कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

संकटमा पहाडे जीवन

कृष्णप्रसाद पौडेल

...धेरै वर्ष लाहुर खाएर 
केही महिनाको छुट्टीमा घर फर्किंदा
बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरू
साला पहाड मे क्या हैं... 
हो, केही छैन साला पहाडमा
केही छैन, तर जरुर केही छ, पहाडमा
जस्तो 
नवजात शिशु मरेका आमाहरूझैं
असाध्य पीडामा आँसु बहाइरहेका...

संकटमा पहाडे जीवन

यी र यस्तै कविताका हरफमा मीनबहादुर विष्टले पहाडबारे पहाडीया मनको मर्म समेट्नुभएको छ । उहाँका लाहुरेले यस्तो किन भने होलान् ? साँच्चै के छ त पहाडे जीवनमा ? कुरा सुरु गरौँ, पहाडकै अस्तित्वबाट ।


पृथ्वीको सतहमा २५ प्रतिशत भूभाग पहाड र हिमाल छ । यो क्षेत्र करिब एक अर्ब मानिसको बासस्थान पनि हो । भूधरातल र उचाइका कारणले फरक–फरक सूक्ष्म जलवायु र जैविक विविधता यसका मुख्य विशेषता हुन् । यो क्षेत्र विश्वकै दुर्लभ, बहुगुढाकारी र औषधीजन्य प्रजातिहरूको स्रोत भण्डार पनि हो । यो पृथ्वीभरिकै स्वच्छ पानी भण्डार र पानीचक्रको महत्त्वपूर्ण हिस्सासमेत हो । पहाडले जीवनको मूल आधार पानीको प्राकृतिक रूपमा शुद्धीकरणको महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।


तर यस्तो विशिष्टता भएको यो क्षेत्र मैदाने (पश्चिमी) दृष्टिकोणमा आधारित आधुनिक विकासको परिभाषा र अभ्यासले निरन्तर उपेक्षित भइरहेको छ । खासगरी यस क्षेत्रमा बसोबास गर्ने मानव समुदायको जीवनको मूल आधार पर्यावरणीय कृषि निरन्तर विघटित भइरहेको छ । औद्योगिक विकासको विस्तारसँगै संसारभरि नै यस्तो पहाडे कृषि ओरालो लाग्ने क्रम तीव्र छ । । हामी पनि यसबाट अछुतो छैनौँ र यसको प्रभाव क्रमशः देखिँदै आएको छ । यससँगै सिंगो पहाडे जीवन पलायनको संघारमा छ ।


सबैभन्दा कान्छो पहाड चुरेसँग जोडिएको हाम्रो तराई/मधेसको पर्यावरण, सामाजिक व्यवहार र संकृतिमा केही भिन्नता भए पनि यहाँको कृषि प्रणाली मूलतः पहाडे पर्यावरणीय कृषि प्रणालीमा नै आधारित छ । यसरी हेर्दा नेपाल समग्रमा पहाडी मुलुक नै हो । छिमेकीको मैदाने कृषिसँग प्रतिस्पर्धा गर्न नसकेर हाम्रो कृषि पलायन हुँदा अहिले खानेकुराको बढ्दो आयात र युवा जनशक्तिको निर्यात नै हाम्रो समृद्धिको नियति बनेको छ । खेती गरिँदै आएको जमिन बाँझो हुँदैछ । गाउँहरू रित्तिँदैछन् । बाटो छेउ, सहरका केन्द्र र सम्म मैदानमा स्मार्ट सहरका नाममा कंक्रिटको जंगल बनाउने अघोषित प्रतिस्पर्धा चलिरहेको छ । पानी भएका उर्वर जमिन सहरी विकासका योजनाका रोजाइमा छन् । खेतीपाती निमुखाको पेसा बन्दै बारी–कान्ला हुँदै भीर–पहरामा सरेको छ ।


विविधतापूर्ण कृषि उत्पादनमा आधारित हाम्रो स्वस्थ खाद्य संस्कृति पलायन भएको छ भने आयातीत पत्रु खाना हाम्रो आधुनिक जीवनशैली बनेको छ । माटो र खानामा रसायन र विष मिसिएका छन् । मुख्यतः माटो, पानी, हावा विषाक्त हुँदै जाँदा पर्यावरण र प्रकृति तहस–नहस हुने प्रक्रिया तीव्र भएको छ । यसले माटो र मानिसको जीवन पद्धतिमा व्यापक फेरबदल आएको छ । माटोमा सूक्ष्म जीवाणुहरूको वंशनाश हुँदैछ भने मानिसमा नसर्ने दीर्घरोग निरन्तर बढिरहेको छ । अस्पताल यस्ता बिरामीको भिडले मेला लाग्ने क्षेत्रजस्तै भरिभराउ भएको छ ।


