दरबारी राग

केशव दाहाल

केहीअघि सुर्खेतबाट गौवधसम्बन्धी दुःखद समाचार आयो । धेरैले टिप्पणी गरे, ‘मान्छे हिजोभन्दा धेरै अनैतिक, भ्रष्ट र मूल्यहीन हुँदै छ ।’ अनेक प्रसंगमा सामाजिक अगुवाहरू भन्छन्, ‘समाज एकांगी र हिंस्रक बन्दै छ ।’ अभियन्ताहरू कराउँछन्, ‘व्यक्तिगत महत्त्वाकांक्षाले सामाजिक भावनालाई कुण्ठित गर्‍यो ।’ धर्मगुरुहरू भन्छन्, ‘मान्छेमा नैतिकता र अनुशासन हरायो ।’

राजनीतिक विश्लेषकहरू लेख्छन्, ‘राज्यसत्ता स्वयं बेइमान छ ।’ के साँच्चै हाम्रो सामाजिकभावना, अनुशासन र मूल्य–मान्यताको जग भत्कँदै छ ? छ भने, कारण के होला ?

व्यक्तिगत/सामाजिक मूल्यहरूको स्थापना एउटा सामाजिक प्रक्रिया त हो नै, यो मूलतः राजनीतिक प्रक्रिया पनि हो । व्यक्तिको नैतिकता र अनुशासन स्वयंको चरित्रसम्बद्ध मात्र हुन्न, समाज, राज्य र राजनीतिसँग जोडिने विषय पनि हो यो । कुनै पनि देशको राजनीतिक प्रक्रियाले समाजको चरित्र निर्माणमा योगदान गर्छ । यसर्थ व्यक्तिगत/सामाजिक मूल्यहरूको स्थापना व्यक्ति र समाजको मात्र सरोकार होइन, यो मूलतः राजनीतिक कुरा हो ।

आधुनिक समाजमा मान्छेलाई प्रभावित गर्ने सबैभन्दा ठूलो विषय हो— राजनीति । राजनीतिक आन्दोलन, अर्थराजनीति, उपरी संरचना र आधारहरूमा हुने फेरबदलले मान्छेलाई सबैभन्दा धेरै प्रभावित गर्छन् । यस्ता प्रभाव कहिले सकारात्मक हुन्छन् त कहिले नकारात्मक । कहिले राजनीतिले मान्छेलाई अनेक विरोधाभासमा जाकिदिन्छ र मान्छे निराश बन्छ । कहिले राजनीतिले मान्छेमा उत्साह सिर्जना गर्छ र ऊ आशावादी बन्छ । त्यही आशा र निराशाले मान्छे/समाजको मनोविज्ञान निर्माण हुन्छ । अतः राजनीतिमा देखिने कमजोरीलाई जस्ताको तस्तै राखेर मान्छेलाई उत्साहित र अनुशासित गर्छु भन्नु वाहियात हो ।

मान्छेहरूले भनेजस्तै, के हाम्रो सामाजिक अनुशासन बिग्रिएकै हो ? प्रश्न स्वाभाविक हुन्छ— राजनीतिमा उन्नत व्यवस्था ल्याउने तर समाज भने झन्झन् मूल्यहीन हुँदै जाने, यो कसरी सम्भव छ ? निश्चयै राजनीतिक व्यवस्थामा आउने परिवर्तनसँगै समाज अझ धेरै उत्साहित, अनुशासित र सिर्जनात्मक हुनुपर्ने हो ।

किन उल्टो हुँदै छ त ? यसको सीधा अर्थ हुन्छ— लोकतन्त्रले काम गर्न सकेको छैन । राजनीतिक परिवर्तनको गति, भाव र गुण राज्य सञ्चालनमा देखिएको छैन । परिणामतः मान्छेहरू तीव्र निराशामा फसे । र, समाजले स्वाभाविक सिर्जनशीलता समाउन सकेन । यो अर्थमा लोकतन्त्रको मूल्यहीनता नै नेपाली समाजको मूल्यहीनताको पछिल्लो कारण हो । कुरा सरल छ, ७० वर्ष लडेर ल्याइएको लोकतन्त्रले काम गर्दैन भने समाज कसरी उत्प्रेरित हुन्छ ?

