कम्युनिस्ट ट्रमा सेन्टर

फूलको बोटमा पानी नहाल्नेले ‘म फूल प्रेमी हुँ’ भन्छ भने त्यो पाखण्डी हो ।– एरिक्स हक्स फम
निभा शाह

“हजुर, म बाँदीकी हुडुल्ली न हुम् ! हाम्रो रखवालो को नै हुन्छ र ? कोही हुँदैन । हामी छडुवा गोरु जस्ता हौँ । म सानै हुडुल्ली थिञा । सात–आठ बर्खकी हुना हुम् । एक जना ब्वाँसाले भाङको गरामा लगेर बलात्कार गरे । ती ब्वाँसाले बलात्कारपछि भने— कसैलाई भनिस् कि तेरी आमा मारिदिन्छु ।

कम्युनिस्ट ट्रमा सेन्टर

आमा मारिदिने डरले हो वा बलात्कृत घटना कसैलाई भन्न हुँदैन भन्ने घर–समाजको भयाउन्याले हो, थाहा नाइँ, आफै बलात्कृत हुनुको व्यथा कसैलाई भनिनँ । त्यसपछि अलिक ठूली भएँ । त्यही चौध–पन्ध्र बर्खकी हुना हुम् । मेरो देहको खरिद–बिक्रीको लागि टेन्डर लाग्यो । टेन्डरमा एक जना महाजनले बढी पैसा दिए । उनैले मेरो नथनी उतारे । तिनै नथनी–उतारुसँग केही वर्ष भारतको लखनउमा रखौटी भएर बसें । त्यही समयमा तिनै नथनी–उतारुले मलाई चालै नदिई मेरो गर्भाशयलाई बाँझो बनाइदिए । तिनै बँधिया बनाइदिएका मालिकले अठार–उन्नाइस वर्षकी हुना हुम्, ‘काली पातर, तँ बूढी भइस्’ भनेर छोडी त गए !”


यति भनेपछि उनी धरधरी रुन्थिन् । उनी रुँदै गर्दा केही कुजात मान्छेहरूले भन्थे, ‘ए नचनिया काली पातर, नाच् त नाच् ।’ काली पातर भन्थिन्, ‘दुःख बिसाइहालुम् हजुर, यो छातीभित्र दुःखबिसाइ भएको छैन । दुःख उम्लँदो छ ।’ यसो भन्दै केही बेर सुस्ताउँथिन् र फेरि नाच्न थाल्थिन् । अनि गाउँबाट दुईचार माना चामल बटुलेर पातर टोल जान्थिन् । यी काली पातरको जीवनभोगाइ मैले आफू सानो छँदा कैलालीमा धेरै पटक सुनेकी थिएँ, उनकै जुबानी । यी ‘पातर’ हरू बैंस छउन्जेल बैंस बेच्थे, बूढी भएपछि गाउँ पसी मागी खान्थे ।


अचेल गम्छु— म त्यति बेला अलिअलि ठूली भएकी भए, जीवन बुझ्ने भएकी भए, सोध्थेँ होला, ‘काली पातर, जीवन के हो ?’ काली पातर भन्दी हुन्, ‘मैसाब, जीवन भनेको कन्डम हो । प्रयोग गर्‍यो, मिल्कायो । प्रयोग गरी फाल्या कन्डमभन्दा बेसी के नै हो र म काली पातरको जीवन ! काली पातरलाई दिलमा बिसाउने को नै हुन्छ र ? मैसाब, जीवन दोसरी हुँदैन, एकसरी हो, एकसरी । यही दोसरी नहुन्या जीवनलाई छिनार–छिनरा (थारू भाषामा पुरुष वेश्या) हरूले बगर बनाइदिए ।’


अचेल जब बाटामा, नदी किनारमा, घरगोठका छेउछाउमा प्रयोगपछि मिल्काइएका कन्डमहरू देख्छु, मलाई भन्न मन लाग्छ, ‘काली पातर, ती कन्डम मौन छन् । पटक्कै बोल्दैनन् ।’ गम्छु— यी बोलेको दिन पीँधको हिमाल पग्लिन्छ । फेरि गम्छु— कुन दिन पीँधको हिमाल पग्लिन्छ ? त्यही दिन, जुन दिन काली पातरहरू स्वयं सूर्य भएर हिमालयमा ओथारो बस्नेछन् ।


गएको पुसमा मेरी आमा चितामा जल्दै थिइन् । मेरा आँखा चिताबाट हट्न मानिरहेका थिएनन् । मलाई बोध भयो— उनले मलाई जन्म दिँदै गरेको देखिन्, किनकि उनी आमा थिइन् । मैले उनलाई चितामा जल्दै गरेको देखेँ, किनकि म छोरी थिएँ ।


आमालाई जीवित छँदा सोध्न बाँकी एउटा प्रश्न थियो— जीवन भनेको के हो ? चिता बोल्दो हो त मेरी आमाले भन्ने थिइन्, ‘बाटो हुनुको सकस हो ।’


