वितृष्णा रोपेर फल्दैन विश्वास

विश्वप्रकाश शर्मा

हाम्रो राजनीति यति बेला आशा र ऊर्जाभन्दा असन्तुष्टि, आक्रोश र वितृष्णाले बढी घेरिएको छ । यो यथार्थलाई जबर्जस्ती ढाकछोप गर्न खोजेर राजनीतिको अनुहार उज्यालो बनाउन सकिन्न । सत्यलाई स्विकारेर, आत्मचिन्तन र आत्मालोचना गरेर मात्रै हामी आम भरोसालाई नवीन रूपले जागृत गर्न सक्छौं । 

लगभग डेढ दशकअघिसम्म एकातर्फ हत्या–हिंसा चलिरहेको थियो र रगत बगिरहेको नदीको झोलुंगे पुलमा उभिएर महाराज महोदय बाँसुरी बजाइरहेका थिए भने, अर्कातर्फ मुख्य राजनीतिक दलहरू फरक दिशामा फर्किएका थिए र जनतामा चरम निराशा व्याप्त थियो ।

अहिले तुलनात्मक रूपले शान्ति छ, जनताका छोराछोरीले मुलुकको सर्वोच्च पद आफै सम्हाल्न पाउने व्यवस्था आएको छ, संघीयता सहितको संविधान बनेको छ र निर्वाचनमार्फत देशले स्थिर सरकार पाएको छ । यो इतिहासकै सुन्दर घडी हो र यस्तो उत्साहित समयखण्डमा नागरिक पंक्तिमा वितृष्णा नबढ्नुपर्ने ∕ तर, यथार्थ त्यस्तो छैन ।

राजनीतिक उपलब्धिलाई आर्थिक विकासको गति र सामाजिक रूपान्तरणको सौन्दर्यले सिंँगार्न सकिएन भने, विश्वव्यापी अनुभवले भन्छ, त्यसले क्रमशः असन्तुष्टिको बीजारोपण गर्छ र झाँगिँदै गएर वितृष्णाको रूप लिन पुग्छ ।

शान्ति, संविधान र निर्वाचनपछि नागरिकको हाकाहाकी अपेक्षा समृद्धिले गति लिनुपर्छ भन्ने थियो । निर्वाचनको मैदानमा वितरित सपनाहरूको दस प्रतिशत गति मात्रै प्रस्तुत भएको भए पनि असन्तुष्टि सायद सुरु हुने थिएन । हल गर्न बांँकी तराई–मधेसको मुद्दा, जनजाति, महिला, दलित र थारू लगायत केही राजनीतिक सवाललाई सरकारले सम्बोधन गरेको भए रोषको मात्रा थपिने थिएन ।

पांँच वर्षका लागि बनेको सरकारले दीर्घकालमा परिणाम देखिने परियोजनाहरू प्रस्ताव गरी नागरिक पंक्तिलाई धैर्यपूर्वक विश्वासमा लिएको भए सरकार सम्भवतः यति धेरै अलोकप्रिय हुने थिएन । तर सकारात्मक सम्प्रेषण गर्न सकिने विषयहरूमा गम्भीरता त पुगेन नै, नकारात्मक सन्देश जाने थुप्रै कर्म यसबीच भए, जसले सुरुमा असन्तुष्टि, पछि आक्रोश र अन्ततः वितृष्णा फैलाउन सुरु गर्‍यो ।

यसरी बढ्यो वितृष्णा
चर्को मूल्यवृद्धि हुँंदा नागरिकले प्रतिप्रश्न पाए— जमानामा नब्बे रुपैयाँ तोला सुन पाइन्थ्यो, आज त्यो खोजेर हुन्छ ? यो जवाफले नागरिकलाई खुसी तुल्यायो होला कि बेखुसी ? निर्मला पन्तजस्ता प्रकरण हिजो पनि भए भोलि पनि हुन्छ, यो जवाफले नागरिकलाई प्रसन्न बनायो होला कि आक्रोशित ? गुठी विधेयकविरुद्ध हजारौंको प्रदर्शनलाई प्रतिगामी चलखेलको संज्ञा दिइयो, यसले सरकारप्रति प्रेम बढायो होला कि झोक ?

