प्रगतिशील राजनीतिको जगजगी

केशव दाहाल

राजनीतिमा अग्रगामी शक्ति भनेको के हो ? के सबै कम्युनिस्ट प्रगतिशील हुन्छन् ? के नेपाली कांग्रेस सर्वेसर्वा लोकतान्त्रिक पार्टी हो ? आजलाई यस्तै प्रश्नमा थोरै विमर्श गरौं । यद्यापि यी प्रश्नमा प्रवेश गर्न केही सन्दर्भ उल्लेख गर्छु । जस्तो– नेपालमा प्रगतिशील नाम गरेका विभिन्न संगठन छन् ।

प्रगतिशील राजनीतिको जगजगी

प्रगतिशील पेसाकर्मी, प्रगतिशील प्राध्यापक, प्रगतिशील स्वास्थ्यकर्मी, प्रगतिशील कानुन व्यवसायी । त्यसो त हामीसँग लोकतान्त्रिक संगठनहरू पनि बग्रेल्ती छन् । सरकारी अड्डा, सहरका गल्ली र चोकहरूमा लोकतन्त्र र प्रगतिवाद यत्रतत्र मौलाएको देखिन्छ ।


कुनै बेला यस्तो पनि थियो कि अमुक पार्टी फुट्यो भने, विभाजित हुनेले आफ्नो नामको पछाडि फुर्को जोड्थ्यो– ‘लोकतान्त्रिक’ । प्रश्न स्वाभाविक हुन्छ, लोकतान्त्रिक भनेको चाहिँ के हो ? कतै हामी आफ्नै कर्मले लोकतन्त्र र प्रगतिवादकै हुर्मत लिइरहेका त छैनौं ?


मेरा एक मित्र छन् । गाउँमा खेती किसानी गर्छन् र विद्यावारिधिको तयारी गर्दै छन् । कामको सिलसिलामा त्रिभुवन विश्वविद्यालय परिसर घुमेर फर्किएको रात उनले मसँग प्रश्न गरे, ‘प्रगतिशील प्राध्यापकहरूको बिगबिगी भएको मुलुकमा विश्वविद्यालयचाहिँ किन गएगुज्रेको ?’ उनले चर्किंदै भने, ‘आफ्नै कर्मथलो नसुधार्ने फेक प्रगतिवाद हो त्यो ।’ उनको अर्को पनि प्रश्न थियो, ‘स्वयं कानुन व्यवसायीहरू लोकतान्त्रिक र प्रगतिशील भएको देशमा लोकतन्त्रको अवमूल्यन किन ?’ साथीको तीतो निष्कर्ष थियो– नेताहरू लोकतन्त्रवादी, समाजवादी वा गणतन्त्रवादी हुनु सबै खाइजीविका मात्र हो । सडकमा तमासा देखाएर औषधी बेचेजस्तो ।


गत साता एक कम्युनिस्ट नेतासँग जम्काभेट भयो । भेटमा राजनीति, समाज र समयको परिचर्चा हुने नै भयो । उनी थिए, सरकारी कम्युनिस्ट । सरकारमाथि मेरा प्रश्न, आलोचना र अपेक्षा सुनेर उनले भने, ‘प्रगतिशील सरकारविरुद्ध यति बेला प्रतिगामीहरू सलबलाउँदै छन् । देशी–विदेशी साम्राज्यवादीहरूले प्रगतिशील शक्तिविरुद्ध मोर्चाबन्दी गरेका छन् ।’ मैले सोधेँ, ‘कमरेडले भनेको प्रगतिशील सरकार कुन हो ?’ चर्को स्वरमा उनले थपे, ‘सारमा यो सब विश्व कम्युनिस्ट आन्दोलनमाथिको षड्यन्त्र हो ।’ मैले उनको भनाइलाई पुष्टि गर्न माग गरेँ ।


उनले विश्व कम्युनिस्ट आन्दोलनको इतिहास हेर्न सुझाव दिए । बस, त्यही इतिहास जुन इतिहासले हाम्रा कम्युनिस्टहरूलाई सबैभन्दा भुत्ते, एकलकाँटे र यान्त्रिक बनाएको छ । कुरा सुन्दा र व्यवहार हेर्दा लाग्छ, राजावादीहरूले आफूलाई वैकल्पिक भन्नु, सरकारी कम्युनिस्टहरूले आफूलाई प्रगतिशील भन्नु, कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्नु र माओवादीले समय चेतनाको कुरा गर्नु सर्वाधिक फाल्तु कुरा हुन् ।


