कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिक्षित आमा नै गराउँदैनन् स्तनपान

यमुना अर्याल (काफ्ले)

काठमाडौँ — केही समयअघि अस्ट्रेलियाकी सिनेटर लरिसा वाटर्सले सिनेटमै बच्चालाई स्तनपान गराएको दृश्यले विश्वव्यापी चर्चा पायो । आफ्नो बच्चाले दूध खान खोज्छ भने आमा जहाँ पनि तयार हुनुपर्छ भन्ने उदाहरण वाटर्सले देखाइन् । हाम्रो देशका आमाहरूलाई यस्ता समाचारले खासै प्रभाव पार्नसकेको देखिँदैन ।

शिक्षित आमा नै गराउँदैनन् स्तनपान

आमाको दूध नवजात शिशुका लागि अमृतसमान मानिन्छ । आमाको पौष्टिक दूधले बाल मृत्युदर २२ प्रतिशतसम्म कम भएको अनुसन्धानले पुष्टि गरिसकेका छन् । सन् २०१६ मा गरिएको एउटा अध्ययनले नेपालमा आमाको दूध ५५ प्रतिशत शिशुले मात्रै जन्मेको एक घण्टाभित्रै र ६६ प्रतिशतले ६ महिनासम्म त्यही मात्रै खान पाएको देखाएको थियो । पाँच वर्ष पहिलेको त्यस्तै अनुसन्धानमा ६ महिनासम्म आमाको दूधमात्रै खाने शिशुको संख्या ७० प्रतिशत थियो ।


पछिल्ला वर्षहरूमा शिक्षित र सहरिया आमाहरू नै स्तनपान गराउने मामिलामा उदासीन देखिन थालेका छन् । जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ सरकार, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहंले गर्दा बाध्यताले भन्दा पनि जानी–जानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् ।


चिनजानकै एक दिदी नर्स थिइन् । उनी अरूलाई ‘सुनौला हजार दिन’ बारे निकै ज्ञान बाँड्थिन् । अस्पतालमा सुत्केरी भएका आमाहरूलाई कसरी बच्चालाई दूध खुवाउने, एक दिनमा कति पटकसम्म दूध चुसाउने भनी सिकाउँथिन् । कुनै आमाले ‘दूध आएन’ भन्दा उनी हप्काउँथिन्, ‘सुरुमै कहाँ आउँछ त ? चुसाइरहनुपर्छ, विस्तारै आउँछ । बच्चालाई दूध चुसाउन अल्छी गर्न हुँदैन ।’

दुई वर्षपहिले तिनै दिदी आमा बनिन्, आफैले छोरालाई ५ महिना पनि पूरै दूध खुवाइनन् ।


‘अस्पतालको सिफ्टको डिउटी, कहिलेकाहीँ कुनै स्टाफ बिदामा बस्दा पालो दिनुपर्ने, घर आउने समयको टुंगो नहुने भएकैले दूध आफै सुक्दै गयो । चाहेजति दूध खान नपाएपछि छोराले आफै खान छोड्यो । ल्याक्टोजिन, गाईको दूध, सेरलेक्स खाएरै छोरो हुर्कियो,’ दिदीले एक दिन मलाई वास्तविकता सुनाइन् । पछि पनि दुखेसो पोख्दै थिइन्, ‘आमाको दूध पर्याप्त खान नपाएपछि छोरो दह्रो छैन । सानै बिमारले पनि समाइहाल्छ । बाहिरको वातावरणमा घुलमिल हुन सक्दैन । नचाहेरभन्दा पनि बाध्यताले मैले बच्चालाई दूध खुवाउन पाइनँ ।’


यी दिदी मात्रै होइन, धेरै कामकाजी आमाहरू चाहेर पनि यथासमय बच्चालाई स्तनपान गराउन सक्दैनन् । कार्यालय समय बाहेक पक्कै पनि बच्चालाई दूध खुवाउन सक्छन्, तर अधिकांश सहरिया शिक्षित आमाहरू जाँगर गर्दैनन् । बरु बजारिया ल्याक्टोजिन, सेरलेक्स खुवाउन निकै जाँगर देखाउँछन्, निःशुल्क पाइने अमृत समान आफ्नै दूध चुसाउनचाहिँ झन्झट मान्छन् ।


पोहोर एक साथी ६ महिनाकी छोरीलाई माइती पठाएर लोकसेवाको तयारीमा जुटिन् । आमाको करिअरका कारण ६ महिनाको बच्चाले आफ्नो नैसर्गिक अधिकार गुमाउनुपर्ने कस्तो बाध्यता ? ‘आमाको मन कमलो हुन्छ भन्थे, तर उसको मन त पत्थर रैछ,’ साथीकी सासु बेलाबखत सुनाउँथिन् । बच्चाको भविष्यका लागि संघर्ष गरेको बताउने यिनै साथीजस्ता कैयौँ आमा मातृ वात्सल्यबाट टाढिएर करिअरको धुनमा लागेका छन् । आफू जागिरे भए पनि मैले बिहान–बेलुका चार वर्षसम्म छोरालाई दूध खुवाएँ ।


मेरो चिनजानकै एउटी बहिनीले छोरीलाई सात महिनामात्र दूध खुवाइन् । दिनभरि छोरीसँगै घरमा हुँदा पनि उनले पर्याप्त दूध खुवाइनन् । निकै सौन्दर्य पारखी उनले कहाँबाट थाहा पाइछन्, ढिलोसम्म दूध चुसाउँदा सुन्दरतामा ह्रास आउँछ र शरीर बिग्रन्छ भनेर, त्यही भयले उनले सात महिनामै दूध छुटाएकी रे ! परिणामस्वरूप उनले महिनामा चार–पाँच पटकसम्म छोरीलाई

अस्पताल कुदाउनुपर्‍यो ।


ढिलोसम्म आमाको दूध खाने बालबालिका निरोगी, फुर्तिला र तेजिला हुन्छन् । स्तनपानले आमाको शरीर बिग्रिन्छ भन्नु नचाहिने कुरा हो । स्तनपान गराउँदा बरु आमाको शरीर भद्दा हुन पाउँदैन । लामो समय स्तनपान गराएका कारण मलाई कुनै स्वास्थ्य समस्या देखिएन । पहिले जस्ती थिएँ, चार वर्षसम्म छोरालाई दूध चुसाइहँदा पनि उस्तै रहेँ ।


स्तनपान गराउँदा महिलामा पाठेघरको क्यान्सर, स्तन क्यान्सर, सुत्केरीपछि आमामा देखा पर्ने मनोरोगको सम्भावनासमेत न्यून रहने विशेषज्ञहरूले बताउँदै आएका छन् । स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगबाट जोगाउँछ । तर हामीकहाँ आधुनिकतासँगै काल्पनिक कुराको पछि धेरै आमा अल्झिँदा नवजात शिशुले आफ्नो नैसर्गिक अधिकार गुमाउनु परिरहेको छ ।


‘एन्नल्स अफ अंकोलोजी’ (सन् २०१५) मा प्रकाशित अध्ययन अनुसार, स्तनपान गराउने महिलामा स्तन क्यान्सरको हार्मोन रिसेप्टर नेगेटिभ हुनुका साथै उक्त क्यान्सर फैलने खतरा पनि २० प्रतिशतसम्मले कम हुन्छ । ६ महिनासम्म स्तनपान गराउने महिलाका तुलनामा नगराउनेहरूमा क्यान्सर हुने सम्भावना २ प्रतिशत बढी हुने पनि उक्त अध्ययनमा उल्लेख छ ।

हामीले शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउनेबारे जनचेतना फैलाउनुपर्ने देखिन्छ ।


बाक्लो–पहेँलो बिगौती दूधले रोगप्रतिरोधी शक्ति बढाउँछ, जसका कारण शिशु अनेक संक्रमण र रोगबाट जोगिन सक्छ । यति मात्रै हुनसके पनि असंख्य नेपाली शिशुलाई बचाउन सकिन्छ । सन्तान जन्माएर मात्रै आमा बनिँदैन, सन्तानप्रतिको दायितवबोध पनि गर्न सिकौँ । स्तनपान जीवनदान हो झन्ने मनन गरौँ !


प्रकाशित : श्रावण २९, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?