७० वर्षदेखि सुनेको मार्क्सवादले काम गर्दैन भने समाज कसरी गतिशील हुन्छ ? पटक–पटकका आन्दोलनले मान्छेको जीवन बदल्दैनन् भने समाज कसरी ज्ञानी, शालीन र सभ्य बन्छ ? अनेकबार नारा लगाएको समाजवादले काम गर्दैन भने मान्छे कसरी आश्वस्त हुन्छ ? स्वभावतः सपना मरेको समाज गतिशील हुँदैन । त्यस्तो समाज या त मौन बस्छ वा उल्टो हिँड्छ । उल्टो हिँड्नु भनेको अराजक हुनु, असहिष्णु हुनु र अनुशासनहीन हुनु हो ।

लोकतन्त्र कसरी परिणामहीन हुँदै छ ? हामीसँग प्रशस्त उदाहरण छन् । गतसाता हामी केही साथीले तुलसीपुर, दाङको यात्रा गर्‍यौं । बाटामा अनेक खोलाखोल्सा थिए । तिनमा पुल असरल्ल भेटिन्थे । कुनै आधा बनेर छोडिएका । कुनै भर्खर बनाउन सुरु गरिएका । कुनै सकिन–सकिन लागेका ।

स्थानीय बासिन्दा भन्थे, ‘बितेका दस वर्षदेखि धूलो, बाढी र अव्यवस्थाको सास्ती भनिसाध्य छैन ।’ सहरमा न राम्रो अस्पताल छ, न त राम्रो कलेज । एसियाकै दोस्रो ठूलो उपत्यका हो दाङ । उर्वर र सुन्दर छ, तर बितेका ३० वर्षमा कुनै परिवर्तन छैन । यत्रतत्र भ्रष्टाचार तीव्र छ । अस्पतालमा मान्छे प्रताडित छन् । न त औषधी न उपचार । स्कुलहरू कमजोर छन् ।

तुलसीपुरमै भेटिएका एक युवकले भने, ‘कहाँ छ लोकतन्त्र ?’ बितेका ७० वर्षदेखि जनताको माग एउटै छन्— लोकतन्त्र, विकास, न्याय, सुशासन, समाजवाद ! तिनै युवाले प्रश्न गरे, ‘जब बोल्नेहरूको स्वरलाई दरबारी रागले गतिहीन र अर्थहीन बनाउँछ, बोलेर के हुन्छ ? चुपचाप बस्नुको अर्थ यो होइन कि सबै ठीकठाक छ । बरु चुपचाप बस्नु राज्यलाई अविश्वास गर्नु हो । चरम निराशामा या त मान्छे बिच्किन्छ या चुप लाग्छ । एउटा ‘फ्रस्ट्रेटेड’ समाजले दिने त्यही नै त हो, मूल्यहीनता !

समाज निर्माणको आफ्नै लय हुन्छ । समाजले आफैभित्र र बाहिरका अनेक अन्तरसंघर्षबाट सभ्यता निर्माण गर्छ, जसलाई प्रभावित गर्छन् मुख्यतः तीन विषयले । पहिलो, बाँच्नका लागि मान्छेले गरेका संघर्षहरूले समाजमा श्रमको महत्त्व स्थापित गर्छन् । दोस्रो, व्यक्ति, समाज, प्रकृतिसँगको अन्तरसम्बन्ध समाज निर्माणको अर्को सशक्त पक्ष हो, जसमा आफ्नै दुःखसुखका कथा हुन्छन्, जसमा धर्म, संस्कार, संस्कृति निहित हुन्छन् । यसले समाजको भावना र भावुकता निर्माण गरिदिन्छ ।

तेस्रो, समाजलाई ठीकठाकसँग राख्न यसले आफ्नो राजनीति तय गर्छ । यसरी सामाजिक ज्ञान, भावना, उत्प्रेरणा, आविष्कार र त्यसको व्यवस्थापन नियमित हुँदै जान्छ, जुन समुच्चमा सामाजिक सभ्यताका रूपमा प्रकट हुन्छ । यदि यो प्रक्रिया सन्तुलित, सिर्जनशील र उत्तरदायी छ भने समाज शिष्ट, शालीन र सन्तुलित हुँदै जान्छ । अन्यथा समाज उग्र, भ्रष्ट, हठी, एकांगी र मूल्यहीन हुँदै जान्छ ।

