मेरो बाँकी उमेर प्रधानमन्त्रीलाई

सोनु सिनाल

प्रधानमन्त्रीज्यू,तपाईं मृगौलाको क्षमता बढाउने उपचारका लागि गतसाता सिंगापुर उड्दै गर्दा म पनि मृगौलाको डायलाइसिस गर्न विदेश नै जाँदै थिएँ । फरक यत्ति थियो— तपाईं सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्दै हुनुहुन्थ्यो भने म कञ्चनपुरको सीमावर्ती उत्तर भारतको सानो सहर खटिमातर्फ टाँगामा सवार थिएँ ।

तपाईं केही दिन सिंगापुरमै बसेर मृगौलाको क्षमता बढाएर देश फर्किनुहुन्छ भन्ने मैले सोही साँझ घर फर्केपछि समाचारहरूबाट थाहा पाएँ ।

केही हप्ता अघिमात्रै तपाईं सबै ठिक भएको भनेर सिंगापुरबाट फर्किनुभएको रहेछ । मृगौला बिग्रेका हाम्रो स्वास्थ्य यस्तै त हो नि ! आज सञ्चो भोलि के बिसञ्चो हुन्छ, पत्तै नहुने । १२ वर्षअघि तपाईंले मृगौला प्रत्यारोपण गराउनुभएको कुरा तपाईं पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएको बेला थाहा पाएकी थिएँ मैले । तपाईं निर्वाचित भएपछि मजस्तो मृगौला रोगीमा आशाको सञ्चार हुनु स्वाभाविकै थियो ।

तपाईं दोस्रोपटक अपार जनसमर्थनका साथ प्रधानमन्त्री निर्वाचित हुँदा त झन् मेरो आशामात्र होइन, हौसला पनि अकासिएको थियो, ‘मृगौला बिग्रिँदैमा जीवन बर्बादै भयो’ भनेर निरुत्साहित हुँदै गएको समयमा । तर मेरो हौसला यति चाँडै खुम्चिन्छ भन्नेचाहिँ लागेको थिएन । देशको प्रधानमन्त्रीजस्तो मान्छे, व्यक्तिपिच्छेका यस्ता झिटिगुन्टा सुन्ने फुर्सद त नहोला, तर सिंगापुर अस्पतालमा तपाईं अलि लामो समय बस्ने भएकाले यो पटक पढ्ने फुर्सद मिल्ला भनेर आफ्नो समस्याको पोल्टो खुकुलो पार्ने विचार गरेँ ।

कुरा २०६९ सालको हो । म ३१ वर्षकी थिएँ, नेपालको सुदूर कुनामा । मेरो एउटा ज्यानमा पहिलोपटक अर्को सानो ज्यान पनि ६ महिनादेखि हुर्कंदै थियो । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर नै थिएनन् । अस्पतालमा नियमित जाँचका लागि भने गइरहन्थेंँ म । एक पटक एकाएक रक्तचाप बढ्यो । त्यहाँ उपलव्ध डाक्टरलाई देखाउन नर्सहरूले भने ।

डाक्टरले अल्ट्रासाउन्ड र सामान्य चेकजाँच गरेपछि भोलिपल्ट अस्पतालको साटो आफ्नो क्लिनिकमा बोलाए । मेरा श्रीमानलाई यो चित्त बुझेन । ती डाक्टरले सामान्य सोधपुछको लागि बोलाएका थिए वा पैसा कमाउन, बुझ्न सकिएन । तर क्लिनिकको सञ्चालकले पैसा उठाएरै छोड्यो । क्लिनिक सञ्चालकसँग हाम्रो बाझाबाझ पनि भयो ।

हामी स्त्रीरोग विशेषज्ञ डाक्टर भेट्न धनगढीतिर लाग्यौं । त्यहाँको सेती अञ्चल अस्पतालको हालत पनि उस्तै रहेछ । अस्पतालकै स्त्रीरोग विशेषज्ञको क्लिनिकमा मेरो जाँच भयो । उनले बच्चामा समस्या भएको त भने, तर प्रस्ट बुझाएनन् । नुन कम खानु र यो बच्चा झिक्नुपर्छ भने । किन झिक्ने ? के समस्या हो ? के, कहिलेसम्म गर्नुपर्छ ? उनले केही भनेन् । हामी अघिको बिरामीसँग उनको भनाभन परेपछि हामी यसै पनि घानमा परेका थियौं । विस्तारै ठिक होला भन्दै हामी निराश भई फर्कियौं ।