संविधानमा धर्मनिरपेक्षता लेखेर देशलाई होली वाइन पिलाएपछि, संविधानमा प्रेस स्वतन्त्रता लेखेर शिरमा तरबारझुन्ड्याएपछि, संविधानमा स्वतन्त्र न्यायालय लेखेर सत्ताको लाचार छाया बनाउने प्रयत्न गरेपछि कोही कसैले जिन्दावाद कसरी भन्न सक्छ ?

वाइडबडी भ्रष्टाचार जब ढाकछोपको प्रयत्न हुन्छ, बालुवाटार जग्गा प्रकरणलाई जब रहस्यमय बनाइन्छ, बुढीगण्डकी नेपाली आफैले बनाउन भनेर डिजेल–पेट्रोल खरिद गर्दा प्रतिलिटर पाँच रुपैयाँका दरले जम्मा गरेको रकम अर्बौं पुगिसकेपछि लम्पसार परेर जब त्यसलाई अन्त बुझाइन्छ, आउनै लागेको मेलम्चीलाई स्वागत गर्न जब काठमाडौंले ‘काकाकुल’ पिउनुपर्छ, तब मुर्दावाद नभनी मुर्दाझैं बनेर सहर कसरी निदाउन सक्छ ?

वितृष्णा तीव्र बढ्दै गएपछि सम्माननीय प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो, जुन स्वागतयोग्य थियो । राजनीतिप्रति आकर्षण तब बढ्छ, जब प्रधान राष्ट्रिय मुद्दाहरूमा प्रधान दलहरू एक ठाउंँमा उभिएर देशलाई सम्बोधन गर्छन् । कांग्रेस नेतृत्वकालको विगतले भन्छ— हरेक महत्त्वपूर्ण मुद्दामा दलहरूबीच राष्ट्रिय सहमति खोजियो । तर पछिल्लो समय न सीके राउत प्रकरणमा खुला संवाद भयो, न विप्लव माओवादी प्रकरणमा ।

सत्तारूढ बनेपछिको प्रथम सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भन्नुभयो— राज्यप्रणाली उल्ट्याउने खालका गतिविधि बढे, एक बनौं । सत्य र तथ्य के हो भने, न पूर्वराजाले चाहंँदैमा राजतन्त्र फर्किन सक्छ, न त विप्लवले चाहंँदैमा उनको भाषाको ‘वैज्ञानिक समाजवाद’ एकाएक आउन सक्छ । आजको राज्यप्रणालीको सफलता या असफलता ‘उनीहरू’ मा होइन ‘हामीहरू’ मा निर्भर छ । हामी हजार गल्तीको कच्चा पदार्थ जबसम्म उत्पादन गरिरहन्छौं, तबसम्म उनीहरूको फ्याक्ट्री चलिरहन्छ ।

वितृष्णाको प्रतिनिधि कारण
आजको प्रतिपक्षले सरकारलाई काम गर्न कुनै बाधा पुर्‍याएको छैन । उस बेलाको प्रतिपक्षी एमालेले २०४८–५० का बीचमा अनेक पटक अनेक बन्द र तोडफोडको लीला मच्चाएको थियो । आजको प्रतिपक्ष बरु कमजोर भएको आलोचना सुन्न तयार छ, तर बलियो देखिने नाममा जनतालाई दुःख दिएर राजनीतिप्रति थप वितृष्णा बढाउने काममा सरिक छैन । सत्तारूढ नेताहरूले यस्तो सतर्कता झनै राख्नुपर्थ्यो, तर उहाँंहरूका कतिपय अभिव्यक्ति र व्यवहारले, माफ गर्नुहोला, पदीय गरिमाको पटक–पटक चीरहरण गरेको छ, जसले नागरिकमा वितृष्णा बढाउन नकारात्मक योगदान दिएको छ ।

