कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

उपत्यकामा स्मार्ट सिटी

मल्ल के. सुन्दर

काठमाडौं उपत्यका विकास प्राधिकरणले हालै सार्वजनिक गरेको, उपत्यकाका चार दिशामा चार नयाँ स्मार्ट सिटी बनाइने सूचनाले स्थानीय बासिन्दालाई फेरि सन्त्रस्त पारेको छ । 

उपत्यकामा स्मार्ट सिटी

सूचना अनुसार, सबभन्दा ठूलो क्षेत्रफलको स्मार्ट सिटी भक्तपुरको तालकोटदेखि काठमाडौंका जोरपाटी र मूलपानी, काठमाडौं–भक्तपुर पुरानो बाटो, नेपाली सैनिक प्रशिक्षण प्रतिष्ठान भएर अरनिको राजमार्गसम्म विस्तार हुनेछ । त्यस क्षेत्रको करिब १ लाख रोपनी खेतीयोग्य भूमि अधिग्रहण गरिनेछ । दोस्रो स्मार्ट सिटीका लागि भक्तपुरकै बालकोट र गुन्डु क्षेत्रलाई रोजिएको छ । तेस्रो स्मार्ट सिटीचाहिँ उपत्यकाको दक्षिणतिर रानीकोट, भैंसेपाटी, खोकना, बुङमती तथा छिम्ती क्षेत्रमा बन्नेछ । चौथो स्मार्ट सिटीका लागि उपत्यकाको उत्तरमा रहेका सामाखुसी र बालाजु बाइपासदेखि काभ्रेस्थली, टोखासम्मको भूमि पहिचान गरिएको छ ।


परियोजनाको डीपीआर तयारी चरणमै छ । आगामी नौ महिनाभित्र बुझाउने गरी नेपालको इन्भाइरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्सी दुइटा तथा फिनल्यान्डको हेलेन एन्ड कम्पनी र नेपालकै फुलब्राइट कन्सल्ट्यान्सी एक–एक स्मार्ट सिटीको डीपीआर बनाउन प्राधिकरणको छनोटमा परेका छन् । यसबापत फिनिस कम्पनीले १२ करोड तथा नेपाली कम्पनीहरूले २–२ करोड रुपैयाँ पाउने छन् । करिब ५ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको परियोजनाका लागि लगानी २० प्रतिशत आन्तरिक तथा ८० प्रतिशत अन्तर्राष्ट्रिय स्रोतबाट जुटाइनेछ । प्राधिकरणका अनुसार, चारै स्मार्ट सिटीका लागि १ लाख ३० हजार रोपनी खेतीयोग्य भूमि मासिनेछ । पछि उपत्यकामा १० लाख जनसंख्या थपिनेछ ।


प्रस्तावित परियोजनाले काठमाडौं उपत्यकाको वर्तमान नगरीय संरचना र जनसांख्यिक स्वरूपमा ठूलो असर पार्ने निश्चित छ । सर्वविदितै छ, उपत्यकाको कुल क्षेत्रफल करिब ५७० वर्ग किलोमिटर छ । यति सानो क्षेत्र कुनै बेला हरियाली तथा उब्जनीका लागि प्रख्यात थियो । मञ्जुश्रीले नागदहको पानी निकास गराई यहाँ मानवबस्ती बसाएको प्रागैतिहासिक कथन त छँदै छ, त्यसअतिरिक्त उपत्यकाको सभ्यता हजारौं वर्ष पुरानो थियो भन्नेमा अध्येताहरूको दाबी रहँदै आएको छ । आदिकवि भानुभक्त आचार्यले पनि उपत्यकाको सुन्दरतामा मोहित भएर ‘अलकापुरी कान्तिपुरी नगरी’ उपमा दिएका थिए । तर सत्ताको गलत नीतिका कारण उपत्यका आन्तरिक आप्रवासनको अतिक्रमणमा पर्‍यो । सही भूमि व्यवस्थापनको अभावमा अत्यन्त सुन्दर उपत्यका कंक्रिटको जंगलमा परिणत हुँदै गयो । सहरी विकासका नाममा अहिले विद्रूपताको दृष्टान्त बनेको छ— काठमाडौं उपत्यका !


प्राकृतिक सुन्दरताबाहेक काठमाडौं उपत्यकाको अर्को पहिचान हो— पूर्वजहरूले खडा गरेका गौरवमय संस्कृति तथा सम्पदा । यो एकैथलोमा सात–सात विश्वसम्पदा छन् । कलाकृति, मन्दिर, स्तूप, गुम्बा, सतल आदि मूर्त सम्पदाहरू यत्रतत्र छन् । अनि रैथाने समुदायले जीवन्त राखेका जात्रा, चाड, पर्व, रीति, परम्परा, पूजा जस्ता अनगिन्ती अमूर्त सम्पदाको पनि केन्द्र हो यो । त्यसैले काठमाडौं उपत्यकालाई विदेशी ज्ञाता तथा विज्ञहरूले खुल्ला सांस्कृतिक संग्रहालय भन्ने गरेका छन् । यही विशिष्ट सांस्कृतिक पहिचानका कारण काठमाडौं उपत्यका सिङ्गो नेपाललाई नै विश्वमा परिचित गराउने राष्ट्रिय धरोहर हो । राष्ट्रले यसमा गर्व गर्न सक्नुपर्छ ।