त्यसको एक हप्तापछि ममा खुट्टा सुन्निने लगायतका समस्या देखिन थाले । हामी नजिकै भारत सीमावर्ती सहर पुग्यौं । त्यहाँ पुगेपछि बल्ल थाहा भयो— गर्भावस्थामा मलाई प्रिइक्लाम्सिया भन्ने रोगले च्यापेको रहेछ । ढिलै भैसकेछ । रक्तचाप धेरै बढेर मेरो किडनी, आँखा र पेटको बच्चा तीनतिरै हानि गरिसकेछ । आँखाको दृष्टि त दुई दिनपछि फर्कियो, तर मृगौला र बच्चा नफर्किनेगरी सकिए !
बच्चाको आस मारिसकेका थियौं, मृगौलाको आस भने मरेको थिएन । नयाँदिल्लीका एम्स र सफदरजंग अस्पतालसम्म पुग्यौं । जीवनभर डायलाइसिस वा प्रत्यारोपण बाहेक विकल्प नबचेको परामर्शसहित हामी फर्कियौं । यद्यपि सफदरजंग अस्पतालका डाक्टरले तुरुन्तै डायलाइसिस गरिहाल्नु नपर्ने पनि भनेका थिए । उनको कुरा चार वर्षसम्म सत्य भयो ।

२०७३ सालमा मलाई केही गाह्रो भएपछि हामी फेरि नयाँदिल्ली गयौं । यो पटक भने डायलाइसिस सुरु गरिहाल्नुपर्ने डाक्टरले सुझाए । प्रत्यारोपणका लागि भने रगत मिल्ने अंगदाता भेटिएनन् । खर्च पनि आँटिनसक्नुको थियो । यो सब चल्दै गर्दा सेती अञ्चल अस्पतालमा पनि निःशुल्क डायलाइसिस सेवा सुरु भइसकेको थियो ।

कमजोर आर्थिक अवस्थाका हामीलाई यो खुसीको खबर त थियो, सेवा पाउन सहज भने थिएन । लामो पालो कुर्नुपर्ने । हामीले पनि नाम लेखायौं । यहीबीच डायबिटिजले पीडित ससुरा बाको पनि किडनी फेल भयो । हामी दुवै ससुरा–बुहारीले नयाँदिल्लीका विभिन्न सेन्टरमा डायलाइसिसका भरमा बाँच्न सुरु गर्‍यौं ।

एक दिन हैन, दुई दिन हैन, हप्तैपिच्छे घरका दुई–दुई जनाको डायलाइसिस ! स्थानीय रेडियोमा काम गर्ने श्रीमानको तलबले धान्ने कुरै भएन । नेपाल सरकार लगायत केही परोपकारी संस्थालाई सहयोगका लागि गुहार्‍यौं । सुशील कोइराला प्रधानमन्त्री भएका बेला हामीजस्ता बिरामीलाई १ लाख रुपियाँ उपचार खर्च दिने निर्णय भएको रहेछ । त्यो लिन दुईपटक काठमाडौं आउजाउ गर्दा ३० हजार खर्च भयो, तैपनि पैसा पाइएन । पछि तपाईं प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले त्यो निर्णय नै खारेज गराए भन्ने जानकारी विभागबाट पाएँ । सरकारी सहयोग नपाए पनि विदेशमा रहेका सुदूर पश्चिमेली समाजका दाजुभाइले भने केही आर्थिक सहयोग जुटाएर पठाए । केही दिनको खर्च टर्‍यो ।