अरू दर्जनौं उदाहरण छोडौं, बिर्सने सर्तमा पछिल्लो एउटा अत्यन्तै अमिलो सन्दर्भ सम्झौं । सिंगापुर उपचारमा जानुअघि प्रधानमन्त्रीलाई उहांँका पुराना मित्र पूर्वप्रधानमन्त्री माधव नेपालले स्वास्थ्यलाभको कामना गर्दा जवाफमा प्रधानमन्त्रीले ‘मलाई तपाईको शुभकामना चाहिँंदैन’ भन्नुभएछ । एक प्रधानमन्त्री र अर्का पूर्वप्रधानमन्त्रीबीच यस्तो संवाद सुनेर सडकमा हिँडिरहेको कुनै युवकको हृदयमा आदर बढ्यो कि घट्यो होला ? राजनीतिप्रति आकर्षण बढ्यो होला कि वितृष्णा ?

राजनीतिक प्रणालीको सफलता संविधानका चिसा अक्षरमा होइन, राजनीतिज्ञहरूको सुसंस्कृत व्यवहारमा निर्भर हुन्छ । अनि समृद्धि भनेको बाटो, बिजुली र ठूला भवनहरू मात्र होइन, समाजमा सद्भाव, प्रेम र भाइचाराको अभिवृद्धि पनि हो । सरकार बन्यो तर संस्कार बनेन भने, गाउंँमा बाटो बन्यो तर गाउँले आत्मीयता भत्कियो भने, ठूला घर बने तर पारिवारिक विश्वासमा धांँजाफाट्यो भने भौतिक प्रगति मात्रैले जीवन खुसीको अर्थ रहँंदैन ।

आजको प्रणाली स्थापित गर्न योगदान गरेका आम नेपाली जान्दछन्, समृद्धि कसैले ‘छुमन्तर वाचा’ भनेर प्राप्त हुँंदैन । तर ती अपेक्षा राख्छन् समृद्धि हासिल गर्न देश निश्चित संस्कार र ‘सिस्टम’ ले चलोस् । इतिहासकै अनुकूल समयमा थिति नबसाएर सत्ताधिपतिहरू जब संस्कारको हुर्मत लिन्छन्, अनि पद्धति भत्काउन उद्यत हुन्छन्, तब नागरिकमा वितृष्णा बढ्छ नै ।

वितृष्णाको प्रतिनिधि उदाहरण
रवि लामिछाने प्रकरण नागरिक पंक्तिमा देखिएको वितृष्णाको बलियो उदाहरण हो । रविले नागरिक पीडा र सरोकारका अनेक मुद्दा टेलिभिजन प्रस्तुतिमार्फत उठाए, जसले उनलाई एक ढंगको लोकप्रियता दिलायो । तर उनको पक्षमा निक्लिएको जुलुस प्रकारान्तरले उनको पक्षमा मात्र होइन, ‘हाम्राहरू’ को विपक्षमा पनि थियो । हाम्रो सरकार, हाम्रो प्रहरी, हाम्रो कानुन अनि हाम्रो विश्वासको विपक्षमा पनि थियो ।

कसैले पनि अवमूल्यन नगरून्, सडकमा ओर्लिएका नागरिकको विवेकलाई । हिजो गणतन्त्रको आन्दोलनमा साथ दिंँदा यी ठीक, चर्को घाममा लाम लागेर भोट दिइरहंँदा यी ठीक, आज एकाएक असन्तुष्टिको प्रदर्शन गर्दा यी कसरी बेठीक ? बरु यिनले त जबर्जस्त ढंगले ऐना देखाएका छन्— समयमै आफूलाई बदल, नत्र समयले तिमीलाई बदल्नेछ ।

यद्यपि कोही पनि कानुन र अदालतभन्दा माथि हुन सक्दैन, अनुसन्धानको दायरामा पर्छ नै, तर त्यति धेरै लोकप्रिय भोट दिएर दुईतिहाइको विश्वास दिएका नागरिकले त्यसको दुई वर्ष नपुग्दै त्यही सरकार मातहतको अनुसन्धानलाई विश्वास गर्ने धैर्य किन राखेनन् ? पांँच वर्षका लागि बनेको सरकारले गहिरो समीक्षा गर्न जरुरी छ, दुई वर्षमै किन कोरियो सडकमा अविश्वास प्रस्ताव ?

