काङ्ग्रेसको अबको बाटो

प्रकाशशरण महत

अहिले नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको छ । यो बैठक धेरै अर्थमा महत्त्वपूर्ण छ र यसले धेरै विषयवस्तुलाई समेटेको छ । यसले राष्ट्रिय जागरण कार्यक्रमको समीक्षा गर्नेछ, त्यस्ता कार्यक्रमको मार्गचित्र प्रस्तुत गर्नेछ ।


बैठकले अधिवेशन गर्नुपर्ने र अधिवेशन गर्ने समय समाप्त भइसकेका भ्रातृ सङ्गठनलाई पुनर्ताजगी गर्ने र क्रियाशील गराउनेतर्फ नीतिगत निर्णय लिनेछ ।जनसम्पर्क समितिहरूका सन्दर्भमा पनि निर्णय लिनेछ ।

सबैभन्दा महत्त्वपूर्ण, काङ्ग्रेसको महासमिति बैठकले मुलुकको नयाँ संरचनाअनुसार विधान बनाएको छ । त्यही अनुरूप राज्यको पुनःसंरचना अनुसार पार्टीको संगठनलाई रूपान्तरित गर्ने सम्बन्धमा पनि निर्णय लिनेछ । यी तमाम निर्णय गरिसकेपछि पार्टीले सङ्गठन निर्माणमा एउटा नयाँ अध्याय प्रारम्भ गर्नेछ ।

पार्टीको पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण कार्यक्रम समाप्त भइसकेको छ । अब भदौमा मुलुकका सबै ३३० प्रदेश निर्वाचन क्षेत्रमा पन्ध्रदिने कार्यक्रम थालिनेछ । ती सबै स्थानमा केन्द्रबाट पार्टी प्रतिनिधिहरू पुग्नुहुनेछ । दोस्रो चरणको यो कार्यक्रम पूरा हुँदा पार्टी देशको हरेक गाउँ र टोलमा पुग्नेछ । पुसमा हुने तेस्रो तथा अन्तिम चरणको दसदिने कार्यक्रममा पार्टीका सम्पूर्ण शक्ति देशको हरेक स्थानीय निकायमा (७५३ गाउँपालिका र नगरपालिका) पुग्नेछ । अन्तिम चरण पूरा गर्दासम्म काङ्ग्रेसले हरेक नेपालीको घरमा पुग्ने लक्ष्य पूरा गर्नेछ । यी तीन चरणका राष्ट्रिय जागरण कार्यक्रममार्फत पार्टीको नीति, सिद्धान्त, कार्यक्रमका विषयलाई कार्यकर्तामा मात्र नभई आम जनताबीच पुर्‍याइनेछ ।र यसबाट काङ्ग्रेसको जनाधार विस्तार हुनेछ ।

२०४८ को संसदीय निर्वाचमा काङ्ग्रेसले अहिलेसम्मकै सबैभन्दा धेरै ३८ प्रतिशत मत प्राप्त गरेको थियो । हामीले २०१५ को निर्वाचनमा ३७ प्रतिशत मत पाएका थियौं भने पछिल्लोमा ३६ प्रतिशत । पछिल्लो निर्वाचनमा विभिन्न कम्युनिस्ट पार्टी र अरू दल एकीकृत हुँदा काङ्ग्रेस पराजित भयो । समग्रमा कम्युनिस्ट पार्टीहरूले अपवादकै रूपमा धेरै मत पाए । ती सबैको जोड्दाखेरि ५० प्रतिशतभन्दा बढी थियो ।

काङ्ग्रेसले यो अवस्थालाई नउल्टाएसम्म व्यावहारिक अर्थमा लोकतान्त्रिक संस्थाहरूलाई संस्थागत गर्ने काम हुन सक्तैन र भइरहेको पनि छैन ।

