मोदीको कश्मीर कू

सीधा–सीधा
युग पाठक

कश्मीर एक ज्वलन्त अन्तर्राष्ट्रिय विम्ब हो । एउटा स्वायत्त राज्यका जनताको स्वतन्त्रताको लामो संकल्पको विम्ब । सत्तरी वर्षदेखि कठोर र घना सैनिकीकरणबीच टिकिरहेको एक भिन्नै जनसंग्रामको विम्ब । राजनीतिक बाचा र धोकाको विम्ब ।

जम्मु–कश्मीर र लद्दाखले भारतमा भोगिरहेको आन्तरिक उपनिवेशीकरणको दुर्दान्त पटाक्षेपलाई पन्छाएर अब दक्षिण एसियाको कुनै इतिहास लेख्न सकिँदैन ।

भारतको आन्तरिक मामिला मानेर कश्मीर प्रकरणलाई नजरअन्दाज गर्न मिल्दैन । जम्मु–कश्मीरमा मोदी सरकारले जे गर्‍यो त्यो लोकतान्त्रको आवरणमा गरिएको सैनिक कू नै हो । संसारकै सबैभन्दा घना सैनिकिकरण गरिएको क्षेत्र हो— जम्मु–कश्मीर ।

त्यसमाथि राष्ट्रपतिमार्फत शाही फर्मान जारी गराएर कश्मीरको विशेषाधिकार खोस्नुअघि नै त्यहाँ हजारौंको संख्यामा थप सैनिक पठाइएको थियो । कश्मीरको भविश्य निर्धारण गर्ने कठोर निर्णय भैरहँदा त्यहाँका जनतालाई घरघरमै बन्दी बनाइयो । टेलिफोन, मोबाइल, इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका सबै बन्द गरियो । भेला हुन र कुरा गर्नसम्म प्रतिबन्ध लगाइयो ।

इतिहासकार रामचन्द्र गुहाले कश्मीरलाई भारतीय इतिहासकै विशालतम कारागारमा परिणत गरिएको सटीक टिप्पणी गरेका छन् । प्रधानमन्त्री मोदीले दाबी गरेझैं, यदि धारा ३७० को खारेजी कश्मीरी जनताको ‘खुशहाली’ का लागि हो भने त्यहाँका जनतालाई उत्सव मनाउन किन नदिएको ? खाना र औषधीमा समेत पहुँच नदिने गरी जनतालाई किन कैद गरिएको ? कश्मीरी जनताको आवाज दबाएर उनकै हितमा निर्णय हुनसक्छ ? कथित मूलधारकै राजनीतिमा समाहित पूर्वमुख्यमन्त्रीहरू महबुबा मुती, फारुख अब्दुल्लाह र उमर अब्दुल्लाह एवम् दर्जनौं अधिकारकर्मीलाई जेलमा कोचेर गरिएको कर्म लोकतान्त्रिक कसरी हुनसक्छ ?

नेपालको आँखाबाट
कश्मीर भारतको निजी मामिला भएकोले नेपाल बोल्नु नपर्ने यहाँका केही विश्लेषक र अन्तर्राष्ट्रिय सम्बन्धविज्ञहरूको धारणा पढ्न पाइयो । यो इतिहासको न्यूनतम ज्ञानबाट च्युत विचार हो । अथवा, अन्तर्राष्ट्रिय सम्बन्धको मिति गुज्रिसकेको पाठ्यपुस्तकबाट उठाइएको बासी चिन्तन हो ।

स्पष्ट राजनीतिक करारका आधारमा कश्मीरले भारतीय संघको सदस्य बन्न स्वीकार गरेको थियो । त्यसैका आधारमा भारतीय संविधानको धारा ३७० मा कश्मीरको विशेषाधिकार निश्चित गरिएको थियो ।