मेरी आमा, यो सकस जिन्दगीको थैलो यसरी खोल्दी हुन्— यो दुनियाँमा मान्छे दुई थरीका हुन्छन् । बांगा र सोझा । जो बांगा छन्, ती बाठा हुन् । जो सोझा छन्, ती लाटा हुन् । म सोझी थिएँ र लाटी थिएँ । लाटो हुनु भनेको बाटो हुनु हो । मान्छे बाटो भएपछि आफूले जन्म दिएका, चारो खोजेर हुर्काएका आफ्नै सन्तानले त कुल्चिन्छन्, थुक्छन्, अरूको के कुरा ! बाटाहरूले पैतालालाई

जति नै प्रिय माने पनि पैतालाका लागि बाटो न आफ्नो हुन्छ न प्रियतम हुन्छ ।


तर, सकस जिन्दगीको व्यथा लोकार्पण गर्नुअगावै उनी सदाका लागि गइन्, यो लालपुर्जाको दुनियाँलाई अलविदा भनेर । लालपुर्जाले बुनिदिएका सम्बन्धहरूलाई बिदा भनेर !


मेरी आमाका लागि ‘पोइ’ शब्द छुनैपरेन । सकस थियो सकस, जसरी नब्बे प्रतिशत महिलाका लागि पोइहरू सकस हुन्छन् ! अचेल गम्छु— सृष्टिको यौनाङ्ग बोक्नु, स्तन बोक्नु, गर्भाशयको थैलो बोक्नु भनेकै छिनारी हुनु हो । यो लालपुर्जाको दुनियाँमा बैकिनी हुनु भनेकै छिनारी हुनु हो ।



२०५९ सालमा म ‘निभा शाह’ नामबाट होइन, ‘अदिति शाह’ नाममा भारतको दिल्लीबाट सुपुर्दगी भएरर नेपालको जेलमा ल्याइएँ । त्यसको कारण थियो— तत्कालीन माओवादी पार्टीको क्याडर हुनु । त्यो पार्टी जो अचेल सत्तामा टाम लागेको भ्रष्टाचारी घोडो दौडाउँदै छ, जसले भ्रष्टाचारलाई सामाजिक रूपमा संस्थागत गर्‍यो, जसलाई जनता ‘जोई पोइ कोही’ को पार्टी भन्छन् । जे होस्, म अहिले त्यता जान्नँ । लहरो ताने पहरो जाने हँसिया हथौडाको पर्दाभित्र लाल उपल्लाहरूका नाङ्गा नाच कति छन् कति ! मार्क्सले यिनका नाङ्गा नाच देखे भन्दा हुन्— लाल लाल ! नाङ्गा नाच, नाङ्गा नाच ! माओको बर्को ओढेर भ्रष्टाचार गर्ने जुडासहरूको नाङ्गा नाच, नाङ्गा नाच !


म जेलमा छँदा लक्ष्मी कार्की नामकीे एक बहिनीलाई भेटेकी थिएँ । उनलाई पितृसत्ताले मौन पागल बनाएको थियो । उनी कसैसँग बोल्दैनथिन् । बोल्थिन् त जेलका भित्तासँग मात्र ! भित्तासँगको उनको एकोहोरो संवाद बडो मनोवैज्ञानिक थियो । लक्ष्मी एक हातमा लट्ठी लिन्थिन् र जेलका भित्तालाई चुट्दै–थुक्दै भन्थिन्, ‘थुक्क बलात्कारी भित्ता, थुक्क !’ मैले उनको भित्ते–प्रतिरोध देखेपछि चौकीदार विष्णु दिदीलाई कारण सोधेकी थिएँ । विष्णु दिदीबाट लक्ष्मीको वृत्तान्त सुनेपछि म यति विचलित भएँ, लक्ष्मीले थुक्ने भित्तालाई थुकेर भनें, ‘थुक्क पितृसत्ता ! थुक्क !’


लक्ष्मी आठ कक्षा पढ्दै रहिछन् । उनलाई एक शिक्षकले बलात्कार गरेछन् । त्यसबारे उनले कसैलाई भनिनछिन् । परिणाम, उनी गर्भवती भइन् । संयोगवश, मृत शिशुको जन्म भएछ । ‘बैंस उत्रिएकी रण्डी, बच्चा मारिस्’ भन्दै पाखण्डी समाज, प्रहरी, अदालत उर्फ सरकार भन्ने पितृसत्ताको चौकीदार सबै मिलेर लक्ष्मीलाई जेल कोचेछन् । बलात्कारी माड्साबलाई चाहिं पितृसत्ताका पहरेदारहरूले घूस खाएर अपराधबाट पखालिदिएछन् । जबकि बलात्कृत हुँदा, बच्चा जन्माउँदा लक्ष्मी नाबालख थिइन् । जेल चलान गरिँदा पनि उनी नाबालखै थिइन् । अन्धो सरकार, अन्धा पार्टीहरू र अन्धो समाजले के देख्थे !