हाम्रो समाज बितेका ७० वर्षमा सबैभन्दा ठूलो संक्रमणबाट गुज्रिँदै आयो । हाम्रो श्रमसत्तामा ठूलो उथलपुथल भयो । यसबीच बसाइँसराइ, उत्पादन सम्बन्धमा बदलाव, श्रम पलायन, जातीय, धार्मिक र राजनीतिक सत्तासँगको टकराव निकै सशक्त रहे । निश्चयै, यसबीच हामीले अनेक सामाजिक तथा राजनीतिक उथलपुथल भोग्यौं । कतिपय व्यवस्था विघटित पनि भए, तर नयाँ पद्धति निर्माण गर्न सकिएन । पुरानो श्रम व्यवस्थाबाट मान्छे पलायन त भयो, तर नयाँ उत्पादन प्रणालीमा जान सकेन ।

पुराना सामाजिक व्यवस्थाहरूलाई हामीले प्रश्न गर्‍यौं, तर नयाँ, उन्नत र लोकतान्त्रिक सामाजिक व्यवस्थाहरू बनेनन् । समाजलाई जोड्ने पुराना भावुकतामा हामीले हम्मर चलायौं, तर नयाँ कथा बनाउन सकिएन । सबैभन्दा खतरनाक कुरा, समाजको सबैभन्दा ठूलो समूह श्रम नगरी कमाउने धन्दामा लाग्यो । राजनीति गर्ने लाखौं मान्छे श्रमबाट अलग भए । राज्य सञ्चालनमा बिचौलियाहरू हावी हुँदै गए । अनेक द्वन्द्वले मान्छेलाई आक्रामक र हठी बनाउँदै लग्यो ।

सरकार भ्रष्टाचारमा लाग्यो । मन्त्री भ्रष्टाचारमा लाग्यो । ठेकेदार भ्रष्टाचारमा लाग्यो । प्रहरी भ्रष्टाचारमा लाग्यो । डाक्टर भ्रष्टाचारमा लाग्यो । मान्छे धूलोमैलो, रोग र पीडामा छटपटाउँदै रहे, तर शासकहरूको दरबारी रागमा साधारण मान्छेका दुःखको कथा कहिल्यै सुनिएन । सामाजिक तथा राजनीतिक उत्तरदायित्व क्षीण भयो ।

व्यक्तिवाद हावी भयो र त्यसले सामाजिक महत्त्वलाई विघटित गर्‍यो । पछिल्ला राजनीतिक आन्दोलन र बहस यति रूखा, एकांगी र सपाट थिए, मानवतामाथि खिसिट्युरी गरियो । मान्छेलाई केवल ‘मटेरियल’ का रूपमा हेरियो । तीव्र पार्टीकरणले कार्यकर्ताहरूको मनोबल उठ्यो, तर साधारण मतदाता निराश बन्दै गए । निराश मान्छे भएको समाजमा के अनुशासन, के सामाजिक मूल्य ?

निष्कर्ष बन्छ— समाजको मूल्यहीनता हाम्रो राजनीतिक प्रक्रियाकै असफलता हो । यद्यपि यो तथ्यलाई आँखा चिम्लिएर सत्ताधारीहरू दरबारिया शैलीमा राग गाउँछन्— ‘ज्ञानी बन ।’ उनीहरू आफू कति धेरै भ्रष्ट, मूल्यहीन र पतित छु भन्ने बिर्सिन्छन् । उनीहरू राज्य कति धेरै ढोंगी र भ्रष्ट हुँदै छ भन्नेबारे बुझ पचाउँछन् । मान्छे ज्ञानी बन्न न त धेरै कठिन छ, न सजिलो । यो मूलतः राज्यले निर्माण गर्ने शैली, संस्कार, संस्कृति, उत्प्रेरणासम्बद्ध विषय हो ।

जब राजनीतिक परिवर्तनहरूले मान्छेको जीवनलाई प्रभावित गर्ने सामर्थ्य गुमाउँछन्, स्वभावतः समाज र व्यक्ति स्वयंका मूल्यहरू विघटित हुन थाल्छन् । सत्य नै यही हो— जब लोकतन्त्र लोकतन्त्रजस्तो हुँदैन, राज्य राज्यजस्तो कसरी हुन्छ ? समाज समाजजस्तो कसरी हुन्छ ? सबै कुरा बिग्रिँदै गएको समाजमा, व्यक्ति पवित्र, नैतिकतावान् र असल रहन कसरी सम्भव हुन्छ ?

नेपाली समाज अहिले राजनीतिक नैतिकताको संकटमा छ । त्यसैको सहउत्पादन हो— सामाजिक मूल्यहीनता । मुख्यतः सामाजिक मूल्य, मान्यता र अनुशासनलाई स्थापित गर्न राजनीतिको गरिमा, मूल्य र महत्त्व स्थापित गर्नुपर्छ । अन्यथा नेताहरूले गाउने ‘सबै ठीकठाक छ’ को रागले मात्र समाजलाई शान्त, सभ्य र अनुशासित राख्न सक्दैन ।

लोकतन्त्र कोरा सिद्धान्त मात्र होइन, समाजको अनुशासन, आशा, अपेक्षा र ऊर्जाको स्रोत पनि हो । अन्यथा लोकतन्त्रमा न रोटी सेकाउन मिल्छ, न त त्यसले पेट भर्छ । थाकेका, निराश र लक्ष्यहीन मान्छेको राग, निश्चयै दरबारको जस्तो सुरिलो हुँदैन । अतः व्यक्ति र समाज बदल्न राजनीति बदलौं, बाँकी मिल्दै जान्छ ।

dahal.keshab@gmail.com

प्रकाशित : भाद्र १८, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

हत्तेरी, फेरि सत्तरी ?

सुजीव शाक्य

अहिले विश्वमा भइरहेको उथलपुथलले धेरै जनालाई सन् सत्तरीको दशकको स्मरण दिलाउने गर्छ । तसर्थ त्यो समयलाई आजको समयसँग दाँजिहेर्नु सान्दर्भिक हुनसक्छ । भनिन्छ, इतिहास बिर्सेर नै इतिहास दोहोरिन्छ । यसर्थ इतिहाससँग सिक्न, बुझ्न र भविष्यको मार्ग तोक्न एकदम जरुरी हुन्छ ।

अहिलेको विश्व, त्यस बेलाको विश्व
एक्काइसौं शताब्दीकै अभूतपूर्व घटनाक्रमले घेरिएको यो काललाई बुझ्ने कोसिस जारी छ । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको आगमनपछिको उथलपुथलबाट संसारको सबभन्दा शक्तिशाली मुलुक दुई भागमा बाँडिएको छ । अर्को वर्षको चुनावमा उनैले जित्ने सम्भावनाले उनका विरोधीलाई के गरौं, कसो गरौं भन्ने पारिदिएको छ ।

चीनसँग व्यापार युद्ध गरेर ट्रम्पले आफ्नो भोटबैंकलाई रिझाउँदै छन्, तर यसले विश्वको अर्थतन्त्रलाई नै धक्का दिएको छ । बीसौं शताब्दीको उत्तरार्धको सबभन्दा शक्तिशाली मुलुक बेलायतलाई युरोपेली युनियन छाड्ने निर्णय (ब्रेक्जिट) निल्नु न ओकल्नु भएको छ । राम्रै चलिरहेको आफ्नो अर्थतन्त्रमा संकट बेलायत आफैले निम्त्याएको हो । युरोपको प्रमुख देश जर्मनीको हालत पनि खासै राम्रो छैन । दक्षिणपन्थीहरूले उसको चैन खोसेका छन् ।

