कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

डिजिटल युगमा यौन हिंसा

कैलाश सत्यार्थी

अमेरिकाको बाल्टिमोरका एक २६ वर्षीय युवकलाई दुईजना १५ र १६ वर्षका बालिकाको खरिद–बिक्री गरेको र यौन व्यवसायमा संलग्न गराउन अनलाइनमा विज्ञापन गरेको आरोपमा अमेरिकी संघीय कानुन अनुसार दण्डित गरिएको छ । ती व्यक्ति १६ वर्षीय बालिका र अर्को एक महिलासँगै लजमा बसेका थिए ।

डिजिटल युगमा यौन हिंसा

उनले दुवैजनालाई यौन व्यवसायमा संलग्न गराउँथे र कुनै ग्राहक आएपछि मात्रै कोठाबाट बाहिरिन्थे । एकजना ग्राहकले उनलाई त्यहाँबाट उद्धार गरेर आफ्नो बहिनीसँग बस्नका लागि अर्कै सहर लिएर गएका थिए । ती बालिका यस अर्थमा भाग्यमानी थिइन् । किनभने विश्वभरमा १० लाखभन्दा बढी बालिका यौन दुर्व्यवहारको सिकार हुन्छन्, तर धेरैको उद्धार हुँदैन ।

विश्वभरमा मानव बेचबिखनबाट डेढ खर्ब डलर नाफा हुने देखिएको छ । जसको दुई तिहाइभन्दा बढी हिस्सा जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराए बापत प्राप्त हुन्छ । डिजिटल प्लेटफर्महरूको व्यापक बढोत्तरीले बालबालिका बेचबिखनलाई पनि बढाउँदै लैजाने देखिएको छ । यसलाई रोक्न विश्व समुदायले नै एक भएर यस विरुद्ध कदम चाल्न आवश्यक छ ।

आज लगभग विश्वका साढे ४ अर्ब मानिससँग इन्टरनेटको पहुँच र त्यसमा पनि तीनमध्ये एकजनाको उमेर १८ वर्षभन्दा कम छ । तसर्थ अनियन्त्रित अनलाइनको दुनियाँ यौनजन्य क्रियाकलापका लागि बालबालिकाको खरिद–बिक्री गर्ने सुरक्षित स्थान बनेको छ । मानव बेचबिखनको दलाली गर्नेहरूका लागि केवल एउटा ल्यापटप वा स्मार्टफोन तथा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध भए पुग्छ ।

दलालहरूले त्यसपछि सजिलै चलेका सामाजिक सञ्जालमार्फत बालबालिकासँग सम्पर्क स्थापित गर्न सक्छन् । सामाजिक सञ्जालमा एक्लोपन, तनाव वा पारिवारिक समस्या दर्शाउने बालबालिका सबैभन्दा बढी जोखिममा हुन्छन् । दलालहरूले कैयौं बालबालिकासँग इन्टरनेटकै माध्यमबाट सामिप्यता बढाउँछन् र झुठा वाचाहरूसहित तिनका तस्बिरहरू हात पार्छन् । यस्ता सामग्री हात पारेसँगै बालबालिकाहरू दलालहरूको चंगुलमा पर्छन् र यौन दासमा परिणत हुन्छन् ।

बालबालिकाको शरीर बेचबिखन गर्ने दलालहरूले यौनजन्य क्रियाकलापको विज्ञापन हुने वेबसाइटमा आफ्नो चंगुलमा परेकाहरूको विज्ञापन गर्छन् । तिनले अधिकांश अवस्थामा पीडितहरूलाई उनीहरू रहेकै स्थानमा बेचिन दबाब दिन्छन् । केही पीडितले आफ्नो घर, होस्टेल वा अन्य सुरक्षित स्थानबाट भिडियो लाइभ गरेर पनि यौनजन्य क्रियाकलापमा संलग्न हुन्छन् ।

त्यसको बदलामा यौन पिपासुहरूले क्रिप्टोकरेन्सीको माध्ययमबाट पैसाको भुक्तानी गर्छन् । दलालहरूले बालबालिकालाई आफ्नो चंगुलमा पार्न मोबाइलको बिल तिरिदिनेदेखि अनलाइन साइटहरूबाट उपहार खरिद गरेर पठाउने पनि गर्छन् । त्यसपछि उनीहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न हुनका लागि फकाउँदै लगिन्छ ।

अनलाइन बालबालिका बेचबिखन अहिले मौलाउँदै गरेको नयाँ संगठित अपराध हो । यसलाई नियन्त्रण गर्न बृहत कानुनी, राजनीतिक, सामाजिक र प्राविधिक प्रयास आवश्यक पर्छ । सुरुवातका लागि सबै देशले अनलाइन बालबालिका बेचबिखनलाई अपराध करार दिँदै त्यसलाई आफ्नो राष्ट्रिय अपराध संहिता ऐनमै समावेश गर्न जरुरी छ । यससँगै यो अपराधमा कुनै पनि प्रकारमा संलग्न विरुद्ध कडा सजायको व्यवस्था गर्नुपर्छ ।

