हल्लापान लोकतन्त्रको स्वास्थ्यका लागि खतरा

सम्पादकीय

खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा

हल्लापान लोकतन्त्रको स्वास्थ्यका लागि खतरा

त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।

त्यसैले, यो हल्लै हल्लाको देश हो

यो हल्लै हल्लामाथि उभिएको देश हो

यो हल्लै हल्लामाथि उठेको देश हो

यो हल्लै हल्लाको देश हो ।


हल्ला फैलिनु/फैलाउनु सायद हरेक समाजको एउटा नकारात्मक चरित्र हो । हाम्रो आफ्नै समाजलाई पनि आधा शताब्दीअघि कवि भूपि शेरचनले माथिको व्यंग्य गरेका थिए । साउती मारेर अफवाह फैलाउने/फैलिने त्यो बेला अहिले बदलिएको छ । उस्तै चरित्र भने विद्युतीय सामाजिक सञ्जालहरूमार्फत झनै उदांगो हुन थालेका छन् ।


फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम नकारात्मक सामग्री ‘सेयर’ गर्न बनेकै होइनन् । यी त उस्तै रुचिका, उही प्रकृतिका, एकअर्कालाई चिनेका वा चिन्न चाहेकाहरू आपसमा जोडिने विद्युतीय मञ्च हुन् । यी मञ्च परम्परागत सञ्चार माध्यम होइनन्, कतिपय अर्थमा तीभन्दा बलिया छन् । कारण, यिनले ती सबै माध्यमलाई आफूमार्फत प्रयोगकर्तामाझ पुर्‍याउँछन् । प्रयोगकर्ता आफैंले पनि मन लागेको सामग्री ‘सेयरकास्ट’ गर्न सक्छन् । परम्परागत सञ्चारमाध्यममा आवाजविहीन हुनेले पनि सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्न सक्छन् । सञ्जालका साथीमाझ आफ्नै आवाज पुर्‍याउन सक्छन् । यस हिसाबले सामाजिक सञ्जाल एउटा सहभागितामूलक लोकतान्त्रिक थलो हो ।


यी सामाजिक सञ्जालमार्फत कैयौं सकारात्मक अभ्यास भएका छन् । प्रयोगकर्ताले आफ्नो धारणा र सिधा खबर मात्र यसमा राखेका छैनन्, कति सामाजिक काम भएका छन् । कैयौं प्रयोगकर्ताले समूह नै बनाएर विपद्का घटनामा उद्धार तथा राहत अभियान चलाउने गरेका छन् । विश्वभर यस्ता अभियान प्रभावकारी पनि देखिएका छन् । अस्पतालमा रगत जुटाउनेदेखि दीनदु:खीहरूका लागि सहयोग जुटाउनेसम्मका सामाजिक काम पनि भएका छन् । अधिकार र न्यायका अभियान पनि यसैमार्फत छेडिएका छन् । अरब क्रान्तिजस्ता राजनीतिक उलटपुलट ल्याउन पनि यिनै शक्ति प्रयोग भएका छन् ।


सकारात्मक विशेषताबीच कतै यी सञ्जालको सदुपयोगको प्रकाशभन्दा दुरुपयोगको छाया बढी गाढा हुँदै गएको त होइन भन्ने आजको ज्वलन्त सवाल हो । कताकता सामाजिक सञ्जालको जञ्जालमा हाम्रो समाज पनि फस्दै गएको टड्कारै देखिन थालेपछि यो प्रश्न अहम् बनेको हो । नेपालमा करिब ६० प्रतिशत जनसंख्याको इन्टरनेटमा पहुँच छ । एक तिहाइ जनता फेसबुकमा आबद्ध छन् । अन्य सञ्जालमा जोडिनेको संख्या पनि दिनानु दिन बढ्दो छ । तर, जति बढी नागरिक यी मञ्चमा आबद्ध छन्, यिनको पार्श्व प्रभावको भय पनि त्यत्तिकै छ ।


