हत्तेरी, फेरि सत्तरी ?

सुजीव शाक्य

अहिले विश्वमा भइरहेको उथलपुथलले धेरै जनालाई सन् सत्तरीको दशकको स्मरण दिलाउने गर्छ । तसर्थ त्यो समयलाई आजको समयसँग दाँजिहेर्नु सान्दर्भिक हुनसक्छ । भनिन्छ, इतिहास बिर्सेर नै इतिहास दोहोरिन्छ । यसर्थ इतिहाससँग सिक्न, बुझ्न र भविष्यको मार्ग तोक्न एकदम जरुरी हुन्छ ।

अहिलेको विश्व, त्यस बेलाको विश्व
एक्काइसौं शताब्दीकै अभूतपूर्व घटनाक्रमले घेरिएको यो काललाई बुझ्ने कोसिस जारी छ । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको आगमनपछिको उथलपुथलबाट संसारको सबभन्दा शक्तिशाली मुलुक दुई भागमा बाँडिएको छ । अर्को वर्षको चुनावमा उनैले जित्ने सम्भावनाले उनका विरोधीलाई के गरौं, कसो गरौं भन्ने पारिदिएको छ ।

चीनसँग व्यापार युद्ध गरेर ट्रम्पले आफ्नो भोटबैंकलाई रिझाउँदै छन्, तर यसले विश्वको अर्थतन्त्रलाई नै धक्का दिएको छ । बीसौं शताब्दीको उत्तरार्धको सबभन्दा शक्तिशाली मुलुक बेलायतलाई युरोपेली युनियन छाड्ने निर्णय (ब्रेक्जिट) निल्नु न ओकल्नु भएको छ । राम्रै चलिरहेको आफ्नो अर्थतन्त्रमा संकट बेलायत आफैले निम्त्याएको हो । युरोपको प्रमुख देश जर्मनीको हालत पनि खासै राम्रो छैन । दक्षिणपन्थीहरूले उसको चैन खोसेका छन् ।

जर्मनीका विश्लेषकहरूले आफ्नो देशको वर्तमान अवस्था सय वर्षअघिको, विश्वयुद्धपूर्वको, समयसँग मिल्दोजुल्दो देखिएको भन्न थालेका छन् । फ्रान्समा गत वर्षको जनप्रदर्शनपछि समाजमा देखिएको विभाजन लगभग यथावतै छ । दक्षिणपन्थीहरूले मध्यमार्गीहरूलाई इन्तु न चिन्तु बनाएका छन् ।

एसियाको अवस्था पनि फरक छैन । हङकङमा तीन महिनादेखि जारी प्रदर्शनले के रूप लिन्छ, कसैले भन्न सकेको छैन । चीनको आर्थिक प्रभुत्व यस्तो छ, अन्य मुलुकले हङकङमा लोकतन्त्रका निम्ति तीन दशकअघि झैँ वकालत गर्नेछैनन् । जस्तो— चीनका लागि भारतीय राजदूतले हङकङ गएर त्यहाँका प्रमुखलाई भारतको चीन सरकारप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तो कुरो एक दशकअघि कल्पनासम्म गर्न सकिन्नथ्यो । अर्कातिर, जापान–दक्षिण कोरिया झगडा अनपेक्षित रूपले चर्किंदै छ । थाइल्यान्ड पाँच वर्षयताको सबभन्दा चर्को आर्थिक मन्दीसँग जुधिरहेको छ । कम्बोडिया र म्यान्मारको सामर्थ्य आफूप्रति वर्षिरहेका प्रश्नहरूलाई छल्नमै खर्च भइरहेको छ ।

सत्तरीको विश्व पनि यस्तै थियो, समस्याग्रस्त । अमेरिका तत्कालीन राष्ट्रपति निक्सनविरुद्ध महाभियोग प्रस्तावमा अलमलिएको थियो । भियतनाम युद्धले निम्त्याएको हलचलमा यो अर्को विवाद थपिएको थियो । १९७३ को तेल संकटले अर्थतन्त्रमा ठूलो धक्का दिएको थियो । बेलायती मुद्रा पाउन्डले संसारमा प्रभाव गुमाएको थियो र अमेरिकी डलरको उदय भएको थियो ।

अरब–इजरायल द्वन्द्वले संसारमा धेरै संकट थोपरेको थियो । पूर्वी युरोपमा सोभियत वर्चस्वले विश्वयुद्धपछिको सबभन्दा ठूलो आर्थिकसंकट निम्त्याएको थियो । चीनमा माओको सांस्कृतिक क्रान्तिले सनसनी मच्चाएको थियो । दक्षिण कोरिया र जापान अनगिन्ती समस्याले घेरिएका थिए ।