यस विरुद्ध सबैलाई जागरुक बनाउन उत्तिकै अपरिहार्य छ, त्यो पनि खास गरेर विकासोन्मुख देशमा जहाँ अशिक्षा र गरिबी धेरै छ र बालबालिकाहरूले समयमै यौनशिक्षा प्राप्त गर्न सक्दैनन् । अभिभावकहरूले पनि आफ्नो बालबालिकाको क्रियाकलाप निगरानी गरेर उनीहरूको समस्या सुनिदिने वातावरण निर्माण गर्नुपर्छ ।

धर्मगुरुहरूले पनि आफ्ना अनुयायीहरूलाई यस समस्याबारे जानकार रहन प्रेरित गर्नु राम्रो हुन्छ । पुरुषार्थको सकारात्मक पक्षहरू प्रचार गर्दै, यथोचित परामर्श र राम्रो अभिभावकत्व प्रदान गर्न प्रोत्साहित गर्ने हो भने धेरै हदसम्म अनलाइनमा हुने बालबालिकाको शरीरको मोलतोललाई रोक्न सकिन्छ ।

नागरिक समाजले पनि शारीरिक तथा मनोवैज्ञानिक परामर्शका साथै पीडितहरूलाई सामाजिक सहयोग प्रदान गर्न सक्नुपर्छ । कानुनका रक्षकहरूलाई यस सम्बन्धी कानुन बनाउन र लागू गर्नका लागि घचघच्याउनुपर्छ । उनीहरूको पहरेदारीले इन्टरनेट प्रदायक संस्था, सरकार र सुरक्षा निकायलाई प्रविधिको विकास गर्न, कानुन बनाउन र लागू गर्न नैतिक दबाब सिर्जना हुन्छ ।

यो अपराध नियन्त्रण गर्न सामाजिक सञ्जालको भूमिका झनै महत्त्वपूर्ण छ । उनीहरूले १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्राइभेट च्याट रूपमा प्रवेशमै बन्देज लगाउन सक्छन् । साथै बालबालिकाको अश्लील सामग्री देखिने बित्तिकै तुरुन्तै हटाउने संयन्त्र विकास गर्न सक्छन् । अनलाइन पेमेन्टका लागि प्रयोग हुने कम्पनीले सुरक्षा संयन्त्रसँग सहकार्य गरेर कसले त्यस्तो वस्तु वा सामग्री अनलाइनमा खरिद गरिरहेको छ भनेर निगरानी बढाउन सक्छन् ।

सुरक्षा निकाय, निजी कम्पनी, नागरिक समाज, स्वास्थ्य संस्था, युवा सञ्जालहरू बीचको सहकार्यमा मात्रै बालबालिका मैत्री विश्वको निर्माण सम्भव छ । यो सोचले नै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई पनि हासिल गर्न मद्दत गर्छ ।

मैले व्यक्तिगत रूपमा विश्वका नेताहरूसँगको भेटमा बालबालिकामाथि अनलाइनका माध्यमबाट यौन दुर्व्यवहार सम्बोधन गर्न अन्तर्राष्ट्रिय कानुन बनाउनका लागि आग्रह गर्ने गरेको छु । बालबालिकामाथि अनलाइनका माध्यमबाट यौन दुर्व्यवहार विरुद्ध काम गरिरहेका हामी सबैले आफ्ना सकारात्मक अनुभवहरू साटासाट गरेर यसबाट बृहत कार्ययोजना निर्माण गर्न पनि जरुरी देख्छु ।

शताब्दीयौं लगाएर भएको विज्ञान तथा प्रविधिको विकासले नै स्वतन्त्र मानव समाज निर्माण भएको हो ।

अहिले भइरहेको डिजिटल विकासले पनि भविष्यमा प्राप्त हुने व्यक्तिगत स्वतन्त्रताको आशा जगाएको छ । यद्यपि दलाल तथा मान्छेलाई दास बनाएर नाफा कमाउन पल्केकाहरू त्यही प्रविधिको प्रयोग गरेर लाखौं निर्दोषलाई यौन हिंसाको सिकार बनाउन तल्लिन छन् । सबै पीडितहरू हाम्रा आफ्नै सन्तान हुन् र उनीहरूलाई जोगाउनु हाम्रो कर्तव्य हो ।

प्रोजेक्ट सिन्डिकेटबाट अनूदित ।

प्रकाशित : भाद्र २, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?