‘मंगलसेनको शाही सेनाले आतंककारी माओवादी भन्दै ब्यारेक लग्यो । रण्डी भन्दै बलात्कार गर्‍यो । कति जनाले बलात्कार गरे ? मुँ मूर्छा परिगञा । चेत नाइँ ! मलाई मरी भनेर बाटाँ छोडिदिए । मेरो ओखतोमूलो गरिदिने कोही नाइँ ! माओवादी पार्टीले मेरो दवाई गर्दैन, न घर जान दिन्छ । घरमा गए जगल्टा चुँडेर भाटकाट्या ल्याउँछ । बन्दी बनाउँछ । मेरो आङ (गर्भाशय) खसेको छ । मेरो हरमा (यौनाङ्ग) छाउ भए जस्तै चुहेको चुह्यै छ । हरमा घाउ छ । औषधि गरिदिने कोही छैन । काँ जाम् ? बाँचूँ नाइँ त बाँच्न गाह्रो छ । सारा शरीर घाउ दुखे जस्तै दुख्छ ।’ यी आर्तनाद हुन् रसिला ताम्राकारका । दलित समुदायकी उनी अछामबासी हुन् । जुन बेला शाही सेनाले बलात्कार गर्‍यो, उनी नाबालखै थिइन् ।


यहाँ हजारौँ नाबालख निर्मलाहरू बलात्कृत हुन्छन्, फ्याँकिन्छन्, मारिन्छन्, तर न्याय पाउँदैनन् । त्यस्तै बलात्कृत मुना हुन् रसिला । यहाँ निर्मलाहरूका लागि बोलिदिने लाखौँ छन्, तर रसिलाका लागि बोलिदिने को थियो ? उनका लागि बोलिदिने कोही थिएन । रसिलाको बलात्कृत घाउले न माओवादीलाई छोयो, न अन्य पार्टीलाई । न मिडियालाई, न नागरिक समाज, न मानव अधिकारवादी, न अन्तर्राष्ट्रिय मञ्च, न दलित संगठन, न महिला संगठन, कसैलाई पनि रसिलाको बलात्कृत घाउले छोएन ।


सबै पितृसत्तावादीहरू दुलाभित्र पसे । महिला मुक्तिको ढ्वाङ फुक्ने माओवादी ? यसलाई त झन् पितृसत्ताको गोमन साँपले यसरी डस्यो, यसका लागि रसिला ‘सेक्स ट्वाय’ भइन् । सेक्स ट्वाय न बलात्कृत हुन्छ, न बिरामी । ‘सेक्स ट्वाय’ रसिलालाई माओवादीले न औषधि–उपचार गर्‍यो, न फुकुवा गर्‍यो । उल्टै जनयुद्धभरि बन्दी बनाएर राख्यो ।


जबकि उनी माओवादीको विद्यार्थी संगठनमा आबद्ध हुँदा नै बलात्कृत भएकी थिइन् । आफ्नै क्याडर रसिलाको बलात्कृत घटनालाई हँसिया हथौडाको छाप्रोले छोप्ने कथित माओवादीले महिलालाई कुन आँखाले हेर्छ ? निर्मला वा अरू निर्मलाका घटनालाई छोप्न ऊ कति सिपालु छ ? साक्षी छिन् रसिला ताम्राकार ।


रसिला शान्तिकालमा माओवादीको पन्जाबाट उम्किन् । त्यसपछि घरपरिवारसँग भारत गइन् र उतै औषधि गरिन् । उतै सानोतिनो काम गरेर बसिन् । यता लाल बडामहाराजाधिराजहरू सिंहदरबारमा सत्तासीन भए । रसिलाले जीवन के हो भनी सोधे अचेल भन्दी हुन्, ‘बैकिनी भनेको ओखल हो । राता–सेता–पेंला जै मुुसलले कुटे पनि हुने ! यिनै मुसलको विरुद्ध आगो हुनुपर्छ ।’ उनी यस्ती जीवित पात्र हुन्, जो आफ्ना लागि आफै आवाज बनिन् । बहुलाही भइनन्, सद्दे रहिन् ।


यो सन्दर्भमा, महिलामुक्तिलाई आफ्नै जीवनमा लागू गर्ने नृत्याङ्गना इजाडोरा डङ्कनको भनाइ सम्झना हुन्छ, ‘आशा सारै कठिन समयमा पनि बाँच्ने वृक्ष हो । यसका हाँगाबिँगा झर्छन्, सुक्छन्, मुर्झाउँछन्, तैपनि यो वृक्ष नयाँनयाँ रूपमा फेरि पलाउँछ ।’ हुन पनि हो, यसो नहुँदो हो त पितृसत्ताको साइनाइड खाएर पनि स्त्री कसरी बाँचिरहन्छे ? कसरी महिलामुक्तिका लागि आवाज उठाउँछे ? कसरी मनुष्यत्वका लागि ऊ लडिरहन्छे ? यो आशाको वृक्ष नहुँदो हो त न स्त्री रहन्थे, न सृष्टि रहन्थ्यो । न रसिला कम्युनिस्ट ट्रमा सेन्टरझित्र बाँचिरहन्थिन् !


[email protected]

प्रकाशित : श्रावण ३०, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?