२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

असर्फी फूलको आतंक

हुलाकी
उज्ज्वल प्रसाईं

यो नौगाम गाउँको कथा हो । गाउँ सन्त्रस्त छ, आकाशमा आतंकको छाया टाँगिएको छ । रात भनौँ वा दिन, भयग्रस्त गाउँलेका जीवनमा अँध्यारो मात्रै छ । गोली र बमको आवाज बाहेक अरु जीवन्त स्पन्दन कसैले महसुस गर्दैन यहाँ । विस्तारै एकपछि अर्को गर्दै गाउँलेहरू पुर्ख्यौली थातथलो छोडेर अन्यत्र हिँड्न थाल्छन् ।

असर्फी फूलको आतंक

अरुले छोडेर गए पनि गाउँका मुखियाले नौगाम छोड्दैनन् । उनका १९ वर्षीय छोरा बाबुसँगै बसिरहन्छन् । छोराका चार साथी हुन्छन् । चारमध्ये तीनजना राज्यको थिति बदल्ने कसम खाँदै विद्रोही बन्न कतै अलप हुन्छन् । बाँकी रहेका एक तन्नेरीलाई सेनाले आफ्नो कामदार बनाउँछ ।


‘आतंकवादी’ सिध्याउने योजनामा क्याम्प खडा गरेर बसेको सेनाले खासमा स्वयं गाउँलाई आतंकवादको किल्ला देखेको हुन्छ । तल खोँचमा यत्रतत्र छरिएका ‘आतंकवादी’का लासबाट परिचयपत्र एवं उनीहरूसँग भएका हतियार बटुलेर ल्याउने जिम्मा ती तन्नेरीको हुन्छ । प्रत्येक पटक लास छरिएको ठाउँमा पुग्दा आफ्ना तीन साथी भेटिएलान् भन्ने भयले ऊ लुगलुग काम्छ । लासहरू सड्न थालेका ठाउँमा फुलेका पहेँला असर्फी फूल हेर्दै ऊ परिचयपत्र र हतियार बोकेर क्याम्प फर्किन्छ ।


नौगाम जस्तै अर्को गाउँ हो— बाचुरा । एकातिर बस्ती छ, अर्कातिर सेनाको क्याम्प । त्यसबीच तरेली परेका डाँडा छन् । डाँडामा बदामका रुख छन् । प्रत्येक बिहान सेनाको एउटा टुकडीले बदामका रुख भएका डाँडामा छलिएर बन्दुक पड्काउने अभ्यास गर्छ । कृत्रिम निसाना बनाएर सयौँपटक गोली चलाउँछ । तामाका ती गोलीका खोका फायरिङ रेन्ज भएको डाँडाभन्दा तल उछिटिन्छन् ।


कहिलेकाहीँ सेनाले ग्रिनेड लन्चरजस्ता हतियारको अभ्यास पनि गर्छ । त्यस्तो बेला थोत्रा बस र जिपलाई सैनिकहरूले कृत्रिम निसानाका रूपमा प्रयोग गर्छन् । ग्रिनेड लन्चरको निसानामा परेका यी पत्रुका पुर्जा फुत्केर गोलीका खोकाजसरी नै तल खोँचतिर पुग्छन् ।


प्रत्येक दिन बन्दुक पड्केको आवाज बन्द भएपछि वा अभ्यास सकिएको संकेत पाएपछि गाउँका एक हुल केटाकेटी गोलीका खोका र पत्रुका पुर्जा बटुल्न फायरिङ रेञ्जको पुछारतिर दौडिन्छन् । फेला परेका पित्तलका खोका थुपार्दै जान्छन् । कबाडी फेला परेका दिनलाई उनीहरू ‘बडा दिन’ मान्छन् । महिनाभरि थुपारेका पित्तलका खोका नजिकैको भाँडा बनाउने कारखानामा बेच्छन् ।