कम्युनिस्ट पार्टी र मधेशकेन्द्रित दलहरू एकीकृत भएकाले अब परम्परागत रूपमा ल्याइरहेको मतले नेपाली काङ्ग्रेस एक्लै बहुमतमा पुग्न सक्तैन । अब पार्टीको लक्ष्य मतदानको यो सीमालाई व्यापक विस्तार गर्ने हुनुपर्छ । काङ्ग्रेस एक्लैले सरकार बनाउन अर्को निर्वाचनमा कम्तीमा पनि ४५ प्रतिशत मत ल्याउन आवश्यक छ । यसका लागि लोकतान्त्रिक शक्ति बलियो हुनु जरुरी छ ।

काङ्ग्रेस सबल हुनुपर्छ र यसका लागि पूर्ण रूपमा पुनर्जागरण अत्यावश्यक छ । हाम्रो जनाधारको व्यापक विस्तार हुनुपर्छ । आम जनतामाझ सत्ताधारी दलले छरेको भ्रमको पर्दालाईच्यात्न आवश्यक छ । अनिमुलुकमा लोकतान्त्रिक मूल्यमान्यताले जरा गाड्नेछ । त्यो अवस्थामा मात्र नेपाल समृद्ध र सुखी राष्ट्र हुन सक्छ । वर्तमान सरकारको मूल्य, मान्यता, संस्कार र मार्गचित्रबाट त्यो पूरा हुन सक्तैन ।

सरकारले डेढ वर्षयता संस्थागत भ्रष्टाचार, असुरक्षा र लोकतान्त्रिक संस्थामाथिको आक्रमणलाई बढाएको छ । यो समयमा काङ्ग्रेसले आफूलाई सशक्त र जनताका भावनाहरूलाई हिजोका दिनमा भन्दा अझ प्रभावकारी ढंगबाट प्रतिनिधित्व गर्ने पार्टीमा रूपान्तरण गर्नुपर्छ । यसका लागि पार्टी नेतृत्वले दुईतीन काम गर्नुपर्छ । पहिलो, नेतृत्व वर्गले पार्टीको आन्तरिक जीवनमा मौलाएको व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।

पार्टी, पार्टीको विचार र जनतालाई केन्द्रविन्दुमा राख्न सके काङ्ग्रेस बलियो हुनु नपर्ने, जनाधार विस्तारित हुनु नपर्ने कुनै कारण छैन । व्यक्तिलाई केन्द्रविन्दुमा राख्ने परिस्थितिलाई उल्टाउन सके पार्टी बलियो हुन्छ । पार्टी बलियो हुँदा नै हामी सबै बलियो हुने हो । हामी व्यक्तिगत रूपमा बलियो भएर पार्टी बलियो हुँदैन । यस विषयमा पार्टीका सबै तहका नेतृत्वले विचार गर्नु आवश्यक छ ।

अहिले प्रारम्भिक सदस्यसँगसँगै क्रियाशील सदस्यताहरूलाई टुङ्गो लगाएर महाधिवेशनको बाटामा पुग्ने र महाधिवेशन सम्पन्न भइसक्दा काङ्ग्रेस अत्यन्त सशक्त र सुस्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्ने पार्टीका रूपमा रूपान्तरण गर्ने चुनौती छ, त्यो गर्न सकिन्छ ।

महाधिवेशनसम्मको छोटो समयलाई विगतका कमीकमजोरी र ढिलाइलाई पनि क्षतिपूर्ति गरी पार्टीका विभागलाई पूर्णता दिने, पुनःसंरचित संरचनाहरूलाई पूर्णता दिने, भ्रातृ र शुभेच्छुक संस्थालाई पूर्ण क्रियाशील बनाउने एवं अधिवेशन नभएका सङ्गठनहरूको अधिवेशन सकेर ती संगठनलाई आ–आफ्ना अधिकार क्षेत्रमा अघि बढाउनुपर्छ । अनि स्थानीयदेखि केन्द्र सरकारसम्मका बदमासी, कमजोर लोकतान्त्रिक संस्था, संस्थागत भ्रष्टाचार र जनताका दैनिक सरोकारका विषयलाई निरन्तर रूपमा पार्टीको गतिविधी र कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनाइरहनुपर्छ ।