६ महिनाको दिल्ली बसाइपछि धनगढीमा डायलाइसिसको पालो पाइने भनेर म फर्किएँ । तर सेती अञ्चल अस्पतालमा नियमित पालो नै पाइएन । अनि कोहलपुरको नेपालगन्ज मेडिकल कलेजमा पालो मिलाएँ । विडम्बना, यी अस्पतालमा मेरो फिस्टुला (डायलाइसिस गर्न हातमा धमनीहरूको शल्यक्रिया गरी बनाइने बाटो) बिग्रियो, हेपाटाइटिस सी पनि सर्‍यो । फिस्टुलामा समस्या आएपछि २०७४ भदौमा म फेरि काठमाडौं गएँ । सरकारीमा त यत्तिकै हन्डर थियो, ज्यानको कुरो भनेर काठमाडौंको सुमेरु अस्पताल पुग्यौं । त्यहाँ पनि उस्तै हन्डर खानुपर्‍यो । फिस्टुला सुन्निएर दुखाइ हरेक घन्टा बढिरहेको थियो । अलिकति पनि सञ्चो नभएकाले र
चित्तबुझ्दो परामर्श नपाएकाले हामीले फेरि नयाँदिल्ली जाने निर्णय गर्‍यौं ।

नयाँदिल्लीमा देखाउँदा सुन्निएको भागबाट फिस्टुला फुट्ने अवस्थामा पुगेको थियो । फिस्टुला भएको बायाँ हात नै काट्नुपर्नेसम्मको जोखिमबाट एम्सका डाक्टरले मलाई बचाए । घाँटीमा अस्थायी पाइप राखेर डायलाइसिस सुरु भयो । एम्सले नै दायाँ हातमा शल्यक्रिया गरी नयाँ फिस्टुला बनाइदियो ।

एक महिनापछि घर फर्कियौं । डायलाइसिसका लागि हरेक हप्ता दुई दिन १ सय किलोमिटर टाढाको भारतकै बरेली धाउन थाल्यौं । किनभने सेती अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजले हेपाटाइटिस संक्रमण भएकै कारण मलाई सेवा दिन इन्कार गरेका थिए । यो बीचमा मैले हेपाटाइटिसको पनि उपचार गरेंँ । मासिक २५ हजारजति खर्च गरेर ६ महिना औषधि खाएर हेपाटाइटिस नेगेटिभ अवस्थामा पुर्‍याएँ ।

अब मलाई सामान्य बिरामी सरह सेवा दिन मिल्थ्यो, तर सेती अञ्चल अस्पतालले मानेन । भक्तपुरको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका मृगौला विशेषज्ञ डा. सन्तोष गुरुङले सिफारिस लेखिदिँदा पनि सेती अञ्चल अस्पतालले टेरेन । बाध्य भएरै भारतमै आफ्नै खर्चमा डायलाइसिस गरिरहेंँ । ससुरा बाले भने यहीबीच ६ महिनाजति सेती अञ्चल अस्पतालमा डायलाइसिस गराउनुभयो । उहाँको पनि फिस्टुलामै समस्या आयो । अर्को बनाउन उमेर र गलेको शरीरले साथ दिएन । २०७५ असारमा उहाँले संसार छोड्नुभयो ।

भारत कति धाउनु ? २०७५ मंसिरमा काठमाडौंमै बसेर निःशुल्क डायलाइसिस सेवा लिने भनेर एकपटक फेरि काठमाडौं आयौं । श्रीमान यहीँ बसेर औषधि र घरखर्च जुटाउन विभिन्न संघ–संस्थामा काम गर्न थाल्नुभयो । तर म अगाडि असंख्यले नाम लेखाएका कारण मैले बेलैमा निःशुल्क डायलाइसिस गराउन पाइन ।

डायलाइसिस नगरी बाँच्न नसकिने भएकाले भक्तपुरको अंग प्रत्यारोपण केन्द्रमा पुरै पैसा तिरेर दुई घन्टाको (आधा) इमर्जेन्सी डायलाइसिस लिन सुरु गरेंँ । यही बीचमा अस्पतालले गर्ने रगतको भाइरल मार्क जाँचमा हेपाटाइटिस पोजिटिभ देखियो । अब मलाई डायलाइसिस नगर्ने भन्न थाले । मेरो उपचारको हिस्ट्री थाहा पाएका डा. गुरुङले सोही अस्पतालका कलेजो विशेषज्ञ डाक्टरलाई बोलाएर हेपाटाइटिसको उपचार भइसकेकाले सामान्य बिरामी सरह डायलाइसिस गर्न सकिने सुझाव दिए ।

