१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

छायामा स्तनपान बहस

बबिता राई

हाम्रो समाजमा महिलासित जोडिएका अनेक पुरुष केन्द्रित भाष्यको निर्माण हुँदै आइरहेको छ । यस्ता भाष्यको व्यापक प्रसारणसँगै महिलाका प्राथमिकताहरू भने ओझेलमा पर्दै आइरहेका छन् । पुरातनवादी भाष्यहरूको विनिर्माण हुने क्रमको सुरुआत भए पनि उत्तिकै मात्रामा आधुनिक स्त्रीद्वेषी भाष्यहरू स्थापित हुने क्रम पनि बढेको छ, जसबाट महिलाहरू बारम्बार विभिन्न आरोपको सिकार भइरहेका छन् ।

छायामा स्तनपान बहस

प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने स्तनपान सप्ताहको सेरोफेरोमा रहेर यसपटक पनि सामाजिक सञ्जालमा बहस चलेको देखियो । यसै क्रममा ‘महिलाले शरीर बिग्रने डरले स्तनपान गराउँदैनन्’ भन्ने कथनले खुबै लोकप्रियता पाएको देखियो । सामाजिक सञ्जालका भित्तामा छरपस्ट पोखिइने विचारहरू हाम्रा सामाजिक व्यवहार र चिन्तनका परावर्तित चित्र हुन् । यसर्थ यो बेवास्ता गर्न मिल्ने हल्का विषय हुँदै होइन ।


बच्चाको वृद्धि र विकासका निम्ति स्तनपान कति महत्त्वपूर्ण हुन्छ भन्ने विषय प्रकाशमा आउनु सुखद पक्ष हो । स्तनपानका सम्बन्धमा सचेत पुरुषहरूको जमात बढ्दै जानु त झनै राम्रो हो । स्तनपानबारे पुरुषहरू जानकार हुनुपर्नेमा दुईमत छैन, तर महिलाका भोगाइलाई उपेक्षा गर्दै एकोहोरो पूर्वाग्रहीपूर्ण अभिव्यक्ति सार्वजनिक गर्नुचाहिँ अपमान मात्र हो । स्तनपान सप्ताहको सेरोफेरोमा रहेर स्तनपानको बहस सुरु त भयो, तर यो महिलालाई हरहिसाबमा दोषी सावित गर्ने प्रयास नै धेरै भइरहेको छ ।


स्तनपान किताबी ज्ञानहरूको उत्पादन र प्रसारण हुनुभन्दा अगाडिदेखि नै चल्दै आइरहेको प्रक्रिया हो । शैक्षिक अवस्था अत्यन्तै कमजोर रहेका ग्रामीण क्षेत्रका धेरै महिला स्तनपानका फाइदाबारे त्यति जानकार नहुँदा–नहुँदै पनि बच्चालाई दूध खुवाइरहेकै हुन्छन् । कसरी, कति समयसम्म र कति मात्रामा भन्ने कुरा अलग हो । जन्मने बित्तिकै आमाको दूध अति आवश्यक हुन्छ भनी सामान्य जनजीवनमा स्थापित भए पनि पर्याप्त चेतनाको कमीले गर्दा कति समयसम्म कति मात्रामा खुवाउन जरुरी छ भन्ने स्पष्ट ज्ञान नभएको देखिन्छ । यस्ता समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ बहस खासै केन्द्रित भएको छैन ।


