कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विद्यालयमा आकस्मिक छुट्टी

तारा दाहाल

राजधानीमा केही समययता विद्यालयहरू आकस्मिक रूपमा बन्द हुने गरेका छन् । कारण खोज्दा सुनिन्छ, ‘नेपाल बन्द रे !’ लाखौं विद्यार्थीको पठन–पाठन ठप्प गराउने विद्यालय आफै हुन् वा अरु कोही ? असुरक्षा भए सुरक्षा निकाय, सरकारी निकाय किन बोल्दैनन् ? 

आफ्ना छोराछोरीको विद्यालय अपर्झट बन्द हुँदा धेरैले यस्तै प्रश्न गर्दा होलान् । मेरो चिन्ताचाहिँं अलि फरक छ । विद्यालय बन्दको दिन केटाकेटीका लागि कसरी समय दिने ? राजधानीमा बस्ने जोकोही गृहिणीका लागि सुर्ताको विषय हो यो ।


गृहिणीलाई ‘होममेकर’, ‘फ्यामिली म्यानेजर’ भनेर नयाँ/विकासे नाम दिए पनि काम उही हुन्– खाजा–खाना बनाउनु, भाँडा माझ्नु, घर र बालबच्चाको सरसफाइ गर्नु । गृहिणी भएकामा हीनताबोध गरेको होइन यो । कतिपय गृहिणी जागिरे छन्, कति लेखन र गीत–संगीतमा व्यस्त छन् । व्यावहारिक हिसाबले घरायसी कार्यमा व्यस्त रहनुपर्ने, अझ साना केटाकेटीको स्याहारमा खट्नुपर्ने आमाको भूमिका यतिखेर चुनौतीपूर्ण बन्दै गएको छ । केटाकेटी हुर्काउनु पहिलेको जस्तो सहज पक्कै छैन । परिवेश पूरै फेरिएको छ ।


काठमाडौंमा डेरा गरी बस्नेको परिवारमा बढीमा चारजना हुन्छन्— बाबु, आमा र दुई छोराछोरी । बाबु कार्यालय । आमा उही घरेलु काममा । त्यसमाथि एक्कासी विद्यालय बन्द भइदिंँदा गृहिणीलाई झन्झटिलो हुने नै भयो । केटाकेटी फकाउन–फुल्याउन मोबाइल दिए पनि कति समयसम्म दिने ? छुट्टीको दिन उनीहरूको प्राथमिकतामा नयाँ ठाउँ घुम्ने, साथीसँग खेल्ने, मिठो खाने नै पर्छ । यो सही पनि हो । हामी पनि सानो हुँदा त्यसै गर्थ्यौं ।


तर अचानक विद्यालय बन्द हुँदा दैनिक घरेलु कार्यतालिकामा निकै असर पर्छ र केटाकेटीको उचित स्याहार हुन पाउँदैन । अघिपछि खाना–खाजासम्म छोडेर घन्टौं मोबाइलमा झुन्डिन मनपराउने केटाकेटीले आकस्मिक बिदामा झन् गतिलो निहुँ पाउँछन् । मोबाइलमा टाँसिएर आमालाई हैरान बनाउँछन् । मोबाइलमा लामो समय बिताउँदा उमेर अनुसार नराम्रा बानीको विकास हुने र पछि कुलत बन्दा छोराछोरीको भविष्य नै बरबाद हुने ठूलो डर । गाली सधैं समस्याको समाधान होइन ।


बालबाबालिकाको यस्तो बानी हटाउने/घटाउने उपायबारे विद्यालयमा सोध्दा शिक्षकहरू यसमा अभिभावककै भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । कोही शिक्षक सुझाउँछन्— आकस्मिक बिदाका दिन बाबुआमा पनि बच्चासँगै खेल्ने । सहरी डेरावाल परिवारलाई यो सल्लाह काम लाग्ला ? धनी, स्वस्थ र फुर्सदिला र घरमै प्रशस्त ठाउँ भएका बाबुआमालाई मात्रै काम लाग्ला यस्तो सुझाव ।


छोराछोरी हुर्काउन तुलनात्मक रूपमा गाउँमा निकै सजिलो छ । उनीहरूको बिदाको पनि खासै चिन्ता लिनु पर्दैन । परिवारका अन्य सदस्य र छरछिमेकीले पनि हेरचाह गरिहाल्छन् । आफ्नै प्रयासले केटाकेटीको सामाजिकीकरण हुँदै जान्छ । त्यहाँ मुख्य चिन्ता लिने कुरो पढाइको हो । तर पढाइको नाममा, आफूभन्दा छोराछोरी राम्रो पढुन्, जान्नेसुन्ने होऊन् भनेर गाउँ छोडी सहर पस्ने लाखौं परिवारको दुःख कम छैन । सहरी डेरावाल परिवारमा विद्यालय छुट्टी व्यवस्थापन नै अति कष्टकर हुँदै गएको छ ।


काठमाडौं जस्तो सहरमा न खुला चौर छ, न टाढाको खुला ठाउँमा केटाकेटी एक्लै छोड्न सकिन्छ । सहर त आखिर डरैडर न हो ! त्यही डरले पनि सहरमा केटाकेटीलाई ‘गर’ भन्दा ‘नगर’ धेरै भन्नुपर्छ । उनीहरू त्यसै पनि कुण्ठित हुने नै भए । केटाकेटी खेलाउने खुला ठाउँ उपलब्ध भए विद्यालय आकस्मिक छुट्टी भएका बेला ढुक्कले समय राम्ररी बित्न सक्थ्यो ।


काठमाडौंमा व्यक्ति, पद, परिवार, आर्थिक स्थिति अनुसार सबैको धेरथोर समस्या होलान् । तर यहाँका गृहिणीका लागि विद्यालय आकस्मिक रूपमा बन्द हुनु नै ठूलो पिरलो बन्ने गरेको छ । केटाकेटीको भविष्यसँग पनि उत्तिकै जोडिएको विषय हो । तर पत्रपत्रिका, रेडियो, टिभीमा किन यस्ता ‘साना’ समाचारले ठाउँ पाउने भए पो !


हरेक घरको भर र आधार गृहिणी हुन् । गृहिणीका समस्या घरका पनि समस्या हुन् । त्यसैले गृहिणीका कुरा, आम बुझाइमा रहेजस्तो, व्यक्तिगत र झिनामसिना पक्कै होइनन् । खान र नानादेखि बालबच्चा हुर्काइ–पढाइसम्ममा मात्र होइन, समग्र परिवारको व्यवस्थापनमा गृहिणीको भूमिका अहम् छ । तर बुझिदिने कसले ?

प्रकाशित : भाद्र १, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?