तर, यही सम्पदा क्षेत्रको सरहदभित्र प्राधिकरणले चार नयाँ स्मार्ट सिटी निर्माणको परियोजना अगाडि सार्नुले राज्यसत्ता कुन धरातलमा छ भन्ने संकेत गर्छ । भक्तपुर, साँखु, बुङमती, खोकना, टोखा जस्ता पूर्व लिच्छविकालीन सम्पदानगरमाथि प्रत्यक्ष असर पर्ने गरी हुने स्मार्ट सिटीको निर्माण यथार्थत: हाम्रा ऐतिहासिक धरोहर र गौरवलाई ओझेलमा पार्ने कुटिल खेल हो । सरकार सम्पदा, संस्कृति तथा पहिचान संरक्षणमा कति गम्भीर रहेछ भन्ने गुह्य यसले खोलेको छ ।


सरकारी तथ्यांक अनुसार, काठमाडौं उपत्यकामा अहिले झन्डै २६ लाख मानिस स्थायी रूपमा बसोबास गर्छन् । त्यस अनुसार यहाँको जनघनत्व प्रतिवर्गकिमि करिब ४,५६१ छ । अस्थायी बसोबास गरिरहेकाहरूको संख्या जोड्ने हो भने अझ भयावह चित्र देखिनेछ । नेपालको दोस्रो ठूलो सहर विराटनगरको जनघनत्व २,८३८ मात्र छ भने वीरगन्जको १,८४८ । जनघनत्व घटाएर जानसांख्यिक सन्तुलन कायम गर्न राज्यले काठमाडौं उपत्यकाभित्रको बसोबासलाई अन्यत्र स्थानान्तरण गर्ने रणनीति बनाउनुचाहिँ अहिलेको आवश्यकता हो । तर, उल्टो चार–चार नयाँ स्मार्ट सिटी निर्माण गरेर अर्को पाँच वर्षभित्र उपत्यकामा अहिलेको भन्दा झन्डै ४० प्रतिशत बढी जनसंख्या बढाउन लागिएको छ । यसबाट उपत्यकालाई कस्तो असर पर्ला, सहजै अनुमान गर्न सकिन्छ ।


यथार्थत:, काकाकुल उपत्यकावासीहरूका लागि अहिले आवश्यक एक अञ्जुली खानेपानी हो । मेलम्ची सपनामार्फत राज्यको असंवेदनशीलताले दशकौं पार गरिसकेको छ । उपत्यकावासीहरू स्वस्थ रूपमा जीउनका लागि धूलोमुक्त सास फेर्न चाहन्छन्, दुर्गन्धबाट उन्मुक्ति खोजिरहेका छन् । अनियन्त्रित सवारी साधन अनि ओहोरदोहोर गर्न पनि नसकिने असहज सडक उपत्यकाको नियति बनिरहेको छ । न आम नागरिकको जीउधनको, न आमा दिदीबहिनीको अस्मिताको सुरक्षाको ग्यारेन्टी हुन्छ यहाँ । सरकार यी दीर्घ समस्याको समाधानमा गम्भीर नरही खर्बौं खर्चिने स्मार्ट सिटीको कुरा गरिरहेको छ, आखिर कसको स्वार्थमा ?


भूमाफियाहरूको चलखेलमा जताततै सलबलाएका हाउजिङ, अपार्टमेन्ट र जग्गा प्लटिङ अनि त्यहाँ उभ्याइएका पुङमाङे भौतिक संरचनाले उपत्यकाको प्राकृतिक सौन्दर्यलाई पहिल्यैदेखि व्यंग्य गरिरहेका छन् । बर्सेनि बढ्दो खेतीयोग्य भूमिको क्षयीकरण र खुल्ला स्थान अतिक्रमणले त्यत्तिकै चिन्ता बढाइरहेकै छ । लाग्छ, काठमाडौं उपत्यका अविवेकी तथा अदूरदर्शीहरूको कब्जामा परिरहन अभिशप्त छ ।


उपत्यकाको आवश्यकता थप गगनचुम्बी भवन, स्मार्ट सिटी वा आधुनिक सुविधायुक्त भौतिक संरचनाहरूको होइन । ठूलठूला घरहरूको भीडमा उपत्यकाले मौलिक पहिचान भेट्न सक्दैन । यसलाई न्युयोर्क वा सिंगापुर बन्नु छैन । रोम, एथेन्स र बनारस जस्तै पुर्खाको सामर्थ्य र समर्पणमा स्थापित मौलिक पहिचान यसको गौरव हो ।


होला, पाँच खर्ब रुपैयाँ लगानी गरिने परियोजना कति राजनीतिकर्मी, प्रशासकीय हाकिम अनि ठेकेदारका लागि अकुत सम्पत्ति आर्जनको सहज उपाय बन्न सक्ला, स्मार्ट सिटीको भौतिक संरचनासँगसँगै कति अज्ञात व्यक्तिको आर्थिक सूचकांक उकासिएला, तर यो गौरवशाली उपत्यका पक्कै मृत सहरमा परिणत हुनेछ । राष्ट्रियता, समाजवाद, जनपक्षीयताको महिमागान गर्ने हाम्रा नेताजन यसबारे मौन बसिरहनुचाहिँ आश्चर्यजनक छ । संसद्को बैठक चालु छ, तर राष्ट्रिय धरोहरलाई दीर्घकालीन असर पार्ने बेतुकका परियोजनाबारे जनप्रतिनिधिहरू किन चुँसम्म गर्दैनन् ?


प्रकाशित : भाद्र १५, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?