कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

राष्ट्रगानको इज्जत

राजेन्द्र महर्जन

फिल्म सुरु हुनुअघि हलमा राष्ट्रगान बज्यो । भारत सरकारले तोकेको नियम र सर्वोच्च अदालतले दिएको आदेश अनुसार सबै दर्शकले उभिएर राष्ट्रगान गाए । अरमान अलीले सतर्क भएर गाउनचाहिँ गाए, तर उठ्न भने सकेनन् । राष्ट्रगान सकिँदा–नसकिँदै पछाडिको दर्शकले टिप्पणी गर्‍यो, ‘हेर त, अगाडि एकजना पाकिस्तानी बस्या रैछ ।’

राष्ट्रगानको इज्जत

टिप्पणी गर्ने अधबैंसे दर्शक टिठलाग्दो तरिकाले हाँसिरहेको देखेर अरमान अलीको मनमा प्रश्न उठ्यो– ‘उनीहरूले मलाई अमेरिकी, बर्मेली, चिनियाँ किन भनेनन् ? पाकिस्तानी नै किन भने ? कोही बिमारीका कारण वा विकलांगताका कारण बसिरहेको छ भने पनि हेर्दै नहेरी कसैलाई पाकिस्तानी भन्ने ? यो कस्तो राष्ट्रवाद हो ?’


मस्तिष्क पक्षाघातसँगै जन्मिएका अरमान अली त्यस्ता पारा सुटिङका खेलाडी हुन्, जसले तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीबाट ‘सर्वश्रेष्ठ विकलांग कर्मचारी’ को पुरस्कार पाएका थिए । हिन्दुवादी राष्ट्रवादका अगुवा वाजपेयीकै दल, त्यसका अनेक संगठन र नेता–कार्यकर्ता फिल्म सुरु हुनुअघि हल–हलमा राष्ट्रगानसँगै स्वस्तिक चिह्न र कुम्भमेलाको लोगो पनि प्रदर्शन गराउन लागिपरेका छन् । उनीहरूको राष्ट्रवादी भाष्य र हिन्दुत्ववादी मनोविज्ञानमा, उभिएर राष्ट्रगान नगाउने, ‘भारत माता की जय’ नभन्ने सबै पाकिस्तानी हुन्, विदेशतिर लखेट्न र मारिनयोग्य प्राणी हुन् ।


फिल्म हलमा उठेर राष्ट्रगान गाउनुपर्ने आदेश दिने मामिलामा नेपालले भारतबाट सिक्यो कि भारतले नेपालबाट, खोजीको विषय हुनसक्छ । केही दशक अघिसम्म ‘महेन्द्रमाला’ छिँडीमा लुकाएर हलमा फिल्म हेर्न जाने बेला ‘श्रीमान् गम्भीर...’ गाउनुपर्ने पञ्चायती नीति पटक–पटक ब्यहोरिएको थियो । त्यही नीति र व्यवहारबाट सिकेर भाजपा सरकार र सुप्रिम कोर्टले पनि फिल्म हलमा राष्ट्रगान बजाउने र अनिवार्य रूपमा उभिएर गाउनुपर्ने विवादास्पद नियम बनाएका हुन सक्छन् ।


अब भने पारिका हिन्दु राष्ट्रवादीबाट सिकेर वारिका राष्ट्रवादीहरूले पनि फिल्म हलमा संविधान दिवसको दिनदेखि राष्ट्रगान बजाउने पुरानो नीति ब्युँझाउँदै छन् । भारत र नेपालका राष्ट्रवादीहरूको आपसी सिकाइ र सहकार्यले सिमाना नाघेर ‘अन्तर्राष्ट्रवादी रूप’ लिएको छ ।


पञ्चायतको सांस्कृतिक विरासत

पञ्चायतकालमा हलमा राष्ट्रगान भनिने ‘श्रीमान् गम्भीर...’ बजाउने र दर्शकहरूले उभिएर राजा–महाराजको जयगान गाउनुपर्ने व्यवस्था थियो । राष्ट्रगान बज्दा सिटबाट नउठ्ने दर्शकलाई सादा पोसाकका प्रहरीले समात्दै अञ्चलाधीश वा जिल्ला प्रशासन कार्यालय लैजान्थे ।