सत्तरीको दशकलाई अर्थशास्त्रीहरू १९३० को विश्व मन्दी (ग्रेट रिसेसन) पछिको सबभन्दा ठूलो मन्दीको दशकका रूपमा चिनाउने गर्छन् ।

भारत र नेपालको सेरोफेरो
सत्तरीको दशकको भारत र अहिलेको भारतको धेरै तुलना भैरहेको छ । १९७१ मा भारतले पाकिस्तानसँग युद्ध गर्‍यो, बंगलादेशलाई स्वतन्त्र बनाउन । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई अहिलेका नरेन्द्र मोदीसँग दाँज्ने पनि गरिन्छ । युद्धको आडमा गान्धीले त्यस बखत चुनाव जितिन् भने, यस वर्ष मोदीले पनि राष्ट्रवादको एजेन्डामा बहुमत ल्याए भनिन्छ ।

गान्धीले भर्खर सुरु भएको टेलिभिजनका माध्यमबाट प्रचारबाजीमा लागेझैं मोदी पनि प्रविधिको भरपूर प्रयोगमार्फत कुनाकाप्चामा पुगिरहेका छन् । गान्धीलाई कोही विरोधमा बोलेको मन पर्दैनथ्यो र उनले इमर्जेन्सीका माध्यमले तिनलाई काबुमा लिएकी थिइन् भने, मोदीले इमर्जेन्सी नलगाए पनि त्यही शैलीलाई अनुसरण गरिरहेका छन् ।

सत्तरीको दशकमा भारतको छिमेकीसँगको सम्बन्धमा समस्या थियो । पाकिस्तानबाटछुट्याउन सफल बंगलादेश पछि भारतविरोधी भयो । भुटानसँग मात्र सम्बन्ध अहिले जस्तो राम्रै थियो । जनतामा भारतविरोधी भावना भए पनि राजा र सरकारबीच राम्रो सम्बन्ध थियो । चौथो, भुटानी राजाको राज्याभिषेकमा भारतीय राष्ट्रपति नै गएका थिए ।

नेपालमा राजावीरेन्द्रले ‘शान्ति क्षेत्र’ को सन्दर्भ निकालेपछि भारतलाई समस्या हुन थाल्यो । सिक्किमका छोग्याललाई वीरेन्द्रको राज्याभिषेकमा निम्त्याइयो भनेर इन्दिरा गान्धी क्रुद्ध भइन् । तसर्थ उनले नेपालमा भने उपराष्ट्रपतिलाई मात्र पठाइन् । भारतले राजा र पञ्चायतविरुद्ध क्रियाकलापमा सघाइरह्यो, नेपाली कांग्रेसले गरेको विमान अपहरणमा सहयोग दियो ।

सत्तरीको सबभन्दा ठूलो घटना थियो, सिक्किमलाई भारतमा गाभिनु । लेखकहरू एन्ड्र्यु डफ र सुनन्द के दत्त रायले यसलाई ‘अधीनमा लिएको’ भनी अर्थ्याएका छन् भने, भारतले ‘गाभेको’ भन्दै आएको छ । भारतीय खुफिया एजेन्सी रअका तत्कालीन अफिसर जीबीएस सिद्धुले यसै वर्ष प्रकाशित आफ्नो किताबमा रअले सिक्किम अपरेसन कसरी गर्‍यो भनी खुलाएका छन् ।

त्यस बखतका परराष्ट्रमन्त्रीका ज्वाइँ उनले इन्दिरा गान्धीको आदेश अनुसार प्लान बनाएर विलय गरेको दाबी गरेका छन् । यो घटनाले नेपालमा संविधान लेख्ने बेला, नाकाबन्दी र र हालैका समयमा यस्ता प्रोजेक्ट चलाएको त छैन भनी संशय गर्ने ठाउँ दिएको छ ।

भारतको अहिलेको आर्थिक संकट
सत्तरीको भारत आर्थिक संकटले घेरेको थियो र त्यसको असर नेपालमा पनि परेको थियो । भारतमा ‘गरिबी हटाओ’ नारा र ‘लाइसेन्स राज’ ले प्रभुत्व पायो । सरकारले बैंकदेखि सबै कुरा आफै चलाउन थाल्यो । अर्थतन्त्रको संकट ढाकछोप गर्न राजनीतिक कदम चाल्यो । आर्थिक रूपमा समस्या र भेदभाव बढेर नक्सलवादी पनि जन्मिए र त्यसपछि पश्चिम बंगालजस्तो राज्यमा कम्युनिस्टहरूले गफ बेचेरै करिब तीन दशक उडाए । अहिलेको भारतलाई पनि यही रूपमा तुलना गर्ने गरिन्छ ।

भारतको नोटबन्दीपछिको संकट टार्न गाह्रो हुँदै गयो । बेरोजगार चरममा पुगेका छ । धेरै कम्पनी संकटसँग जुधिरहेका छन् । यो समस्याबाट ध्यान हटाउन मोदीले कश्मीरमा पछिल्लो कदम उठाए र देशलाई राष्ट्रवादको एजेन्डामा धकेले भन्ने गर्छन् आलोचकहरू ।
भारतले हाच्छिउँ गरे नेपाललाई रुघा लाग्छ भनेर हामीले राम्रोसँग बुझेका छौं ।

यसर्थ हामीले भारत र विश्वका घटनाक्रमलाई राम्ररी नियाल्न जरुरी छ, पढ्न र बुझ्न आवश्यक छ । नेपालको भविष्य संसारसँग जोडिएको छ । नेतृत्वमा बसेकाहरूले अनलाइनमा आफ्नो फोटो या भाषण हेरेर दंग परिरहनुभन्दा यसबारे चिन्तन–मनन गर्न एकदम जरुरी छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उच्च व्यावसायिक नेतृत्व

सुजीव शाक्य

काठमाडौँ — नम्र स्वभावका, जहिले पनि चिटिक्क देखिने, सबैलाई आदर गर्ने उद्योगपति थिए– प्रभावकर शमशेर राणा । उनीसंँग मेरो करिब ३० वर्षको यात्रा विविध संस्मरण र सम्झनाले भरिएका छन् । ग्लोबल नेपाली : मेरो उनीसँगको प्रथम भेट म सोल्टी होटलमा तालिम लिन जाँदा भएको थियो । उनीसँगको मेरो गहकिलो भेटचाहिँ चार्टर्ड एकाउन्टेन्ट बनेर बधाई लिँदाको थियो ।

उनले प्रोत्साहनसाथै नेपालमा केही गर्न आह्वान पनि गरेका थिए । त्यसबेलासम्म नेपालमा काम गर्ने कि अन्य देशबाट प्राप्त अवसर अँगाल्ने भन्ने दोधारमा थिएँ म । उनीसित जति नजिकिंँदै गएँ, त्यति ग्लोबल नेपालीका रूपमा यहीं बसेर गर्न सक्छु भन्ने विश्वास बलियो हुँदै गयो ।

सायद उनको समयमा नेपालमा धेरै कम व्यक्ति थिए, जसले दिल्ली, लन्डन र वासिङगटन डिसीमा काठमाडौंमा झैं आफ्नो नेटवर्क बनाएर बसे । बेस्मेन्टमा रहेका अफिसका कोठाहरूलाई उनले विश्वको महत्त्वपूर्ण कोठा बनाइसकेका थिए । जहाँ संसारका बिभिन्न ठाउँबाट नाम चलेका व्यक्तिहरू आउँथे र भलाकुसरी गरिन्थ्यो । सत्ता दाउपेचका कुरासम्म हुन्थे । नेपालमै बसेर ग्लोबल हुन सकिन्छ भनी प्रभाकरले सिकाए ।

व्यापारिक शैली ः उनी व्यापारी बनेर जन्मेका पनि होइनन्, तर व्यापारसँंग जोडिँदै गएपछि लगानीकर्ता बनेका हुन् । उनी आफ्नो ‘करिअर’ परराष्ट्र मन्त्रालयबाट सुरु गरेको सुनाउँथे । तर त्यसलाई छाडेर पछि सोल्टी होटलमा म्यानेजर भए । जागिरे भएको २० वर्षपछि लगानीको अवसर आउन थाल्यो र उनी त्यसैका लगानीकर्ता बने । व्यस्थापनमा रहँदा उनले व्यवस्थापकको भूमिका निर्वाह गरे भने लगानीकर्ता बनेपछि लगानीकर्ताको रूपमा बोर्डको भूमिकामा आफूलाई सीमित राखे ।

