यता बदलिइरहेका पनि छन् । हिजोसम्म माइत गई बुहारीलाई कजाएर ढसमस्स बसेर दर खाने केही आमाजूले आज बुहारीलाई आफूकहाँ दर खान बोलाउन थालेका छन् ।

थोरै संख्यामा भए पनि महिला साक्षर र हिम्मतिला बनेका छन्, अनि आफूलाई अभिव्यक्त गर्न तीज नै पर्खिन नपर्ने अवस्थामा पुगेका छन् । त्यसैले वर्षभरिका आफ्ना भोगाइलाई सीधै सासू–ससुरा वा लोग्नेलाई भन्न थालेका छन् । वा गीत, कविता, दैनिकीका रूपमा कापीमा उतार्न वा सामाजिक सञ्जाल, पत्रपत्रिकामा लेख्न सक्ने भएका छन् ।

बदलिएका सम्बन्धसँगै तीजका गीत पनि बदलिँंदै छन् । तीजका गीतमा पहिलाको जस्तो ‘दर्द’ नदेखिनुमा यी कुरा पनि पक्कै कारक हुन् । तर आज पनि समाज र प्रशासनको ‘मोरल पुलिसिङ’ महिलाको हाउभाउ, खानपान र उनीहरूका अभिव्यक्ति सबैतिर कायम छ । उनीहरूलाई बिहे गर्ने उमेर भयो, बिहे गर्न पाऊँ अर्थात् ‘पोइल जान पाम्’ भनेर गीत गाएकी कोमल वलीको छाडापनको खुब चिन्ता छ । कुनै पुरुषलाई उनलाई हियाउन यतिसम्म छुट छ, उसले ‘दुई बीस हिउँद काटेकीलाई मैले ल्याउन पाऊँ’ भन्दै गीतै गाउन पाउँछ ।

‘आमाले पकाएको मिठो दर’का नाममा गाइने गीत वा ‘आमाको माया’ वा ‘घरको खाना’ क्याप्सनसहितका फोटो हेर्दा झलक्क दिमागमा आउँछन्, वर्षौंसम्म हरेक दिन घण्टौंको भान्साभित्रको श्रमले हायल–कायल भएका आमाहरूका तस्बिर । पारिश्रमिक नपाउने, रैथाने खानपान पकाउने अव्यावसायिक काममा आखिर घरका महिलाको असीमित श्रम नै त परेको हुन्छ !

तीजको ‘मौलिक’ दरको पृष्ठभूमि पनि त आखिर हरेक वर्ष भदौको भाइरल ज्वरोले सिकिस्त, ढाड दुखेर अमिलो मुख लगाएका, आँखा पाकेको बेलासमेत भान्सामा खटेका आमा न हुन्, जसले पूरै जिन्दगी घण्टौं भान्सामा रापिएर बिताएका छन् । थोरै महिलाले भए पनि अब हायल–कायल, थकित आफ्नी वृद्ध आमाले पकाएको दरलाई ‘मिस’ गर्न छोडेका छन् । आफूले कमाउन थालेका छन् र साथीहरू जम्मा भएर दर होइन, ‘भोज’ खान थालेका छन् । बरु नजिकै भए आमालाई नै खान बोलाउन थालेका छन् । पकाइदिने र भाँडा माझिदिने व्यक्तिको श्रमको मूल्य तिरेर भोज खाएका छन् । उत्पीडनको साटो मायाप्रेम र उल्लासका गीत गाउन थालेका छन् ।

गण्डक क्षेत्रमा कृष्णअष्टमीदेखि तीज भित्रिएको मानिन्छ, र त्यही दिनदेखि चेलीलाई लिन जाने, घर–घरमा जम्मा भएर खाने र गीत गाउने चलन छ भनिन्छ । त्यसैको परिमार्जित स्वरूप पार्टी प्यालेसमा पुगेको छ । त्यस्तै सांस्कृतिक अन्तरघुलन बढ्दो छ, फरक–फरक जाति–समुदाय मिसिएर बनेका छिमेक छन् ।

अन्तरजातीय विवाहका कारण ‘रक्सी चल्ने’ घरका महिला रक्सी नचल्ने घर वा नचल्ने घरका महिला चल्ने घरमा भित्रिएका छन् । यही कारण पनि रक्सीजन्य पदार्थ यस्ता भोजमा समावेश भए होलान् वा जेसुकै कारणले भए होलान् । कसैले महिलाको थाल र गिलासमा आँखा गाडेर टाउको किन दुखाउनुपर्ने ?

