१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कहाँ पढाउनु छोराछोरी !

अधिकांश अभिभावकलाई छोराछोरीको गुणस्तरीय शिक्षाका लागि विद्यालय छनोट कठिन परीक्षाजस्तै भएको छ । सहरी क्षेत्रमा विकल्प प्रशस्त हुन्छन् तर खोजेजस्तो विद्यालय भेट्न साह्रै गाह्रो हुन्छ । ग्रामीण क्षेत्रमा खासै विकल्प हुँदैन । सहरी क्षेत्रमा हरेक टोलमा एकभन्दा बढी नै विद्यालय छन् ।

तर पनि शुल्क र गुणस्तरका आधारमा आम परिवारका केटाकेटीका लागि उपयुक्त विद्यालय पाउन कठिन छ । सहरमा निःशुल्क पढाइ हुने सरकारी विद्यालयदेखि सरकारी उच्च अधिकारीको एक महिनाको तलबभन्दा बढी मासिक शुल्क लिने निजी विद्यालयसम्म छन् । जहाँ पढेका भए पनि साझा श्रमबजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुनाले छोराछोरीको लागि गुणस्तरीय शिक्षाको खोजीमा अधिकांश अभिभावक भौँतारिरहेका हुन्छन् । शुल्कमा भएको फरकसँगै शिक्षाको गुणस्तर पनि फरक हुने आम मान्यताले विद्यालय छनोट कठिन बनाएको हुन्छ ।

पाँच वर्षअघि मेरो छोरा यूकेजीमा पढ्थ्यो । शिक्षक–अभिभावक छलफल कार्यक्रम थियो । नर्सरी र केजीमा पढ्ने विद्यार्थीका अभिभावक, शिक्षक र विद्यालयका प्रिन्सिपल सहभागी थियौं । छलफल भने पनि छुट्याइएको समयको झन्डै असी प्रतिशत समय प्रिन्सिपल बोले ।

लगभग ५० मिनेट बोलेका उनले त्यहाँ उपस्थित अभिभावक र तिनका केटाकेटीलाई सम्वोधन गरी एक शब्द पनि बोलेनन्, बरु एसएलसी (हाल : एसईई) को नतिजामा विद्यालयको विद्यार्थी उत्तीर्ण दर र ‘प्लस टु’ पछि विदेशिएका विद्यार्थीको संख्या दोहोर्‍याइरहे । मैले सुन्न र सुनाउन चाहेको त विद्यालयले मेरो बच्चालाई कसरी सिकाएको छ र उसले कसरी सिकेको छ भन्ने थियो । त्यस्तै, हाम्रा छोराछोरीलाई सिकाउँदाको अनुभव शिक्षिकाहरूले सुनाऊन् भन्ने चाहेकी थिएँ । तर आधा अंग्रेजी र आधा नेपाली मिसिएको प्रिन्सिपलको भाषण एकोहोरो सुनेपछि म निराश भएर फर्किएँ ।

सहरमा नाम चलेका केही विद्यालयका प्रवेश परीक्षामा छोराले नाम निकाल्न नसक्ने, केहीमा शुल्क तिर्न आफूले नसक्ने भएपछि छोरा र आफ्ना लागि उपयुक्त विद्यालय खोज्ने क्रम चलिरह्यो । त्यस्तैमा साथीहरूको सल्लाहमा शिक्षा क्षेत्रमा अनुभवी नेतृत्वले चलाएको एउटा विद्यालय पुगेँ । शिष्ट प्रिन्सिपलले उहाँको विद्यालयले सिकाइमा अवलम्बन गरेको प्रगतिशील सिकाइ (प्रोग्रेसिभ पेडागोजी) बारे धेरै कुरा बताउनुभयो ।

विद्यालय शुल्क आफ्नो आर्थिक हैसियतभन्दा अलि बढी नै लागे पनि शिक्षामा गरिएको खर्च छोराको भविष्यका लागि गरिएको लगानी सम्झिएर त्यही विद्यालयमा छोरा भर्ना गर्‍यौं । पुस्तक र युनिफर्मका लागि विद्यालयले तोकेका पसलहरूको व्यवहार अत्यन्त रुखो थियो । बजार मूल्यको तुलनामा विद्यालय युनिफर्मको मूल्य झन्डै डेढ गुणा महँगो थियो । त्यहाँ बार्गेनिङ र छुटको कुनै गुञ्जायस थिएन । तर पनि गुणस्तरीय शिक्षाका लागि यो स्विकार्नु सायद अनिवार्य थियो ।

विद्यालयले खेलकुद, संगीत, सहभागितामूलक परियोजना कार्यलगायतका अतिरिक्त क्रियाकलापमा पनि जोड दिने रहेछ । प्रगतीशिल सिकाइमा सायद यो विषय पर्छ नै । अभिभावक–शिक्षक छलफल पनि भयो । प्रिन्सिपलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो । छलफलमा अभिभावकका कुराहरू पनि ध्यान दिएर सुनिएको तथा टिपोट गरिएको देखेर म खुसी भएँ । प्रिन्सिपलले हाम्रा सुझावलाई कार्यान्वयन गराउनेमा विश्वस्त तुल्याउनुभयो ।