दृष्टान्त सामुन्ने छ– चितवनको नारायणगढस्थित एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका शालिकराम पुडासैनीको मोबाइलमा प्रहरीले फेला पारेको भिडियो सामाजिक सञ्जाल र युट्युबमा व्याप्त छ । यही घटना जोडिएको एउटा तस्बिर त्यसरी नै भाइरल छ । पुडासैनीको मृत्युअघिको भिडियोबाट स्क्रिनसर्ट लिइएको फोटोमा उनको आँखाको नानीमा कुनै मान्छेको प्रतिछाया छ । त्यसैलाई आधार बनाएर युट्युबमा दर्जनौं भिडियो अपलोड भएका छन् । सयौंले त्यही तस्बिर पोस्ट गर्दै मृत्यु प्रकरण र सञ्चारकर्मी रवि लामिछाने पक्राउबारे आ–आफ्ना धारणा, दाबी र विरोध पोस्ट गरेका छन् । अदालतमा मुद्दा चलिरहेको यस घटनामा यसै तस्बिरलाई अन्तिम सत्य मानेर सडकमा भीड जम्मा भएका छन् । जबकि, कुनै व्यक्तिले फोटोसपका माध्यमबाट कसैको तस्बिर मृतक पत्रकारको आँखाको नानीमा राखेको थियो । विभिन्न घटनामा सामान्य मानिस आफैं अनुसन्धानकर्मी बन्छ र सत्य पहिल्याएजस्तो गर्छ भनेर व्यंग्य गर्न यसो गरिएको थियो । सञ्जालको ठूलो भीडले यसैलाई अन्तिम सत्य मानिदियो ।


सञ्जालमा लामिछानेको समर्थन मात्रै छैन, उनको पक्राउप्रति आक्रोश, पुडासैनीको आत्महत्याबारे अनेक आशंका र अफवाह पनि छन् । यिनले फरक मत राखेकै आधारमा अश्लील गाली गर्ने र मृत्युको कामना गर्दै ‘रिप’ लेख्नेसमेत गरेका छन् । सामाजिक सञ्जाल र युट्युबमा यस्ता हल्ला, अफवाह र अनेकन उत्तेजक टिप्पणीको बाढी कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको प्रकरणमा पनि उत्तिकै थियो ।


सत्यसम्म पुग्नुपहिल्यै उत्तेजनाको पछि बहने भीड निर्माण गर्न यस्ता सञ्जालले सघाइरहेका छन् । यस घटनामा पनि केहीले उक्त तस्बिर वास्तविक नरहेको लेखे पनि केहीले मात्रै सेयर गरे । तर अतिरञ्जित तस्बिर भाइरल बन्यो । ‘पोस्ट ट्रुथ’ को यस जमानामा सामाजिक सञ्जालमार्फत यसैगरी सजिलै असत्य फैलिइरहेको छ । भीडतन्त्र हाबी भइरहेको छ ।


जतिसुकै अवास्तविक र अतिरञ्जित भए पनि लोकउत्तेजित पाराले प्रस्तुत गरिएका सामग्री सजिलै भाइरल भइरहेका छन् । तिनलाई लाखौंले हेर्छन्, सयौंले सेयर र कमेन्ट गर्छन् । ‘यो हल्लै हल्लाको देश’ मा यसैगरी अफवाह सहजै फैलिरहेको छ । भीडको एक्लो बन्न चाहने कमै छन् । उनीहरू चुपचाप बसिदिन्छन् । बोलिहाले पनि उनीहरू कमै सुनिन्छन् ।