सरकार ठीक बाटामा हिँडेको छैन, तर काङ्ग्रेसले पनि लिनुपर्ने जिम्मेवारी लिन तयार नभएको हो कि भन्ने आम आशंका छ । जनताको यस्तो सन्देहलाई पूर्ण रूपमा अन्त्य गर्ने कुरो नै अहिले पार्टीको सर्वाधिक महत्त्वपूर्ण अजेन्डा बन्नुपर्छ । संसद्मा पनि पार्टीको संसदीय नेतृत्वले जनसरोकारका विषयका विधेयक, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, व्यक्तिको सम्पत्तिमाथिको अधिकार, परराष्ट्रसँग जोडिएका विषयहरूमा जीवन्त बहस र सरकारका गलत क्रियाकलापविरुद्ध सशक्त प्रस्तुतीलाई सँगसँगै लानुपर्छ ।

यसमा पार्टीको क्रियाशीलता बढेको पनि छ । पार्टी र संसद् दुवै मोर्चामा सशक्त प्रस्तुतीमार्फत काङ्ग्रेस जनताको सच्चा प्रतिनिधि रहेको र आजका दिनसम्म लोकतान्त्रिक मूल्यमान्यताको धरोहर बन्दै आएको विषय नै आम रूपमा बुझाउन जरुरी छ । काङ्ग्रेस केन्द्रीय समिति र केन्द्रीय नेतृत्व त्यो बाटामा उन्मुख छ ।

अहिले केन्द्रीय समिति बैठकमा धेरै विषय सौहार्दपूर्ण तरिकाले अगाडि बढेका छन् । अधिकांश निर्णय सहमतिमा निष्कर्षमा पुगेका छन् । यद्यपि समग्र रूपमा आमसहमति खोज्दा विभाग निर्माणदेखि भ्रातृ संगठनसम्मलाई क्रियाशील गराउने निर्णयमा ढिलाइ भएको छ । तर सहमतिका साथ अघि बढ्ने परिपाटीले पार्टी नेतृत्व पङ्क्तिलाई एक ठाउँमा उभ्याउने बाटो खोलेको छ ।

अब ढिला नगरीकन पार्टी नेतृत्व एकीकृत हुनुपर्छ । हाम्रा गुनासा, चासो र चिन्ताहरूलाई लिएर नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा निर्धक्क बहस हुनुपर्छ र पार्टी संयन्त्रभित्र भइरहेको पनि छ । तर, त्यो संयन्त्रभित्रै रहनुपर्छ । त्यसले एउटा निष्कर्ष निकालिसकेपछि पार्टीका तमाम जिम्मेवार नेताहरूले सार्वजनिक ठाउँमा त्यसलाई अन्यथा बहसको विषय बनाउँदा कार्यकर्ता द्विविधामा पर्ने, आम जनता किंकर्तव्यविमूढ हुने हुन्छ । र, यस्तो परिस्थितिले सङ्गठन विस्तार एवं अर्को निर्वाचन एकल रूपमा जित्ने हाम्रो लक्ष्य पूरा हुन सक्तैन । यस दिशातर्फ सम्पूर्ण नेतृत्व पङ्क्ति सचेत हुनुपर्छ । यस्तो सचेतना बढेको छ, तर पूरै सोचेजस्तो भएको छैन । सचेतना बढ्नुमा कार्यकर्ता पङ्क्तिको योगदान धेरै छ ।

