कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मन्दिरको सम्पत्तिमा मिलेमतो

सम्पादकीय

मठमन्दिर समाजका पवित्र स्थल, सांस्कृतिक धरोहर । जनमानसका आस्था र विश्वासका केन्द्र । तिनको सम्पत्ति मिलेर जोगाउनु 
पर्नेमा मिलेमतोमा बेचबिखन गर्ने प्रवृत्ति जारी छ । मठमन्दिरको व्यवस्थापनमा हेलचक्र्याइँ मात्र होइन, बदनियत हेर्दा धार्मिक/ सांस्कृतिक सम्पदा सबभन्दा अन्यायमा परेका लाग्छन्, टुहुरा बनेका देखिन्छन् । 

मन्दिरको सम्पत्तिमा मिलेमतो

पछिल्लो समाचारअनुसार बिचौलिया, पुजारी र प्रशासकको मिलेमितोमा नेपालगन्जस्थित बागेश्वरी मन्दिरको जग्गा प्लटिङ गरेर बेचिएको छ । मन्दिर गुठीका नाममा व्यक्तिले दान गरेका ८४ बिघा जग्गा टुक्राटुक्रा पारेर बिक्री गर्नेक्रममा इन्द्रपुर कर्मोनामा रहेको जग्गामा ५ धुरसम्मको टुक्रा पारीवरि घडेरी भनेर पास गरिएको छ ।


मालपोत कार्यालयका अनुसार ०२५ सालमा मन्दिरका नाममा ९९ बिघा ५ कट्ठा १४ धुर जग्गा रहेकोमा ०५७ को अभिलेखमा ८४ बिघामात्रै देखिएको छ । ०५७ मै मन्दिरको जग्गा ६ सय कित्तामा टुक्राएर तीन सय जनाका नाममा दर्ता भएको खुलेको छ ।


अहिलेसम्म मन्दिरका नाममा रहेको १ हजार ५ सय कित्ताभन्दा बढी जग्गा बिक्री भइसकेको छ । तत्कालीन इन्द्रपुर गाउँपञ्चायत–३ को ९ बिघा १९ कट्ठा ५ धुर हरिहरनाथ योगी र ९ बिघा १३ धुर जग्गा चन्दननाथ योगीका नाममा दर्ता भएको थियो । उनीहरूले त्यो पनि टुक्राएर बेचिसकेको मालपोतको अभिलेखले प्रस्ट पार्छ । मन्दिरका नाममा तीन कित्तामात्र जग्गा बाँकी छ । खजुराको तीन बिघा जग्गा मोही किसानले चर्चिरहेकाले बच्न पायो । मन्दिर परिसरमा डेढ बिघा छ । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित सल्यानी बंगला (पाटीपौवा) का नाममा ५ कट्ठा जग्गा बच्यो ।


गुठीका नाममा रहेको मन्दिरको जग्गा आफ्नो नाममा ल्याएर बेच्नमा पुजारीहरूकै भूमिका देखिएको छ । किसानले जोतभोग गरिआएको जग्गालाई रैतानी गरेर बाँकी पनि बेच्न भूमिसुधार, मालपोत र पुजारी नमिलाई सम्भव थिएन ।


नेपालगन्जको मुटुमा पर्ने यस मन्दिरको दुई सय वर्षभन्दा पुरानो इतिहास छ । सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिने ठाउँमा बनेको हुनाले यो मन्दिर नेपालगन्जको एउटा धार्मिक आकर्षणस्थल हो । मन्दिरका जमिन, मूल्यवान् गहना र दक्षिणाको लेखाजोखा गरी संरक्षण गर्न सकेको भए जायजेथा हेरी देशकै सम्पन्न मन्दिरको लहरमा यो पर्ने थियो ।


ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्धि कमाएको मन्दिरको बिघौँ–बिघा जग्गा स्वाहा हुँदासमेत चाल भएन । मन्दिरमा चढाइने भेटी, दान दक्षिणा पारदर्शी नहुँदा दैनिक पूजाआजा सञ्चालन गर्नसमेत मुस्किल हुन थाल्यो । २०७३ असार २२ गते उच्च अदालत, नेपालगन्जले जिल्ला प्रशासन, उपमहानगरपालिका र बागेश्वरी गुठीका नाममा आदेश जारी गर्‍यो, ‘मन्दिरको चल/अचल सम्पत्ति खोजबिन गरी संरक्षण गरी ६/६ महिनामा भेटी सार्वजनिक गर्नू ।’


उपमहानगर प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन र बागेश्वरी गुठीका प्रतिनिधि संलग्न समिति गठन भएयता मन्दिरको सम्पत्ति संरक्षण र व्यवस्थापन हुन थाल्यो । खर्च जुटाउन मन्दिर परिसरका पुराना सटर भत्काएर नयाँ बनाउने योजना थालिएको छ । यद्यपि, भेटीस्वरूप भक्तजनले चढाएका सुनचाँदीको कुनै लेखाजोखा छैन । मन्दिर स्थापनाकालदेखि पुस्तौनी महन्तले पूजाआजा गर्दै आएको परम्परामाथि नै स्थानीयले चिन्ता जनाएका छन् । मन्दिरको जग्गा बेचबिखन गर्नमा महन्तहरू नै सक्रिय भएपछि यसबारे स्थानीय समुदायले सोच्नुपर्ने भएको छ ।


मन्दिरको सबै सम्पत्ति फिर्ता ल्याउन पहल गर्न जति जरुरी छ, उति यसको सञ्चालन, रेखदेख र व्यवस्थापन कुशल गर्नु । सार्वजनिक सम्पदाको संरक्षणबाट समुदायको सान बढ्छ । समुदायले स्वामित्व लिने सम्पदाबाट हुने आम्दानीलाई समुदायकै हितमा प्रयोग गर्न सक्ने बनाउनुपर्छ । मठमन्दिरप्रतिको आस्था जोगाउन स्थानीय सरकार र समुदाय आफैँ जागरुक हुनु जरुरी छ । बागेश्वरीबाट सम्पदाको सम्पत्ति संरक्षण र व्यवस्थापनप्रति जागरणको बिगुल फुक्न सकिन्छ ।

प्रकाशित : भाद्र ८, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?