उनीहरूलाई राजा र राजाले स्थापना गरेको पञ्चायत व्यवस्थाको अवहेलना गरेको आरोपमा सजाय दिइन्थ्यो । त्यस्ता सजायको समेत बेवास्ता गर्दै सरकारी उर्दीको अवज्ञा गर्ने क्रम वृद्धि भएसँगै राष्ट्रगान बजाउने नीति प्रत्युत्पादक साबित भयो । त्यति बेलासम्म राजा र महापञ्चको समय घर्किसकेको थियो । उनीहरूले जतिखेर यस्तो सत्य बुझे, त्यतिखेरसम्म पञ्चायत व्यवस्थाको अन्त्य हुने बेला भइसकेको थियो ।


विडम्बना, पञ्चायत व्यवस्था अन्त्य गर्ने राजनीतिक दल र तिनको नेतृत्वमा पञ्चायती नीति र व्यवहारको मोह महापञ्चहरूमा भन्दा कम रहेनछ । ‘श्रीमान् गम्भीर....’ गाएर, महेन्द्रमाला पढेर राष्ट्रवादी भएकाले पनि हुन सक्छ, सजातीय नेताहरूले पञ्चायती नीतिलाई ‘मिस’ गरेको वा त्यसलाई ब्युँताउन खोजेको जगजाहेर छ । राजा महेन्द्रले प्रजातन्त्र र निर्वाचित सरकारलाई बर्खास्त गर्दै थालेको निर्देशित प्रजातन्त्र (गाइडेड डेमोक्रेसी) को आवरण थियो— पञ्चायती प्रजातन्त्र ।


पञ्चायती प्रजातन्त्रले दैनिक जीवनमा अभ्यास गरेको राष्ट्रवादका चार खम्बा थिए— राजतन्त्र, हिन्दुत्व, पहाडी प्रभुत्व र नेपाली भाषाको वर्चस्व । यिनै खम्बा बलियो बनाइराख्न चक्रपाणि चालिसे रचित ‘श्रीमान् गम्भीर गोर्खाली’ र ‘हामी गोर्खाली भाइ साराले’ मा सट्टा ‘नेपाली’ शब्द फेर्दै राणाकालीन सलामी गीत ‘श्रीमान् गम्भीर ..’ लाई नै राष्ट्रगानका रूपमा उपयोग गरिएको थियो ।


सारा नेपालीले गोर्खाली भूपति महाराजको सत्ता, सुख र समृद्धिका लागि भगवान्को कृपाको कामना गर्नुपर्ने गरी बनाइएको जयगानलाई जनजनको मनमा प्रचार–प्रसार गरियो भने आफ्नो तन्त्र र व्यवस्था दीर्घायु हुने विश्वास राजा र महापञ्चहरूमा थियो । कुनै पनि कुरा थोपरियो भने प्रत्युत्तरमा खतरनाक प्रतिक्रिया हुने सत्य यही जयगानमा देखिएको थियो । गिरफ्तार हुने सर्तमा पनि राजाको जयगान नगाउने र जनमुखी राष्ट्रगान लेखेर स्कुल–स्कुलमा गाउने चलनले राजतन्त्र र पञ्चायती व्यवस्थाले लादेको राष्ट्रगान विरुद्ध भएको सांस्कृतिक–राजनीतिक प्रतिरोधलाई जनाउँछ ।


प्रजा र नियन्त्रित प्रजातन्त्र

तन्त्र र व्यवस्था फेरिँदैमा राजनीतिक नेतृत्वका नीति, नियम र नियत फेरिन्छन् भनी सुनिश्चित नहुने रहेछ । राजा महेन्द्रले फैलाएको निर्देशित प्रजातन्त्र र एकल राष्ट्रवादले तथाकथित वामपन्थी नेतृत्वलाई कसरी गाँजेको रहेछ, पाइला–पाइलामा, शब्द–शब्दमा उजागर हुँदै छ ।