कृषिमा संलग्न महिलाहरू सुत्केरी भएको कति दिनपछि घर बाहिर काम गर्न जानुपर्ने बाध्यता हुन्छ ? घरमै बसेर बच्चालाई कम्तीमा ६ महिनासम्म नियमित स्तनपान मात्र गराएर बस्छु भन्न पाउने सुविधा कति महिलालाई छ ? ‘घरधन्दा विभाग म सम्हाल्छु, तिमी बच्चालाई दूध ख्वाऊ’ भन्ने पुरुष कति छन् ? यस्ता पुरुष ‘सौन्दर्य बिग्रने डरले महिलाहरू स्तनपान गराउँदैनन्’ भनेर चिच्याउने पुरुषजति नै छन् ? म आफू हुर्किएको क्षेत्र, जहाँ राई जातिको मात्र बसोबास छ, त्यहाँको समाजको संरचना तुलनात्मक रूपमा केही उदार रहेका कारण पुरुषहरू घरधन्दाबाट त्यति अछुत छैनन् । शिशु स्याहारमा बाहरू पनि प्रत्यक्ष रूपमा सहभागी हुने गर्छन् । यति हुँदाहुँदै पनि सहज र नियमित स्तनपानमा प्रशस्त समस्या छन् । गुजारा चलाउन काममा लोग्ने–स्वास्नी दुवै उत्तिकै खट्नुपर्ने बाध्यताले गर्दा सुत्केरी आमाहरू बच्चामै मात्र केन्द्रित भएर बस्न सक्दैनन् । तुलनात्मक रूपमा पुरुषहरू सहयोगी देखिने समुदायमा त यति समस्या छ भने एकदिन मात्र घरमा महिला सदस्य भएनन् भने बरु चिउरा भिजाएर खाने तर भान्सामा नछिर्ने पुरुषको बाहुल्य रहेको समुदायमा मातृशिशु स्याहारको अवस्था कस्तो होला ? नियमित स्तनपान कति सहज होला ? बच्चालाई सहज रूपमा स्तनपान गराउन सकिने वातावरण निर्माणमा बाबुको भूमिका कस्तो हुनुपर्ने भन्ने बारेको बहस खोइ ?


बालविवाहको दर उच्च रहेको हाम्रोजस्तो देशमा कैयौं किशोरी आमा बनिरहेका हुन्छन् । शारीरिक र मानसिक रूपमा अपरिपक्व किशोरीमा प्रजनन स्वास्थ्य, बच्चा स्याहार र हुर्काइबारे कस्तो चेतनाको विकास भएको हुन्छ होला ? आफ्नो बाल्यावस्था नसकिँदै अर्को बच्चाको अभिभावक बनेका दम्पतीहरूले स्तनपानबारे के कति जानकारी लिएका हुन्छन् होला ? हाम्रा वरपर प्रशस्त देखिने यी समस्या स्तनपान सप्ताहको बहसभित्र परेका छन् कि छैनन् ? विभिन्न पत्रपत्रिका र अनलाइन माध्यमले स्तनपान गराउँदा शरीर बिग्रँदैन भन्ने उपदेश सहितका सामग्री सम्प्रेषण गर्दैगर्दा यस्ता जटिल समस्याहरू कता हराए ?