जर्मनीका विश्लेषकहरूले आफ्नो देशको वर्तमान अवस्था सय वर्षअघिको, विश्वयुद्धपूर्वको, समयसँग मिल्दोजुल्दो देखिएको भन्न थालेका छन् । फ्रान्समा गत वर्षको जनप्रदर्शनपछि समाजमा देखिएको विभाजन लगभग यथावतै छ । दक्षिणपन्थीहरूले मध्यमार्गीहरूलाई इन्तु न चिन्तु बनाएका छन् ।

एसियाको अवस्था पनि फरक छैन । हङकङमा तीन महिनादेखि जारी प्रदर्शनले के रूप लिन्छ, कसैले भन्न सकेको छैन । चीनको आर्थिक प्रभुत्व यस्तो छ, अन्य मुलुकले हङकङमा लोकतन्त्रका निम्ति तीन दशकअघि झैँ वकालत गर्नेछैनन् । जस्तो— चीनका लागि भारतीय राजदूतले हङकङ गएर त्यहाँका प्रमुखलाई भारतको चीन सरकारप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तो कुरो एक दशकअघि कल्पनासम्म गर्न सकिन्नथ्यो । अर्कातिर, जापान–दक्षिण कोरिया झगडा अनपेक्षित रूपले चर्किंदै छ । थाइल्यान्ड पाँच वर्षयताको सबभन्दा चर्को आर्थिक मन्दीसँग जुधिरहेको छ । कम्बोडिया र म्यान्मारको सामर्थ्य आफूप्रति वर्षिरहेका प्रश्नहरूलाई छल्नमै खर्च भइरहेको छ ।

सत्तरीको विश्व पनि यस्तै थियो, समस्याग्रस्त । अमेरिका तत्कालीन राष्ट्रपति निक्सनविरुद्ध महाभियोग प्रस्तावमा अलमलिएको थियो । भियतनाम युद्धले निम्त्याएको हलचलमा यो अर्को विवाद थपिएको थियो । १९७३ को तेल संकटले अर्थतन्त्रमा ठूलो धक्का दिएको थियो । बेलायती मुद्रा पाउन्डले संसारमा प्रभाव गुमाएको थियो र अमेरिकी डलरको उदय भएको थियो ।

अरब–इजरायल द्वन्द्वले संसारमा धेरै संकट थोपरेको थियो । पूर्वी युरोपमा सोभियत वर्चस्वले विश्वयुद्धपछिको सबभन्दा ठूलो आर्थिकसंकट निम्त्याएको थियो । चीनमा माओको सांस्कृतिक क्रान्तिले सनसनी मच्चाएको थियो । दक्षिण कोरिया र जापान अनगिन्ती समस्याले घेरिएका थिए ।

सत्तरीको दशकलाई अर्थशास्त्रीहरू १९३० को विश्व मन्दी (ग्रेट रिसेसन) पछिको सबभन्दा ठूलो मन्दीको दशकका रूपमा चिनाउने गर्छन् ।

भारत र नेपालको सेरोफेरो
सत्तरीको दशकको भारत र अहिलेको भारतको धेरै तुलना भैरहेको छ । १९७१ मा भारतले पाकिस्तानसँग युद्ध गर्‍यो, बंगलादेशलाई स्वतन्त्र बनाउन । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई अहिलेका नरेन्द्र मोदीसँग दाँज्ने पनि गरिन्छ । युद्धको आडमा गान्धीले त्यस बखत चुनाव जितिन् भने, यस वर्ष मोदीले पनि राष्ट्रवादको एजेन्डामा बहुमत ल्याए भनिन्छ ।

गान्धीले भर्खर सुरु भएको टेलिभिजनका माध्यमबाट प्रचारबाजीमा लागेझैं मोदी पनि प्रविधिको भरपूर प्रयोगमार्फत कुनाकाप्चामा पुगिरहेका छन् । गान्धीलाई कोही विरोधमा बोलेको मन पर्दैनथ्यो र उनले इमर्जेन्सीका माध्यमले तिनलाई काबुमा लिएकी थिइन् भने, मोदीले इमर्जेन्सी नलगाए पनि त्यही शैलीलाई अनुसरण गरिरहेका छन् ।