कुनै मुद्दामा कसैप्रति घृणा र आक्रोश फैलाउने, लाञ्छना र आरोप/प्रत्यारोप लगाउने माध्यम बनेका छन्– सामाजिक सञ्जाल । परम्परागत सञ्चार माध्यम ‘रेटिङ पोइन्ट’ बढाउने प्रतिस्पर्धारत भएका बखत बग्रेल्ती खुलेका युट्युब च्यानलले मनलाग्दी सामग्री सेयर हुनु कुनै नौलो रहेन । हरेक ‘भ्युज’ को रेकर्ड देखिने यस्ता च्यानलले आफ्ना सामग्रीलाई सनसनीपूर्ण बनाउने नै भए । परम्परागत सञ्चार माध्यमका विपरीत अधिकांश यस्ता च्यानल न संगठित संस्था हुन्, न यिनीहरू व्यावसायिक आचारमै बाँधिएका हुन्छन् । हरेक नागरिकले सहजै प्रयोग गर्न सक्ने यस्ता मञ्चबारे न व्यवस्थित नियमन प्रणाली नै छ । परिणाम, कैयौंले सञ्जालको शक्ति र आफ्नो स्वतन्त्रताको भरपुर दुरुपयोग गरिरहेका छन् ।


कतिपय अवस्थामा अनधिकृत र अवास्तविक मात्र होइन, भ्रामक सूचनालाई नै सामाजिक सञ्चाल प्रयोगकर्ताले अन्तिम सत्य मानिरहेका छन् । खासगरी विभिन्न निर्वाचनका छेकोमा यस्ता दुष्प्रचार हुने गरेका छन् । अमेरिकालगायत मुलुकमा व्यापक रहेको यस्तो प्रवृत्तिले छिमेकी मुलुक भारतमा पनि जरा गाडिसकेको छ । नेपालमा पनि बिस्तारै झाँगिँदै गएको देखिन्छ ।


प्रकारान्तरले लोकतन्त्रकै लागि घातक छ, यस्तो प्रवाह । सही रूपमा सुसूचित नागरिकले मात्र उचित निर्णय लिन सक्छ । सामाजिक सञ्जालका कतिपय सामग्रीले नागरिकलाई सुसूचित बनाइरहेका छैनन्, भ्रमित तुल्याइरहेका छन् । उनीहरूले आफू भ्रमित भएको थाहा पाउँदैनन्, उल्टो जानकार बनेको विश्वास गर्छन् ।


कुनै घटना हुनेबित्तिकै आफैं अनुसन्धानकर्मी भएझैं तथ्यभन्दा धेरै भ्रामक खबर, अनुमान र अफवाह फैलाउने प्रवृत्तिले सत्य अन्वेषण र न्याय निरूपणमा सहभागी हुनुपर्ने निकायलाई पनि प्रभावित तुल्याउने खतरा बढ्दै गएको छ । यस्तो प्रवृत्ति अहिलेसम्म मुद्दा र घटनामा मात्रै सीमित छन् । भविष्यमा धार्मिक, साम्प्रदायिक/जातीय या राजनीतिक विषयमा पनि दोहोरियो भने त्यसको परिणाम भयावह हुनेछ ।


सामाजिक सञ्जालबाट चाहेको लाभ मात्र लिने र दुष्प्रभावबाट बच्ने भरपर्दो उपाय प्रयोगकर्ताको सावधानी हो । आम उपभोक्ताको चेतना वृद्धि हो । विभिन्न सञ्जालले विकास गरेका विधि अपनाएर आफूले उपभोग गरेको सूचना कति विश्वस्त स्रोतबाट आएको हो, जागरुक उपभोक्ताले थाहा पाउन सक्छन् । त्यहीअनुसार आफ्नो धारणा बनाउन सक्छन्, नत्र जे आयो, त्यही पत्याउँछन् ।


समाज जति सभ्य, आधुनिक र प्रविधिमैत्री बन्दै गयो, त्यति यसलाई सामाजिक सञ्जालका पार्श्व प्रभावबाट जोगाउने चुनौती छ । सामाजिक सञ्जालका गुण र अवगुणबारे साक्षरता र सचेतना जरुरी छ, लोकजागरण नै चाहिनेछ ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?