कार्यकर्ता पङ्क्तिले पार्टी नेतृत्व तहलाई एकअर्काको निन्दा नगर्न र विमतिका कुरा लिएर कार्यकर्तामाझ नआउन दबाव दिएको छ । केन्द्रीय समितिमै बहस गरेर निस्किएको निष्कर्ष सार्वजनिक रूपमा आफूहरूसमक्ष लिएर आउन उनीहरूले नेतृत्व पङ्क्तिलाई आग्रह गरेका छन् । यसबाट अतिशयोक्तिपूर्ण तरिकाबाट सार्वजनिक स्थानमा अभिव्यक्ति दिने प्रवृत्ति कम हुँदै गएको छ । यसले पार्टीलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने सोचसहितको प्रवृत्ति विकसित हुने विश्वास गर्न सकिन्छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

आर्थिक स्थायित्व र मौद्रिक नीति 

चिन्तामणि शिवाकोटी

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिदृश्यहरूको वस्तुगत विश्लेषण, आर्थिक स्थायित्व कायम गर्ने जिम्मेवारी एवं सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुर्‍याउने गरी नेपाल राष्ट्र बैंकले आव २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । त्यसयता यसबारे विविध छलफल तथा बहस हुँदै आएका छन् ।

यस आलेखले मुलुकको आवश्यकता, वित्तीय क्षेत्रको विकासको अवस्था, आर्थिक स्थायित्व कायम गर्ने प्रमुख लक्ष्य र विकसित परिदृश्यको कसीमा मौद्रिक नीतिका विशेषताहरूको चर्चा गर्न खोजेको छ ।

व्यापार सम्बन्धी विवाद, ब्रेक्जिटको प्रक्रियागत जटिलता र ऊर्जा क्षेत्रमा भूराजनीतिक असन्तुलन लगायतका अन्तर्राष्ट्रियस्तरमा विकसित घटनाक्रमहरूले सन् २०१८ को तुलनामा २०१९ मा विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर केही खुम्चिने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । नेपालका सन्दर्भमा तीन वर्षदेखि लगातार उच्च आर्थिक वृद्धि हासिल गर्दै आएकामा आगामी वर्ष ८.५ प्रतिशतको वृद्धिदरको लक्ष्य सरकारले लिएको छ ।

गत आवको एघार महिनासम्म औसत उपभोक्ता मुद्रास्फीतिदर ४.५ प्रतिशत रही मूल्य वृद्धि नियन्त्रणमै रहे पनि वार्षिक विन्दुगत आधारमा यस्तो दर ६.२ प्रतिशत र बाह्य क्षेत्रमा शोधनान्तर घाटाको स्थिति हुनाले केही चुनौती थपिएका छन् । सरकारी क्षेत्रमा प्रभावकारी बजेट कार्यान्वयनमार्फत तीनै तहका सरकार आफ्नो भविष्य आफै निर्माण गर्ने अभ्यासमा गतिशील हुँदै आएका छन् ।

वित्तीय सेवाको पहुँच बढाउन ऐतिहासिक रूपमै उच्च संख्यामा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भएका छन् । गत आवमा मात्रै बैंक तथा वित्तीय संस्थाका करिब दुई हजार शाखा विस्तार गरिए भने ७५३ स्थानीय तहमध्ये २१ मा मात्रै वाणिज्य बैंकका शाखा स्थापना हुन बाँकी छ । दिगो शान्ति, स्थायित्व एवं आर्थिक समृद्धिको अपेक्षाले वित्तीय स्रोतको मागमा विस्तार ल्याएको हुँदा माग अनुरूप स्रोतको परिचालन हामीसामु कडा चुनौती बनेको छ ।

अर्थतन्त्रका आवश्यकता
लामो समयको अस्थिर राजनीतिक अवस्थाबाट मुक्ति पाई राजनीतिक स्थिरतातर्फ बढ्दै गर्दा आर्थिक समृद्धि एवं विकासको अपेक्षा पनि बढ्दै गएको छ । लगानीको वातावरणमा क्रमशः सुधार हुँदै गएकाले प्राकृतिक स्रोतसाधन र जनसांख्यिक लाभांशको उपयोग गर्दै पूर्वाधार विकास लगायत दिगो विकास लक्ष्य पाउने अवसर आएको छ । मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको छ ।