व्यवसाय प्रोफेसनलहरूलाई चलाउन दिए । व्यवस्थापनमा अब्बल सहयात्रीहरू चाहिने कुरामा जोड दिए । होटल व्यवसायमा उनले ओबराय र पछि इन्टरकन्टिनेन्टलसँंग साँठगाँठ गरे । जलविद्युतमा अमेरिकी कम्पनीसंँग साझेदारी गरे । स्वमित्व र व्यवस्थापनलाई छुट्टै रूपमा हेरे । व्यवस्थापकहरूलाई उनी निकै छुट दिन्थे ।

सायद नेपालमा व्यापारी घरानाहरूले प्रोफेसनल व्यवस्थापकहरूलाई जिम्मा दिएर उद्योग, व्यापार चलाउने देखासिखी भएको भए सिन्डिकेटको आडमा विदेशी लगानीको विरोधमा उत्रेर व्यवसाय गर्नुपर्ने अवस्था आउने थिएन । उनी मसँग सोधिरहन्थे, ‘हाम्रो कर्पोरेट कल्चर देखासिखी गरेर होटल, हाइड्रो, गाडी डिलर गर्नेहरू किन अघि नबढेका होलान् ?’ त्यो प्रश्नको जवाफम खोजिरहेछु ।

नेतृत्व र मार्गदर्शक : नेतृत्वको कुरा गर्दा हामीले गुरु–चेलाको रूपमा हेर्ने गरेका छौं न कि मेन्टर र मेन्टी । सायद यो अवधारणामा विश्वास नगर्ने भएर होला, हामीले यसको नेपाली शब्दहरू पनि बनाएनौं ।

मेरा निम्ति प्रभाकर राणा जागिर दिने व्यक्तिमात्र थिएनन्, मार्गदर्शक थिए । सोल्टीमा पदका भर्‍याङ चढ्दै जाँदा जीवनका अनेक खुड्किलामा उनले प्रभाव पारे । समयको महत्त्व बुझाए । भेटघाट ठिक समयमा सुरु हुने प्रथा बसाले । ९ बजेको बैठक हो भने ८ः५७ सम्ममा बसिसक्नुपर्ने सिकाए । डायरीमा ६ महिना, ९ महिनापछिका कार्यक्रमको समय नोट गर्न सिकेँ । यात्रा गर्दा लबीमा ठ्याक्क समयमा भेटेर बैठकमा जान सिकेँ । आफूले गरेका कामको प्रतिक्रियामा उनी विश्वास राख्थे ।

त्याग्न सक्ने क्षमता : भनिन्छ, मानिसलाई त्याग्न सक्ने क्षमता आउन धेरै गाह्रो पर्छ । तर उनीबाट सबैले सिक्नपर्ने भनेकै त्याग्ने कसरी भन्ने हो । धेरै व्यापारिक घराना, राजनीतिक र अन्य संस्थामा एक पिढीकाले अर्को पिढीलाई नेतृत्व हस्तान्तरण नगर्दा समस्या धेरै आएका छन् । उनी भने कार्यभार त्यागेपछि कहिलै दख्खल दिन फर्कंदैनथे । पेसा, व्यवसाय छोरा सिद्धार्थलाई सुम्पेपछि उनले आफूलाई लागेका विषयमा समय बिताए । छोरालाई भार थाम्न सक्ने भएपछि मात्र नेतृत्व हस्तान्तरण गरे ।

सुशासन र पारदर्शिता ः सुशासन र पारदर्शिताको कुरा आउने बित्तिकै हामीलाई दातृ संस्थाका कुनै प्रतिवेदनको सम्झना हुन्छ । किनकि हामीले यी दुई शब्दलाई धर्ममा मोक्षजस्तो कुरा गर्न सकिने, तर प्राप्त गर्न नसकिने कुराको रूपमा सोचेका छौं । तर उनले नेपालमै बसेर यी दुई शब्दलाई अँगाले ।

उनी भन्थे, ‘कर बढी छ, लगाएको तरिका गलत छ । सरकारले त्यो पैसाको दुरुपयोग गर्न सक्छ भनेर कर तिर्दिन भन्न मिल्दैन ।’ कानुनी रूपमा गलत छ भने कानुनी रूपमै लड्नुपर्ने उनको सोच थियो । तर कर तिर्दिन भन्न मिल्दैन भन्थे । त्यही सिद्धान्त अनुरुप उनले स्थापना गरेका कम्पनीहरू अहिले पनि वर्षेनि कर विभागबाट पुरस्कृत हुन्छन् ।

प्रभाकरसंँगै एउटा युगको अन्त्य भयो । उनका बारे कसैले पुस्तक लेख्लान् । उनको जीवनबाट हामीले सिक्ने कुरा धेरै छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT