कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगु हाम्रो परीक्षा

सम्पादकीय

सरकारी अक्षमता र नागरिक लापरबाहीको एउटा नमुना हो–  डेंगुको महामारी । तीन महिनाअघि धरानमा देखिएको डेंगुको संक्रमण ४२ जिल्लामा फैलिसक्यो । तीन जनाको ज्यानै गइसक्यो । नियन्त्रण प्रयास विफलप्रायः छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।
धरानमा मात्रै पाँच हजारभन्दा बढी संक्रमित छन् ।

डेंगु हाम्रो परीक्षा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गर्न मात्रै अहिलेसम्म ३ हजार ४ सय जना पुगिसके । विभिन्न क्लिनिकमा उपचार गराउनेको संख्या उत्तिकै छ । कति टोलमा डेंगुले नछोएको घर भेट्न मुस्किल छ । एउटै घरमा सात जनासम्म संक्रमित छन् । प्रदेशसभाले धरानलाई ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । धरान उपमहानगरले ८ र १५ नम्बर वडालाई ‘स्वास्थ्य संकटग्रस्त क्षेत्र’ तोकेको छ ।


झापा, मोरङ, चितवन, उदयपुरलगायत जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । रोग पहाडसमेत उक्लिएको छ । पाँचथरमा पनि ३३ जना संक्रमित भेटिएका छन् । कति स्थानमा स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । साउनयता संघीय राजधानीमै पनि ५९ जनामा डेंगु पाइएको छ । तीमध्ये २५ जनालाई स्थानीय लामुखुट्टेले टोकेर सारेको थियो भने अन्य बाहिरबाट उपचार गर्न आएका थिए ।


डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्नु र त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्नुको विकल्प छैन । धरानमा ‘र्‍यापिड रेस्पोन्स टिम’ समेत बनाइएको थियो । टिमले सर्च एन्ड डिस्ट्रोय अभियान तीव्र बनाउन घरदैलोसमेत गर्‍यो । उपमहानगरले यसैमा ३० लाख रुपैयाँ खर्चियो । तैपनि नियन्त्रणमा आउन सकेन । सरकारी र गैरसरकारी क्षेत्रका गतिविधिले काम गरेनन् । सर्वसाधारणले सिकेका कुरा व्यवहारमा उतारेनन् । स्थानीयवासीले अन्डा, लार्भा र प्युपा नष्ट गर्ने तरिका सिके तर व्यावहारिक कार्यान्वयनमा ल्याएनन् । यही नागरिक व्यवहार नियन्त्रणमा तगारो बन्यो । सरकारले यथोचित सक्रियता निरन्तर देखाएन ।


धरानमा मनसुनपूर्व देखिएको डेंगुलाई तुरुन्त नियन्त्रण गरिएन । मनसुन सुरु भएपछि अवस्था स्वतः जटिल बन्यो । अब त, अर्को सालको डर पनि देखिइसक्यो । यही हिसाबले कम्तीमा ‘पोस्ट मनसुन’ अर्थात् कात्तिक–मंसिरसम्म प्रकोप जारी रहने अनुमान छ । हिउँदमा लामखुट्टे निष्क्रिय रहेका बेला त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्न नसके अर्को वर्ष फेरि डेंगु देखिनेछ ।


यस्तो महामारी यसअघि पनि देखिएको थियो । एउटै सहरमा छोटो अवधिमा यति धेरै जनालाई भने देखिएको थिएन । नौ वर्षअघि ९ सय १७ जनामा डेंगु भेटिँदा पाँच जनाले ज्यान गुमाएका थिए । देशमा डेंगुको महामारी फैलिरहँदा किट नियन्त्रण गर्ने दक्ष जनशक्तिहरू करिब एक वर्षदेखि जिम्मेवारीविहीन छन् । ‘मलेरिया इन्सपेक्टर’लाई ‘फाजिल’ मा राखिएको छ भने भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दीमा कटौती गरिएको छ । जबकि मुलुकमा यस्ता निरीक्षक अझ धेरै चाहिन्छन् ।


एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका पोथी लामखुट्टेले पानीमा पारेका अन्डा, लार्भा र प्युपा नष्ट नगरेसम्म डेंगु नियन्त्रण हुँदैन । यसका लागि घर, आँगन र चोक सबैतिर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइरहनुपर्छ । स्थानीय सरकार अग्रसक्रिय हुनुपर्छ । संघ र प्रदेश सरकारले उत्तिकै चासोका साथ सघाउनुपर्छ । स्थानीयवासी आफैंले पनि नियन्त्रण अभियान गर्नुपर्छ । घर वरपर सफा राखी, जमेको पानी हटाउन जनचेतना बढाउनुपर्छ ।


डेंगु लामखुट्टेजन्य भाइरल संक्रमण हो । संक्रमित बिरामीलाई शरीर, हात, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, रिंगटा लाग्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ गर्नुहुँदैन । चिकित्सकसँग सल्लाह गरेर डेंगु परीक्षण गराउनुपर्छ । यो रोग मानिसबाट मानिसमै सर्दैन । डेंगुका रोगीलाई टोकेपछि लामखुट्टे पनि संक्रमित हुन्छ । त्यसले पुनः स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । संक्रमितले सुत्दा झुल प्रयोग गर्नुपर्छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?