समावेशी पर्व

तेजेश्वरबाबु ग्वंगः

रोपाइँ मेला पूरा भएपछि नेपाल राष्ट्रका मधेस/तराई, पहाड, खोच, दून सर्वत्र मौसमी चाडपर्व सुरु हुन्छन् । धानबाली तमाम नेपालीको मुख्य बाली हुनाले रोपाइँलाई प्रधानता दिइएको हो । धानबाली देशका सबै भागमा लाग्छ, सात–आठ हजार फिटमाथिका शीतोष्ण पर्यावरण भएको जुम्लामा पनि । हरितालिका तीज पर्व पनि मौसमी लहरकै महिला धर्मपरक चाड हो । 

केही वर्षअघिसम्म तीज पूरापूर बाहुन–क्षत्री समुदाय र तिनको संसर्गमा रहेका अन्य जनजातिले मात्र मनाउने गर्थे । अचेल नेवार समुदायका महिलाले पनि यसलाईअङ्गीकार गर्दै गएका छन् । यातायात, टेलिभिजन, सामाजिक सञ्जालका कारण नेवार समाजमा यो पर्व गहिरिँदो छ । यसको ठूलो श्रेय परिवर्तित परिप्रेक्ष्य र समावेशी सिद्धान्तलाई जान्छ । युग परिवर्तनले समाज अनि राष्ट्रका सम्पूर्ण सरोकारमा क्रमिक रूपले व्यापक परिवर्तन ल्याउँदो रहेछ । संस्कार अनि परम्पराएउटा विन्दुबाट अर्को–अर्कोमा सर्दै जान्छन् नै ।

हरितालिका तीज भाद्र शुक्ल तृतीया तिथिमा मनाइन्छ । रोपाइँ सकी जनैपूर्णिमा र कृष्ण जन्माष्टमी मनाइसकेपछि आउने तीज अलि सुकिलो चाड हो । यो पर्व मनाउनुका पछाडि दुई प्रमुख र प्रत्यक्ष कारण देख्छु म । पहिलो, महिला र पुरुष जीवनयानका दुई
पाङ्ग्रा, दुई पंखा, दुई संयुक्त इन्जिन हुन् । यी दुई आपसमा परिपोषक एवं परिपूरक हुन्छन् । कर्मप्राप्तिमा महिला–पुरुष दुवैको संयुक्त संकल्प चाहिन्छ । श्रीमतीले गर्ने संस्कार अभियानलाई श्रीमान्ले तन, मन, धन लगाएर सहयोग गर्नु दाम्पत्य जीवनलीलाको एउटासुन्दर पक्ष हो ।

दोस्रो, हाम्रो समाजमा चेलीबेटीले आफ्नो जीवन र घरपरिवारको सुरक्षा चाहिरहेका हुन्छन् । अविचलित सामाजिक संस्कारमा प्रायः छोरीले मनैदेखि सदाचारी पुरुषलाई जीवनसाथी बनाउने मनोकांक्षा राखेका हुन्छन् । यसलाई समाजशास्त्रले पनि स्वाभाविक कुमारी मनोविज्ञान मानेको छ । यस्तै सामाजिक–सांस्कृतिक परम्पराका आधारमा तीजमा महिलाहरू शिव मन्दिरमा भेला हुने गर्छन् । यसको प्रतीकात्मक अर्थ छ । पाषाण, धातु वा स्फटिक जेको भए पनि शिवलिङ्गको पूजा–आराधना अर्थात्लिङ्गार्चन गर्ने यो पर्वले महिलाको यौनिक मनोविज्ञानलाई झल्काउँछ ।

हाम्रो शैव मतावलम्बी हिन्दु समाजमा शिवलिङ्ग पूजाको अर्थ हो— यौन विकृति र विसंगति नहोऊन् भनी कामना गर्नु । कताकति शिवलिङ्गमा चारै दिशा अभिमुख गरेर मानव अनुहार कुँदिएको हुन्छ । यसमा पनि महिला मनोविज्ञानले काम गरेको हुनसक्छ । महिलाहरूले आफ्ना श्रीमानलाई महादेव नै सोचेका हुन्छन् । अर्कातिर, हरेक पुरुषका लागि पनिआफ्नी श्रीमती पार्वती, लक्ष्मी वा सरस्वतीसरह हुन्छन् ।