गरिबीको छायामुनि रहेका महिलाको पोषण बारेको बहस छायामा परेको छ । हामीमा कम्तीमा बच्चा जन्मने बित्तिकै सबै महिलाको दूधको धारा बग्दैन भन्ने सामान्य ज्ञानचाहिँ हुन आवश्यक छ । महिलाको प्रजनन स्वास्थ्यबारे महिला–पुरुषले आपसमा सहज संवाद गर्ने वातावरण नबन्नु पनि पुरुषहरू यसबारे कम जानकार हुने एउटा मुख्य कारण हो । पोषणको अभावमा दूध नआउने वा आए पनि पर्याप्त नहुने कारण धेरै बच्चा स्तनपानबाट वञ्चित हुने गर्छन् । स्थानीय स्तरमा उपलब्ध पौष्टिक तत्त्वले भरिपूर्ण खानाको पहिचान गर्न नसक्दा पनि पोषणको समस्या विकराल भएको छ । उपयुक्त जानकारी र परामर्शको अभावमा दम्पतीहरूले सन्तानको जन्मान्तर कम राख्ने गर्नाले पनि धेरै बच्चा स्तनपानबाट विमुख हुन्छन् । सहरी क्षेत्रका महिलाले सौन्दर्य बिग्रने डरले बच्चालाई स्तनपान गराउँदैनन् भन्ने तर्कद्वारा शिक्षित र कामकाजी महिलाको संघर्ष र भोगाइ ओझेलमा पार्ने प्रयास गरिएको छ । सौन्दर्यलाई नै यति महत्त्व दिने भए महिलाले गर्भधारण गर्नै अस्वीकार गर्नुपर्ने हो । गर्भधारणसँगै उनीहरूको शरीरमा अनेक परिवर्तन देखापर्न थाल्छन् । बच्चा पेटमा बस्ने बित्तिकै सुरु हुने जटिलताबारे त जैविक रूपमा आमा बनिसकेका महिलाले मात्र राम्रोसँग लेख्न सक्छन् ! शरीरमा देखापर्ने जटिलता मात्र नभएर उनीहरूले भ्रूणसँगै ज्यानै जानसक्ने डरसमेत बोकिरहेका हुन्छन् । ‘सुत्केरी व्यथा लागेकी आइमाईको सास एक त्यान्द्रो कपालमा मात्र अडिएको हुन्छ’ भन्ने आमा–हजुरआमाहरूको भनाइ सुन्दै हुर्किने हामी पछि बच्चा जन्माउनुपर्ने डरसित किशोरावस्थामै परिचित भइसकेका हुन्छौँ । सन्तान जन्माउने कि नजन्माउने, यो नितान्त महिलाको स्वनिर्णयको विषय हुनुपर्छ भनेर स्वीकार नगरिसकेको अनुदार सामाजिक व्यवस्थाबाट उत्पादित महिलालाई सौन्दर्य सचेतको श्रेणीमा राखेर व्याख्या गर्नु हास्यास्पद छ । स्तनपानबाट सुन्दरता घट्ने डर हुन्छ भने तर्क ‘हाइपोथेटिकल’ छ । सुत्केरीको दूध स्तनभित्रै सञ्चय गरेर राख्न नमिल्ने वास्तविकताबारे जानकार भएको भए र बच्चाले चुस्न नसक्दा वा खुवाउन नपाउँदा दूध निचोरेर फाल्नुपरेको, स्तन गानिएर शल्यक्रिया गर्नुपरेका घटनालाई नजिकबाट हेरेको भए यस्ता भनाइले व्यापकता पाउने नै थिएनन् । कहीँ कतै एकाध महिलाले शरीर बिग्रने डरले नै यसो गर्छन् भने पनि यो हामीले स्थापित गरेको सौन्दर्यचेत र सो मापदण्डभित्र नपर्ने महिलामाथि ‘सेमिङ’ गर्ने सामाजिक प्रवृत्तितर्फ मोडिनुपर्ने विषय हो ।


पछिल्लो समय सी–सेक्सनबाट बच्चा जन्माउने क्रम बढ्दो छ । शल्यक्रियापछि सामान्य अवस्थामा फर्कन समय लाग्ने भएकाले यस अवधिमा स्तनपान गराउन कठिन हुने गर्छ । यस्तो अवस्थामा बट्टाको दूध नै खुवाउनुपर्ने बाध्यता हुन्छ ।


सहरी क्षेत्रमा बसोबास गर्ने, घर बाहिर निस्कनुपर्ने कामकाजी महिलाले शिशु स्याहारमा झेल्नुपर्ने समस्या अत्यन्त जटिल छ । हाल सरकारी सेवामा आबद्ध महिलाले सुत्केरीअघि र पछि गरी जम्मा ९८ दिन बिदा पाउँछन् । निजी कम्पनी र संस्थामा कार्यरत महिलाका हकमा त यो पनि असम्भव जस्तै हुन्छ । सुत्केरी कर्मचारीका निम्ति बच्चालाई दूध खुवाउने समय छुट्याएर त्यसको प्रबन्ध मिलाइदिने कार्यालय कति होलान् ? महिला कर्मचारीको सहजताका निम्ति स्तनपान कक्षको व्यवस्था गरिदिने कार्यालय कति होलान् ?