डायलाइसिस युनिटका कर्मचारीहरूले छलफल गरे, तर नर्सहरूले मानेनन् । ६ महिने उपचार गरी नेगेटिभ अवस्थामा पुगिसकेको र भारतमा सामान्य मसिनमै डायलाइसिस गराइरहेकी मलाई हेपाटाइटिस पोजिटिभलाई डायलाइसिस गर्ने मेसिनमै सेवा लिन बाध्य पारियो ।

तर विडम्बना, यो सेवा दुई हप्ता पनि चलेन । कहिले मेसिन बिग्रेर डायलाइसिस पूरा नहुने त कहिले मेसिनमा रगत जम्मा भएर चार घन्टाको डायलाइसिस पनि पूरा नहुने । यही क्रममा मेरो फिस्टुलामा पुनः संक्रमण भयो । फिस्टुला चलाउन नमिल्ने भनेर दुई हप्तामा चारपटक फेमोरल क्याथेटर (डायलाइसिस गर्न खुट्टामा हालिने अस्थायी पाइप) राखियो । त्यो पाइप राख्न प्रत्येकपटक ८–९ हजार जतिको खर्च आउँथ्यो, तर पनि चार घन्टाको डायलाइसिसको चक्र पूरा हुँदैनथ्यो । सरकारी निःशुल्क डायलाइसिस सुविधा लिँदा मलाई ‘भुइँको टिप्दा गोजीको पोखिए’ जस्तै भयो ।

फिस्टुला सुन्निने क्रम बढ्दै गएर सास फेर्न पनि गाह्रो हुनथालेको थियो । खुट्टाको लाइनबाट पनि डायलाइसिस नभएपछि डाक्टरहरूले छातीमा पाइप राख्ने शल्यक्रियाको सुझाव दिए । ५०–६० हजारजति लाग्ने उक्त शल्यक्रियाका लागि निजी अस्पतालमा जान सुझाव दिएपछि हामीले पुनः एकपटक नयाँदिल्ली जाने निर्णय गर्‍यौं ।

हामी यस अघिको सेवाबाट आजित भइसकेका थियौं । नयाँदिल्ली पुगेपछि सबैभन्दा पहिले डायलाइसिस गरी शरीरमा जम्मा भएको विकार र पानी निकाल्नु थियो । अचम्मको कुरा, भक्तपुरको अंग प्रत्यारोपणका विज्ञहरूले फिस्टुला चलाउन नमिल्ने भनेर चारपटक अस्थायी लाइन राखेकामा दिल्लीमा भने त्यही फिस्टुलाबाट डायलाइसिस भयो ! चार घन्टा मेसिनमा बिताएपछि म तंग्रिएँ । एक हप्तामा तीनपटक डायलाइसिस गरेपछि म आफै हिँड्न सक्ने भएँ । अनि नेपाल फर्कियौं ।

प्रधानमन्त्रीज्यू, मैले भारतकै उपचारमात्र राम्रो भन्न खोजेकी त होइन, तर मेरो अनुभव यस्तै रह्यो । विडम्बना, मेरो देश मेडिकल माफियाको चंगुलमा फँसिसकेको रहेछ ।

प्रधानमन्त्रीज्यू, तपाईं पनि यहाँको सेवामा विश्वास नभएरै सिंगापुर जानुभएको त होइन ? जे हिसाबले जानुभएको भए पनि ठिकै गर्नुभयो । म पनि धनगढी, नेपालगन्ज, काठमाडौं हुँदै कञ्चनपुरको सिमानामा पर्ने भारतको सानो सहर खटिमामा अहिले डायलाइसिस गरिरहेकी छु । यो सानो अस्पतालको प्राविधिकले पनि फिस्टुला राम्रैसँग चलाएर सेवा दिएको छ । मेरो सास त चलिरहेको छ, तर परिवार र श्रीमानमा झन्–झन् जिम्मेवारी थपिएको छ । श्रीमानको जागिरजस्तै मेरो सास पनि अस्थायी नै
लाग्छ । प्रधानमन्त्रीज्यू, तपाईंको जस्तै हाम्रो पनि बच्चा छैन । बुढेसकालमा कतै उनी बिरामी परे भने के गर्लान् ? सरकारले त पक्कै हेर्दैन, देखिहालियो । कसले हेर्ला ? म यस्तै कुरा मनमा खेलाउँछु र झस्किन्छु ।

