तीजको दर किन करकर ?

लीला लुइँटेल

तीज सङ्घारमै आइसकेको छ । तीजको दरविरुद्ध अनेक व्यङ्ग्यमूलक प्रस्तुतिले पत्रपत्रिका एवं सामाजिक सञ्जाल रङ्गिन थालिसकेका छन् । प्रगतिशील विचार राख्नेहरूले विरोध र व्यङ्ग्यको तारो बनाएको तीजको दरलाई केही समययता प्रशासनिक निकायले पनि विकृतिको भण्डार भन्दै यसमाथि प्रतिबन्ध लगाउन खोजेका समाचार पनि आइरहेका छन् ।

तीजको मौलिक संस्कृतिलाई जोगाउन यस्तो प्रतिबन्ध लगाउनुपरेको पनि सुनिँदै छ ।

तीजको दर तारे होटलमा खाए रे, असीमित खर्च गरे रे, यसले सामाजिक विभेद सिर्जना गर्‍यो रे भनिएको सुनिन्छ । पहिलो कुरा, अहिले हुने व्रतबन्ध पार्टीलाई हेरौं । व्रतबन्ध गरिएको बटुकले ६ महिनासम्म माछा–मासु, लसुन–प्याज जस्ता गरिष्ठ एवं तामसी भोजन गर्न नहुने भन्ने व्यावहारिक अभ्यास हाम्रै समाजमा मेरो पुस्तासम्मले देखेभोगेकै हो ।

यसबारे शास्त्रीय मर्यादा त योभन्दा पनि कडा हुनुपर्छ । तर अहिले व्रतबन्धकै दिन गरिने पार्टीमा समेत बार्बिक्यु गर्नुपर्ने अनि बिजुलीपानीको खोलो बगाउनुपर्ने स्थिति अनिवार्यजस्तै भइसकेको छ । एउटा बटुकको कर्म–चलाइ संस्कृृति, परम्परा र व्यवहारविरोधी हुँदा चाहिँ हाम्रो संस्कृतिको संरक्षण भयो ?

हिन्दी सिरियलका प्रभावमा परेर हाम्रो परम्परामै नभएका मेहन्दी, हल्दी, सङ्गीतजस्ता कार्यक्रम विवाहका अवसरमा समावेश गर्न थालिएको धेरै भयो । यस्ता कार्यक्रममा त झन् पहिरनको प्रकार र रङ्ग नै तोकेर आफन्तलाई समेत तनाव दिने गरिन्छ । तीजको दरलाई विकृतिको भण्डार मानेर प्रतिबन्ध लगाउन फर्मान जारी गर्नेहरू पनि यस्ता कार्यक्रममा समावेश भएको मैले देखेकी छु । तीजका अवसरमा दिदीबहिनीहरू पालैपालो भेला हुँदा विकृति भित्रिएको देख्ने प्रशासनका ठेकेदारहरूले हाम्रो परम्परामै नभएका यस्ता देखावटी क्रियाकलापमा प्रतिबन्ध लगाउन सक्छन् ?

हाम्रो समाजमा क्यान्सरका रूपमा रहेको दाइजो एवं तिलक प्रथाबाट कैयौं चेलीबेटी जिउँदै जल्न बाध्य भएको तिक्त यथार्थ पनि कसैबाट छिपेको छैन । दिन–प्रतिदिन अनियन्त्रित ढङ्गले महँगा हुँदै गएका ज्वाइँ र तिनका आफन्तले कन्यापक्षलाई अमानवीय एवं अकल्पनीय सङ्कटको खाडलमा धकेल्ने कुकृत्य हामीले देखेभोगेकै छौं । यसतर्फ प्रशासनको ध्यान गएको खै ?

