विद्यालयमा गुनासो पेटिका 

बिना थिङ

दुई साताअघिको शुक्रबार एउटा आधारभुत विद्यालयको गुनासो पेटिकाको ताला खोलियो । कापीका पानामा, चिर्कटामा विद्यार्थीका अनेक गुनासा थिए । तिनमा लेखिएका थिए— ... ले मेरो पेन्सिल भाँचिदियो । ... सीमा अचेल मसँग बोल्दिनँ । त्यसैले मलाई नरमाइलो लागेको छ ।

विद्यालयमा गुनासो पेटिका 

... राजकुमार सरले पढाएको बुझिँदैन । ... घरमा बुवा र दाइको झगडा भइरहन्छ । त्यसैले मलाई होमवर्क गर्न मन लाग्दैन । ... म स्कुल आउने बाटोमा केटाहरू बसेर जिस्काउँछन् । मलाई त्यो बाटो भएर विद्यालय आउन मन लाग्दैन । ... शिवले मलाई ब्याड टच गर्छ । पटक–पटक ब्याड टच गर्छ । ... मेरो ड्रेस च्यातिएकाले म स्कुल आउन सकिनँ । तर सरले मेरो कुरा नसुनी कारबाही गर्नुभयो । ... ...

त्यस्ता गुनासामा केहीले मात्र आफ्नो नाम लेखेका थिए ।


गुनासो पेटिका धेरैअघि राखिएको भए पनि प्रयोगमा आउन सकेको थिएन । विद्यालयले यसको महत्त्व बुझ्न सकेको थिएन । लामो समयपछि भएको शिक्षक बैठकले विद्यार्थीमा चिडचिडोपन बढ्दै गएको, विद्यार्थीहरूबीच झैझगडाले उग्र रूप लिएको, पढाइमा केन्द्रित नभएको जस्ता समस्याबारे छलफल चलाउने निर्क्योल गर्‍यो । तिनको मनोविज्ञान बुझेर परामर्श गर्नुपर्ने ठहर गरियो । त्यसका निम्ति उनीहरूका समस्या थाहा पाउनु जरुरी भयो । तर उनीहरू सबै शिक्षकसँग सजिलै खुल्न नचाहेको थाहा भयो । उनीहरू आफ्नो गोपनीयता कायम रहोस् भन्ने चाहन्थे । त्यसका लागि विद्यालयले गुनासो पेटिकाको महत्त्व बुझ्यो ।


शिक्षकहरूले कक्षाकक्षामा गएर विद्यार्थीलाई आआफ्ना समस्या कागजमा लेखेर गुनासो पेटिकामा खसाल्न प्रेरित गरे । त्यस्ता समस्या, जुन उनीहरूले सीधै शिक्षकलाई भन्न सकेका छैनन्, तर नभनी पनि भएको छैन । गुनासो पेटिका प्रत्येक शुक्रबार खोलेर समस्या पढ्ने अनि समाधानमा सहयोग गर्नेमा उनीहरूलाई विश्वस्त तुल्याइयो । त्यसको राम्रो प्रभाव पर्‍यो ।


विद्यार्थीले विभिन्न समस्या भोगिरहेका हुन्छन् । सुन्दा वा देख्दा सामान्य लाग्ने समस्याले तिनको मनोविज्ञानमा गम्भीर प्रभाव पारिरहेको हुन सक्छ । सहपाठी वा अरूले शारीरिक दुर्व्यवहार गर्नु, आफ्नो सामान हराउनु, शिक्षकहरूबाट विभेद हुनु, पढाएको नबुझ्नु आदि उनीहरूका जल्दाबल्दा समस्या हुन् । पारिवारिक हैरानी, अभिभावकको द्वन्द्व, सम्बन्धमा उतारचढाव, छिमेकीको दुर्व्यवहार पनि उनीहरूको दैनिक जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । यसै कारण पढाइमा ध्यान केन्द्रित गर्न सकेका हुँदैनन् । अनि उनीहरूलाई निराशाले गाँज्दै लान्छ । यसको विकराल रूप लागूऔषधको प्रयोगदेखि आत्महत्यासम्म हुन सक्छ । समयमै त्यस्ता समस्याको पहिचान र निराकरणमा ध्यान नदिए परिणाम भयावह हुन सक्छ ।


