कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अंग्रेजी, गणित र विज्ञान

सम्पादकीय

काठमाडौँ — फेरि उही । उही तीन विषय– अंग्रेजी, गणित र विज्ञान । विद्यालय तहमा यिनै विषय सधैँ जटिल । हरेक वर्ष प्रकाशित एसईई र १२ कक्षाको नतिजाले यही देखाउँछन् । गत वर्ष एसईईमा सम्मिलित ४ लाख ७५ हजार परीक्षार्थीमध्ये ५० प्रतिशत विद्यार्थी तीन विषयमा बढी कमजोर देखिए ।

अंग्रेजी, गणित र विज्ञान

एसईई र कक्षा १२ को पछिल्लो नतिजा अनुसार यिनमै विद्यार्थीले कम ग्रेड प्राप्त गरेका छन् ।


१० कक्षासम्म विज्ञान विषयको सोलोडोलो पढाइ हुन्छ । भौतिकशास्त्र, जीवशास्त्र, रसायनशास्त्र र वनस्पति विज्ञानको अलगअलग पढाइ हुँदैन । रसायनशास्त्र र वनस्पति विज्ञानका शिक्षककै अनिकाल छ । भएका योग्य शिक्षक पनि विदेश पलायन भए ।


गणित, अंग्रेजी र विज्ञान विषयमा हाम्रा विद्यार्थीको जग कमजोर हुनुको प्रमुख कारण विषयगत शिक्षकको अभाव हो । अधिकांश विद्यालयमा विषयगत शिक्षक दरबन्दी नै छैन । देशका २७ हजार ९ सय १४ वटा सामुदायिक विद्यालयमध्ये जम्मा ७० वटामा मात्र गणित, विज्ञान र अंग्रेजीको पूरै दरबन्दी भएका विद्यालय छन् । तल्ला कक्षामा पढाइरहेका शिक्षकले माथिल्ला कक्षा चलाउनुपर्ने बाध्यता छ ।


कक्षामा शिक्षक र विद्यार्थीको अनुपात पनि असमान छ । तराई, पहाड र हिमाली क्षेत्रमा शिक्षक–विद्यार्थी अनुपात मिलेको छैन । कतै कक्षा खाली छन्, विद्यार्थी छैनन् । कतै विद्यार्थी धेरै छन् शिक्षक पुगिरहेका छैनन् । २०७५ असार ४ गते गठित शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलका अनुसार हिमाली क्षेत्रमा शिक्षक–विद्यार्थी अनुपात धेरै छ । मनाङमा प्राथमिक तहमा एकजना शिक्षकले ४ जना विद्यार्थी पढाउँछन् भने सल्यानमा १ सय १७ जना विद्यार्थी भएको कक्षा चलाउने गरेको पाइन्छ ।


दरबन्दी मिलान शिक्षा नियमावली २०५९ (संशोधनसहित) को व्यवस्थाअनुसार विद्यार्थी–शिक्षक अनुपात हिमाली भेकमा ४०, पहाडमा ४५ र तराई तथा उपत्यकामा ५० हुनुपर्ने व्यवस्था थियो । ०७५ सालमा गठित शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले विद्यार्थी–शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ३५ र तराई तथा उपत्यकामा ४० हुनुपर्ने कार्यदलले औँल्याएको छ ।


भारतका १ जना शिक्षकले ४० जना विद्यार्थी रहेका कक्षामा पढाउनु पर्छ भने थाइल्यान्डमा १ शिक्षकले १६ जनालाई पढाए पुग्छ । सबैभन्दा बढी बंगलादेशमा १ शिक्षकले ४३ जना विद्यार्थीलाई पढाउनुपर्छ ।


विद्यार्थीको विषयगत समस्याले भाषाको अवस्था पनि दर्शाउँछ । भाषाले समस्या नपार्ने ठाउँमा गणित जस्तो विषय त्यति कठिन हुँदैन । जस्तो मधेस, जहाँ नेपाली भाषामा विद्यार्थी कमजोर देखिन्छन्, गणितमा भने प्रायः योग्य । कर्णालीका विद्यार्थीको नतिजाले भने नेपाली भाषामै शिक्षा कमजोर पाइएको छ । तर त्यहाँ गणित राम्रो छ भन्ने होइन, किनभने शिक्षक अभाव बढी छ ।


विषयगत शिक्षकको अभावमा गणित र विज्ञानको व्यावहारिक पढाइ हुन सकेको छैन । पढाइ सिकाइभन्दा घोकाइमै केन्द्रित छ । बुझाएर पढाउन सक्ने पाठ्य विधि अवलम्बन गरिएको छैन । त्यस्तै विज्ञानको पढाइ पूरापूर प्रयोगात्मक हुनुपर्छ । त्यसका लागि तालिम प्राप्त शिक्षक झन् आवश्यक पर्छ । पाठ्यपुस्तक विद्यार्थी आकर्षित गर्ने खालका पनि भएनन् ।


योग्य शिक्षक उत्पादन आज पनि हाम्रो शिक्षाको एउटा अहम् चुनौती हो । योग्य विद्यार्थीको सपना भविष्यमा योग्य शिक्षक बन्छु भन्ने बनाउनका लागि शिक्षण सेवालाई आकर्षक तुल्याउनुपर्ने हुन्छ । एसईईको नतिजामा अब्बल ठानिएकाहरूको आकर्षणमा शिक्षा संकाय पर्न सकेको छैन ।

शिक्षाजस्तो राष्ट्रको वास्तविक पूर्वाधारप्रति हाम्रो सर्वोच्च ध्यान आकर्षित हुन सकेको छैन ।


शिक्षण सेवा सबभन्दा आकर्षक बनाउन सकिएको छैन । शिक्षाबारे स्थानीय समुदायदेखि संघीय संसद्सम्मले आवश्यक सघन नीतिगत तथा व्यावहारिक छलफल गर्ने गरेको पनि पाइँदैन ।

प्रकाशित : श्रावण २९, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?