प्रधानमन्त्रीज्यू, हजुर त सक्नुहुन्छ र उच्चस्तरको स्वास्थ्यसेवा लिनुहुन्छ । म र मभन्दा नसक्ने हजारौं पीडित छन्, देशमा । लाऊँ–लाऊँ खाऊँ–खाऊँ भन्ने उमेर मैले अस्पतालको चक्करमा काटेँ र अझै कतिसम्म काट्न सक्छु, थाहा छैन । हरेक हप्ता दुईदेखि तीनपटक डायलाइसिसमा धाउनुको धपेडीको हिसाब के गर्नु ! उपचारकै सिलसिलामा अहिलेसम्म चालीस लाखभन्दा बढी खर्च भैसकेको छ ।

आफूसँग भएको आर्थिक स्रोत सकिँदै गएपछि अनि देशको अवस्था बिग्रिँदो भएपछि विस्तारै आस पनि कम हुँदो रहेछ । तपाईं त कार्यकारी ठाउँमा हुनुहुन्छ, चाहँदा त हामी जस्ताका लागि धेरै काम गर्न सक्नुहोला । तपाईं सञ्चो भएर आउनुहोस्, अनि देशमै सस्तो र सहज उपचार हुने वातावरण बनाउनुहोस् । मेरो बाँकी उमेर हजुरलाई लागोस् !

लेखक मृगौला पीडित हुन् ।
soniya.gaud@gmail.com

प्रकाशित : भाद्र ९, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

“खेलौं भायौं डेउडा खेलौं”

भवानी भट्ट

कञ्चनपुर — राम साथै लक्ष्मण साथै, सीता पनि साथैखेलौं भायौं डेउडा खेलौं, फूलको माला हातै । रमेश पन्तले महेन्द्रनगरको खुला मञ्चमा शनिबार यिनै हरफका साथ डेउडा सुरु गरे ।

दुई/चार जना भएर सुरु भएको डेउडामा एकैछिनमा सय/डेढ सय थपिए । सानो आकारको गोलो घेराले ठूलो रूप लिँदै गयो । खेल रसमय बन्दै गयो । महेन्द्रनगरको खुला मञ्च केही दिनयता यस्तै डेउडाले गुञ्जायमान हुन्छ । साँझ ४ बजेदेखि मञ्चमा डेउडा खेल्नेको भीड बढदै जान्छ । दिन ढल्किँदै जाँदा भीड यति बढछ कि व्यवस्थापन गर्नै गाह्रो हुन्छ । खेल्ने मात्रै होइन, हेर्नेको भीड पनि त्यतिकै हुन्छ ।

भदौकी विरुडी डुली,
दसैंका जमरा
जय अमर छन्,
संस्कृति हमरा ।

पन्तको सुरुको हरफपछि युवा डेउडिया धनसिंह मातरले गीतमै यसरी जवाफ दिए । उनलेआफ्नो गीत थप्दा डेउडाको घेरा निकै बढिसकेको थियो ।

युवादेखि वृद्धवृद्धासम्म सबै एकनासले खेलिरहेको दृश्य अझै रोचक देखियो । परेड खेलेझैं एकसाथ पैतला मिलाएर खेल्नु सीप नै मान्नुपर्छ । ६४ वर्षीया बरिराम लहार त डेउडा खेल्न भनेपछि हुरुक्कै हुन्छन् । युवा हुन् वा वृद्ध जोसुकै पनि डेउडामा रमाउन मन पराउँछन् । लौरो टेकेर डेउडा सुरु गर्न उनी सधैं अगाडि उभिन्छन् । डेउडा सुरु भएपछि भने उनी थकाइ मेटन बाहिरिन्छन् । युवा डेउडियाहरूले उत्तेजक तथा आक्रामक डेउडा गाउन थालेपछि उनले पनि सभ्य भाषामै जवाफ फर्काउँछन् ।