यस्ता समस्या भोग्नेमा पूर्व प्राथमिकदेखि माध्यमिक तहसम्मकै विद्यार्थी हुन सक्छन् । उनीहरू सजिलैसँग आफ्ना समस्या आफ्ना भनिएकाहरूसामु राख्न सक्दैनन् । राखिहाले पनि सम्बन्धित व्यक्तिले हल्का रूपमा लिइदिने सम्भावना हुन्छ । त्यसैले उनीहरूमा आफ्ना समस्या सम्बोधन हुन्छ भन्नेमा संशय हुने गर्छ । अनि भित्रभित्रै पीडित भइरहन्छन् ।


माथि उल्लिखित विद्यालयको गुनासो पेटिकामा परेका धेरैजसो गुनासा सहपाठीले गरेका कुटपिटसम्बन्धी थिए । एउटा गुनासो अलि फरक किसिमको थियो, जसबाट सहपाठी तर उमेरगत र शारीरिक संरचनागत हिसाबले ठूलो विद्यार्थीको प्रत्येक दिनको यातनामा एउटा विद्यार्थी परिरहेको यथार्थ थाहा पाइयो । पीडितले यो कुरा शिक्षकलाई भन्न सकेको थिएन । त्यो ठूलो विद्यार्थीले थाहा पाए अझ बढी यातना दिने त्रास उसमा थियो । गुनासो पेटिकामार्फत यो समस्या थाहा पाएपछि विद्यालयले पीडक विद्यार्थीसँग सोधखोज गर्‍यो, उसलाई परामर्श दियो । अहिले त्यो ठूलो विद्यार्थी अन्य सहपाठीप्रति सहानुभूति राख्ने भएको छ ।


कक्षा ७ पढ्ने छात्राले आफूलाई अर्को सहपाठीले बारम्बार ब्याड टच गर्ने गरेको उल्लेख गरेकी थिइन् । त्यसबाट आफू पढाइमा केन्द्रित हुन नसकेको र सकेसम्म विद्यालय आउन नपरे हुन्थ्यो भन्ने लागेको समेत उल्लेख थियो । यो भयावह थियो । विद्यालयले पीडक छात्रसँग सोधपुछ थाल्यो । उसले सुरुमा त आफूले त्यस्तो गलत काम नगरेको जिकिर गरिरह्यो । केरकार गर्दै गएपछि उसले आफ्नो गल्ती स्विकार्‍यो, पछुतो मान्यो र कसैलाई त्यस्तो नगर्ने प्रतिबद्धता पनि जनायो । उसले पीडित छात्रासँग माफी माग्यो । यो सबै गोप्य रूपमा गरिएकाले पीडित छात्राको हृदयको ठूलो बोझ हट्यो । अचेल ती दुवै छात्रछात्रा पढाइमा केन्द्रित छन् ।


स्कुले केटाकेटीका यस्ता विविध समस्या हुन्छन् जसलाई विद्यालय प्रशासन, शिक्षक एवं परामर्शदाताले सम्बोधन गर्ने गर्नुपर्छ । यसो गर्दा विद्यार्थीर्हरू केही हदसम्म भए पनि खुसी हुन्छन् । उनीहरूमा शिक्षक र विद्यालयप्रति विश्वास जाग्छ । यसले उनीहरूलाई सिर्जनात्मकतातर्फ उन्मुख हुन सघाउँछ, गलत बाटोमा जानबाट रोक्छ, कुलतमा फस्नबाट जोगाउँछ । त्यसैले गुनासो पेटिका प्रत्येक विद्यालयमा अनिवार्य रूपले राख्नुपर्छ । यो नियमित रूपमा चल्नुपर्छ र समस्याको सम्बोधन हुनुपर्छ । यसले गर्दा केटाकेटीमाथि पर्न सक्ने भवितव्य टरेर जान्छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?