कश्मीरी लेखक मिर्जा वाहिदले सन् २०११ मा प्रकाशित आफ्नो पहिलो उपन्यास ‘द कोल्याबोरेटर’मा नौगामको कथा लेखेका छन् । खासमा उनले गाउँको होइन, ती १९ वर्षे तन्नेरीको कथा लेखेका हुन् । यी तन्नेरीले उपन्यासभरि आफूले ९० को दशकमा भोगेको नौगामको कथा सम्झेका छन् । एक्लो र परित्यक्त मानिसले आफ्ना विगत ओल्टाई–पल्टाई गरेर समय कटनी गरेको भाकामा यो कथा भनिएको छ ।


एउटा कार्यक्रमका बेला कश्मीरी पाठकको उपस्थितिमा मिर्जा वाहिदले आफ्नो उपन्यास अंश पढ्दा एक पाठकले गला अवरुद्ध पारेर थप कथा नपढ्न उनलाई आग्रह गरेका थिए । सम्भवतः वाहिदको कथामा ती पाठकले आफैले भोगेको वा प्रत्यक्ष देखेको त्रासदीपूर्ण समय सम्झिए ।


हुनसक्छ, बिर्सिन खोजेका ती कहर थप सुन्ने हिम्मत उनमा रहेन । अर्थात् वाहिदले कल्पनाका स–साना पुतली जडेर लेखेको उपन्यास असलमा सधैँ शोकमग्न रहने कश्मीरको दुरुस्त चित्र हो ।


अप्रिल २०१८ को ‘क्याराभान’ म्यागेजिनमा कश्मीरी पत्रकार जुबैर सोफीले बाचुराका ती केटाकेटीका खबर लेखेका थिए, जो गोलीका खोका बटुल्ने उद्यममा लागेका छन् । तिनले खोका बटुल्ने र भाग लगाउने उद्यमलाई संगठित ढंगले सञ्चालन गरेका छन् ।


फेला परेका गोलीमा लुछाचुँडी नहोस् भन्न त्यहाँ जाने सबैले मान्नैपर्ने केही नियम बनाएका छन् । माथि डाँडाबाट सेनाको दृष्टि नपरोस् र कुनै शंका नहोस् भनेर उनीहरूले सतर्कता अपनाउने उपाय पनि तय गरेका छन् । धेरै थुपार्न सक्नेले एकै पटकमा चौध हजार रुपैयाँसम्म हात पार्छन् ।


कुनै पनि बेला आफैमाथि तेर्सिन सक्ने ती अभ्यासरत बन्दुकले फालेका खोकालाई उनीहरू आम्दानीको स्रोत बनाउँछन् । खतरा मोलेर गरेको त्यो आम्दानी हेर्दै मुस्कुराउँछन् । तिनले बटुलेका गोलीका ती टुक्रा गालेर चिया उमाल्ने कित्ली र पानी खाने अम्खोरा बनाइन्छन् ।


नौगाम यथार्थसँग दुरुस्त मिल्ने पाकिस्तानको सीमामा रहेको कश्मीरी गाउँको नाम हो । काल्पनीक जस्तो प्रतीत हुने बाचुरा कहिलेकाहीँ समाचार सामग्री बन्ने जब्बर कश्मीरी यथार्थको अर्को नाम हो । नौगाम र बाचुराजस्ता गाउँले प्रतिनिधित्व गर्ने दुःखको समष्टि नै कश्मीर हो । जति एक्लो र परित्यक्त छ, त्यो नौगामको तन्नेरी, त्यति नै एक्लो र परित्यक्त छ, कश्मीर ।


आफ्नै लासमाथि फुलेको पहेँलो फूल हेरेर जीवनको अनुभूति गरिरहेको त्यो तन्नेरीको कथाभन्दा भिन्न छैन, जन्नत भनिने कश्मीरको कथा । मानौँ यति दुखिया र परित्यक्त बनाएर पुगेन, कश्मीरले भ्रम बराबर पाएको स्वायत्तता र विशेषाधिकार पनि धारा ३७० सँगै उखेलेर मिल्काइएको छ ।