तीजमा लुगा–गहनाको प्रदर्शनीले गर्दा सामाजिक विभेद सिर्जना भएको आरोप पनि हाम्रा दिदीबहिनीले खप्नुपरेको छ । यस सन्दर्भमा महँगा लुगा र गहना किनिदिन नसक्दा कतिको दाम्पत्य जीवन नै धराशायी भएको प्रचार गर्न पनि बाँकी राखिएको छैन । यसो भन्नुको तात्पर्य हाम्रा दिदीबहिनी अत्यन्त ईर्ष्यालु, अव्यावहारिक, मूर्ख एवं विवेकहीन छन् भनी प्रमाणित गर्न खोज्नु हो ।

अरूले घोडा चढे भनेर आफू धुरी चढ्न खोज्नु नेपाली महिलाको स्वभाव पटक्कै नभएको मेरो अनुभूति छ, केही अपवाद व्यक्तिका स्वभाव हुन् । नेपाली महिला अत्यन्त सहनशील, विवेकशील, व्यावहारिक एवं धैर्यशाली छन् भन्ने कुरा मेरो अल्पअनुभवले अनुभूति गरेको छ । यसरी तीजका विरुद्ध भडास पोख्ने नाममा आफ्ना आमा, दिदीबहिनी एवं गृहलक्ष्मीलाई नकारात्मक विशेषण कसैले पनि नदेओस् । तीजको दरलाई विकृत चलन देख्ने प्रशासनले हिजोहाम्रै चन्दाको भरमा बाँचिरहेकाहरूलाई अहिले तिम्रो यस्तो अकुत सम्पत्ति एवं भौतिक विकास कसरी भयो भनेर प्रश्न गर्न सक्छ ?

अहिले हाम्रो समाजमा केक संस्कृतिले व्यापकता पाएको छ । अरू त अरू, गुरुपूर्णिमा जस्ता नितान्त वैदिक परम्परामा आधारित प्रचलनमा समेत केक अनिवार्य गर्न थालिएको देख्ने, सुन्ने, भोग्ने हामी नै हौं । अझ जिन्दगीभर माछामासु, अन्डा, लसुन–प्याजको संसर्ग नै नगरेका आमाबा अनि हजुरआमा–हजुरबा समेतलाई कागजको झिल्के टोपी लगाइदिएर अन्डा प्रयोग गरिएको केक कोच्याएर हामीले कस्तो संस्कृति भित्र्याउँदै छौं ? यसले हाम्रो संस्कृति र परम्पराको रक्षा गरेको छ कि उपहास, यसतर्फ कसैको ध्यान गएको छ ? यस्ता क्रियाकलापमा रमाई–रमाई भाग लिने प्रशासनका ठेकेदारहरूले तीजकै निहुँमा भए पनि योजनाबद्ध ढङ्गले चेलीमाइती पालैपालो एक ठाउँमा भेटघाट गर्दा किन विकृतिको पहाडै खसेको देख्छ ?

एक महिना अघिदेखि मनाउने भन्दै समय र पैसाको दुरुपयोगका रूपमा तीजको खिल्ली उडाए पनि यसले घरपरिवारमा कुनै असर नपारेको तथ्य जगजाहेरै छनि ! तीजमा भेटघाट गर्ने योजना बनाउँदा एउटी आमा आफ्ना बच्चालाई खुवाई–पियाई तिनलाई विद्यालय पुर्‍याएर मात्र यस्ता कार्यक्रममा सहभागी भएको, त्यस्ता कार्यक्रममा भेला भैसकेपछि पनि ‘मेरो घरमा बुबाआमालाई (सासू–ससुरा) लाई खाजा खुवाउने बेला भयो, चिया खुवाउने बेला भयो, स्कुलमा बच्चा लिन जाने बेला भो’ भन्दै कार्यक्रमस्थल छोडेर गएको हामी कसैबाट पनि छिपेको छैन त ! दैनिक तालिकामा कुनै असर नपारी आफ्ना कर्तव्य निर्वाह गर्दै दिदीबहिनी भेला भएका ठाउँमा एक क्षण उपस्थिति जनाएर केही बेर भए पनि रमाउनुले कस्तो विकृति ल्याएको देख्छ, हाम्रो प्रशासनले ?

