कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सामूहिक चेत, मिथ र इद–उल अदा

सीता मादेम्बा

मुसलमान समुदायमा इद–उल अदा (बकर इद) र हजयात्रालाई सामाजिक–धार्मिक, सम्बन्ध जोड्ने र सामूहिकता निर्माण गर्ने महत्त्वपूर्ण माध्यम मानिन्छ । पर्व र यससँग जोडिएका मिथले इस्लामको धार्मिक मान्यता अनुसार जीवन र मृत्युका विभिन्न पक्ष र पारस्परिकताको पनि गहिरो व्याख्या गर्छन् । 

अरबी भाषामा ‘अदा’ भनेको कुर्बानी हो । त्यसैले बकर इद कुर्बानीको चाडका रूपमा पनि चिनिन्छ । कुर्बानीको दिन मक्का र मदिनामा हज हुन्छ । त्यसैले बकर इद र हजयात्रा सम्बन्धित छन् ।


इद–उल अदा र मिथक

कुर्बानी गरे परिवारमा सुख, शान्ति, आरोग्य मिल्नुका साथै मृत्युपछि जन्नत (स्वर्ग) पुगिने जनविश्वास छ । जानकारहरूका अनुसार, एक तोला सुन बराबर सम्पत्ति हुनेहरूले अनिवार्य रूपमा कुर्बानी गर्नुपर्छ, तर गरिबलाई अनिवार्य छैन । सुनसरीको छाताबेली गाउँका हस्मुदिन मियाँ भन्छन्, ‘स्वर्ग जाने बाटो १५ सय वर्षको छ । ५ सय वर्ष उकालो । ५ सय वर्ष समथर र ५ सय वर्ष ओरालो हिँड्नुपर्छ । त्यो बाटो पूरा भएपछि बल्ल स्वर्गमा पुगिन्छ । १५ सय वर्षको बाटोमा हिँड्ने क्रममा एउटा नदी भेटिन्छ, जहाँ कपालजत्तिकै मसिनो पुल छ । जन्नतमा पाइला टेक्न त्यो पुल तर्नुपर्छ, तर सजिलो छैन । कर्तव्य (कुर्बानी) गरेपछि भने त्यो पुल सजिलै तरेर जन्नत पुगिन्छ ।’


जन्नत अमूर्त कल्पना भए पनि यसले मानिसलाई सामाजिक र नैतिक मूल्यमान्यताभित्र बााधिराख्छ । यही मान्यताले मिलेर बस्न र समाजलाई एक रहन सहयोग गर्छ । त्यसलाई इमाइल दुर्खाइमले ‘यान्त्रिक एकता’ भनेका छन्, जुन ‘सामूहिक बोध’ भए मात्र सम्भव हुन्छ । मुसलमान समाजमा सामूहिक भावनालाई गहिरो रूपमा कायम राख्न यस्ता मिथले सहयोग गरेका छन् । त्यसैले कुनै पनि जातिको पहिचान र इतिहासभन्दा मिथ फरक भए पनि वर्तमान बुझ्नलाई विगतका यस्ता कथाले महत्त्वपूर्ण भूमिका खेल्छन् भनेका छन् जोनाथन फ्रेडमेनले ।


कुर्बानी उत्पत्तिको मिथ

इम्ब्राहिम अलैहिस्लम (दूत) ले छोरा जन्मियोस् भनी निराहर बसेर अल्लाहसँग प्रार्थना गरे । इम्ब्राहिम ९० वर्ष पुग्दा उनलाई पुत्रलाभ भयो । छोरा जन्मेपछि इम्ब्राहिमलाई सपनामा अल्लाहले सबैभन्दा प्यारो चीज कुर्बानी दिनू भने । उनले उँट, बाख्रा र दुम्माको कुर्बानी गरे । अल्लाहले फेरि भने, ‘तिम्रो सबैभन्दा प्यारो चीज कुर्बानी गर्नू ।’


उनले सोचे, मेरो सबैभन्दा प्यारो चीज त छोरो हो । उनले छोरा इस्माइललाई अल्लाहको आदेश सुनाए । सहमति जनाएपछि छोरालाई इम्ब्राहिमले मिना लगे । बाटामा सैतानहरूले कैयौं पटक अवरोध गरे पनि इम्ब्राहिम विचलित नभई मिना पुगे र आँखामा पट्टी बाँधी छोरालाई हलालका निम्ति तयार पारे । तर कुर्बानी गर्दा घाँटी काटिएन । अल्लाहले भने, ‘इम्ब्राहिम, तिमी मेरो सच्चा भक्त हौ कि होइन भनेर परीक्षा मात्र लिएको थिएँ । तिमी पास भयौ ।’ छोराले जीवनदान पाएको खुसियालीमा इम्ब्राहिमले कुर्बानी गरे ।