मैदाने विकासले बाँडेको तर सीमित वर्गलाई मात्र सम्भव भौतिक सुखसुविधा र भोगविलासका तीव्र आकांक्षाले परस्परको सहकार्य, सद्भाव र सहयोगको सामाजिक मूल्य–मान्यतामा व्यापक ह्रास आएको छ । गाउँमा समेत अब पैसा नभई पात पनि नहल्लिने भएको छ । यसले समाजका अन्तरनिर्भरताका सम्बन्धहरू चिसिएका छन् । पारिवारिक सम्बन्धहरूसमेत छिटछिटो विघटित भइरहेका छन् ।

पहाडे पर्यावरणीय कृषिमा आधारित जीवनशैलीका आफ्नै विशेषता र सीमा छन् । मूलतः यस्तो कृषि प्रणाली मानव समाज, पर्यावरण र प्रकृतिसँग एकापसमा एकाकार भएर जीवन्त हुन्छ । यसलाई सही तरिकाले बुझ्ने सोच र प्रविधिमा आएको फेरबदलसँगै उन्नत बनाउने व्यवहार नपुग्दा अहिले यो निरन्तर खस्किँदै गएको छ ।


यसको प्रभावले हजारौँ वर्षको पर्यावरणीय कृषिमा आधारित पहाडको जीवन पद्धति उजाड बन्दै गएको छ । यसरी पहाडे कृषि बाँझिँदै जाँदा यहाँ निर्मित हजारौँ विविध मानवीय सभ्यता र संस्कृति लोप हुने क्रममा छन् । यसले गर्दा समग्र पहाडे जीवन पद्धतिसहित तटीय मानव समाज र पर्यावरणको भविष्यसमेत जोखिममा परेको छ ।


यसको मूल कारक भने उपनिवेशको फेरो समाउँदै भित्रिएको मैदानी कृषि र औद्योगिक विकासले दलाल पुँजीको बर्चस्वसँगै आधुनिक विकासका नाममा पहाडमा समेत किल्ला जमाउन सफल हुनु हो । ठूला उत्पादन प्रविधि, यान्त्रीकरण र भौतिक सुविधा आधुनिक विकासका मुख्य मानक हुन् । तर पहाडको वास्तविकतामा यस्तो विकास ल्याउन खोज्दा यो नै विनाशको कारक बनेको छ । सँगै यस्तो विकासका लागि भन्दै गरिने प्रकृतिको दोहनले वन, वातावरण र खनिज स्रोत सबैभन्दा प्रभावित बनेका छन् भने माटो, पानी र हावा प्रदूषित भएको छ । यस्तो भौतिक सुविधामा आधारित विकासे मानकका सामु पहाडको जीवन निरीह छ । जलवायु परिवर्तनको प्रभाव यसको एउटा सानो उदाहरण मात्र हो ।


अहिले पहाडी क्षेत्र आधुनिक विकासका बाधकका रूपमा चित्रित भएको छ । किनकि यसले पश्चिमी भनेर चिनिने मैदाने सोच, योजना र प्रविधिको जबर्जस्त विस्तार गर्न बाधा पुगेको भ्रमले डेढअक्कली शासक र तिनका दलालमा छटपटीजस्तै भएको छ । त्यसैले देशीय मानचित्रमा पहाडी भूगोल मैदाने विकासको तुलनामा ओझेलमा पर्दै किनारा लाग्ने क्रममा छ ।


पहाडी सभ्यता, संस्कृति र पर्यावरणीय विविधता निरन्तर विघटित भएको छ भने सिंगो पहाडे समाज पलायन हुँदै खोँच र मैदानतिर झरेको छ । विडम्बना, आधुनिक विकासको परिभाषामा यो विविधतायुक्त क्षेत्र गरिबी, अभाव र भोकग्रस्त क्षेत्रका रूपमा चित्रित छ । यसले अविकसित, असभ्य र पछौटे मानिस बस्ने कष्टकर क्षेत्रको परिचय बनाएको छ । यसरी मैदाने विकासको दौडमा सामेल हुन नसकेको सिंगो पहाडे जीवन पद्धति हीनताबोध, अपमान र कुण्ठा पालेर आफ्नै भाग्यलाई दोष दिँदै पलायन हुने सपना बोकेर दोबाटोमा उभिएको छ । यस्तो सामाजिक मनोविज्ञान हाम्रा दैनिक व्यवहारमा र सरकारका नीति, योजना र कार्यक्रममा समेत प्रतिविम्बित छ ।