तीज पर्व नेपाली महिलाले भोग्नुपर्ने कतिपय बाध्यात्मक प्रचलनभन्दा निकृष्टचाहिँ छैन । अर्कातिर, चेली र उसका आफन्तको ज्यानै लिने दाइजो र तिलक प्रथाभन्दा आतङ्ककारी पनि पक्कै छैन । माथि उल्लिखित लगायत अनेक अनुल्लिखित ढोंगी एवं देखावटी क्रियाकलापले हाम्रो समाजमा केही असर गरेको नठान्ने एवं नदेख्ने प्रशासन तीजको दरलाई विकृति देखेर प्रतिबन्ध नै लगाउनुपर्ने अवस्थामापुगेको देख्दा अचम्म लागेको छ ।

अचेल सरकारी एवं गैरसरकारी संस्थाबाट बजेटप्राप्त महिला भेलाहरूमा एक जना महिला पनि उपस्थित नगराई माला–खादा पुरुषले नै लगाएर मञ्चमा ढलिमली गरिरहेको दृश्य कसैका लागि पनि नौलो होइन । उदाहरणका लागि, २०७६ जेठ ३२ गते नवलपरासीमा महिला स्वास्थ्य स्वयंसेविका भेला थियो । स्वास्थ्य स्वयंसेविका भन्नासाथ महिला भन्ने स्पष्ट हुन्छ । नेपालमा स्वास्थ्य स्वयंसेविकाले भोग्नुपरेका दुःखकष्ट एवं पीडाबारे सबैलाई जानकारी नै छ ।

यसरी घामपानी, हुरीबतास, तुषारो झेल्दै घरपरिवार, दूधमुखे बालकलाई समेत पन्छाएर इमानदारीपूर्वक आफ्नो कर्तव्यमा लागिरहेका दिदीबहिनीलाई पाखा लगाएर उनीहरूका नाममा आएको बजेटले दाजुभाइले खादा–माला लगाई मञ्चमा ढलिमली गरेको देख्दा जोकोहीको पनि शिर निहुरिन्छ । अझ स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि स्थान नदिइएका यस्ता कार्यक्रममा प्रशासनिक ठेकेदार र कथित नेताहरूले तिनले भोग्नुपरेका कष्ट र पीडाबारे के कस्ता भाषण गरे होलान् ? कति पाने कार्यपत्र पेस गरे होलान् ? स्वास्थ्य स्वयंसेविकाका लागि कति अर्ती–उपदेश छाँटे होलान् ? यस्ता लज्जास्पद विकृतितर्फ चाहिँ प्रशासनको ध्यान किन नगएको होला ?

प्रशासनमा बस्नेहरूलाई, एक्काइसौं शताब्दीको विद्युतीय सञ्चारको युगमा प्रचलित मानव अधिकारलाई नै चुनौती दिने हाम्रा अनेक चालचलनको विरोध गरेर सत्तासीन एवं शक्तिवालालाई चिढाउनुभन्दा दिदीबहिनीले पालैपालो मिलेर वर्षमा एकपटक गर्ने भेटघाटकै विरोध गर्न सजिलो लागेको त होइन ?