त्यसो त हिन्दु अतिवादी अस्त्रमार्फत मोदीको उदयसँगै भारतमा स्वतन्त्र चिन्तक, पत्रकार, प्राध्यापक, लेखक, कलाकारहरूमाथि भैरहेको हत्या र आक्रमणको पनि उत्तिकै भर्त्सना गर्न जरुरी छ । मुसलमान, दलित लगायत अल्पसंख्यक समुदायमाथि भैरहेको चरम दमन पनि उत्तिकै अन्तर्राष्ट्रिय चासोको विषय हो ।

कश्मीर प्रकरण त करारनामाकै आधारमा अन्तर्राष्ट्रिय विषय हो । त्यसो हुँदैनथ्यो भने कश्मीरी जनताले कर्फ्युकै बीचमा गरिरहेको प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियाहरूमा आउनासाथ मोदी सरकार छटपटाउने थिएन ।

उता पाकिस्तान शुरुदेखि नै कश्मीर प्रकरणबाट चिढिएको छ । उसले भारतसँगको कुटनीतिक र आर्थिक सम्बन्ध बन्द मात्र गरेको छैन, यो मामिलामा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक डाक्न आग्रह पनि गरिसकेको छ । चीनले पनि नरम भाषामा कडा चासो व्यक्त गरिसकेको छ ।

कश्मीर विवादकै फेरोमा तीन पटक भारत–पाकिस्तान युद्ध भैसकेको छ । मोदीको ताजा कदम चौथो भारत–पाक युद्धको निम्तो हुनसक्दैन भन्न सकिन्न । भारतीय सेनामा थुप्रै नेपाली युवा भर्ती हुने गरेका छन् । गोर्खा बटालियनलाई नै भारतले पटकपटक युद्धको फ्रन्टलाइनमा पठाउने गरेको छ ।

कारगिल लगायत सबै युद्धमा भारतका निम्ति मरेर बाकसमा घर फर्किने नेपाली सिपाही उल्लेख्य संख्यामा थिए । अर्को क्षेत्रीय युद्धको सम्भावना क्षितिजमा स्पष्ट देखापर्दा कश्मीर प्रकरण नेपालको चासो नहुने प्रश्नै हुँदैन ।

के नेपाल आफ्नो चासो व्यक्त गर्ने हदसम्म पनि आत्मविश्वासी हुनसक्दैन ? भारतविरोधी राष्ट्रवादको भाष्य भजाएरै चुनाव जितेको भए पनि केपी ओली नेतृत्वको सरकारसँग यस्तो आत्मविश्वास छैन । कटु सत्य के हो भने भारतसँगको हाम्रो परनिर्भरता डरलाग्दो हदमा छ ।

भारतमा आउने कुनै पनि राजनीतिक र आर्थिक संकटको प्रभावमा नेपालमा सीधासीधा पर्छ । नोटबन्दीको प्रभाव पनि त्यसै गरी परेको थियो । अझैसम्म नेपालमा जम्मा भएर बसेको करोडौं मूल्यको भारतीय नोट साट्न भारत तयार भएको छैन ।

१९५० को असमान सन्धिले नेपालको व्यापार तथा सैनिक गतिविधिलाई भारतको प्रत्यक्ष चासोको विषय बनाइदिएको छ । झोक चलेका बेला बाहेक यो सन्धी खारेज गर्ने गफ सत्ताधारीहरू अरु बेला गर्दैनन् । भारतीय मुद्रासँग नेपाली मुद्रा ‘पेग’ गरिएको छ ।

यसैकारण नेपाली र भारतीय मुद्राको सटही दर स्थिर छ र अन्तर्राष्ट्रिय मुद्राबजारको दबाब नेपाली मुद्राले झेल्नु परेको छैन । साथसाथै नेपाली मुद्रा भारतीय मुद्रामा परनिर्भर पनि छ । परनिर्भरताको यो चक्रव्यूहमा बाँच्नु आफैमा जोखिमपूर्ण छ । तर इतिहासदेखि नै नेपालका शासकमा यो परनिर्भरतामाथि हस्तक्षेप गर्ने कुनै इच्छाशक्ति देखिएको छैन ।