तीव्र गतिमा अघि बढ्दै जाँदा केही चुनौती र जोखिमका क्षेत्रहरूमा समेत ध्यान दिनुपर्ने अवस्था छ । उच्च आर्थिक वृद्धिका लागि पर्याप्त स्रोतसाधन जुटाउनु, आन्तरिक एवं बाह्य स्थायित्व कायम गर्नु, प्रविधिमैत्री भुक्तानी प्रणालीको विकास गर्दै वित्तीय पहुँचको विस्तार गर्नु, अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने वित्तीय क्षेत्रको विकास गर्नु, वित्तीय उपभोक्ताको हित संरक्षण गर्नु र अन्तर्राष्ट्रिय असल अभ्यासको अवलम्बन गर्दै जानु आजका प्रमुख आवश्यकता हुन् । यिनैलाई सम्बोधन गर्नतर्फ मौद्रिक नीति अग्रसर छ ।

मौद्रिक नीतिका प्रमुख विशेषता
एकातर्फ उत्पादनशील गतिविधिलाई बढावा दिंदै प्राथमिकताप्राप्त क्षेत्रमा लगानी विस्तार गर्दै जानुपर्ने आवश्यकता छ भने अर्कातर्फ यसरी विस्तार गरिने लगानीले मूल्य तथा शोधनान्तर स्थितिमा प्रतिकूल प्रभाव नपारोस् भनेर सजग हुनुपर्ने पनि छ । न्यून ब्याजदरका कारण मूल्यवृद्धिदर, पुँजी बहिर्गमन र बचत परिचालनमा प्रतिकूलता सिर्जना हुन हुन्न ।

त्यस्तै उच्च ब्याजदरका कारण लागत बढेर उत्पादनशील क्रियाकलाप प्रभावित नहोस् भनी सचेत पनि हुनुपर्छ । वित्तीय बजारमा सर्वसाधारणका लागि एकातिर सरल एवं पहुँचयोग्य बैंक तथा वित्तीय संस्थाको विकास गर्नु छ भने अर्कातर्फ अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने बैंक तथा वित्तीय संस्था बनाउनु छ ।

यस्तै विविध खाले विरोधाभासपूर्ण अवस्थालाई मध्यनजर गरी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले सरोकारवालाको सुझावलाई समेट्दै मूल्य स्थायित्व, वित्तीय क्षेत्र स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र समृद्धिका लागि साधन स्रोतको दायरा विस्तार गर्ने उद्देश्यको उपयुक्त सन्तुलन कायम गर्न खोजेको छ ।

मूल्य स्थायित्व
मूल्य स्थायित्व नै मौद्रिक नीतिको प्राथमिक लक्ष्य हो । नीतिले उपभोक्ता मुद्रास्फीतिलाई ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ । माग पक्षबाट मूल्यमा पर्न सक्ने चापलाई निश्चित सीमाभित्र राख्न विस्तृत मुद्राप्रदायको विस्तारलाई १८ प्रतिशतमा सीमित गर्ने, आन्तरिक उत्पादन वृद्धिका लागि उत्पादनशील क्षेत्रहरूमा प्रदान गरिने पुनर्कर्जाको दरमा कटौती गर्ने व्यवस्था छ ।

उत्पादनशील क्षेत्रमा दिइने कर्जालाई प्रोत्साहन गर्न व्यक्तिगत प्रकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतमा ऋण भुक्तानी आम्दानी अनुपातका आधारमा कर्जा प्रवाहको अधिकतम सीमा तोकिने छ । उत्पादनशील गतिविधिमा विस्तार हुँदा आपूर्तिजन्य कारणले हुने मूल्यवृद्धि नियन्त्रणमा सघाउ पुग्ने देखिन्छ ।