राजतन्त्र र पञ्चायत व्यवस्था फ्याँक्ने जनतालाई ‘प्रजा’ नै बनाउन आदेश, निर्देश र उपदेशको भरमा शासन गर्ने, ‘नागरिक’ हुन खोज्नेलाई नियन्त्रित गर्ने नीति–नियम बनाउने उपक्रम बढ्दो छ । खुलेआम रूपमा निर्देशित प्रजातन्त्रको पक्षपोषण गर्ने नयाँ राजाहरूले जनताका नैसर्गिक अधिकार कुण्ठित गर्ने उपक्रममै मनोरञ्जन स्थल र दर्शकको मनलाई पनि नियन्त्रित गर्न खोजेका छन् । संविधान दिवसदेखि नै फिल्म हलहरूमा राष्ट्रिय झन्डा फहराउन र राष्ट्रगान बजाउन–गाउन निर्देशन जारी गरेर तिनले पञ्चायती सांस्कृतिक–राजनीतिको भूतलाई ब्युँताएका छन् ।


हुन त नयाँ राजाहरूले ‘श्रीमान् गम्भीर...’ लाई ‘सयौं थुंगा फूल...’ ले सजिएको राष्ट्रगानले प्रतिस्थापन नगरेका त होइनन्, तर उनीहरूले फिल्म हलमा झन्डा फहराउने कामसँगै अनिवार्य रूपमा राष्ट्रगान बजाउने–गाउने दर्शकलाई उभ्याउने र त्यसको उपयोग गर्ने मामिलामा पञ्चायती सांस्कृतिक–राजनीतिमै नयाँ कडी थप्दै छन् ।


यसमा कसैले भाजपावादी कलाकार अनुपम खेरले जस्तै तीन घण्टा फिल्म हेर्न सक्नेले एक मिनेट उभिएर राष्ट्रगान गाउँदा संसार नै उल्टिँदैन नि भन्दै सरकारी नीति–निर्देशनको पक्षपोषण पनि गर्न सक्छ । तर देश–कालको ख्यालै नगरी राष्ट्रगान बजाउन–गाउन उर्दी जारी गर्ने नयाँ राजाहरूले खाना खाँदादेखि सुत्दासम्म पनि यस्तै उर्दीबाट जीवनको प्रत्येक पललाई नियन्त्रण गर्ने दुस्साहस गर्न सक्छन् । उनीहरूले नेपालीहरूलाई पनि भिक्टोरियाकालीन जनतालाई जस्तै जतिखेर ‘गड सेभ द क्विन’ बज्छ, त्यतिखेर जहाँ भए पनि सतर्क मुद्रामा उभिएर गाउनुपर्ने आदेश जारी गर्न पनि बेर छैन ।


मनोरञ्जन स्थललाई राष्ट्रवादी थलोमा फेर्ने, फिल्म हेर्नुअघि उभिएर राष्ट्रगान गाएपछि दर्शकहरू राष्ट्रवादी भाव र विचारबाट प्रेरित हुन्छन् भन्ने नीति र नियत उनीहरूमा देखिन्छ । तर उनीहरूका नीति र नियतमा मनोरञ्जनको थलो, त्यहाँबाट प्रसार हुने सांस्कृतिक उत्पादन र तिनका उपभोक्तालाई अनुशासित र नियन्त्रित गर्ने ‘निर्देशित प्रजातन्त्र’ को पुरानै दुर्गन्धबाहेक केही आउँदैन ।


एकलजातीय 'राष्ट्र’ को गान

‘निर्देशित प्रजातन्त्र’ को अभ्यास गर्ने राष्ट्रवादीहरूको बोलीमा राष्ट्रगानमार्फत राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको प्रवर्धन गर्ने उपदेश झुन्डिएको हुन्छ, जबकि उनीहरूको ‘राष्ट्र’ एकजातीय स्वरूपकै छ ।


उनीहरूको प्रत्येक नीति, निर्णय, कार्यक्रममा राष्ट्रगान बजाएर, गाएर राष्ट्रियता सुदृढ गर्ने र राष्ट्रिय एकता कायम गर्ने कुरामा जोड पाइन्छ, जबकि उनीहरूको ‘राष्ट्रियता’ खासमा जातीयता नै हो, जसमा अन्य जातीयताका लागि स्थान छैन । लगभग सय वर्ष यतादेखि थालनी भएको राष्ट्रगानको परम्परा आफैमा पनि युरोपमा उन्नाइसौं शताब्दीमा उभारमा आएको एकलजातीय भाषिक राज्य (नेसन स्टेट) को महिमागानसँग जोडिएको छ । त्यसैले यस्ता युरोपली गान, शब्द र संगीतमा विविधता नहुनुमा अनौठो कारण छैन । नेपाल जस्तो बहुल पहिचान भएको देशमा त्यसको अन्ध नक्कल प्रत्युत्पादक हुन्छ ।