यसरी मानवीय सभ्यताको उद्गमस्थल पहाडको समाज, संस्कृति र प्रकृतिको अन्तरसम्बन्धलाई आधुनिक विकास र यसको जगमा बनेको औद्योगिक शिक्षाको एकलकाँटे, एकांगी र एकाधिकारवादी अवधारणा र अभ्यासले पुरै ओझेलमा पारेको छ । पहाडे समाज, संस्कृति र पर्यावरणमा मिसिएको विकासको खहरेले पहाडी जीवनशैली र यसका मूल्य–मान्यतालाई धमिलो बनाउने मात्र होइन, तलैदेखि उप्काएर बगाउँदै र विघटित गर्दै मैदानतिर झारेको छ । यो कुराको मर्म पहाडमा विघटित समाज, यसका मूल्य–मान्यता, मैदानमा भइरहेको सामाजिक असहजता र विकासले पर्यावरणमा पारेको प्रभावका कारण उत्पन्न दुष्परिणाम र यसले तटीय क्षेत्रमा मच्चाएका वितण्डा र विनाशलीला हेर्दा जगजाहेर हुन्छ ।


पानी र जवानी पहाडमा टिक्न नसक्ने विम्ब प्रस्तुत गरेर मैदानी विकासे सोचले पहाडे जीवन पद्धतिको अपमानमात्र गरेको छ । यस्तो विम्ब भने मैदाने आदिबासीका रैथाने संस्कृतिमा डोजर चलाउँदै पहाड चढेको हो भन्ने कुरा भने भुल्नु हुँदैन । यसरी हेर्दा तथाकथित आधुनिक विकासले हाम्रोजस्तो पहाडी समाज तथा पर्यावरणमा व्यापक नकारात्मक प्रभाव परिरहेको छ । तर यस्ता प्रभावबारे पर्याप्त आलोचनात्मक बहस हुनसकेको छैन । यस्तो बहस र विश्लेषणको अगुवाइ गर्नुपर्ने बौद्धिक जमात र राजनीतिक नेतृत्व कुहिराको कागजस्तै हराएका छन् । किनकि यो जमातको ठूलो हिस्सा डेढअक्कली छ । बाँकी रहेका अन्य मरिचजस्तै आफ्नै रागले चाउरिँदै गएका छन् ।


आलोचनात्मक चेत गुमाउँदै गएको शासक वर्ग कुण्ठित मानसिकताबाट ग्रस्त छ । त्यसैले यो सधैं भयभित र त्रसित छ । यसले समाजका अन्य आयामहरूसँगै आफै हुर्केको विविधतायुक्त पहाडे विशेषता र यसका सीमा सबै बिर्सेको प्रतीत हुन्छ । उदाहरणका लागि यसले हाम्रो भूगोल र विविधतापूर्ण प्रकृतिलाई आत्मसात गर्न नसकेकै कारण कृषिक्षेत्रको विकास गर्न पर्यावरणीय कृषिको बाटो छाडेर हरित कान्ति कृषिलाई नै आधार बनाउने असम्भवप्रायः हठ बोकेर हिँडेको छ ।


आधुनिक विकासको दबाबमा आफ्ना आधारभूत मूल्य–मान्यता र आर्य संस्कृतिबाट विमुख हुँदै गएको पुरुषप्रधान यो वर्ग विकास र समृद्धिका नाममा दलाल पुँजीवादको दासताको सिकार भएको छ । यसैको सिको गरेर यसले महिलामाथि चरम शोषण गरेको छ । बाहिरबाट बाध्यताजस्तो देखिने नेपाली ग्रामीण समाजको महिलाकरण यसैको परिणाम हो भन्दा अर्घेल्याइँ हुँदैन । यो वर्ग यस्तो दासताको वशमा परेर मुर्कट्टा संस्कृतिमा रमाउँदै आफ्नै यथार्थ धरातल बिर्सेको छ । यो कहिल्यै उम्किन नसक्ने समृद्धिको दलदलमा आफै फँस्दै गएको मात्र छैन, आम नेपालीलाई समेत डुबाउँदै गएको छ ।


यस्तो मैदाने विकासको प्रभावले पहाडको भविष्य अझ कस्तो होला भन्ने अन्दाज गर्न हामीलाई धेरै कठिन छैन । किनकि यस्तो पहाडी विशेषताको जीवन पद्धति तहस–नहस हुँदै खण्डहरमा परिणत भएका धेरै उदाहरण हाम्रासामु प्रशस्त छन् । यसबाट हामी के पाठ सिक्छौं र हामी कसरी फेरिन तयार हुन्छौं भन्ने कुरामात्र फरक हो ।


तसर्थ अब ढिलो नगरी हामीले थेग्न नसक्ने मैदाने विकासको विकल्प खोज्नुको अर्को कुनै उपयुक्त उपाय छैन । यसले भित्र्याएका विसंगति र विकृतिको प्रभावबाट पाठ सिक्दै भविष्यमा यस्तो प्रभावबाट मुक्त हुन सघाउने बाटो तय गर्ने बेला भने घर्किंदैछ ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?