समय र राजनीति

राजनीति र समयको साइनो निकै रोचक छ । कस्तो राजनीति गर्ने ? कस्तो विचार समाउने ? कस्ता मुद्दा उठाउने ? र सपनाहरू के देख्ने ? राजनीतिमा आउने यावत् प्रश्नको जवाफ समयसँग हुन्छ । समयले नै को प्रगतिशील र को प्रतिगामी, निर्धारण गर्छ । यो अर्थमा राजनीतिले समयको चाल र सपनालाई बुझ्नुपर्छ ।


अन्यथा समयभन्दा पछाडि हिँड्नेहरू पुरातनवादी हुन्छन् । समय सँगसँगै घस्रिनेहरू यथास्थितिवादी हुन्छन् । समयलाई अग्रगमनतर्फ डोर्‍याउनेहरू प्रगतिशील हुन्छन् । राजनीति, समाज र समयको चक्रलाई उल्टो घुमाउनेहरू पश्चगामी हुन् । समाज र समयको चक्रलाई भविष्योन्मुख गर्नेहरू अग्रगामी । पश्चगामी र अग्रगामी धारबीच लखरलखर गर्नेहरू यथास्थितिवादी । प्रगतिशील र अग्रगामी हुन कम्युनिस्ट हुनुपर्दैन, न लोकतान्त्रिक हुन कांग्रेस नै हुनुपर्छ । त्यो मूलतः समयचेतना र राजनीतिक गतिशीलताको कुरा हो ।


कुनै बेला कम्युनिस्ट प्रगतिशील थिए । भन्थे– संसार न्यायपूर्ण हुनेछ । श्रमजीवीलाई सपना देख्न पनि सकस भएका बेला कम्युनिस्ट घोषणापत्रले मान्छेलाई मुक्तिको सपना दियो । नेपालमै पनि कम्युनिस्ट यसकारण प्रगतिशील थिए कि उनीहरू सामाजिक न्याय, जीविका र गणतन्त्रको कुरा गर्थे । कुनै बेला कांग्रेस पनि प्रगतिशील थियो । किनभने कांग्रेसजन लोकतन्त्रको कुरा गर्थे ।


निरंकुश निर्दलीय व्यवस्थामा लोकतन्त्रको चाहना निश्चय नै अग्रगामी कुरा थियो । तर समय तीव्र गतिमा बढ्यो । आज पुँजीवादले रंग फेर्‍यो । वर्ग पक्षधरतालाई मानवतावादले उछिन्यो । शोषणका रूपहरू फेरिए । राज्यको चरित्रमा बदलाव आयो । लोकतन्त्रमाथि नयाँ–नयाँ प्रयोग हुँदै गए । औपचारिक लोकतन्त्र सहभागितामूलक लोकतन्त्रमा फेरियो । यस्तो समय आइपुग्यो, कांग्रेसको लोकतन्त्र पुरानो भयो ।


अतः प्रश्न स्वाभाविक हुन्छ— समयसँग नहिँड्ने कांग्रेस केको लोकतान्त्रिक ? कम्युनिस्टको कुरा पनि त्यही हो । राजमार्गलाई लोकमार्ग भन्दैमा क्रान्ति सकिँदैन, न त नयाँ दरबारमा राष्ट्रपतिलाई स्थापित गर्दैमा गणतन्त्रको दायित्व पूरा हुन्छ । तर भयो त्यस्तै । र समयक्रममा कम्युनिस्टहरू स्वयं सामाजिक न्यायका पछिल्ला मुद्दाबाट विमुख हुँदै गए ।


कालक्रममा कम्युनिस्टहरू त कम्युनिस्ट रहेनन् नै, उनीहरू बिस्तारै वामपन्थी र प्रगतिशील कित्ताबाट समेत स्खलित भए । कुरा स्पष्ट छ, पुरानो विचार, समय र सपनाको वफादार सेवक हुँदैमा कोही प्रगतिशील हुँदैन । प्रगतिशील हुनु भनेको नयाँ युगलाई आह्वान गर्नु हो । अगाडि हिँड्नु हो । परिणाम निकाल्नु हो ।