शिवलिङ्गमा कुँदिएका चतुर्मुखी आकृति महिलाका लागि पुरुष सहयात्री पूर्व, पश्चिम, उत्तर र दक्षिणका बहुविध सोचयुक्त, ज्ञानवान् होऊन्् भन्ने कामनाका विम्ब पनि हुन् । अझै पञ्चमुखी शिवलिङ्गमा अर्को थप आकृति पनि हुन्छ । त्यसले आकाश वा अन्तरिक्षलाई प्रतिविम्बित गरेको हुन्छ ।

हरितालिका तीजमा पाषाण शिवलिङ्गलाई पहिले–पहिले त्रिफला र तेलले नुहाइदिने चलन थियो । यो परिवर्तित समयकालमा त्यस्ता संस्कारहरू लोप हुँदै छन् । त्रिफला–तेल लगाउनाले शिवलिङ्ग प्रखर कालो रङ्ग भइरहन्छ, जुन वैज्ञानिक सत्य हो । यसो गर्दा शिवलिङ्गहरू टिकाउ पनि हुने गर्छन् ।

तीजमा महिलाहरू माइत जान्छन् । तीजले माइती र आफ्नो घरबीच महिलाको दह्रो सम्बन्ध कायम राख्ने सांस्कृतिक सूत्रको काम गरेको प्रमाण हो यो । यसको ज्वलन्त उदाहरण दर खाने/खुवाउने परम्परा हो । दर खाने दिन महिलाहरू यथासम्भव सजिसजाउ भएर नाचगान गर्छन् । यस घडी उनीहरू स्वच्छन्द देखिन्छन् । यथार्थमा हरितालिका तीज नारी उन्मुक्ति दिवस नै हो ।

पौराणिक कालखण्डदेखि केही दशकअगाडिसम्म महिला गृहलक्ष्मीकै भूमिका निर्वाह गर्न तल्लीन थिए, २००७ साल सेरोफेरोदेखि मात्र हो उनीहरू बाहिरफेर सामाजिक कार्यमा प्रवृत्त हुन थालेको ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

बुढेसकाललाई सम्पत्ति होइन, सन्तान

अछरी पोखरेल

एक–डेढ महिनाअघि म नेपालगन्जबाट काठमाडौं गएका बेला अति मिल्ने साथीको घरमा बास बसेंँ । साथीकी आमालाई वार्धक्यले गलाउँदै रहेछ । केही वर्षअघि आमा गुमाएकी म उहाँसँग भेट्दा भावुक भएँ । केही खानेकुरा दिन पाए हुन्थ्यो जस्तो लाग्यो र बाहिर निस्किएँ । टन्नै बिस्कुट र फलफूल किनेर लगिदिएँ । मैले दिएका खानेकुरा उहाँले सिरानीमा राख्नुभयो ।

उहाँसँग लामै भलाकुसारी चल्यो । भन्दै हुनुहुन्थ्यो, ‘आँखाले राम्रो मेसो पाउँदिनँ । घुडा दुखेर भर्‍याङ चढ्न सक्दिनँ । ठूलो अपरेसन गरेर छोरा–बुहारीले बचाए ।’ उहाँका श्रीमान् बितेको पाँच वर्ष भएको रहेछ । भन्नुभयो, ‘मारे पाप पाले पुण्य भन्दै अग्नि साक्षी राखेर, पाउ पुजेर दिएका श्रीमान् पनि बितेपछि त दिन काट्न गाह्रो हुँदो रहेछ, नानी !’

हुन पनि हो, जवान हुँदासम्म शरीर पनि बलियो हुन्छ, काम गरेर खान सकिन्छ, बुढेसकाल लागेपछिको सहारा को त ? कि त श्रीमान्/श्रीमती कि छोराछोरी/छोराबुहारी । छोराछोरी/छोराबुहारी असल भए भने हेरचाह गर्लान्, दुष्टात्मा निस्किए भने ? हामी धेरैले देखेकै छौं, कति छोराछोरी/छोराबुहारी आफ्ना आमाबुबा पाल्न गाह्रो मानेर टाढा बसाइँ सरेका छन् । हेरचाह त परका कुरा, कहिलेकाहीँ यसो मनशान्ति खर्चबर्च पठाउने पनि गर्दैनन् । अनि वृद्धाश्रमको खोज्नुपर्ने लेठो आइलाग्छ । कति वृद्धवृद्धा त्यस्ता आश्रममा गएर बस्न पनि संकोच मान्छन् र पीडा सहेर घरै बसिरहेका हुन्छन् ।