प्रकाशित : भाद्र १२, २०७६ ०८:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बहसमा प्रदेश नाम

शैलेन्द्रप्रसाद साह

प्रदेश २ को संसदमा अहिले प्रदेशको नामकरण र राजधानी निर्धारणबारे औपचारिक चर्चा सुरु भएको छ । सदनमा रहेका दलहरूले फरक–फरक धारणा, थरीथरीका तर्क र तथ्य प्रस्तुत गरिरहेका छन् । बहुसंख्यक दलका संस्थागत प्रस्तावमा राजधानीबारे खासै मतभिन्नता छैन ।

प्रदेश २ को अहिलेकै अर्थात् अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका समेटिने गरी स्थायी राजधानी हुनुपर्नेमा अधिकांश दल सहमत छन् । बरु राजधानीको सीमाबारे भने पृथक्–पृथक् बुझाइ छ ।

यद्यपि अनपेक्षित ढंगले नेकपाको प्रस्तावमा जनकपुर उपमहानगरपालिकाको चर्चा छैन । त्यस प्रस्तावमा धनुषा जिल्लाको रातु खोलापूर्व, कमला खोलापश्चिम, ढल्केबर, वीरेन्द्र बजार र महेन्द्रनगर आसपास भनिएको छ । अर्थात्, नेकपाको प्रस्तावको अन्तर्य भनेको चुरेसँग जोडिएको राजमार्ग क्षेत्र हो । प्रदेश २ मा सत्ता नेतृत्व गरिरहेको समाजवादी पार्टी (सपा) ले प्रसिद्ध पन्ध्रदिने परिक्रमा अर्थात् अन्तःगृह परिक्रमा क्षेत्रभित्र पर्ने धनुषा र महोत्तरीको भूभाग र सत्ताका घटक दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले धनुषा र महोत्तरीलाई राजधानीका रूपमा प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसले जनकपुरधामलाई राजधानी बनाउनुपर्ने भनेको छ । संसदमा एक सदस्य रहेको रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको राजधानी सम्बन्धी प्रस्ताव सत्तारूढ दलसँगै मिल्दो छ । नेपाली कांग्रेसका केही र सत्तारूढ सपा तथा राजपाका केही सांसदले राजधानीका रूपमा वीरगन्जलाई प्रस्ताव गरेका छन् ।

यता प्रदेशको नामकरणका सन्दर्भमा पनि दलीय आग्रहमा भिन्नता छ । सत्तारूढ सपा र राजपाले ‘मधेस प्रदेश’ सुझाएका छन् भने नेकपाले ‘जानकी प्रदेश’ भनेको छ । नेपाली कांग्रेसले ‘मिथिला र भोजपुरा’ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । अन्सारी नेतृत्वको दलको नामकरण सम्बन्धी प्रस्ताव सत्तारूढ दलभन्दा अलग छैन । यहाँनेर पनि नेपाली कांग्रेसका केही सांसदको धारणा फरक छ । वीरगन्ज राजधानी पक्षधर उनीहरूले भिन्न मत राख्दै प्रदेशको नामकरण ‘मध्यमधेस’ हुनुपर्ने जिकिर गरेका छन् । वीरगन्जलाई नै राजधानी बनाउने अडान लिएका सत्तारूढ दलका केही सांसदले भने नाम ‘मधेस प्रदेश’ भए आपत्ति नहुने प्रस्ट्याएका छन् ।

नामकरण
नेपाल बहुराष्ट्रिय राज्य हो । एक खालको भूगोल, संस्कृति, आर्थिक–सामाजिक व्यवहार र समान मनोविज्ञानका कारण मधेसी राष्ट्रियता स्थापित भएको हो । मधेस विद्रोहकै कारण देशमा अन्य राष्ट्रियताको जग मजबुत भएको हो ।

एउटा खास राष्ट्रियताको समग्र पहिचानका आधारमा एकात्मक तथा केन्द्रीकृत शासनसत्ता अस्वीकृत भएर बहुलवाद र समानतामा आधारित संघात्मक राज्य निर्माण गर्ने मधेसी राष्ट्रियताको जागरणकै कारण अन्य सीमान्तकृत समुदायको अधिकार स्थापित हुने मार्ग निर्धारण भयो । त्यसैले मधेस आन्दोलनको मूलभूमि प्रदेश २ को नामकरण ‘मधेस’ हुनु सर्वाधिक उत्तम र ग्राह्य विकल्प हो ।

