३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कहाँ छन् हाम्रा आफन्त ?

गीता रसाइली

नगमालाई सानै हुँदा हजुरआमाले हात समात्दै धेरैतिर लगेको याद छ । उनकी बहिनी स्वस्तिमा चाहिँ हजुरआमाको काँधमा हुन्थिन् । त्यस्ता प्रायः ठाउँमा नगमा उहाँकै उमेर समूहका महिला बढी देख्थिन् । बिस्तारै नगमा ती परिचित भीडहरूमा हजुरआमाको हात फुत्काएर खेल्न र रमाउन छोडी माइकमा आफन्त हराएकाहरूको बोली सुनेर टोलाउन थाल्ने भइन् । 

कहाँ छन् हाम्रा आफन्त ?

हजुरआमा त्यसरी आफूहरूलाई लिएर भौंतारिएको कारण नगमाले अलि हुर्केपछि मात्रै बुझ्न सकिन् । उहाँ आफ्ना बेपत्ता छोराको, नगमाहरूका बाबाको खोजीमा हिँड्नुहुँदो रहेछ । अहिले बाइस वर्ष टेकेकी नगमा अन्तर्राष्ट्रिय बेपत्ता दिवसको दिन हरेक अगस्ट ३० मा आफ्ना बाबाको सम्झनामा मैनबत्ती बाल्ने गर्छिन् ।


मनमनै चिच्याउंँछिन्, ‘बाबा, तपाईं कहाँ हुनुहुन्छ ?’ बाहिर जति कराए पनि केही नहुने रहेछ भन्ने उनले बुझिसकेकी छन् । नयाँ नेपाल उनको मौनता चाहन्छ भन्ने पनि उनले बोध गरिसकेकी छन् । उनलाई ख्याल भइसकेको छ— उनको मौनताले यो देशमा शान्ति र अमनचैन कायम राख्छ ! 


२०६१ सालमा मूर्तिको काम गर्न भनी ललितपुरको ठेचोबाट काठमाडौंको ताहाचल गएका नगमाका बाबा त्यसपछि फर्कन पाएनन् । हजुरआमा स्वास्थ्यका कारण हिँड्नै नसक्ने भएदेखि उनैले खोजी अभियान चलाइरहेकी छन् । अहिले त हजुरआमाको पनि देहावसान भइसकेको छ । सानी छोरीको जन्मसँगै पत्नीको मृत्यु भएपछि बाबाले नै दुई छोरीलाई हुर्काइरहेका थिए । बाबा बेपत्ता पारिएपछि हजुरआमाले उनीहरूको पालनपोषणको जिम्मा लिएकी थिइन् ।


बित्नु अघिल्लो रात हजुरआमाले नगमासँग रुँदै भनेकी थिइन्, ‘एक पटक तिम्रो बाबालाई भेट्न पाए कस्तो हुन्थ्यो ! ऊ यो संसारमा छैन भने पनि उसको काजकिरिया गरेर मात्र मर्न पाए हुन्थ्यो !’


हजुरआमाको इच्छा पूरा हुन सकेन । हजुरआमा नरहे पनि त्यो चाहना आफूले पूरा गर्नुपर्छ भनेर नगमा दिनरात सोचमग्न हुने गर्छिन् । त्यो दिशामा उनी लागिरहेकी पनि छन्, तर यो राज्य जवाफविहीन मुद्रामा नगमाकी हजुरआमाको झैं धेरैको मृत्यु कुरेर बसेको छ । हैन भने, हजारौं पटक रटिएको शान्ति सम्झौतामा भनिएझैं उनका बाबाझैं सशस्त्र द्वन्द्वकालमा बेपत्ता बनाइएकाहरूको स्थिति त त्यो सम्झौताको साठी दिनभित्रै सार्वजनिक हुनुपर्ने हो !


उनकी हजुरआमाको छोराको सास या लास पाउने इच्छा पूरा गर्न नसक्ने सरकारले दुई टुहुरा बालिकाको गाँस–बास–कपासबारे सोच्नुपर्ने हैन ? तर राज्यलाई यस्तो फुर्सद कहाँ ! नगमा र उनकी बहिनीको जीवनमा अब न ज्यामी काम गरेर घर–व्यवहार धान्ने हजुरबुबाको साथ छ, न सुकुल बुनेर घरखर्च चलाउने हजुरआमाकै हात बाँकी छन् । हजुरआमालाई सघाउँदासघाउँदै टोपी बुन्न नसिकेकी भए, छरछिमेकका बालबालिकालाई ट्युसन पढाउन नथालेकी भए नगमाले सानै उमेरमा बहिनीको बिँडो थाम्न कसरी सक्थिन् होला ? एक्लैले बहिनीलाई कसरी हुर्काउँथिन् होला ?


द्वन्द्वकालका घटनाको छानबिनका लागि सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी दुई आयोग गठन हुँदै छन् भन्ने समाचार सुन्दा नगमा कति खुसी थिइन् ! मक्ख पर्दै उनले हजुरआमासँग भनेकी थिइन्, ‘अब त हाम्रो बाबा आउनुहुन्छ होला, हगि आमा ?’ तर हजुरआमाहरूको न्यायका लागि यी आयोग जसरी बन्नुपर्ने हो, त्यसरी बनेनन् ।


नगमालाई थाहा थिएन, हजुरआमाहरू आयोगलाई राजनीतिक भर्तीकेन्द्र र स्वार्थसिद्धिको संयन्त्र बनाउने षड्यन्त्र भएको बहस गरिरहनुभएको रहेछ । उहाँहरूले त आयोग बन्नुअघि नै, बेपत्ता पार्ने जस्तो गम्भीर अपराधमा क्षमादान दिन नहुने कानुनको सुनिश्चितताको माग पो गरिरहनुभएको रहेछ । नगमाले त यो सब बुझ्नै सकेकी रहिनछिन् । अचेल उनलाई लाग्छ— कतिपय पीडितले यस्ता कुरा बुझेकै छैनौं । आयोगका नाममा राज्यले पुनः पीडित बनाउँदै लाने र बच्चालाई मिठाई देखाएझैं भुलाइरहने, पटक–पटक म्याद थपेर वर्षौं झुलाइरहने, असंख्य निवेदन बटुल्यौं भनेर एउटा तथ्यांक दिएपछि हामी मक्ख परिरहने !