प्रशासनको प्रहसन
समाजमा जसरी भए पनि चर्चामा आउन खोज्ने केही महत्त्वाकांक्षी व्यक्ति हुन्छन्, जो कहिलेकाहीँ आफ्नो पहुँचको दुरुपयोग गर्दै प्रशासनलाई अन्टसन्ट कुरा लिएर ज्ञापनपत्र बुझाउन जान्छन् । यस्ता लहडमा फस्नमा कास्की प्रशासन सबैभन्दा अगाडि देखिएको छ । केही वर्ष अगाडि पोखरामै एक व्यक्तिले आफ्नो टोललाई ‘तेस्रोलिंगी निषेधित क्षेत्र’ बनाउनका लागि लिएर गएको ज्ञापनपत्रमा पनि कास्की प्रशासनले आँखा चिम्लेर ‘हुन्छ’ भनिदिएको थियो ।

यो पटक पनि उसले केही व्यक्तिको इसारामा तीजलाई ‘मौलिक’ तरिकाले मनाउनुपर्ने, ध्वनि प्रदूषण गर्न नपाइने, प्रशासनले सूक्ष्म निगरानी गर्ने आदि भनेर उर्दी जारी गरेको छ । ‘मौलिकता’ भनेको के ? अब फेरि महिलाले ‘घ्यु भरेर राखे आमा फूल भरेको टिनमा’ भन्दै माइत गएर पेट भर्नुपर्ने ? ससाना डेरामा बस्ने महिलाले घरभित्र उमारेको कर्कलो कहाँबाट ल्याउने ? हरेक दिन घरबेटीले चप्पल गन्ने घरमा डेरा गरेर बस्ने महिलाले दर खुवाउनुपर्ने पाहुनालाई पार्टी प्यालेसमा नलगेर कहाँ लैजाने ? दर खाने दिनसमेत छुट्टी नपाउने जागिरे महिलाले साँझ आएर पाहुनाका लागि ‘मौलिक’ दर कतिबेला पकाउने ?

मौलिकतातिरै फर्कने भए अब प्रशासनले बिहेका भोजमा बाह्रथरी मेनु नराख, पहिलाको जस्तै टपरीबाट मासको दाल चुहाउँदै चौरमा बसेर बिहेको भतेर खाऊ भनेर उर्दी किन नगर्ने ? तीजका नाममा अन्तरक्रिया र मेलाको आयोजना गर्न किन दिने ? ‘तीज’का नाममा गरिने अन्तरक्रियामा हुने खर्च र खाने खाजाचाहिँ संस्कृति र महिलाले भाषणबाजी नगरी खानेकुरा खाई नाचेर मात्रै हिँंडे त्यो विकृति कसरी हुने ? भोज खाए विकृति हुने तर विभिन्न संघ–संस्था वा समूहले व्यापार गरे, मेलाको नाम दिए ती मेलामा महिलाले भोज खाएर गर्नेजति वा त्योभन्दा पनि बढी खर्च गरेर सामान किने त्यही फेरि संस्कृति कसरी हुन्छ ?

ध्वनि प्रदूषण र होहल्लाप्रति यति विघ्न चिन्तित प्रशासन वर्षभरि जन्मदिन, विवाह, व्रतबन्ध आदिमा घन्किरहने पार्टी प्यालेसलाई साउन्ड प्रुफ र भिडभाडरहित बनाऊ र बाटोभरि असरल्ल पार्किङ नगर भन्न किन सक्दैन ? चौतर्फी विरोध भएपछि कास्की प्रशासनले ‘दर्ता नभएका संस्थालाई टिकट बेच्नबाट रोक्न यस्तो गरेको’ भनेको छ ।