मधेसको भूगोल, संस्कृति र परिचयलाई आठ जिल्लामा कसरी सीमित राख्न सकिन्छ भनी एक थरीको प्रश्न आउने गरेको छ । के बुझ्नुपर्छ भने, राज्यकै सीमामा फेरबदल भइरहने पछिल्ला वैश्विक यथार्थबीच प्रादेशिक सीमाको संकुचन अन्तिम स्थिति होइन । सार्वभौमिकताको स्रोत जनताले समयक्रमसँगै विविध रूपमा सीमा पुनरावलोकनको औचित्य पुष्टि गरिरहन्छन् ।

ज्ञान, तप र कर्मको ऐतिहासिक भूमि मिथिला विदेहराज जनक, विद्वान्–विदुषीहरू याज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रेयी जस्ताका कारण गौरवपूर्ण गाथाका साथ स्मरणीय छ । भाषिक, सांस्कृतिक र साहित्यिक सम्पन्नताका कारण मिथिलाको गौरवपूर्ण सम्झनाले सदैव मधेसलाई प्रेरित र ऊर्जावान् बनाइरहेको छ ।

तर यो कालखण्डमा मिथिलाको राजनीतिक र भौगोलिक सीमा खण्डित बनेको यथार्थबाट आँखा चिम्लिन मिल्दैन । प्राचीन मिथिलाको ठूलो हिस्सा छिमेकी राष्ट्रमा छ, तर छिमेकको भूभागलाई कुनै पनि ऐतिहासिक वा वैधानिक दस्तावेजले मधेस भनेको छैन । त्यसैले मधेस प्रदेशको आधुनिक राजनीतिक चेतबाट मिथिलाका रूपमा प्राप्त ऐतिहासिक विरासत र गौरवलाई संरक्षण तथा संवर्धन गरिनुपर्छ ।

यता, अहिलेका भोजपुरीभाषी भएको प्रदेश २ का ठाउँमा राज्यसत्ताको अभ्यास र बसोबासको उल्लेख्य इतिहास छ । नवौं शताब्दीमा समृद्ध र शक्तिशाली मानिएको हरिसिंह देव शासित सिमर वनगढ आर्थात् सिम्रौनगढ अहिलेको भोजपुरीभाषी क्षेत्रमै छ । तर मिथिलाको पर्यायवाची मैथिली भाषा वा भाषी नबुझिँदासम्म भोजपुरीभाषीहरू भाषागत कारणले प्रदेशको नामकरण गर्नुपर्नेमा छैनन् । त्यसमाथि ‘भोजपुरा’ शब्द नयाँ हो ।

माओवादी द्वन्द्वका बेला पार्टी दस्तावेज वा संस्थामार्फत दुई दशक हाराहारीयता प्रचलनमा आएको यो शब्दसँग क्षेत्रीय लगाव मात्र जोडिएको छ । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले तत्कालीन माओवादीको शब्द पैंचो लिनुको कारण बुझ्न सकिँदैन । जबकि तत्कालीन माओवादी समाहित नेकपाले ‘जानकी’ रुचाएको छ ।

नेकपाले प्रदेशको नामकरणमा जानकी शब्दको प्रयोग गर्नु भनेको सशक्त रणनीति हो । लेनदेनको राजनीति । धार्मिक शब्द, व्यवहार र अभ्यासबाट जोगिने कम्युनिस्ट राजनीतिक संस्कार विपरीत उसले प्रदेश २ मा धार्मिक–सामाजिक आस्थाकी प्रतीक जानकी मातालाई अघि सारेर प्रदेशको नामकरण प्रस्ताव गर्नु उदेकलाग्दो छ । आदर्श र निष्ठाकी देवी जानकीलाई मिथिला अर्थात् मैथिलीभाषीकी आराध्यदेवीमा सीमित गर्ने एउटा तप्काको प्रयत्नबीच यसमा सरोकार नराख्ने भोजपुरीभाषी यो नाममा कसरी सहमत होलान् ?