त्यसैले कश्मीर प्रकरणको प्रभाव पनि भारतमा मात्र सीमित रहनेछैन । दक्षिण एसियामै यसको जटिल प्रभाव देखिन थालिसकेको छ । नेपाल त झन् सरसामान र खाना–दानाको मात्र होइन, भारतीय संकटको पनि उपभोक्ता हो । भारतसँगको सम्बन्धलाई विशद अध्ययनको विषय बनाउने मात्र होइन, स्पष्ट नीतिनिर्माण र आन्तरिक शक्तिको प्रतिष्ठामार्फत यो सम्बन्धमा दोहोरो प्रवाह निर्माण गर्न जरुरी भैसकेको छ ।

हिन्दु अतिवादको दबाब
मोदीको हिन्दु अतिवाद कश्मीर प्रकरणको मूख्य कारक हो । त्यसो त कश्मीरमाथिको अतिक्रमण जवाहरलाल नेहरूकै पालादेखि शुरु भैसकेको थियो । सन् १९५३ मा कश्मीरका निर्वाचित मूख्यमन्त्री शेख अब्दुल्लाहलाई अपदस्थ गरेर जेल हालिएको थियो ।

पाँच वर्षसम्म उनलाई बिनाकुनै आरोप जेलमा सडाइयो । १९५८ मा थोरै समयका लागि जेलमुक्त गरेर फेरि पाँच वर्षका लागि जेल हालियो । पछिल्लो पटक उनलाई पाकिस्तानी एजेन्ट भएको अमूर्त आरोपमा मुद्दा चलाइयो । नेहरूपछि इन्दिरा गान्धीले पनि उनलाई जेल हालिन् ।
कश्मीरी जनताले भारतलाई विश्वास गर्न नसक्नुका ऐतिहासिक कारण छन् । अझ स्वतन्त्र रहने वा भारतमा मिसिने भन्ने निर्णय गर्ने अधिकार जनमत संग्रहमार्फत कश्मीरी जनतालाई दिने नेहरूको बाचा पनि भारतले कहिल्यै पूरा गरेन ।

अहिले दोस्रो कार्यकालका लागि चुनाव जितेसँगै मोदीले आफ्नो हिन्दु अतिवादी विचारधारालाई कश्मीर खाने वैचारिक औजार बनाए । यो निकै खतरनाक औजार हो । कश्मीर अतिक्रमणसँगै हिन्दु अतिवादले भारतमा विजयोत्सव मनाएको छ । र, यो खतरनाक औजारलाई नेपालका हिन्दु राजावादीहरूले समेत प्रयोग गर्न खोजेका छन् ।

स्थिर र बलियो सरकार हुँदाहुँदै पनि ओलीको समृद्धि मिसन फेल हुनु राजावादीहरूका लागि माछा मार्ने धमिलो पानी भएको छ । त्यसो त ओली स्वयम् गणतन्त्रवादी होइनन् । गणतन्त्रको पहिलो गाँसमै लागेको ढुंगो हो ओलीको उदय । त्यसैले उनको असफल दुईवर्षे शासनले नै राजावादीहरूलाई टाउको उठाउने राजनीतिक स्पेस दिएको हो ।

जे होस्, राजावादीहरूको यो सपनालाई राजदरबारकै घेराभित्र भएको दरबार हत्याकाण्डले दुई दशकअगाडि नै चकनाचुर पारिसकेको छ । तर राजतन्त्रका नाममा हिन्दु अतिवादी राजनीति संगठित गर्ने वैचारिक औजार मोदीको भारतबाट चुहिएर यता छिरिरहेको तथ्य नकार्न सकिन्न ।