आफूकहाँ ज्ञापनपत्र लिएर आउने ‘संस्था’हरूचाहिँ दर्ता भएका हुन् कि हैनन् ? गण्डकी प्रदेश सरकार र कास्की प्रशासनले आफूलाई पनि पक्कैसोधे होलान् । गणतन्त्रमा एउटा नागरिकले बिहेको, व्रतबन्धको, प्रेममा परेको वा प्रेममा बिछोड भएको वा तीजको जुनसुकै शीर्षकमा होटल वा पार्टी प्यालेसमा गएर भात खान अवश्य पाउँछ । यसमा प्रशासनले नियन्त्रण गर्न खोज्नु हास्यास्पद हो । स्थानीय सरकार र प्रशासनले केही व्यक्तिलाई विशेष कृपा गरिरहेकै कारण संस्कृति र विकृति अनि दर्ता र ‘अदर्ता’को यो फरक परिभाषाको प्रहसन सम्भव भइरहेको छ ।

तीजकै सान्दर्भिकता अब कति ?
प्रशासन वा समाजको मुर्खताभन्दा बढी अब तीज चाड नै कति सान्दर्भिक छ भन्नेचाहिँ मुख्य हो । कुनै समय तीजको गीतमा आफ्नो भोगाइ, वर्षभरि देशमा घटेका घटना बताएर महिलाले आफैमा सञ्चारको काम पनि गरेका थिए । पछिल्लो क्रममा त गीतमार्फत राजनीतिक चेतना पनि पोखेका थिए ।

तर तीजको विशेषता र यसका गीतको सिर्जनात्मकता भनेको लोग्नेको घरमा खान नपाउनु र मनका कुरा व्यक्त गर्न नपाउनुको बाई–प्रोडक्ट नै हो । तर कहिलेसम्म महिलाले लोग्नेको घरमा खान नपाएर तीज कुर्नुपर्ने ? लोग्ने वा सासू–ससुरालाई आफ्ना अप्ठ्यारा निर्धक्क भन्न नपाएर तिनलाई गीत बनाई कहिलेसम्म गाइरहने ?

कहिलेसम्म हामी साथमा कुनै चल–अचल सम्पत्ति नहुने कारणले सधैंभरि डगमगाएको आत्मविश्वास लिएर हिँंडिरहने अनि ‘माइती’ले दिएको दुईछाक भात र एकजोर कपडाको दयालाई आत्मीयता ठान्ने ? वर्षभरिको दमन र असमानतालाई एकदिन गीत गाएर गरेको ‘कथार्सिस’ अर्थात् विरेचनलाई कहिलेसम्म ‘उन्मुक्ति’ र ‘सिस्टरहुड’को नाम दिएर मनाउने ? जुन चाडको जग नै दमनकारी छ, त्यसको पुनर्परिभाषा गर्न कतिन्जेल पर्खिने ? देशमा छाउपडीलाई फौजदारी अपराध घोषित गरिएको छ ।

तर अझै पनि वर्षभरि महिनावारी भएका बेला भान्सा छोएको ‘पाप पखाल्न’ भनेर गरिने ऋषिपञ्चमीको पूजामा सहभागी भएर कहिलेसम्म महिनावारी पाप हो भनेकै कुरालाई समर्थन गरिरहने र सहरिया छाउपडी पालन गर्ने ? त्यसमाथि हामीजस्ता ‘पढेलेखेका’ भनिनेहरूले ‘गाउँघरका र नपढेका महिलाका लागि तीज आवश्यक छ’ भन्दै कहिलेसम्म उनीहरूलाई हेपिरहने ? ‘सिस्टरहुड’ र ‘रातो शक्ति’का नाममा महिलाको शोषण र उत्पीडनको इतिहास बोकेको तीजलाई प्रश्रय दिँंदै आफूलाई ‘चेतनशील’ भनिरहेका हामीले चाहिँ आफ्नो चेतनालाई कहिले प्रश्न गर्ने ?

प्रकाशित : भाद्र १९, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

भुइँतहमा भ्रष्टाचार

डेटलाइन तराई
चन्द्रकिशोर

पश्चिम नेपालतिर लोककथा सुरु गर्नुअघि एउटा आहान भन्ने गरिन्छ, जुन पृथक् भए पनि कथाकै अंग बन्न पुग्छ । जस्तो— ‘कौ लाटा काथ–बाधा/सुण काला तु/काणैले चोरी करी/दौड डुणा तु ।’ अर्थात्, बोल्न नसक्नेले कथा सुनाओ, सुन्न नसक्नेहरू यसलाई सुन, आँखा नदेख्नेले चोरी गरेर भाग्यो, हिँड्न नसक्नेहरू दौडेर त्यसलाई समात ।

अहिले स्थानीय सरकारहरूको अवस्था धेरै हदसम्म यस्तै छ । स्थानीय सरकारहरू प्रारम्भिक वर्षमै छन्, तर यीबारे जेजस्ता अफवाह, आशंका र अनुमान भुइँतहमा देखिएका छन्, तिनमा तथ्य पनि लुकेका छन्, जसलाई सोह्र्रै आना नकार्न सकिँदैन । स्थानीय तहमा आएको संसाधन र अधिकारले केही निहित स्वार्थ भएकाहरूलाई मात्रै फाइदा पुर्‍याइरहेको छ ।

त्यसले मूलतः भ्रष्टाचार, अनियमितता र बेथिति बढाएर समाजको नैतिक धरातल तथा रूपान्तरणको ढाड खुस्काएको छ । यो भनिराख्दा, केही स्थानीय तहले अधिकारको सदुपयोग र संसाधनको उचित प्रयोगमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको पक्षलाई भने भुल्न मिल्दैन ।

तराईका केही जिल्लाको भ्रमण गर्ने क्रममा मैले एउटा गुनासो सबै ठाउँमा सुन्न पाएँ, जसको भाषा फरक भए पनि भाव उही थियो— सिंहदरबार गाउँ/देहातमा त आएन, तर सिंहदरबारको विकृतिले भने गाउँ/देहात खर्लप्पै पार्न लागिसक्यो । पालिकाहरूमा जुन स्तरमा अचानक बजेट आएको छ र त्यसको जसरी प्रयोग गर्न थालिएको छ, त्यसप्रति आम मानिसको चिन्ता, गुनासो एवं चिन्तन बढ्दो छ । राजनीतिक खेलका कारण भ्रष्टाचार र अनियमितता संस्थागत रूपमा मौलाउँदै गएको छ ।

निर्वाचित पदाधिकारीहरूले विकसित गरेको भागबन्डा र बजेट खर्चिने तौरतरिकाले आमजीवनमा नयाँ–नयाँ कथाको रूप लिइसकेको छ । प्र्र्रत्येक पालिकामा यस्ता अनेक कथा सुन्न पाइन्छ, जसभित्र राजनीतिक प्रतिशोध र पूर्वाग्र्रह त होला, तर त्यो कथा–सर्बतमा कति पानी र कति चिनी छ थाहा हुन्छ । कुनै गाउँमा कागजमै पोखरी खनेर, कागजमै माछा पालेर पोखरी पनि पुरिएका कथाहरू अब पुराना भइसके । सार्वजनिक हितका लागि काम गर्न भनेर मत मागेकाहरू किन निजी फाइदामा बढी सक्रिय छन् ?

स्थानीय तहमा निर्वाचित प्र्रतिनिधिहरूमा देखा परेको मनोविज्ञानलाई प्रवृत्तिगत रूपमा नियाल्दा, पहिलो त उनीहरूले आफ्नो क्षेत्राधिकारभित्रका स्रोतहरू एकलौटी प्रयोग गर्ने अधिकारको दुरुपयोग गर्दै छन् । कार्यकालभरि सम्पूर्ण संसाधन आफूखुसी प्रयोग गर्न सक्ने दम्भ पनि छ तिनमा । ‘कसले के पो गर्न सक्छ र हामीलाई ?’ भन्ने अहम्ले गर्दा एकपछि अर्को भूल गर्दै छन् तिनीहरू । जुगाड लगाउन खप्पिस यस्ता प्रतिनिधिहरू लाभहानिको सवालमा बेलाबेला प्र्रतिस्पर्धीहरूसँग समेत समन्वय गर्न सफल हुन्छन् । त्यसैले भन्ने गरिन्छ, ‘खाने बेलामा सबै मिल्छन् ।’

कतिपय ठाउँमा देखा परेको मेयर–उपमेयर विवाद, वडाध्यक्षसँगको हानथाप, एउटै पार्टीका जनप्रतिनिधिहरूबीच बाझाबाझ, निर्वाचित प्रतिनिधि र दलका हस्तीहरूमाझ तानातानका घटनाको अन्तर्य आफू अनुकूल हिस्साको खोजी नै हो । स्थानीय तहमा मेयरले काखी च्यापेका वडाध्यक्षहरूको वडामा अधिक बजेट विनियोजन भइरहेको छ । यस्ता वडाध्यक्ष तिनका दलका पनि हुन सक्छन् वा फरक दलका भएर पनि तिनका मतियार हुन सक्छन् ।

भ्रष्टाचार कैयौं तरिकाले भइराखेको छ । नीति नै बनाएर, कमसल काम गरेर, आवश्यकताभन्दा बढी खरिद गरेर, प्रविधि प्रयोगका नाममा प्रयोजनै नभएको ठाउँमा सञ्चालन गरेर, अनावश्यक भ्रमण गरेर, महंँगा गाडी किनेर, कम दरको सामानलाई बढी मूल्य देखाएर ... । निर्माण भइसकेको ठाउँमा फेरि निर्माण गर्ने वा एउटै निर्माण क्षेत्रमा दोहोरोतेहरो शीर्षकमा रकम खन्याउने परिपाटी विकसित हुँदै छ । सेवा प्रवाह गरेबापत अनुचित लाभ लिने, कर फर्स्योटमा मोलमोलाइ गर्ने जस्ता प्रवृत्ति त आम छन् ।

निर्वाचित जनप्र्रतिनिधिहरू आइसकेपछि सार्वजनिक जग्गा व्यक्तिविशेषका नाममा कब्जा गर्ने खेल बढी भएको छ । सुदूर देहातका सार्वजनिक जग्गा हेर्दाहेर्दै व्यक्तिका नाममा पुगेका छन् । सार्वजनिक जग्गालाई सस्तो दरमा लामो समयसम्म लिजमा दिने काम भएको छ ।

सङ्घीय संरचनामा नागरिकलाई सेवा प्रवाह गर्ने सबैभन्दा नजिकको तह स्थानीय सरकार नै हो । एकात्मक संरचनाका स्थानीय निकायका तुलनामा सङ्घीय संरचनामा यिनले बढी संवैधानिक अधिकार पाएका छन् । अधिकार क्षेत्र फराकिलो भएको छ । कार्यकारी, व्यवस्थापकीय र सीमित न्यायिक अधिकार छ ।

स्थानीय तह ‘प्यान्डोराज बक्स’ जस्तै हो । भ्रष्टाचार र अनियमितता गर्नेका लागि त्यहाँ हिंस्रक शक्ति हुन्छ । सपना देख्न, सिर्जना गर्न र संवाद गर्न जान्नेका लागि त्यहाँ सुखद आशा पनि लुकेको छ । त्यो बाकसबाट आशाका संवाहक तत्त्वहरूभन्दा हिंसात्मक तत्त्व तानिनुचाहिँ देशको दुर्भाग्य हो ।

यस पृष्ठभूमिमा लोकतन्त्रको जरो भुइँतहसम्म फैलाउन ल्याइएको स्थानीय सरकारको परिकल्पनालाई संस्थागत हुन नदिन अहिले पनि केन्द्रीय सत्ता लागेकै छ । उसले संवैधानिक प्रावधान अनुसार अधिकार र संसाधन वितरणमा कन्जुसी गरिराखेको छ । स्थानीय तहबारे यो बेथितिको प्रारूप हो भन्ने संकथन बन्दै गयो भने उपलब्ध अधिकार कटौती हुन बेर छैन । हिजोअस्तिसम्म सिंहदरबार गन्हायो भनेर खुब गनगन भयो, अब त गाउँकै सिंहदरबार उस्तै दलदलमा फस्दै गएको छ । यो सुशासनमाथिको हमला हो । यो जनता बलियो हुने प्रक्रियामाथिको कुठाराघात हो ।