आमाबुबाको बुढेसकालको सहारा भनेकै सन्तान हुन् । जतिसुकै व्यस्त रहे पनिआफ्ना आमाबुबाको हेरचाह गर्नु छोराछोरी सबैको कर्तव्य हो । आमाबुबालाई तिनको निःस्वार्थ पालन–पोषणको प्रतिफल सन्तानले ती अशक्त भएका बेला दिनुपर्छ ।

केही दिनअघि चितवन घुम्न गएका बेला अर्की बूढीआमासँग मैले कुराकानी गर्ने मौका पाएँ । दुई छोरा र चार छोरीकी आमा उहाँका पनि श्रीमान् बितिसक्नुभएको रहेछ । कान्छा छोरा–बुहारीसँगै बस्ने उहाँले भन्नुभयो, ‘कान्छाको छोरा सानो भएकोले यैसँग बसेकी छु ! बुहारी त जेठी सज्जन छ, छोरो माइलो सज्जन छ, माया गर्छन् । श्रीमान् बितेपछि त हेला भइँदो रैछ, नानी ! के गर्नु, आफ्नो कमाइ नभएपछि कसैको माया पाइँदो रैनछ ।’

कुनै पनि आमाबुबा, दुर्लभ अपवादबाहेक, आफ्ना सन्तान अरूलाई दिएर चैनले बस्न सक्दैनन् । बरु आफूले दुःख पाएर पनि सन्तानलाई खुसी राख्न रातदिन लागिरहेका हुन्छन् । आफू भोकभोकै बसेर आमाबुबाले सन्तानको पेट भर्छिन् । सन्तानलाई खुट्टा टेक्ने बनाउन्जेल आमाबुबाको आधा मासु भइसकेको हुन्छ । आमाबुबाको सास नै सन्तानको सुस्वास्थ्य र समुन्नतिमा अल्झेको हुन्छ ।

कतै–कतै सन्तानले आमाबुबाबारे कुरा चल्दा भन्ने गर्छन्, ‘बूढाबूढी कचकचे छन् । जति गरे पनि पुगेन मात्रै भन्छन् । असन्तोषीहरू !’ यसो भन्नुअघि सन्तानले आफू कुन अवस्थाबाट अहिले यस्तो भएँ होला भनी हेक्का गर्नुपर्छ । आमाबुबाले चौबीसै घण्टा हेरचाह नगरेकाभए ती अहिलेको अवस्थामा पुग्न सक्थे ? बाँचिरहन सक्थे ?’

वृद्धावस्थामा श्रीमान्–श्रीमती साथै हुँदा तै ठीकठाकै हुन्छ । एक जनाले छोडेर गएपछि एक्लो जीवन बिताउन न महिलालाई सजिलो हुन्छ, न पुरुषलाई । एकल आमा वा बुबालाई छोराछोरी वा बुहारीले झन् बढी ख्याल गर्नुपर्छ, सेवा–सत्कार गर्नुपर्छ । कसैले कसैको हेरचाह गर्दा पक्कै पनि समय र श्रम खपत हुन्छ, त्यसमा चिन्ता भने गर्नुपर्दैन ।

त्यसको भर्पाई त्यो सेवकले आफ्ना सन्तानबाट अवश्य पाउँछ । किनकि तपाईंले आफ्ना आमाबुबालाई जस्तो व्यवहार गर्नुहुन्छ, तपाईंका सन्तानले तपाईंलाई त्यस्तै व्यवहार गर्छन् । यसमा सोचलेकाम गरेको हुन्छ । तपाईं सकारात्मकताले ओतप्रोत हुने गर्नुभएको छ भने सन्तान पनि त्यस्तै हुन्छन् । नकारात्मकताले सकारात्मकतालाई तान्दैन ।

ज्येष्ठ नागरिकलाई यथोचित सम्मान दिलाउने दिशामा राज्यको पहलको पनि खाँचो छ । तिनका लागि राज्यले स्वास्थ्यसेवा सहितको योजना ल्याउनुपर्छ । ज्येष्ठ नागरिकले परित्यक्त जीवन बाँच्नु नपरोस् भन्नाका लागि छोराछोरीले आफ्ना आमाबुबालाई बेवास्ता गर्न नपाउने व्यवस्था बनाउनुपर्छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्