त्यसका लागि भारतीय सत्ताले अहिले सिंगो कश्मीरलाई कारागारमा परिणत गरेको छ । अनाहकमा बन्दी बनाइएका कश्मीरीलाई बुढीऔँलो देखाएर गिज्याइरहेछन्, राष्ट्रवादीहरू । बन्धक कश्मीरी गिज्याउनेमा भारतका मात्र होइन, अन्यत्रका राष्ट्रवादीहरूसमेत लाम लागेका छन् ।


‘द कोल्याबोरेटर’ पछि वाहिदले अरु दुई उपन्यास लेखिसकेका छन् । पछिल्लो उपन्यासमा केही फरक विषयवस्तु उठाएका उनले दोस्रो उपन्यासमा कश्मीरी युवाका कथा दोहोर्‍याएका छन् । स्वतन्त्रताको आकांक्षाले ती युवालाई आफ्नो एकबारको जुनीमा कति भयानक खतरा मोल्ने मोडमा पुर्‍याउँछ भन्ने बुझ्न उनको ‘द बुक अफ गोल्ड लिभ्स’ले सहयोग गर्छ ।


उर्दु भाषाका सम्मानित कवि फैज अहमद फैजको झल्को दिने यस उपन्यासको पात्र फैज कागजका सुन्दर सामग्री बनाउने कलाकार हुन्छ । कला र सौन्दर्यको उपासक यो प्रेमी युवाका खिरिला औँला अन्ततः बन्दुक समाउन र बम बनाउन उद्यत हुन खोज्छन् ।


भूराजनीतिक पाण्डित्याइँमा संवेदनाको कति महत्त्व हुन्छ, थाहा छैन । उपन्यासमा वर्णित यथार्थको कति हिसाब गरिन्छ, भन्न सक्दिन । तर त्यस्तो पाण्डित्याइँमा प्रस्ट देख्न सकिने भनेको राष्ट्रवादको नाममा व्यक्त गरिने ‘अन्य घृणा’ हो । किञ्चित् छद्म भाषामा भूराजनीति छाँटिएको रहेछ भने भौगोलिक अखण्डताको गीतमा उही ‘अन्य घृणा’को अन्तरा लुकेको हुन्छ । स्वतन्त्रता र स्वायत्तताको आकांक्षा राख्ने फैजहरूप्रतिको घृणा हो त्यो ।


गोलीका खोका बटुल्ने ती साना केटाकेटीप्रतिको वैरभाव हो त्यो । नेपाली सत्तावृत्तका भूराजनीतिक पण्डितहरूले कश्मीरबारे लेख्ने र बोल्ने बेलामा अखण्डताकै गीत गाए, बाचुरा र नौगाम सम्झने लेठो गरेनन् । बरु एकातिर मधेसी प्रतिरोधको छायाले तर्संदै, अर्कातिर हिन्दु–राष्ट्रवादको फेरो समाउँदै उनीहरूले फैजजस्ता पात्रप्रति घृणा नै प्रस्तुत गरे ।

सत्ताको सुमेरु घुमिरहेका अन्तर्राष्ट्रिय सम्बन्धका नेपाली बुझक्कडले सके मिर्जा वाहिदलाई लेखक नै मान्दैनन् ।


सके जुबैर सोफीको खबरलाई कुनै महत्त्वको खबरै ठान्दैनन् । उनीहरूका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साहस र गृहमन्त्री अमित शाहको चतुर्‍याइँ सबैभन्दा ठूलो महत्त्वको विषय हो । तिनका पाण्डित्याइँ सुन्दा लाग्छ, हाम्रा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलले समेत उस्तै साहस प्रदर्शन गरून् भन्ने ती चाहन्छन् ।


राष्ट्रवादको उस्तै गीत गाऊन् र समृद्धि वा अखण्डताको नाममा ‘अन्य घृणा’को त्यही खेती यहाँ पनि दोहोर्‍याऊन् भन्ने आकांक्षा राख्छन् । कारण, लासमा फुलेका पहेँला फूललाई असली असर्फी सम्झेर यी मनमनै रमाउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?