सत्तरीको दशकमा भारतको छिमेकीसँगको सम्बन्धमा समस्या थियो । पाकिस्तानबाटछुट्याउन सफल बंगलादेश पछि भारतविरोधी भयो । भुटानसँग मात्र सम्बन्ध अहिले जस्तो राम्रै थियो । जनतामा भारतविरोधी भावना भए पनि राजा र सरकारबीच राम्रो सम्बन्ध थियो । चौथो, भुटानी राजाको राज्याभिषेकमा भारतीय राष्ट्रपति नै गएका थिए ।

नेपालमा राजावीरेन्द्रले ‘शान्ति क्षेत्र’ को सन्दर्भ निकालेपछि भारतलाई समस्या हुन थाल्यो । सिक्किमका छोग्याललाई वीरेन्द्रको राज्याभिषेकमा निम्त्याइयो भनेर इन्दिरा गान्धी क्रुद्ध भइन् । तसर्थ उनले नेपालमा भने उपराष्ट्रपतिलाई मात्र पठाइन् । भारतले राजा र पञ्चायतविरुद्ध क्रियाकलापमा सघाइरह्यो, नेपाली कांग्रेसले गरेको विमान अपहरणमा सहयोग दियो ।

सत्तरीको सबभन्दा ठूलो घटना थियो, सिक्किमलाई भारतमा गाभिनु । लेखकहरू एन्ड्र्यु डफ र सुनन्द के दत्त रायले यसलाई ‘अधीनमा लिएको’ भनी अर्थ्याएका छन् भने, भारतले ‘गाभेको’ भन्दै आएको छ । भारतीय खुफिया एजेन्सी रअका तत्कालीन अफिसर जीबीएस सिद्धुले यसै वर्ष प्रकाशित आफ्नो किताबमा रअले सिक्किम अपरेसन कसरी गर्‍यो भनी खुलाएका छन् ।

त्यस बखतका परराष्ट्रमन्त्रीका ज्वाइँ उनले इन्दिरा गान्धीको आदेश अनुसार प्लान बनाएर विलय गरेको दाबी गरेका छन् । यो घटनाले नेपालमा संविधान लेख्ने बेला, नाकाबन्दी र र हालैका समयमा यस्ता प्रोजेक्ट चलाएको त छैन भनी संशय गर्ने ठाउँ दिएको छ ।

भारतको अहिलेको आर्थिक संकट
सत्तरीको भारत आर्थिक संकटले घेरेको थियो र त्यसको असर नेपालमा पनि परेको थियो । भारतमा ‘गरिबी हटाओ’ नारा र ‘लाइसेन्स राज’ ले प्रभुत्व पायो । सरकारले बैंकदेखि सबै कुरा आफै चलाउन थाल्यो । अर्थतन्त्रको संकट ढाकछोप गर्न राजनीतिक कदम चाल्यो । आर्थिक रूपमा समस्या र भेदभाव बढेर नक्सलवादी पनि जन्मिए र त्यसपछि पश्चिम बंगालजस्तो राज्यमा कम्युनिस्टहरूले गफ बेचेरै करिब तीन दशक उडाए । अहिलेको भारतलाई पनि यही रूपमा तुलना गर्ने गरिन्छ ।

भारतको नोटबन्दीपछिको संकट टार्न गाह्रो हुँदै गयो । बेरोजगार चरममा पुगेका छ । धेरै कम्पनी संकटसँग जुधिरहेका छन् । यो समस्याबाट ध्यान हटाउन मोदीले कश्मीरमा पछिल्लो कदम उठाए र देशलाई राष्ट्रवादको एजेन्डामा धकेले भन्ने गर्छन् आलोचकहरू ।
भारतले हाच्छिउँ गरे नेपाललाई रुघा लाग्छ भनेर हामीले राम्रोसँग बुझेका छौं ।

यसर्थ हामीले भारत र विश्वका घटनाक्रमलाई राम्ररी नियाल्न जरुरी छ, पढ्न र बुझ्न आवश्यक छ । नेपालको भविष्य संसारसँग जोडिएको छ । नेतृत्वमा बसेकाहरूले अनलाइनमा आफ्नो फोटो या भाषण हेरेर दंग परिरहनुभन्दा यसबारे चिन्तन–मनन गर्न एकदम जरुरी छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्