नेपालमा लोकतान्त्रिक गणतन्त्रका लागि, यसको भावी दशा र दिशानिर्देश गर्ने गरी लेखिएको मानिने ‘सयौं थुंगा फूल...’ मा ‘विविधता’ को महिमागान त गरिएको छ, यसमा पनि ‘एकता’ माथि अत्यधिक जोड दिइएको छ ।


भाषामा एकताको तत्त्व खोज्दा खस–नेपाली भाषाको एकल प्रभुत्व र प्रसारलाई बिनाप्रश्न, बिनासंकोच, बिनाग्लानि स्विकारिएको छ, जबकि लोकतान्त्रिक गणतन्त्रको आन्दोलनका क्रममा सडकको राष्ट्रगान बन्न सफल ‘गाउँ–गाउँबाट उठ...’ कै दर्जनौं राष्ट्रभाषामा अनुवाद र गायनको उदाहरण देशभित्रै उपलब्ध थियो । देशबाहिर पनि समावेशी लोकतन्त्रतिर लम्केको दक्षिण अफ्रिकाको राष्ट्रगानबाट पनि सहजै पाठ सिक्न सकिन्थ्यो, जसमा पाँच देशका एघार भाषाको प्रयोग गरिएको छ । गीतको भावमा जस्तै भाषामा पनि विविधता स्विकारिएको भए एक भाषाको प्रभुत्व रहेको एकात्मक केन्द्रीकृत नेपाली राज्य बहुलता र संघात्मकताको दिशातिर साँच्चै जान थालेको संकेत मिल्थ्यो ।


'एकतामा विविधता’ खोइ ?

नेपाली समाज एकलबाट बहुल दिशातिर उन्मुख छ, राज्य भने बहुलता वा विविधता वा अनेकताबाट त्रस्त छ । त्यसैले राज्यका सञ्चालकहरू विविधताको सन्दर्भ आउनासाथ एकताको नारा लगाउन तम्सिहाल्छन् । बहुलता वा विविधता वा अनेकता वा भिन्नतालाई विखण्डन, विभाजन र अराष्ट्रिय पक्षको अर्थमा बुझ्ने–बुझाउने नयाँ राजाहरूको राष्ट्रवाद खतरनाक छ, राजा महेन्द्रको राष्ट्रवाद जस्तै ।


त्यस्तो खतरनाक दिशा र दशातिर जनतालाई हाँक्नुको सट्टा ‘विविधताको एकता’ (युनिटी इन डाइभर्सिटी) मात्रै होइन, ‘एकतामा विविधता’ (डाइभर्सिटी इन युनिटी) को पक्ष देखेमा सबैको भलो हुन्छ ।


अनेक नारा र निहुँमा जनतालाई नियन्त्रण र निर्देशित गर्दै प्रजामा होइन, नागरिकमा रूपान्तरण गर्ने हो भने दुइटा काम मात्रै गरे पुग्छ । एक, समान कदरको आकांक्षा । दुई, भिन्नतासहित बाँच्न पाउने स्वतन्त्रताको सम्बोधन । चार्ल्स टेलरका शब्दमा, भिन्नतासहित बाँच्न पाउने स्वतन्त्रता र समान कदरको आकांक्षालाई सम्बोधन हुने गरी बहुसंस्कृतिवाद (मल्टिकल्चरिजम) लागू गर्न सकियो भने द्वन्द्व कम हुन्छ ।


अतः नयाँ राजाहरूले हेक्का राखून्, भिन्नतासहितको समानता वा पहिचानसहितको समानता वा आत्मसम्मान र कदरसहितको समानता केवल राष्ट्रगान गाएर लागू हुँदैन । बहुसंस्कृति लागू नहुने गरी राष्ट्रगान गाउन जनतालाई जहाँतहीँ उभ्याउनु र राष्ट्रगानलाई सलामी गानमा झार्दै आफूले पिर्के सलामी लिनुको अर्थ राजनीतिक–सांस्कृतिक पाखण्डको फ्रदर्शन मात्रै हुन्छ ।


ट्वीटर : @maharjan72

प्रकाशित : भाद्र १०, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?