त्यसको एक साता जतिमा विद्यालयबाट एक जना विषय शिक्षकले फोनमा भन्नुभयो, ‘बाबुले हिजो र आज दुवै दिन किताब नल्याउनुभएकाले मैले पढाउन सकिनँ । अर्को हप्ताबाट किताब राख्न सम्झाउनुहोला ।’

‘अवश्य !’ शिक्षकहरूको जिम्मेवारीपनबाट म खुसी भएँ । विद्यालयमा जाने बेला छोराले किताबहरू झोलामा राखेपछि रुटिनअनुसार छ/छैन भनी सधैँ आफैँ रुजु गर्ने गर्थें । आज केही भूल भएछ कि ? तर म्याडमले लगातार दुई दिन पुस्तक नल्याएको भन्नुभएको थियो । सायद मैले राम्रोसँग रुजु गरिनछु भन्ने लाग्यो ।

साँझ छोरासँग सोधेँ । उसले गुरुआमाले किताब लेऊ भन्नुभएको तर आफूले बिर्सिएको बतायो । ‘ठीकै छ नि त ! विद्यालयले पठाएको रुटिनमा पनि स्पष्ट लेखिएको रहेनछ । अनि आज के पढ्यौ ?’ मैले सोधें । ऊ निरुत्तर रह्यो ।

‘आज गुरुआमाले केही पढाउनुभएन ?’

‘मलाई बाहिर उभ्याउनुभएको थियो ।’ छोरो अँध्यारियो ।

‘अनि हिजो नि ?’

छोराले आँसु चुहाउँदै भन्यो, ‘हिजो पनि बाहिर नै ।’

अभिभावकसँग त्यति राम्रो बोल्ने शिक्षकले बच्चाले एउटा किताब छुटाउँदा लगातार दुई दिन कक्षाबाहिर उभ्याएर सजाय दिएको कुरा मलाई पटक्कै चित्त बुझेन । त्यो पनि विद्यालयले उपलब्ध गराएको रुटिनअनुसार छोराको गल्ती थिएन ।

‘तिमीलाई मात्र बाहिर उभ्याउनुभएको कि अरूलाई पनि ?’ मैले फेरि सोधें ।

ससाना भूलमा पनि कोही न कोही विद्यार्थीलाई बाहिर उभ्याएर सजाय दिने कुरा छोराले बतायो । छोरालाई गाडी चढाउन जाँदा उसका साथीका आमाबुबासँग कहिलेकाहीँ कुराकानी हुन्थ्यो । उनीहरूको पनि त्यस्तै गुनासो रहेछ ।

विद्यार्थीहरूलाई कुनै पनि किसिमको शारीरिक यातना नदिन शिक्षकहरूलाई विद्यालय प्रशासनको निर्देशन रहेछ । त्यसैले उहाँहरू लट्ठी वा मुड्कीको प्रयोगको सट्टा सजायस्वरूप कक्षाबाहिर निकाल्ने गर्नुहुँदो रहेछ । विद्यार्थीलाई सजाय नदिनु भन्नुको अर्थ उनीहरूलाई डर–त्रास नदेखाउनु हो, करकापको सट्टा रुचि जगाएर सिकाउनु भन्नु हो । कक्षाबाहिर निकालेर त उनीहरूको पढाइप्रति रुचि बढ्दैन । कतिपय शिक्षक–शिक्षिकाले त मनोबल कमजोर बनाउने किसिमले गाली गरेको पनि अभिभावकहरूले सुनाए । यस्तो व्यवहारले त विद्यार्थीहरूमा सिकाइप्रति नै वितृष्णा जगाउँछ । यो त भएन प्रगतिशील सिकाइ पद्धति ?

निजी शिक्षण संस्थामा शिक्षक बारम्बार फेरिनुले पनि सिकाइमा नकारात्मक प्रभाव पारेको हुन्छ । अधिकांश निजी शिक्षण संस्थामा पारिश्रमिक तथा सेवाको स्थायित्व तथा वृत्ति विकासको सम्भावना न्यून हुनाले पनि सक्षम जनशक्ति आकर्षित हुन सकेको छैन । अधिकांश निजी विद्यालयमा स्थापित व्यक्तित्वलाई नेतृत्व दिएको विज्ञापन गर्ने तर समूहका अन्य सदस्यको क्षमता वृद्धिमा लगानी नगर्ने प्रवृत्ति छ ।

क्षमता वृद्धिको अवसर नपाएको ‘कामचलाउ’ जनशक्तिको कार्यसम्पादन पनि ‘कामचलाउ’ हुनु स्वाभाविक हो । यसबाट कसरी गुणस्तरीय शिक्षा उपलब्ध हुने ? त्यसो त, तुलनात्मक रूपमा राम्रो सेवासुविधा भएका र छनोटको जटिल प्रक्रिया पार गरेर आएका सरकारी शिक्षकहरूले पढाउने विद्यालयको पठनपाठन झनै दयनीय छ ।


[email protected]

प्रकाशित : भाद्र ८, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?