राज्यलाई त स्मरण होला नै, आयोगमार्फत पीडितहरूलाई प्राविधिक रूपमा बुझ्न कठिन हुने प्रश्नको थुप्रोसहितको कागज थमाई विगतमा द्वन्द्वमा संलग्न राजनीतिक दलका प्रतिनिधिहरू रहेको शान्ति समितिजस्तो पूर्वाग्रही निकायमार्फत भराएर प्राप्त भएका हुन् ती तथ्यांकहरू ।


नगमालाई नै बेपत्तासम्बद्ध फारम भर्न घण्टौं लागेको थियो । कति प्रश्न उनले बुझ्नै सकेकी थिइनन् । परिचित बेपत्ता परिवारकी आमालाई फोनमा यसबारे सोध्दा जवाफ पाएकी थिइन्, ‘शान्ति समितिले भरिदियो ।’ त्यस्तै अर्को परिवारकी दिदीलाई सम्पर्क गर्दा सुनिन्, ‘जो पीडक हो भनेर फारममा लेखेकी छु, उसकै दलको संयोजक शान्ति समितिमा छ । त्यसैले म त फारम बुझाउन डराएकी छु ।’ नगमाले जे फारममा भरिन्, त्यो डर र अविश्वासको सम्मिश्रणबाहेक केही थिएन । त्यति फारम भरेपछि आयोगको समयावधि नसकिएसम्म उनलाई आयोगले सम्पर्क गरेको कुनै सम्झना छैन ।


हजुरआमाले नगमालाई एक दिन उनका बाबालाई खोज्न आफू भैरवनाथ गण पुगेको प्रसंग सुनाउनुभएको थियो । उहाँ रोइकराइ गरेपछि सेनाले ठूलो फाइल ल्याएर ‘यसमा आफ्नो छोराको नाम खोज, यहाँ नाम छ भने तिम्रो छोरा यहीं छ, नत्र यहाँ छैन’ भनेको रहेछ । दुर्भाग्यवश, हजुरआमालाई पढ्न आउँदैनथ्यो ।


हजुरआमा भोलिपल्ट पढ्न जान्ने मान्छे लिएर जाँदा हिजो फाइल देखाउने ड्युटी अफिसर रहेनछन् र अर्काले ‘मलाई थाहा छैन’ भनेर पठाइदिएछन् । नगमाले यो पंक्तिकारलाई सुनाइन्, ‘त्यो दिन हजुरआमाले हामीसंँग कुरा गर्दा पछ्यौराले आँखा मिच्दै भन्नुभएको थियो— मलाई पढ्न आएको भए तिमीहरूको बाबा त्यहाँ थियो कि थिएन थाहा हुन्थ्यो, त्यहाँ थियो भने सायद मैले फर्काउन सक्थेँ कि ? अरू को–को थिए भन्ने पनि थाहा हुन्थ्यो होला ।’


आयोगले यी र यस्ता कथाहरूको यत्रो वर्षसम्म दस्तावेजीकरण त गर्न सकेन, न्याय त कताकता ! नगमा सोध्छिन्, ‘दिदी, बेपत्ता आयोग फेरि बन्दै छ रे । पहिलेका आयुक्तहरूले अति उत्कृष्ट प्रदर्शनी गरेकोले उनीहरूलाई नै पुनः नियुक्त गर्दै छन् रे, हो ?’ यो प्रश्न पंक्तिकारलाई भए पनि राज्यलाई हो । हामीलाई राजनीतिक षड्यन्त्रले भरिपूर्ण जवाफ होइन, हाम्रो घाउमा मल्हम लगाउने विश्वास चाहिएको छ ।


आज अगस्ट ३० । संसारभरका बेपत्ता पारिएका व्यक्तिका परिवारले आफन्त खोजी गर्दै दीप प्रज्वलन गर्ने दिन । संयोगले आज नेपाली पात्रो अनुसार बुबाको मुख हेर्ने दिन पनि । बहिनीले नगमालाई एक दिन भनेकी थिइन्, ‘मेरो स्कुलमा सबै साथीले बुबाको मुख हेर्ने दिन बाबाको लागि कार्ड बनाउँछन्, म के गरूँं ?’ नगमाले भनेकी थिइन्, ‘तिमी पनि कार्ड बनाऊ । बाबा आउनुहुन्छ अनि दिऔंला ।’ अनि बहिनीले प्रत्येक वर्ष बाबाका लागि भनेर बनाएका सुन्दर कार्डहरू भित्तामा टाँस्न थालिन् । कार्डहरूले त्यो भित्ता भरियो, तर बाबा आउनुभएन ।


यो वर्ष पनि उनको उपहार भित्तामा मात्र सजिनेछ ।


लेखक द्वन्द्वपीडित राष्ट्रिय सञ्जालकी अध्यक्ष हुन् ।

प्रकाशित : भाद्र १३, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?