नेपालका हिन्दुवादीहरू राजतन्त्रलाई छाता बनाउन खोज्छन् । तर यो छाताले मोदीको हिन्दुवादी हुँकारले जस्तो दरिलो ओत दिँदैन । कश्मीर प्रकरणलाई यहाँका हिन्दुवादीले स्वाभाविक ठान्नु त्यसैले स्वाभाविकै हो । यद्यपि मोदीको हिन्दुवादी अहंकारले इतिहासदेखि नै नेपालको राजतन्त्रलाई हिन्दू प्रतिष्ठानका रूपमा महिमामण्डन गरिआएको तथ्य पनि छ, अहिले आफ्नै संकटबाट निस्केर उनले यहाँका हिन्दुवादीलाई प्रत्यक्ष पुठ देलान् भन्ने ठानिहाल्नुपर्दैन ।

कश्मीर कूले मोदीको अति हिन्दुवादलाई अनुहारमा बलियो बनाए पनि आत्मामा कमजोर तुल्याउनेछ । यो परिणाम हेर्न धेरै दिन कुर्नुपर्दैन । कर्फ्यु खुकुलो हुनासाथ कश्मीरी जनताले जवाफ दिनेछन् । दुर्भाग्यवश, त्यहाँ रक्तपात भयो भने आङ सान सुकीको नियति मोदीले भोग्नुपर्नेछ । कश्मीर कू मोदीको राजनीतिक यात्रामा एउटा खतरनाक मोड साबित भैसकेको छ ।

yugnew@gmail.com

प्रकाशित : भाद्र १, २०७६ ०८:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विद्यालयमा आकस्मिक छुट्टी

तारा दाहाल

राजधानीमा केही समययता विद्यालयहरू आकस्मिक रूपमा बन्द हुने गरेका छन् । कारण खोज्दा सुनिन्छ, ‘नेपाल बन्द रे !’ लाखौं विद्यार्थीको पठन–पाठन ठप्प गराउने विद्यालय आफै हुन् वा अरु कोही ? असुरक्षा भए सुरक्षा निकाय, सरकारी निकाय किन बोल्दैनन् ? 

आफ्ना छोराछोरीको विद्यालय अपर्झट बन्द हुँदा धेरैले यस्तै प्रश्न गर्दा होलान् । मेरो चिन्ताचाहिँं अलि फरक छ । विद्यालय बन्दको दिन केटाकेटीका लागि कसरी समय दिने ? राजधानीमा बस्ने जोकोही गृहिणीका लागि सुर्ताको विषय हो यो ।

गृहिणीलाई ‘होममेकर’,‘फ्यामिली म्यानेजर’ भनेर नयाँ/विकासे नाम दिए पनि काम उही हुन्– खाजा–खाना बनाउनु, भाँडा माझ्नु, घर र बालबच्चाको सरसफाइ गर्नु । गृहिणी भएकामा हीनताबोध गरेको होइन यो । कतिपय गृहिणी जागिरे छन्, कति लेखन र गीत–संगीतमा व्यस्त छन् । व्यावहारिक हिसाबले घरायसी कार्यमा व्यस्त रहनुपर्ने, अझ साना केटाकेटीको स्याहारमा खट्नुपर्ने आमाको भूमिका यतिखेर चुनौतीपूर्ण बन्दै गएको छ । केटाकेटी हुर्काउनु पहिलेको जस्तो सहज पक्कै छैन । परिवेश पूरै फेरिएको छ ।

काठमाडौंमा डेरा गरी बस्नेको परिवारमा बढीमा चारजना हुन्छन्— बाबु, आमा र दुई छोराछोरी । बाबु कार्यालय । आमा उही घरेलु काममा । त्यसमाथि एक्कासी विद्यालय बन्द भइदिंँदा गृहिणीलाई झन्झटिलो हुने नै भयो । केटाकेटी फकाउन–फुल्याउन मोबाइल दिए पनि कति समयसम्म दिने ? छुट्टीको दिन उनीहरूको प्राथमिकतामा नयाँ ठाउँ घुम्ने, साथीसँग खेल्ने, मिठो खाने नै पर्छ । यो सही पनि हो । हामी पनि सानो हुँदा त्यसै गर्थ्यौं ।