सरकार मास्क लगाउनेलाई मार्क्सवादविरोधी देख्छ र जुलुस लगाउनेलाई व्यवस्थाविरोधी । तर नागरिकको वितृष्णा आजको अवस्थाप्रति हो, व्यवस्थाप्रति भनी अतिरञ्जित व्याख्या कसैले गर्न हुन्न । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान गरेका समस्त नेपाली चाहन्छन्, ‘अवस्थामा परिवर्तन, व्यवस्थाको सुदृढीकरण’ ।

ती जान्दछन्, पानी सङ्ल्याउनुपर्छ, ताकि धमिलिँदा माछा मार्न कसैले नसकून् । निश्चय नै कैयौं खराबी छन् लोकतन्त्रका, तर ती जान्दछन्, योभन्दा सुन्दर विकल्प दुनियाँमा आविष्कार भएको छैन ।

ट्वीटर : @bishwaprakash77

प्रकाशित : भाद्र १८, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

दरबारी राग

केशव दाहाल

केहीअघि सुर्खेतबाट गौवधसम्बन्धी दुःखद समाचार आयो । धेरैले टिप्पणी गरे, ‘मान्छे हिजोभन्दा धेरै अनैतिक, भ्रष्ट र मूल्यहीन हुँदै छ ।’ अनेक प्रसंगमा सामाजिक अगुवाहरू भन्छन्, ‘समाज एकांगी र हिंस्रक बन्दै छ ।’ अभियन्ताहरू कराउँछन्, ‘व्यक्तिगत महत्त्वाकांक्षाले सामाजिक भावनालाई कुण्ठित गर्‍यो ।’ धर्मगुरुहरू भन्छन्, ‘मान्छेमा नैतिकता र अनुशासन हरायो ।’

राजनीतिक विश्लेषकहरू लेख्छन्, ‘राज्यसत्ता स्वयं बेइमान छ ।’ के साँच्चै हाम्रो सामाजिकभावना, अनुशासन र मूल्य–मान्यताको जग भत्कँदै छ ? छ भने, कारण के होला ?

व्यक्तिगत/सामाजिक मूल्यहरूको स्थापना एउटा सामाजिक प्रक्रिया त हो नै, यो मूलतः राजनीतिक प्रक्रिया पनि हो । व्यक्तिको नैतिकता र अनुशासन स्वयंको चरित्रसम्बद्ध मात्र हुन्न, समाज, राज्य र राजनीतिसँग जोडिने विषय पनि हो यो । कुनै पनि देशको राजनीतिक प्रक्रियाले समाजको चरित्र निर्माणमा योगदान गर्छ । यसर्थ व्यक्तिगत/सामाजिक मूल्यहरूको स्थापना व्यक्ति र समाजको मात्र सरोकार होइन, यो मूलतः राजनीतिक कुरा हो ।

आधुनिक समाजमा मान्छेलाई प्रभावित गर्ने सबैभन्दा ठूलो विषय हो— राजनीति । राजनीतिक आन्दोलन, अर्थराजनीति, उपरी संरचना र आधारहरूमा हुने फेरबदलले मान्छेलाई सबैभन्दा धेरै प्रभावित गर्छन् । यस्ता प्रभाव कहिले सकारात्मक हुन्छन् त कहिले नकारात्मक । कहिले राजनीतिले मान्छेलाई अनेक विरोधाभासमा जाकिदिन्छ र मान्छे निराश बन्छ । कहिले राजनीतिले मान्छेमा उत्साह सिर्जना गर्छ र ऊ आशावादी बन्छ । त्यही आशा र निराशाले मान्छे/समाजको मनोविज्ञान निर्माण हुन्छ । अतः राजनीतिमा देखिने कमजोरीलाई जस्ताको तस्तै राखेर मान्छेलाई उत्साहित र अनुशासित गर्छु भन्नु वाहियात हो ।

