कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बुढेसकाललाई सम्पत्ति होइन, सन्तान

एक–डेढ महिनाअघि म नेपालगन्जबाट काठमाडौं गएका बेला अति मिल्ने साथीको घरमा बास बसेंँ । साथीकी आमालाई वार्धक्यले गलाउँदै रहेछ । केही वर्षअघि आमा गुमाएकी म उहाँसँग भेट्दा भावुक भएँ । केही खानेकुरा दिन पाए हुन्थ्यो जस्तो लाग्यो र बाहिर निस्किएँ । टन्नै बिस्कुट र फलफूल किनेर लगिदिएँ । मैले दिएका खानेकुरा उहाँले सिरानीमा राख्नुभयो ।

बुढेसकाललाई सम्पत्ति होइन, सन्तान

उहाँसँग लामै भलाकुसारी चल्यो । भन्दै हुनुहुन्थ्यो, ‘आँखाले राम्रो मेसो पाउँदिनँ । घुडा दुखेर भर्‍याङ चढ्न सक्दिनँ । ठूलो अपरेसन गरेर छोरा–बुहारीले बचाए ।’ उहाँका श्रीमान् बितेको पाँच वर्ष भएको रहेछ । भन्नुभयो, ‘मारे पाप पाले पुण्य भन्दै अग्नि साक्षी राखेर, पाउ पुजेर दिएका श्रीमान् पनि बितेपछि त दिन काट्न गाह्रो हुँदो रहेछ, नानी !’


हुन पनि हो, जवान हुँदासम्म शरीर पनि बलियो हुन्छ, काम गरेर खान सकिन्छ, बुढेसकाल लागेपछिको सहारा को त ? कि त श्रीमान्/श्रीमती कि छोराछोरी/छोराबुहारी । छोराछोरी/छोराबुहारी असल भए भने हेरचाह गर्लान्, दुष्टात्मा निस्किए भने ? हामी धेरैले देखेकै छौं, कति छोराछोरी/छोराबुहारी आफ्ना आमाबुबा पाल्न गाह्रो मानेर टाढा बसाइँ सरेका छन् । हेरचाह त परका कुरा, कहिलेकाहीँ यसो मनशान्ति खर्चबर्च पठाउने पनि गर्दैनन् । अनि वृद्धाश्रमको खोज्नुपर्ने लेठो आइलाग्छ । कति वृद्धवृद्धा त्यस्ता आश्रममा गएर बस्न पनि संकोच मान्छन् र पीडा सहेर घरै बसिरहेका हुन्छन् ।


आमाबुबाको बुढेसकालको सहारा भनेकै सन्तान हुन् । जतिसुकै व्यस्त रहे पनि आफ्ना आमाबुबाको हेरचाह गर्नु छोराछोरी सबैको कर्तव्य हो । आमाबुबालाई तिनको निःस्वार्थ पालन–पोषणको प्रतिफल सन्तानले ती अशक्त भएका बेला दिनुपर्छ ।


केही दिनअघि चितवन घुम्न गएका बेला अर्की बूढीआमासँग मैले कुराकानी गर्ने मौका पाएँ । दुई छोरा र चार छोरीकी आमा उहाँका पनि श्रीमान् बितिसक्नुभएको रहेछ । कान्छा छोरा–बुहारीसँगै बस्ने उहाँले भन्नुभयो, ‘कान्छाको छोरा सानो भएकोले यैसँग बसेकी छु ! बुहारी त जेठी सज्जन छ, छोरो माइलो सज्जन छ, माया गर्छन् । श्रीमान् बितेपछि त हेला भइँदो रैछ, नानी ! के गर्नु, आफ्नो कमाइ नभएपछि कसैको माया पाइँदो रैनछ ।’


कुनै पनि आमाबुबा, दुर्लभ अपवादबाहेक, आफ्ना सन्तान अरूलाई दिएर चैनले बस्न सक्दैनन् । बरु आफूले दुःख पाएर पनि सन्तानलाई खुसी राख्न रातदिन लागिरहेका हुन्छन् । आफू भोकभोकै बसेर आमाबुबाले सन्तानको पेट भर्छिन् । सन्तानलाई खुट्टा टेक्ने बनाउन्जेल आमाबुबाको आधा मासु भइसकेको हुन्छ । आमाबुबाको सास नै सन्तानको सुस्वास्थ्य र समुन्नतिमा अल्झेको हुन्छ ।


कतै–कतै सन्तानले आमाबुबाबारे कुरा चल्दा भन्ने गर्छन्, ‘बूढाबूढी कचकचे छन् । जति गरे पनि पुगेन मात्रै भन्छन् । असन्तोषीहरू !’ यसो भन्नुअघि सन्तानले आफू कुन अवस्थाबाट अहिले यस्तो भएँ होला भनी हेक्का गर्नुपर्छ । आमाबुबाले चौबीसै घण्टा हेरचाह नगरेका भए ती अहिलेको अवस्थामा पुग्न सक्थे ? बाँचिरहन सक्थे ?’


वृद्धावस्थामा श्रीमान्–श्रीमती साथै हुँदा तै ठीकठाकै हुन्छ । एक जनाले छोडेर गएपछि एक्लो जीवन बिताउन न महिलालाई सजिलो हुन्छ, न पुरुषलाई । एकल आमा वा बुबालाई छोराछोरी वा बुहारीले झन् बढी ख्याल गर्नुपर्छ, सेवा–सत्कार गर्नुपर्छ । कसैले कसैको हेरचाह गर्दा पक्कै पनि समय र श्रम खपत हुन्छ, त्यसमा चिन्ता भने गर्नुपर्दैन ।


त्यसको भर्पाई त्यो सेवकले आफ्ना सन्तानबाट अवश्य पाउँछ । किनकि तपाईंले आफ्ना आमाबुबालाई जस्तो व्यवहार गर्नुहुन्छ, तपाईंका सन्तानले तपाईंलाई त्यस्तै व्यवहार गर्छन् । यसमा सोचले काम गरेको हुन्छ । तपाईं सकारात्मकताले ओतप्रोत हुने गर्नुभएको छ भने सन्तान पनि त्यस्तै हुन्छन् । नकारात्मकताले सकारात्मकतालाई तान्दैन ।


ज्येष्ठ नागरिकलाई यथोचित सम्मान दिलाउने दिशामा राज्यको पहलको पनि खाँचो छ । तिनका लागि राज्यले स्वास्थ्यसेवा सहितको योजना ल्याउनुपर्छ । ज्येष्ठ नागरिकले परित्यक्त जीवन बाँच्नु नपरोस् भन्नाका लागि छोराछोरीले आफ्ना आमाबुबालाई बेवास्ता गर्न नपाउने व्यवस्था बनाउनुपर्छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?