तर अचानक विद्यालय बन्द हुँदा दैनिक घरेलु कार्यतालिकामा निकै असर पर्छ र केटाकेटीको उचित स्याहार हुन पाउँदैन । अघिपछि खाना–खाजासम्म छोडेर घन्टौं मोबाइलमा झुन्डिन मनपराउने केटाकेटीले आकस्मिक बिदामा झन् गतिलो निहुँ पाउँछन् । मोबाइलमा टाँसिएर आमालाई हैरान बनाउँछन् । मोबाइलमा लामो समय बिताउँदा उमेर अनुसार नराम्रा बानीको विकास हुने र पछि कुलत बन्दा छोराछोरीको भविष्य नै बरबाद हुने ठूलो डर । गाली सधैं समस्याको समाधान होइन ।

बालबाबालिकाको यस्तो बानी हटाउने/घटाउने उपायबारे विद्यालयमा सोध्दा शिक्षकहरू यसमा अभिभावककै भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । कोही शिक्षक सुझाउँछन्— आकस्मिक बिदाका दिन बाबुआमा पनि बच्चासँगै खेल्ने । सहरी डेरावाल परिवारलाई यो सल्लाह काम लाग्ला ? धनी, स्वस्थ र फुर्सदिला र घरमै प्रशस्त ठाउँ भएका बाबुआमालाई मात्रै काम लाग्ला यस्तो सुझाव ।

छोराछोरी हुर्काउन तुलनात्मक रूपमा गाउँमा निकै सजिलो छ । उनीहरूको बिदाको पनि खासै चिन्ता लिनु पर्दैन । परिवारका अन्य सदस्य र छरछिमेकीले पनि हेरचाह गरिहाल्छन् । आफ्नै प्रयासले केटाकेटीको सामाजिकीकरण हुँदै जान्छ । त्यहाँ मुख्य चिन्ता लिने कुरो पढाइको हो । तर पढाइको नाममा, आफूभन्दा छोराछोरी राम्रो पढुन्, जान्नेसुन्ने होऊन् भनेर गाउँ छोडी सहर पस्ने लाखौं परिवारको दुःख कम छैन । सहरी डेरावाल परिवारमा विद्यालय छुट्टी व्यवस्थापन नै अति कष्टकर हुँदै गएको छ ।

काठमाडौं जस्तो सहरमा न खुला चौर छ, न टाढाको खुला ठाउँमा केटाकेटी एक्लै छोड्न सकिन्छ । सहर त आखिर डरैडर न हो ! त्यही डरले पनि सहरमा केटाकेटीलाई ‘गर’ भन्दा ‘नगर’ धेरै भन्नुपर्छ । उनीहरू त्यसै पनि कुण्ठित हुने नै भए । केटाकेटी खेलाउने खुला ठाउँ उपलब्ध भए विद्यालय आकस्मिक छुट्टी भएका बेला ढुक्कले समय राम्ररी बित्न सक्थ्यो ।

काठमाडौंमा व्यक्ति, पद, परिवार, आर्थिक स्थिति अनुसार सबैको धेरथोर समस्या होलान् । तर यहाँका गृहिणीका लागि विद्यालय आकस्मिक रूपमा बन्द हुनु नै ठूलो पिरलो बन्ने गरेको छ । केटाकेटीको भविष्यसँग पनि उत्तिकै जोडिएको विषय हो । तर पत्रपत्रिका, रेडियो, टिभीमा किन यस्ता ‘साना’ समाचारले ठाउँ पाउने भए पो !

हरेक घरको भर र आधार गृहिणी हुन् । गृहिणीका समस्या घरका पनि समस्या हुन् । त्यसैले गृहिणीका कुरा, आम बुझाइमा रहेजस्तो, व्यक्तिगत र झिनामसिना पक्कै होइनन् । खान र नानादेखि बालबच्चा हुर्काइ–पढाइसम्ममा मात्र होइन, समग्र परिवारको व्यवस्थापनमा गृहिणीको भूमिका अहम् छ । तर बुझिदिने कसले ?

प्रकाशित : भाद्र १, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT