१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'रिभेन्ज पोर्न' पनि 'साइबर रेप'

रिबेका वेल्स

काठमाडौँ — अप्रिल २००८ मा मैले पहिलो पटक तनाव कम गर्नका लागि औषधि सेवन गर्न थालेंँ । त्यसले मलाई केही हदसम्म शान्त रहन मद्दत गर्‍यो । उक्त औषधिले मेरो डर पनि कम गर्थ्यो, पूर्वप्रेमीलाई देख्दा लाग्ने डर ।

'रिभेन्ज पोर्न' पनि 'साइबर रेप'

ऊ ११७ किलोको, भीमकाय बडी बिल्डर थियो, जो विभिन्न प्रकारका मेसिनगन बोकेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्थ्यो । जब हामी दुई एकअर्कालाई ‘डेट’ गर्दै थियौं, त्यसबेला ऊ मसँग रिस उठे आफ्नो गाडीमा मुड्की हान्थ्यो र मेरो घर अगाडिका बोटबिरुवा उखेलेर फ्याँकिदिन्थ्यो ।


हामी छुट्टियौं । केही समयपछि मैले उसलाई यताउता देख्न पनि छोडेंँ । त्यसपछि मलाई झनै राहत मिल्यो, सबै सकियो भनेर । तर सोचे जस्तो भएन ।


दुई वर्षपछि मैले आफ्नो नाम गुगलमा सर्च गर्दा आफ्नै नांगा तस्बिरहरू देखा परे । मेरो पूर्वप्रेमीसँग सम्बन्धमा रहेका अन्य महिलासँगै मेरा पनि तस्बिर त्यहाँ पोस्ट गरिएका थिए । म कहाँ बस्छु, के गर्छु भन्ने विवरण पनि त्यहाँ थियो ।


त्यो देखेसँगै मेरो पैतालामुनिको जमिन हल्लियो । हात काम्न थाले । मैले त्यो केटालाई मेसेज गर्दै ती तस्बिर हटाउन आग्रह गरेंँ । उसले मलाई ब्लक गरिदियो । मैले प्रहरीलाई भनेंँ । तर उनीहरूबाट कुनै मद्दत पाउन सक्ने सम्भावनै थिएन । किनभने त्यति बेला फ्लोरिडामा यसबारे कानुनै थिएन ।


वेबसाइटधनीलाई कपिराइटको नोटिस पठाएपछि भने ती तस्बिर हटाइए । तर एक पटक इन्टरनेटमा अपलोड भएका तस्बिर हटाउन लगभग असम्भव नै हुन्छ । केही दिनपछि ती पुनः देखिन थाले ।


यो मामिलामा सबैभन्दा बदनाम वेबसाइटमा मेरा तस्बिर देखिए, जहाँ मेरो सामाजिक सञ्जालको विवरण पनि थियो । उक्त वेबसाइटमा आआफ्ना तस्बिरमुनि अनगिन्ती महिलाले त्यसलाई हटाउन कारुणिक याचना गरिरहेका थिए । ‘मलाई अफिससम्म पनि पिछा गर्न थाले, कृपया यो हटाइदिनुस्,’ उनीहरूको गुहार थियो ।


मेरा तस्बिरमुनि पनि धेरै कमेन्ट थिए । तीमध्ये एउटा मेरो मानसपटलबाट कहिल्यै हट्दैन— ‘राइट क्लिक, सेभ एज ।’ त्यो भनेको जति पटक मैले तस्बिर डिलिट गर्न लगाउँथें, त्यो फेरि कतै न कतैबाट प्रकट भइहाल्थ्यो ।


म अमेरिकामा ‘रिभेन्ज पोर्न’ (बदलाको भाव राखेर यौनजन्य सामग्री प्रकाशन र प्रसारण गर्ने) को मुद्दा अदालतमा दर्ता गराउने पहिलो महिला हुँ । र म आफ्नो कटु अनुभवबारे सार्वजनिक रूपमा छलफल पनि गर्छु । मेरा सम्पूर्ण तस्बिर इन्टरनेटबाट हटाउने यही एक मात्र विकल्प थियो । २०१३ मा मैले पिंक मेथ, मेरो पूर्वप्रेमी र क्लाउडफ्लेयर विरुद्ध मुद्दा हालेँं ।


जब मेरा तस्बिरहरू पहिलो पटक इन्टरनेटमा पोस्ट गरिए, मैले प्रहरीमा उजुरी मात्रै गरेकी थिएँ । र मेरो मुद्दाबारे अनुसन्धान गर्न एक अधिकृतलाई खटाइएको पनि थियो । उसले मलाई जोगाउने वाचा पनि गरेको थियो । केही महिनापछि उसले मेरो केस बन्द भएको भन्दै मलाई प्रहरी कार्यालयबाट गलहत्यायो । ऊसँगको सम्बन्ध पनि धेरै समय टिकेन । जब मैले उसलाई छोडेंँ, उसले पनि त्यो अनुसन्धानका क्रममा भेटिएका थप तस्बिर सार्वजनिक गरिदिने भनेर धम्क्याउन थाल्यो ।