जनप्रतिनिधिहरू मतदाताका प्रतिनिधिजस्ता लाग्दैनन् । पेसेवर राजनीति गर्न आएका यिनीहरूको ध्यान शक्ति र संसाधन जोड्नमै केन्द्रित देखिन्छ । पालिकाको प्रतिनिधित्वमा रहेकाहरूको दुई खाले तस्बिर छ— एक थरी अब हाम्रो पालो हो भन्दै जसरी पनि दोहन गर्ने र राजनीतिक शक्ति सञ्चय गर्ने दाउमा छन् ।

अर्को थरी स्थानीय तहमा अधिकतम सम्भावनाको खोजी गरीआफ्नो राजनीतिक अवसरलाई उन्नत बनाउने धुनमा छन् । यिनीहरू जहाँबाट चुनिएका छन्, प्रायः त्यहींका बासिन्दा हुन् । दलीय प्रतिस्पर्धा भएकाले टिकट कसरी पाए, चुनाव कसरी जिते, परिषद् बैठक कसरी गराए, यसमा पनि धेरै कुरा भर पर्छ । स्थानीय तहमा ठेकेदार, कारोबारी, भूमाफिया, छोटो समयमा कमाएकाहरू, जातिगत आधार बनाएकाहरू नै बढी छन् । यसले गर्दा भुइँतहमा शक्ति वा सत्ताको हस्तान्तरण प्रक्रिया मत्थर छ ।
स्थानीय तहमा कमाउ आर्थिक चक्रले नयाँ ध्रुवीकरण सुरु भएको छ । नयाँ अभिजात्य वर्ग उदाएको छ । नयाँ शक्ति संरचना अर्को पक्षप्रति अनुदार हुँदा तृणतहमा तनाव देखिएको छ । त्यसैको सह–उत्पादन हो— नगरसभा हुनु हुँदैन कि, अख्तियारमा उजुरीको ताँती लाग्छ । विवाद तथा द्वन्द्वका अनेक कारण छन् ।

तर तीमध्ये मुख्य कारण ‘आफू मात्र लुट्ने’ वा ‘आफूलाई पनि त्यसमा हिस्सा मिलोस्’ मै गएर अड्किएको छ । माथि सिंहदरबारमा मात्र भ्रष्टाचार हुँदा तल्लो तहसम्म भ्रष्ट मानसको सामाजिकीकरण भएको थिएन । तल्लो सिंहदरबारमा मौलाएको भ्रष्टाचारका कारण समाजले सदाचारीको साटो भ्रष्टाचारीलाई इज्जत दिन थालेको छ र यसैलाई नयाँ सामाजिक संहिता मानिँदै छ । भुइँतहको भ्रष्टाचारले समाजका सबै पक्षलाई संक्रमित गरेको छ ।

स्वतन्त्रतापछि भारतको सीमावर्ती राज्य उत्तरप्रदेशको एक गाउँको कथामा आधारित भएर श्रीलाल शुक्लले ‘रागदरबारी’ जस्तो प्रसिद्ध हिन्दी उपन्यास लेखेका थिए । यसमा ग्रामीण जीवनको मूल्यहीनता औंल्याइएको छ । हाम्रा कतिपय स्थानीय सरकार उही रागदरबारीको उत्तरगाथा लेख्न अहिले तल्लीन छन् । त्यसैले भुइँतहमा अनेक कथा जन्मिएका छन् ।

तर हिजोसम्म जो बोल्न सकिरहेका थिएनन्, तिनले यस्ता सत्य कथा अब ओकल्नुपर्छ । वर्चस्वशालीहरूको डरले यस्ता कथा सुन्न नचाहनेहरूले अब यसलाई सुन्नुपर्छ । जनताको जुर्मुराहटप्रति आँखा चिम्लिने र लुट्नेहरूलाई हिजोसम्म सडकमा नआउनेहरू अगाडि आएर लखेट्नुपर्छ । अनि मात्र स्थानीय स्वशासन सुशासनमा अनुवाद हुन्छ, रूपान्तरण खेत–खलिहान र चुला–चौकासम्म पुग्न सक्छ ।

प्रकाशित : भाद्र १९, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्