अर्मा बादल मार्मा पानी,
बाजुरा घाम छकी
मुईत हुँ सयानो मान्छे
साइ तोलाई फाम छकी ।

गौरा सुरु भएदेखि खुला मञ्चसँगै विभिन्न चोक चौतारा र मठ मन्दिर तथा विद्यालयमा समेत डेउडाको रौनक बढेको हो । ग्रामीण भेग होस् वा बजार क्षेत्र डेउडा खेल्नेको भीड उत्साहजनक देखिन्छ । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै महाकाली साहित्य संगम, खप्तड समाज र महाकाली एफएमले डेउडा खेलाउँदै आएको छ ।

साहित्य संगमले अढाइ दशकदेखि सामाजिक मुद्दामा रही डेउडा खेलाउँदै आएको हो । ‘डेउडा हाम्रो लोकसंस्कृति हो, यसभित्र सबै कुरा समेटिन्छन्,’ डेउडिया रमेश पन्तले भने, ‘लोक वार्तादेखि, लोक नृत्य, लोकगीत सबै यसैभित्र पर्छन् ।’ एकल वा सामूहिक रूपमा पनि खेल्न सकिने भएकाले यो सहज पनि छ । गीति माध्यमबाट वार्ता गर्न सकिने, सवालजवाफ गर्न सकिने र धेरै मानिस भेला भएर नाच्न सकिने भएकाले यसमा सबैथोक अटाउने पन्त बताउँछन् । पुरुष तथा महिलाले छुट्टाछुट्टै वा संयुक्त रूपमा पनि खेल्ने गरेका छन् ।

डेउडाका भाकाहरू पनि जिल्लापिच्छे र ठाउँपिच्छे फरक हुने गरेको पाइन्छ । हातमा हात बाँधेर खुट्टाको ताल पनि एकनास मिलाएर डेउडा खेलिन्छ । एक कदम अगाडि बढेर आधा कदम पछाडि हट्दै खेलिने भएकाले यसलाई डेउडा भन्ने गरिएको हो । यसको सुरुवात मानसखण्डीय संस्कृतिसँगै भएको बुढापाका बताउँछन् ।

सुदूरपश्चिमको सीमावर्ती भारत उत्तराखण्डको कुमाउँ गढवालदेखि सुदूरपश्चिम र कर्णाली क्षेत्रमा समेत डेउडा खेल्ने गरेको पाइन्छ । ‘डेउडा हाम्रो मौलिक संस्कृति मात्रै होइन, पहिचान पनि हो,’ महाकाली साहित्य संगमका संस्थापकसमेत रहेका साहित्यकार वीरबहादुर चन्दले भने, ‘यसमा धार्मिक, सांस्कृतिक, पौराणिकसँगै सामाजिक व्यंग्यसमेत प्रस्तुत हुन्छन् ।’ हालका वर्षमा चेतनामूलकसँगै राजनीतिक व्यंग्य र प्रेमका कुरासमेत डेउडामा समेटिन थालेको उनले बताए ।

गौरा पर्वको मुख्य आकर्षण पनि डेउडा नै हो । राजा रजौटाका युद्धका कथादेखि अन्य वीर वीरांगनाका गाथासमेत डेउडाबाहेक फाग, धुमारी र ढुस्कुलगायतमा गाइन्छ । फाग, धुमारी र ढुस्कु पनि डेउडाजस्तै हुन्छन् तर यसमा गायनशैली र प्रस्तुतिको कला फरक हुन्छ । खासगरी बुढापाकाले यस्ता खेल बढी रुचाउँछन् ।

डेउडामा नयाँ पुस्ता आउने क्रम पनि निरन्तर चलिरहेको छ । अहिले पनि बुढापाकाभन्दा युवा डेउडियाहरू बढी भएको पन्त बताउँछन् । महाकाली साहित्य संगमले अढाइ दशकअघि महेन्द्रनगरमा डेउडा सुरु गर्दा डेउडिया खोज्नुपर्ने अवस्था थियो भने अहिले युवा प्रशस्त मात्रामा आउने गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्