मैले पिंक मेथ र पूर्वप्रेमी दुवैबाट कुनै न्याय पाइनँ । मेरो मुद्दाको पनि कतै नाक जोतियो । तर जब मैले प्रहरी अधिकारीविरुद्ध उजुरी दिएँ, त्यसमा भने न्याय पाएँ । एक वर्ष लामो अनुसन्धानपछि ऊ बर्खास्त गरियो ।


यो सबपछि म भित्रभित्रै पिल्सिएकी थिएँ । मेरो तौल दुई वर्षमा लगभग बीस किलो घटेको थियो । एक वर्ष पूरै घरमा सुतेर बिताएपछि म केही समयका लागि अस्पताल नै भर्ना हुनुपरेको थियो ।


गत महिना न्युयोर्क रिभेन्ज पोर्नलाई आपराधिक गतिविधिमा सामेल गर्ने अमेरिकाको ४६ औं राज्य बन्यो । केही मानिस रिभेन्ज पोर्नलाई स्वतन्त्र अभिव्यक्तिको संज्ञा दिँदै त्यसलाई अपराधको श्रेणीमा राख्न नहुने जिकिर गर्छन् । उनीहरू के बिर्सिन्छन् भने, यसको सिकार पुरुष पनि हुन सक्छन् । यद्यपि अहिले यसको सिकार हुनेमा महिलाकै संख्या धेरै छ ।


पहिलो पटक आफ्ना नग्न तस्बिर इन्टरनेटमा देखेपछि मैले आफ्नो कोठामा बिताएको क्षण कहिल्यै बिर्सन सक्दिनँ । त्यस बेला केही सोच्न पनि मुस्किल थियो । तर मजस्तै अन्य महिला पनि पीडा आफूभित्रै दबाएर बस्न बाध्य थिए । केही वर्षयता उनीहरू बाहिर निस्किएर आफ्नो कथा सुनाउन थालेका छन् । धेरै जनाले अदालतबाट क्षतिपूर्ति पाएका छन् । केही त्यस्ता अपराधी जेल चलान भएका छन् । म कुनै पनि पीडितलाई व्यक्तिगत रूपमा त चिन्दिनँ, तर उनीहरू सबै मेरा दिदी–बहिनी हुन् ।


अहिले म खुसी छु । मजाले खाना खान सक्छु । टिङ्ग्रिङ्ङ देखिएका हड्डीहरू पुरिएका छन् । दुई वर्षअगाडि मैले कानुन पनि पढ्न थालें । म आफ्नो पढाइ सकिने पर्खाइमा छु । मेरो कथाको सुखद अन्त्य भएको छ । तर हरेक सुखद अन्त्य भएका कथाको पछाडि कुनै समय आफ्नो जीवन त्याग्ने सोच बनाएको पीडितको जीवन हुन्छ ।


रिभेन्ज पोर्नलाई ‘इनभोलुन्टरी पोर्नोग्राफी’ र ‘ननकन्सेन्सुअल पोर्नोग्राफी’ (सहमतिबिना सार्वजनिक नग्न तस्बिर वा भिडियो) को संज्ञा दिने गरिन्छ । तर त्यो भनेको बलात्कारलाई ‘सहमति बिनाको यौन सम्पर्क’ भन्नुसरह नै हो । त्यसले त्यो पीडाको कुनै पनि हिसाबमा प्रतिनिधित्व गर्दैन । रिभेन्ज पोर्न भनेको ‘साइबर रेप’ नै हो ।


साइबर संसारका अन्य विषयबारे बोल्दा बहस गर्न सजिलो हुन्छ । तर साइबर रेपबारे मुख खोल्न धेरै कठिन हुन्छ । पीडितहरूले फेरि पनि आफ्नो बोलीको मूल्य चुकाउनुपर्छ, किनभने त्यस्ता तस्बिर र सामग्री पुनः इन्टरनेटमा खोजी गरिन्छन् र हजारौं पटक हेरिन्छन् । र त्यो खाटा बस्न लागेको घाउ पुनः बल्झिन्छ । जोजति अगाडि आएर बोल्यौं, हामीलाई समाजले ‘साइलेन्स ब्रेकर’ भन्छन् । तर हामी यतिका वर्षसम्म चुपै थियौं भन्ने पनि होइन । हामीलाई सुनिएको थिएन ।


न्युयोर्क टाइम्सबाट अनूदित ।

प्रकाशित : श्रावण २९, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?