यो मिथले इस्लामप्रतिको दृढ विश्वास राख्न मुसलमान समुदायलाई प्रेरित गर्छ । जीवन जिउने क्रममा अनेक बाधा आउँछन्, निरन्तर प्रयास गरे सफलता चुम्न सकिने सन्देश यसले दिन्छ । दुःखकष्टको अर्कोपट्टि सुख हुन्छ, सम्बन्धमा उतार–चढाव बराबरी हुन्छ भनी यो मिथले व्याख्या गरेको छ । लेभी स्ट्रसले भनेका छन्, ‘मिथको संरचना भाषा विज्ञानजस्तै वैज्ञानिक हुन्छ । तर ठाउँ, जातजाति र समय अनुसार मिथको विषय भन्ने तरिका भने फरक हुन्छ ।’ मिथकहरूले जीवन, उत्पत्ति, इतिहास, मानव समाज र प्रकृतिसँगको सम्बन्धलाई व्याख्या गर्छन् ।


सामाजिक सम्बन्ध र सामूहिक चेत

मुस्लिम समाजमा मिथ र संस्कारको अभ्यासबीच अन्योन्याश्रित सम्बन्ध छ । घर र मदरसामा गरिने कुर्बानीले यसको सम्बन्धको व्याख्या गर्छ । पुरुषले इदगाह र महिलाले घर–घरमा नमाज पढिसकेर खानापछि कुर्बानी घरबाट सुरु हुन्छ । जसको नाममा बाख्रा कुर्बानी गर्ने हो, मौलानाले उसको नाम लिँदै इस्लामिक मन्त्र पढ्छन् । गाउँमा रहेका मौलानाहरूले प्रत्येक घरमूलीको नाममा कुर्बानी गर्छन् ।


घरघरमा बाख्राको कुर्बानी सकिएपछि गाउँभरिबाट आफ्नो पायक पर्ने मदरसामा जम्मा भई राँगाको कुर्बानी गर्छन् । एउटा राँगा सात घरमूलीको नाममा सामूहिक कुर्बानी गरिन्छ । यसरी कुर्बानी गरिने बाख्राबाख्री र पाडापाडी कम्तीमा पनि दुई दाँत फेरिएको, सिङ–खुरमा र शरीरमा कतै पनि चोट नलागेको हुनुपर्छ ।


एकातिर घरमूली पुरुषको नाममा गरिने कुर्बानीबाट मुसलमान समुदायको पारिवारिक उच्चता पुरुषमा रहेको स्पष्ट हुन्छ । कुर्बानी गरिएका बाख्रा र राँगाको एक हिस्सा मासु मदरसामा जम्मा गरिन्छ । गाउँभरिबाट जम्मा भएको मासु आर्थिक रूपमा सम्पन्न र विपन्न दुवै थरीलाई तान्का (प्रसाद) बाँडिन्छ । अन्य दिनमा धनी–गरिबमा अन्तर देखिए पनि बकर इदको बेला भने तान्काले समान बनाइदिन्छ ।

घर–घरमा गरिएका कुर्बानी गरिएको बाख्राको मासुलाई छिमेकी र आफन्तमा बाँडेर खाने चलन छ । छिमेकीलाई बाँडिने मासुलाई पनि उर्दु भाषामा तान्का भनिन्छ । बकर इदमा बाँडेको तान्काले छिमेकी र आफन्तसँगको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग गर्छ । यसले मुसलमान समुदायमा सामाजिक भावनाको विकास गर्नुका साथै दैनिक जीवनमा आइपर्ने समस्या टार्न टेवा दिएको छ । तान्काले सामाजिक सम्बन्धलाई पुनर्नवीकरण गर्न पनि सहयोग गर्छ ।


कुर्बानी गरिएका बाख्रा र राँगाको छाला सबैले मदरसालाई दान गर्छन् । मदरसाले त्यो छाला बेचेर आएको आयस्रोतलाई इस्लामिक शिक्षामा खर्च गर्छ ।


निष्कर्ष

मुसलमान समुदाय धार्मिक रूपमा सीमान्तकृत भए पनि उनीहरूले आफ्नो सीमान्तकृत अवस्थाको विरोधस्वरूप पर्व र धर्मका माध्यमबाट समुदायको सामूहिक बोधतालाई प्रस्तुत गर्ने गरेका छन् । यो एकताले उनीहरूको पहिचानलाई जोगाएको छ, संस्कारलाई जीवित राख्न सहयोग पुर्‍याएको छ । एकातिर बकर इदको उत्पत्तिको मिथले सामूहिक चेत निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ भने, अर्कातिर परिवार, आफन्त, छिमेकीसँगको सम्बन्ध र पारस्परिकतालाई प्रगाढ बनाउन योगदान पुर्‍याएको छ ।


फरक धर्म र फरक परम्परा भएका आधारमा मुसलमान समुदायलाई धेरैजसोले सन्देहपूर्वक हेर्छन् । जस्तै– हिजाव र बुर्का लगाएकै कारण महिलालाई दबाएर राखिएको छ भन्ने अन्य समुदायको धारणा छ । मदरसा शिक्षालाई पनि समाज र अन्य समुदायले सुरक्षा चुनौतीका रूपमा लिने गर्छन् । तर यी चाडबाडमार्फत अन्य समुदायसँगको अन्तरक्रिया बढेसँगै त्यस्तो सन्देह, आशंका र चुनौती शिथिल हुँदै गएको छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?