विश्वराजनीतिमा समयचेतनाको कुरा सर्वाधिक महत्त्वसाथ उठाइन्छ । समयचेतना भनेको विगत, वर्तमान र भविष्यलाई हेर्ने ज्ञान पद्धति हो । समयचेतनाका तीन आयाम छन्— समग्र मानव सभ्यताको विगत केलाउने, वर्तमानलाई बुझ्ने अनि भविष्यको चित्र बनाई अघि बढ्ने ।


नेपालमा कुरा अलिक भिन्न छ । हाम्रा पुराना राजनीतिक दलहरू समयचेतनाको भन्दा धेरै इतिहास–चेतनाको कुरा गर्छन्, जोसँग संघर्ष गरेको, जेल परेको, लडेभिडेको इतिहास छ । समस्या यहीं छ, इतिहास–चेतनाले मात्र समयको बोध हुँदैन । समयचेतना भनेको इतिहास बुझ्नु मात्र होइन । यसका लागि वर्तमान बोध गर्ने सामर्थ्य र भविष्य देख्ने दृष्टिकोण आवश्यक हुन्छ ।


हाम्रा प्रगतिशील संगठन किन प्रभावहीन भए ? ती विश्वविद्यालय, स्कुल र अस्पतालमा प्रभावहीन भए । हाम्रा लोकतान्त्रिक संरचनाले किन परिणाम दिन सकेनन् ? ती संसद, सामाजिक न्याय अनि आर्थिक समृद्धि र विकासमा प्रभावहीन भए । हाम्रा कम्युनिस्ट समाजवाद निर्माणमा, गरिबका झुप्रामा किन प्रभावहीन भए ? कांग्रेस लोकतन्त्रलाई संस्थागत गर्नमा किन प्रभावहीन भयो ।


यसकारण कि, उनीहरूले इतिहास हेरे मात्र, बुझेनन् । उनीहरूले समयचेतना बोध गर्ने सामर्थ्य गुमाए, समाजबाट विमुख भए । आखिर ‘व्यक्तिगत नाफाभन्दा दायाँबायाँ केही छैन’ भन्ने हाम्रा कांग्रेस र कम्युनिस्ट अहिले यथास्थितिको त्यो खाडलमा भासिए, जहाँबाट दूर भविष्यको त कुरै छाडौं, आफ्नै सत्ताको दलानसमेत देखिँदैन ।


विकल्प

विकल्प हावामा बन्दैन । राजनीतिक विकल्प निर्माण गर्ने उत्प्रेरणा र आधार पनि समयचेतना नै हो । इतिहास बुझ्ने, वर्तमानलाई गहिरोसँग अनुभूति गर्ने र भविष्य देख्ने राजनीति नै वैकल्पिक राजनीति हो । यस्तो राजनीति जसले लोकतन्त्रलाई आजको आवश्यकताबाट हेर्छ । सामाजिक न्याय र समृद्धिका मुद्दालाई आजको आवश्यकतासँग एकाकार गर्छ । जो अग्रगामी हुन्छ, जो सुसंस्कृत हुन्छ ।


हामीलाई यस्तो राजनीति चाहिएको छ, जो मानव सभ्यता, सपना र समयप्रति सचेत बनोस् । जवाफदेही होस् । त्यो हो– प्रगतिवाद, त्यो हो– अग्रगमन, त्यो हो– लोकतन्त्र ।


आमाले सुनाउने परिलोकको कथाजस्तो मायावी हुँदैन राजनीति, न त यो भूत कथाजस्तो रहस्यमयी हुन्छ । राजनीतिमा प्रगतिशील हुनु, समाजवादी हुनु वा गणतन्त्रवादी हुनु स्वैरकल्पना होइन । प्रगतिशील हुनु भनेको भविष्यतिर हिँड्नु हो । लोकतन्त्रको कुरा गर्नु जीवनलाई अझ धेरै स्वतन्त्र र सार्वभौम बनाउनु हो ।


गणतन्त्रवादी हुनु भनेको तानाशाहलाई घोडाबाट झार्नु र वायुपङ्खी घोडामा आफू सवार हुनु होइन, बरु सबै अहंकारका दरबार भत्काउनु हो । अन्यथा भूत कथाजस्तो रहस्यमय राजनीतिको के काम ? जनतालाई सुख नदिने राजनीति न प्रगतिशील हुन्छ, न लोकतान्त्रिक । बस त्यो भ्रम हुन्छ ।


[email protected]

प्रकाशित : भाद्र ६, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?