हाम्रा प्राय: कार्यालय महिलामैत्री छैनन् । यसले गर्दा महिलाले बच्चालाई चाहेर पनि आवश्यक मात्रामा स्तनपान गराउन सक्ने अवस्था छैन । ती आमाको कठिन दिनचर्या, संघर्ष र ग्लानि सुनिन आवश्यक छ कि छैन ? यस्ता सवालमा ‘काम छोडेर बसे भयो नि’ जस्ता कुतर्क पनि आइरहेका हुन्छन् र यी जवाफ दिनलायकका तर्क पनि होइनन् । शिक्षित महिलाले स्तनपान गराउन नसक्ने कारण खोतल्ने प्रयास गर्नुको सट्टा साना बच्चा हुनेले कामलाई निरन्तरता दिनु ठूलै अपराध भए जसरी, त्यसलाई नै उनीहरू असल आमा हुन् कि होइनन् भन्ने मूल्यांकनको आधार बनाइन्छ । महिलाले बच्चा हुर्काउनका लागि आफ्नो काम छोडेर घरमै सीमित हुनुपर्ने हो ? कि हाम्रा घर, कार्यालयका संरचनाहरूचाहिँ महिलामैत्री बनाउन पहल गर्ने हो ? यसो हुनसके महिलाले जागिर छोड्नुपर्ने अवस्थै आउँदैन र बच्चालाई पर्याप्त स्तनपान गराउन नसकेका कारण न ‘करिअर’ न बच्चालाई पर्याप्त समय दिन नसक्दाको मानसिक द्वन्द्वबाट गुज्रनु पर्दैन ।


सार्वजनिक स्थलमा सहज रूपमा स्तनपान गर्न सकिने अवस्था छ कि छैन ? सार्वजनिक स्थलमा बसेर महिलाले बच्चालाई खुल्ला रूपमा दूध चुसाइरहेको दृश्यले हाम्रा आँखा बिझाउन छोड्नुपर्छ कि पर्दैन ? स्तनपान लाज मान्नुपर्ने विषय होइन भन्दै गर्दा हामीले कति महिलालाई खुल्ला रूपमा स्तनपान गराउन सहज महसुस गराएका छौँ ? परिवारका महिला सदस्यलाई स्तनपान गराउन कसरी सहयोग गरेका छौँ ? पुरुषहरू बच्चा हुर्काउने प्रक्रियामा महिलाजति निपुण हुँदैनन् भनेर स्थापित मानसिकताका कारण पनि उनीहरूमा कम जिम्मेवारी बोध भइरहेको हुन्छ । पछिल्लो समय शिक्षित र प्रगतिशील विचारधाराका पुरुषहरू बच्चा स्याहार र हुर्काइको प्रक्रियामा प्रत्यक्ष संलग्न हुनथालेको देखिए पनि उनीहरूले सहयोगीको भूमिकासम्म मात्र निर्वाह गर्न सकेका छन् । सामाजिक व्यवस्थाले पुरुषलाई बच्चा स्याहारमा केन्द्रित हुन बाध्य पार्दैन । पुरुषलाई संरचनागत छुट प्राप्त हुन्छ । यो असमानताको खाडल पुर्न बच्चा स्याहारको जिम्मेवारी महिला र पुरुषमा बराबर बाँडफाँड हुन जरुरी छ । यसो हुनसके स्तनपान सम्बन्धी धेरै समस्या हल हुन सक्छन् ।


शिक्षित महिलाले सौन्दर्य बिग्रने डरले स्तनपान गराउँदैनन् भन्नु उनीहरूको चेतनामाथिको अविश्वास हो । शारीरिक रूपबाट आमा बन्न तयार मेरो पुस्ताको चेतनामाथि समेत अविश्वास मात्र होइन, परम्परागत त्यागी आमाको चरित्रगानद्वारा हामीलाई पनि त्यही स्वरूपमा सीमित हुन प्रेरित गर्ने दुराशय हो यो । बुझ्नैपर्ने सत्य के हो भने अब हाम्रो पुस्ताका महिलाहरू आमाकै भूमिकामा मात्र सीमित हुन अस्वीकार गर्छन् । आमा हुनुसँगै हामी आफ्नो अलग सामाजिक पहिचान पनि जोगाइरहन चाहन्छौँ । आमा हुनुका सुख र त्याग सम्बन्धी महिमागान भन्दा पर आमाहरूले गुमाएको स्वआर्जित पहिचान र सामाजिक स्थानको खोजी पनि गर्छौं । त्यसकारण बाध्यतावश महिलाले पर्याप्त स्तनपान गराउन नसकेकै आधारमा गरिने अनावश्यक टिप्पणीलाई पनि सामान्य रूपमा लिन सक्दैनौँ । यो लेख त्यसैको प्रतिवादस्वरूपको प्रतिनिधि आवाज पनि हो ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?