राजधानी
नेकपाको प्रस्तावले केन्द्रीय राज्यसत्ताको मनोविज्ञानलाई प्रतिविम्बित गर्छ । चारकोसे झाडीलाई फँडानी गरेर बनाइएको राजमार्गमा राजधानी राख्ने उसको प्रस्ताव सीधा अर्थमा मधेसलाई मरुभूमीकरण गरेर यहाँको जीवन अस्तित्वलाई छिटोभन्दा छिटो संकटग्रस्त बनाउने दुर्भावनाका रूपमा आएको हो ।

चुरेको वनविनाश रोक्ने र बसोबासका नाममा त्यस क्षेत्रमा भएका भू–अतिक्रमण तथा पूर्वाधार विकासलाई नियन्त्रण गर्ने अत्यावश्कीय कार्यसम्पादन गर्नैपर्ने बेला चुरे क्षेत्रमा थप चाप पर्ने गरी आएको नेकपाको प्रस्ताव अस्वीकार्य हुनुपर्छ । लेनदेनको कुटिल राजनीतिले दक्षिणी फाँटका जनताको जीवन समाप्त गर्नेषड्यन्त्र गर्न खोज्नु अपराध हो ।

नेकपाको प्रस्तावको अर्को पक्ष पनि छ । मधेसको जंगल फँडानी गरेर नयाँ बस्ती विस्तार गर्ने र सीमावर्ती क्षेत्र वा राजमार्गभन्दा दक्षिणी क्षेत्रलाई क्रमिक रूपमा मृत सहरका रूपमा परिणत गराउने केन्द्रीय सत्ताको रणननीतिलाई मलजल गर्नु उसको ध्येय हो । विगतमा राजविराज, सिरहा, मलंगवा, गौर, कलैया आदिको दुर्दशा राज्यको यस्तै विभेदकारी नीतिको परिणामका रूपमा आएको हो । महेन्द्रनगर आसपास भनेको ढल्केबरभन्दा उत्तर नै हो । अर्थात्, चुरेको फेद ।

प्रादेशिक सत्ता सञ्चालन गर्ने पूर्वाधार जनकपुरमा छन् र पूर्वाधार निर्माण गर्ने प्रशस्त जग्गा पनि । त्यसैले जनकपुरधामको अन्तःगृह परिक्रमा क्षेत्रमै राजधानी उपयुक्त छ ।

असन्तुष्टि
वीरगन्जलाई मधेस प्रदेशको राजधानी बनाइने कुरा सत्य हो, जसका आधारमा त्यस क्षेत्रका सांसदले राजधानी सम्बन्धी फरक प्रस्ताव ल्याएका छन् । तर यो प्रतिबद्धता एक मधेस एक प्रदेश बनेको भए सम्भव हुन्थ्यो । व्यावहारिक यथार्थ के छ भने, कुनै पनि प्रदेशको राजधानी सबैका लागि पायक पर्ने ठाउँमा हुनुपर्छ । प्रदेश २ का पश्चिमी र पूर्वी भेगका लागि जनकपुरधाम तुलनात्मक रूपले उपयुक्त ठाउँ हो । यसो भन्नेबित्तिकै वीरगन्जको महत्त्वलाई कम आँक्न सकिँदैन ।

प्रदेश २ को जीवनदायिनी सहरका रूपमा वीरगन्जलाई विकसित गर्नैपर्छ । प्रदेशको अर्थतन्त्रमा प्राण फुक्ने यो सहर मधेस प्रदेशको स्वप्ननगरी बन्नुपर्छ । यसका लागि प्रदेश सरकार सधैंभरि सचेत र सतर्क रहन्छ ।

लेखक प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । यो उनको निजी विचार हो ।

प्रकाशित : भाद्र १२, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×