कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

आकाशे पानीको भर 

सम्पादकीय

केही दशकअघिसम्म काठमाडौं उपत्यकामा घर कम थिए । ढुंगेधारा कलकल बग्थे । इनार टिलपिल हुन्थे । खोला सङ्लै थिए । पानीको दुःख थिएन । थोरै खोस्रिए पुग्थ्यो, जमिन रसाउँथ्यो । जनसंख्या एकाएक अकासियो । सहर कंक्रिटको जंगल 
बन्यो । सडक र सिमेन्टले नपुरेको भुइँ भेट्न गाह्रो भइसक्यो । विभिन्न संरचनामा परेको पानी पुनर्भरण हुन पाउँदैन ।

आकाशे पानीको भर 

सिधै सडक र नाली हुँदै खोलामा खस्छ । परिणाम : ढुंगेधारा र इनार सुक्दै गए । ट्युबवेलमा पानी आउन छाड्दै छ, ठाउँ सारीसारी गाड्नुपर्छ ।


उपत्यकामा अहिल्यै करिब आधा करोडको बसोबास छ । एक जनालाई दैनिक न्यूनतम सय लिटर खानेपानी लाग्छ । उपत्यकाभरका लागि करिब ५० करोड लिटर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बाँड्ने पानीले एक चौथाइ माग पनि धान्दैन । अरू आपूर्ति ट्यांकर र जारले पुर्‍याइरहेका छन्, जुन जमिनमुनिबाटै तानिन्छ ।


मेलम्ची आइसक्दा पनि उपत्यकालाई पानी अपुगै हुन्छ । त्यसमाथि जनसंख्या अकासिँदो छ । बेलैमा विकल्प नअपनाए भूमिगत पानीको दोहन जारी रहन्छ ।


जमिनमुनि पानीको सतह गहिरिँदै छ । विगत वर्षमा केयूकेएलका ट्युबवेलमा प्रतिमिनेट हजार लिटर पानी आउँथ्यो । अहिले घटेर प्रतिमिनेट ७ सय लिटर मात्रै आउँछ । योजना बनाएरै भूमिगत पानी दोहन नघटाए र पुनर्भरणमा जोड नदिए संकट आउन सक्छ ।

सामान्य प्रविधि र थोरै लगानीमा पुग्ने आकाशे पानी संकलन र पुनर्भरणमा प्रयोग सर्वोत्तम विकल्प हो । यसकै लागि काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नै घरमा आकाशे पानी संकलन प्रणाली जडान गरेर अभियान थालेका छन् ।


यो अभियान महानगरको कुनै व्यवस्थित परियोजना भने होइन । यसमा कुनै टोल तोकिएको छैन । निश्चित समयमा यति घरलाई सहभागी गराइनेछ भनेर उद्देश्य किटिएको छैन । भूमिगत पानीको सतह सन्तुलनका लागि आकाशे पानी संकलन गर्ने र जमिनमुनि पठाउने उसको लक्ष्य छ । जनचेतना अभियानमार्फत महानगरवासीलाई ऐच्छिक रूपमा सहभागी गराउने उसको चाहना छ ।

महानगरले प्रभावकारी ढंगले अभियान सञ्चालन गर्न सक्नुपर्छ । सहरवासीले यसमा साथ दिनुपर्छ ।


आकाशे पानी संकलन र पुनर्भरणले चौतर्फी फाइदा पुग्छ । पानी अभाव कम हुन्छ । ट्यांकर र जारको पानीमा लाग्ने पैसा बचत हुन्छ । सहरी व्यवस्थापन एवं प्राकृतिक सन्तुलनमा सघाउ पुग्छ । भूमिगत पानीको दोहन घट्छ, सतह भरिँदै आउँछ । छतको पानी सोझै सडकमा नछोडिएपछि थोरै भए पनि डुबान पनि घट्छ । पानीका ट्यांकर गुड्न कम हुन्छन् । ट्राफिक जामदेखि ध्वनि र वायु प्रदूषण नियन्त्रणसम्म केही न केही सघाउ पुग्छ ।


आकाशे पानी संकलनका लागि ठूलो प्रविधि चाहिँदैन । घरको छानामा परेको पानीलाई जस्ताको वा अन्य कुनै ढंगले खोल्सीजस्तो बनाएर पाइपमा हालिन्छ । उक्त पाइप लाइनबाट पहिलो पानी छान्ने ‘फार्स्ट फ्लस’ प्रक्रियामा लगिन्छ । यसले पानीको फोहोर हटाउँछ । त्यसपछि अर्को पाइपबाट बालुवा, गिट्टी आदिको ‘फिल्ट्रेसन सिस्टम’ हुँदै पानी भण्डारण गरिने ट्यांकीमा लगिन्छ ।


पानी पुनर्भरणका लागि छतको पानी सिधै सडकमा झर्नबाट रोक्नुपर्छ । सके इनारमा खसाल्नुपर्छ, नभए जमिनमा । यसो गर्दा पानी उसै बगेर खेर जाँदैन, पुनर्भरण हुन्छ ।


आकाशे पानी जुनसुकै काममा प्रयोगमा ल्याउन सकिन्छ । पानी उपयोग केमा गर्ने हो त्यसैअनुसार शुद्धीकरण प्रविधि जडान गर्नुपर्छ । उपत्यकामा मात्रै होइन, पानी संकट भएका अन्य गाउँ–सहरमा पनि यसलाई अपनाउन सकिन्छ । पानी संकट टार्न सघाउने यो जुक्ति स्थानीय सरकारहरूले घर–घरमा सिकाउनुपर्छ ।

प्रकाशित : भाद्र २, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?