१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

समावेशी पर्व

रोपाइँ मेला पूरा भएपछि नेपाल राष्ट्रका मधेस/तराई, पहाड, खोच, दून सर्वत्र मौसमी चाडपर्व सुरु हुन्छन् । धानबाली तमाम नेपालीको मुख्य बाली हुनाले रोपाइँलाई प्रधानता दिइएको हो । धानबाली देशका सबै भागमा लाग्छ, सात–आठ हजार फिटमाथिका शीतोष्ण पर्यावरण भएको जुम्लामा पनि । हरितालिका तीज पर्व पनि मौसमी लहरकै महिला धर्मपरक चाड हो । 

केही वर्षअघिसम्म तीज पूरापूर बाहुन–क्षत्री समुदाय र तिनको संसर्गमा रहेका अन्य जनजातिले मात्र मनाउने गर्थे । अचेल नेवार समुदायका महिलाले पनि यसलाई अङ्गीकार गर्दै गएका छन् । यातायात, टेलिभिजन, सामाजिक सञ्जालका कारण नेवार समाजमा यो पर्व गहिरिँदो छ । यसको ठूलो श्रेय परिवर्तित परिप्रेक्ष्य र समावेशी सिद्धान्तलाई जान्छ । युग परिवर्तनले समाज अनि राष्ट्रका सम्पूर्ण सरोकारमा क्रमिक रूपले व्यापक परिवर्तन ल्याउँदो रहेछ । संस्कार अनि परम्परा एउटा विन्दुबाट अर्को–अर्कोमा सर्दै जान्छन् नै ।


हरितालिका तीज भाद्र शुक्ल तृतीया तिथिमा मनाइन्छ । रोपाइँ सकी जनैपूर्णिमा र कृष्ण जन्माष्टमी मनाइसकेपछि आउने तीज अलि सुकिलो चाड हो । यो पर्व मनाउनुका पछाडि दुई प्रमुख र प्रत्यक्ष कारण देख्छु म । पहिलो, महिला र पुरुष जीवनयानका दुई

पाङ्ग्रा, दुई पंखा, दुई संयुक्त इन्जिन हुन् । यी दुई आपसमा परिपोषक एवं परिपूरक हुन्छन् । कर्मप्राप्तिमा महिला–पुरुष दुवैको संयुक्त संकल्प चाहिन्छ । श्रीमतीले गर्ने संस्कार अभियानलाई श्रीमान्ले तन, मन, धन लगाएर सहयोग गर्नु दाम्पत्य जीवनलीलाको एउटा सुन्दर पक्ष हो ।


दोस्रो, हाम्रो समाजमा चेलीबेटीले आफ्नो जीवन र घरपरिवारको सुरक्षा चाहिरहेका हुन्छन् । अविचलित सामाजिक संस्कारमा प्रायः छोरीले मनैदेखि सदाचारी पुरुषलाई जीवनसाथी बनाउने मनोकांक्षा राखेका हुन्छन् । यसलाई समाजशास्त्रले पनि स्वाभाविक कुमारी मनोविज्ञान मानेको छ । यस्तै सामाजिक–सांस्कृतिक परम्पराका आधारमा तीजमा महिलाहरू शिव मन्दिरमा भेला हुने गर्छन् । यसको प्रतीकात्मक अर्थ छ । पाषाण, धातु वा स्फटिक जेको भए पनि शिवलिङ्गको पूजा–आराधना अर्थात् लिङ्गार्चन गर्ने यो पर्वले महिलाको यौनिक मनोविज्ञानलाई झल्काउँछ ।


हाम्रो शैव मतावलम्बी हिन्दु समाजमा शिवलिङ्ग पूजाको अर्थ हो— यौन विकृति र विसंगति नहोऊन् भनी कामना गर्नु । कताकति शिवलिङ्गमा चारै दिशा अभिमुख गरेर मानव अनुहार कुँदिएको हुन्छ । यसमा पनि महिला मनोविज्ञानले काम गरेको हुनसक्छ । महिलाहरूले आफ्ना श्रीमानलाई महादेव नै सोचेका हुन्छन् । अर्कातिर, हरेक पुरुषका लागि पनि आफ्नी श्रीमती पार्वती, लक्ष्मी वा सरस्वतीसरह हुन्छन् ।


शिवलिङ्गमा कुँदिएका चतुर्मुखी आकृति महिलाका लागि पुरुष सहयात्री पूर्व, पश्चिम, उत्तर र दक्षिणका बहुविध सोचयुक्त, ज्ञानवान् होऊन्् भन्ने कामनाका विम्ब पनि हुन् । अझै पञ्चमुखी शिवलिङ्गमा अर्को थप आकृति पनि हुन्छ । त्यसले आकाश वा अन्तरिक्षलाई प्रतिविम्बित गरेको हुन्छ ।


हरितालिका तीजमा पाषाण शिवलिङ्गलाई पहिले–पहिले त्रिफला र तेलले नुहाइदिने चलन थियो । यो परिवर्तित समयकालमा त्यस्ता संस्कारहरू लोप हुँदै छन् । त्रिफला–तेल लगाउनाले शिवलिङ्ग प्रखर कालो रङ्ग भइरहन्छ, जुन वैज्ञानिक सत्य हो । यसो गर्दा शिवलिङ्गहरू टिकाउ पनि हुने गर्छन् ।


तीजमा महिलाहरू माइत जान्छन् । तीजले माइती र आफ्नो घरबीच महिलाको दह्रो सम्बन्ध कायम राख्ने सांस्कृतिक सूत्रको काम गरेको प्रमाण हो यो । यसको ज्वलन्त उदाहरण दर खाने/खुवाउने परम्परा हो । दर खाने दिन महिलाहरू यथासम्भव सजिसजाउ भएर नाचगान गर्छन् । यस घडी उनीहरू स्वच्छन्द देखिन्छन् । यथार्थमा हरितालिका तीज नारी उन्मुक्ति दिवस नै हो ।


पौराणिक कालखण्डदेखि केही दशकअगाडिसम्म महिला गृहलक्ष्मीकै भूमिका निर्वाह गर्न तल्लीन थिए, २००७ साल सेरोफेरोदेखि मात्र हो उनीहरू बाहिरफेर सामाजिक कार्यमा प्रवृत्त हुन थालेको ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?