मान्छेहरूले भनेजस्तै, के हाम्रो सामाजिक अनुशासन बिग्रिएकै हो ? प्रश्न स्वाभाविक हुन्छ— राजनीतिमा उन्नत व्यवस्था ल्याउने तर समाज भने झन्झन् मूल्यहीन हुँदै जाने, यो कसरी सम्भव छ ? निश्चयै राजनीतिक व्यवस्थामा आउने परिवर्तनसँगै समाज अझ धेरै उत्साहित, अनुशासित र सिर्जनात्मक हुनुपर्ने हो ।

किन उल्टो हुँदै छ त ? यसको सीधा अर्थ हुन्छ— लोकतन्त्रले काम गर्न सकेको छैन । राजनीतिक परिवर्तनको गति, भाव र गुण राज्य सञ्चालनमा देखिएको छैन । परिणामतः मान्छेहरू तीव्र निराशामा फसे । र, समाजले स्वाभाविक सिर्जनशीलता समाउन सकेन । यो अर्थमा लोकतन्त्रको मूल्यहीनता नै नेपाली समाजको मूल्यहीनताको पछिल्लो कारण हो । कुरा सरल छ, ७० वर्ष लडेर ल्याइएको लोकतन्त्रले काम गर्दैन भने समाज कसरी उत्प्रेरित हुन्छ ?

७० वर्षदेखि सुनेको मार्क्सवादले काम गर्दैन भने समाज कसरी गतिशील हुन्छ ? पटक–पटकका आन्दोलनले मान्छेको जीवन बदल्दैनन् भने समाज कसरी ज्ञानी, शालीन र सभ्य बन्छ ? अनेकबार नारा लगाएको समाजवादले काम गर्दैन भने मान्छे कसरी आश्वस्त हुन्छ ? स्वभावतः सपना मरेको समाज गतिशील हुँदैन । त्यस्तो समाज या त मौन बस्छ वा उल्टो हिँड्छ । उल्टो हिँड्नु भनेको अराजक हुनु, असहिष्णु हुनु र अनुशासनहीन हुनु हो ।

लोकतन्त्र कसरी परिणामहीन हुँदै छ ? हामीसँग प्रशस्त उदाहरण छन् । गतसाता हामी केही साथीले तुलसीपुर, दाङको यात्रा गर्‍यौं । बाटामा अनेक खोलाखोल्सा थिए । तिनमा पुल असरल्ल भेटिन्थे । कुनै आधा बनेर छोडिएका । कुनै भर्खर बनाउन सुरु गरिएका । कुनै सकिन–सकिन लागेका ।

स्थानीय बासिन्दा भन्थे, ‘बितेका दस वर्षदेखि धूलो, बाढी र अव्यवस्थाको सास्ती भनिसाध्य छैन ।’ सहरमा न राम्रो अस्पताल छ, न त राम्रो कलेज । एसियाकै दोस्रो ठूलो उपत्यका हो दाङ । उर्वर र सुन्दर छ, तर बितेका ३० वर्षमा कुनै परिवर्तन छैन । यत्रतत्र भ्रष्टाचार तीव्र छ । अस्पतालमा मान्छे प्रताडित छन् । न त औषधी न उपचार । स्कुलहरू कमजोर छन् ।

तुलसीपुरमै भेटिएका एक युवकले भने, ‘कहाँ छ लोकतन्त्र ?’ बितेका ७० वर्षदेखि जनताको माग एउटै छन्— लोकतन्त्र, विकास, न्याय, सुशासन, समाजवाद ! तिनै युवाले प्रश्न गरे, ‘जब बोल्नेहरूको स्वरलाई दरबारी रागले गतिहीन र अर्थहीन बनाउँछ, बोलेर के हुन्छ ? चुपचाप बस्नुको अर्थ यो होइन कि सबै ठीकठाक छ । बरु चुपचाप बस्नु राज्यलाई अविश्वास गर्नु हो । चरम निराशामा या त मान्छे बिच्किन्छ या चुप लाग्छ । एउटा ‘फ्रस्ट्रेटेड’ समाजले दिने त्यही नै त हो, मूल्यहीनता !

समाज निर्माणको आफ्नै लय हुन्छ । समाजले आफैभित्र र बाहिरका अनेक अन्तरसंघर्षबाट सभ्यता निर्माण गर्छ, जसलाई प्रभावित गर्छन् मुख्यतः तीन विषयले । पहिलो, बाँच्नका लागि मान्छेले गरेका संघर्षहरूले समाजमा श्रमको महत्त्व स्थापित गर्छन् । दोस्रो, व्यक्ति, समाज, प्रकृतिसँगको अन्तरसम्बन्ध समाज निर्माणको अर्को सशक्त पक्ष हो, जसमा आफ्नै दुःखसुखका कथा हुन्छन्, जसमा धर्म, संस्कार, संस्कृति निहित हुन्छन् । यसले समाजको भावना र भावुकता निर्माण गरिदिन्छ ।

तेस्रो, समाजलाई ठीकठाकसँग राख्न यसले आफ्नो राजनीति तय गर्छ । यसरी सामाजिक ज्ञान, भावना, उत्प्रेरणा, आविष्कार र त्यसको व्यवस्थापन नियमित हुँदै जान्छ, जुन समुच्चमा सामाजिक सभ्यताका रूपमा प्रकट हुन्छ । यदि यो प्रक्रिया सन्तुलित, सिर्जनशील र उत्तरदायी छ भने समाज शिष्ट, शालीन र सन्तुलित हुँदै जान्छ । अन्यथा समाज उग्र, भ्रष्ट, हठी, एकांगी र मूल्यहीन हुँदै जान्छ ।

हाम्रो समाज बितेका ७० वर्षमा सबैभन्दा ठूलो संक्रमणबाट गुज्रिँदै आयो । हाम्रो श्रमसत्तामा ठूलो उथलपुथल भयो । यसबीच बसाइँसराइ, उत्पादन सम्बन्धमा बदलाव, श्रम पलायन, जातीय, धार्मिक र राजनीतिक सत्तासँगको टकराव निकै सशक्त रहे । निश्चयै, यसबीच हामीले अनेक सामाजिक तथा राजनीतिक उथलपुथल भोग्यौं । कतिपय व्यवस्था विघटित पनि भए, तर नयाँ पद्धति निर्माण गर्न सकिएन । पुरानो श्रम व्यवस्थाबाट मान्छे पलायन त भयो, तर नयाँ उत्पादन प्रणालीमा जान सकेन ।

पुराना सामाजिक व्यवस्थाहरूलाई हामीले प्रश्न गर्‍यौं, तर नयाँ, उन्नत र लोकतान्त्रिक सामाजिक व्यवस्थाहरू बनेनन् । समाजलाई जोड्ने पुराना भावुकतामा हामीले हम्मर चलायौं, तर नयाँ कथा बनाउन सकिएन । सबैभन्दा खतरनाक कुरा, समाजको सबैभन्दा ठूलो समूह श्रम नगरी कमाउने धन्दामा लाग्यो । राजनीति गर्ने लाखौं मान्छे श्रमबाट अलग भए । राज्य सञ्चालनमा बिचौलियाहरू हावी हुँदै गए । अनेक द्वन्द्वले मान्छेलाई आक्रामक र हठी बनाउँदै लग्यो ।

सरकार भ्रष्टाचारमा लाग्यो । मन्त्री भ्रष्टाचारमा लाग्यो । ठेकेदार भ्रष्टाचारमा लाग्यो । प्रहरी भ्रष्टाचारमा लाग्यो । डाक्टर भ्रष्टाचारमा लाग्यो । मान्छे धूलोमैलो, रोग र पीडामा छटपटाउँदै रहे, तर शासकहरूको दरबारी रागमा साधारण मान्छेका दुःखको कथा कहिल्यै सुनिएन । सामाजिक तथा राजनीतिक उत्तरदायित्व क्षीण भयो ।

व्यक्तिवाद हावी भयो र त्यसले सामाजिक महत्त्वलाई विघटित गर्‍यो । पछिल्ला राजनीतिक आन्दोलन र बहस यति रूखा, एकांगी र सपाट थिए, मानवतामाथि खिसिट्युरी गरियो । मान्छेलाई केवल ‘मटेरियल’ का रूपमा हेरियो । तीव्र पार्टीकरणले कार्यकर्ताहरूको मनोबल उठ्यो, तर साधारण मतदाता निराश बन्दै गए । निराश मान्छे भएको समाजमा के अनुशासन, के सामाजिक मूल्य ?

निष्कर्ष बन्छ— समाजको मूल्यहीनता हाम्रो राजनीतिक प्रक्रियाकै असफलता हो । यद्यपि यो तथ्यलाई आँखा चिम्लिएर सत्ताधारीहरू दरबारिया शैलीमा राग गाउँछन्— ‘ज्ञानी बन ।’ उनीहरू आफू कति धेरै भ्रष्ट, मूल्यहीन र पतित छु भन्ने बिर्सिन्छन् । उनीहरू राज्य कति धेरै ढोंगी र भ्रष्ट हुँदै छ भन्नेबारे बुझ पचाउँछन् । मान्छे ज्ञानी बन्न न त धेरै कठिन छ, न सजिलो । यो मूलतः राज्यले निर्माण गर्ने शैली, संस्कार, संस्कृति, उत्प्रेरणासम्बद्ध विषय हो ।

जब राजनीतिक परिवर्तनहरूले मान्छेको जीवनलाई प्रभावित गर्ने सामर्थ्य गुमाउँछन्, स्वभावतः समाज र व्यक्ति स्वयंका मूल्यहरू विघटित हुन थाल्छन् । सत्य नै यही हो— जब लोकतन्त्र लोकतन्त्रजस्तो हुँदैन, राज्य राज्यजस्तो कसरी हुन्छ ? समाज समाजजस्तो कसरी हुन्छ ? सबै कुरा बिग्रिँदै गएको समाजमा, व्यक्ति पवित्र, नैतिकतावान् र असल रहन कसरी सम्भव हुन्छ ?

नेपाली समाज अहिले राजनीतिक नैतिकताको संकटमा छ । त्यसैको सहउत्पादन हो— सामाजिक मूल्यहीनता । मुख्यतः सामाजिक मूल्य, मान्यता र अनुशासनलाई स्थापित गर्न राजनीतिको गरिमा, मूल्य र महत्त्व स्थापित गर्नुपर्छ । अन्यथा नेताहरूले गाउने ‘सबै ठीकठाक छ’ को रागले मात्र समाजलाई शान्त, सभ्य र अनुशासित राख्न सक्दैन ।

लोकतन्त्र कोरा सिद्धान्त मात्र होइन, समाजको अनुशासन, आशा, अपेक्षा र ऊर्जाको स्रोत पनि हो । अन्यथा लोकतन्त्रमा न रोटी सेकाउन मिल्छ, न त त्यसले पेट भर्छ । थाकेका, निराश र लक्ष्यहीन मान्छेको राग, निश्चयै दरबारको जस्तो सुरिलो हुँदैन । अतः व्यक्ति र समाज बदल्न राजनीति बदलौं, बाँकी मिल्दै जान्छ ।

dahal.keshab@gmail.com

प्रकाशित : भाद्र १८, २०७६ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्