ब्याजदर स्थायित्व
अल्पकालीन ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्न अन्तर बैंक कारोबार दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्य लिइएको छ । अल्पकालीन व्याजदरमा कमी ल्याउन ब्याजदर कोरिडोरको माथिल्लो सीमा, तल्लो सीमा तथा नीतिगत दरमा ०.५ प्रतिशत विन्दुले कटौती गरिने व्यवस्था गरिएको छ । अल्पकालीन ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने सके कर्जाको ब्याजदरलाई न्यूनस्तरमा कायम राख्न सकिने विश्वास छ ।

बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६ प्रतिशत तथा साधारण पुनर्कर्जा दरलाई ४ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिनेछ । साना तथा मझौला उद्यमका लागि असल कर्जाको धितो सुरक्षणमा प्रदान गरिँदै आएको १० लाख रुपैयाँसम्मको पुनर्कर्जाको विद्यमान दरलाई ५ प्रतिशतबाट घटाई ३ प्रतिशतमा ल्याउने व्यवस्था गरिएको छ ।

यसैगरी, वाणिज्य बैंकहरूले कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर २०७७ असार मसान्तसम्म ४.४ प्रतिशतमा ल्याइसक्नुपर्ने छ । वाणिज्य बैंकहरूले आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रूपमा ऋणपत्र जारी गर्नुपर्ने छ । मौद्रिक नीतिले गरेका विभिन्न नीतिका कारण ब्याजदरमा हुने अस्वाभाविक उतारचढावमा कमी ल्याई स्थायित्व कायम गर्नेछन् । यसका अलावा साधनस्रोतको दायरा विस्तार गर्ने विभिन्न प्रयासले आगामी दिनमा तरलता र ब्याजदरमा हुने अनिश्चितता र उतारचढावमा कमी आउने छ ।

बाह्य क्षेत्र स्थायित्व
कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय संचिति कायम गर्ने लक्ष्य मौद्रिक नीतिमा निर्धारण गरिएको छ । बाह्य क्षेत्रमा पर्दै गएको चापलाई मध्यनजर गर्दै विदेशी मुद्राको स्रोतको विस्तार गर्ने, अनौपचारिक कारोवारको औपचारिकीकरण गर्ने, फजुल खर्च नियन्त्रण गर्ने र आन्तरिक उत्पादनमा वृद्धि गर्दै बाह्य निर्भरतामा कमी ल्याउने जस्ता नीतिगत व्यवस्था मौद्रिक नीतिमा छन् ।

विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरलीकरण गर्ने, संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर–आवासीय नेपालीहरूबाट विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्ने, अध्ययन तथा सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्ने, औपचारिक माध्यमबाहिर हुने विप्रेषण लगायतका कारोबारलाई बैंकिङ्ग प्रणालीको दायरामा ल्याउने, सामाजिक सञ्जाल तथा अनलाइनमार्फत हुने विज्ञापनबापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्ने, बैंकिङ्ग क्षेत्रको स्रोत साधन परिचालनमा वृद्धि गर्नका लागि हेजिङ्ग सम्बन्धी कार्यविधि तर्जुमा गर्ने जस्ता नीतिगत व्यवस्थाले बाह्य क्षेत्र स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास छ ।

वित्तीय क्षेत्र स्थायित्व एवं सुदृढीकरण
वित्तीय क्षेत्रको सुदृढीकरणका लागि वाणिज्य बैंक तथा लघुवित्त वित्तीय संस्थाहरूलाई तत्तत् संस्थामा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा सहभागी हुन प्रोत्साहनको व्यवस्था गरिएको छ । प्रणालीगत रूपमै महत्वपूर्ण बैंकको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै नीति लिइएको छ । समष्टिगत विवेकशील नियमनका रूपमा ‘काउन्टर साइक्लिकल बफर’ सम्बन्धी व्यवस्था ‘लिक्विडिटी कभरेज रेसियो’ एवं ‘नेट स्टेबल फन्डिङ रेसियो’ सम्बन्धी मापदण्डले वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय असल अभ्यासको अवलम्बनको उदाहरण प्रस्तुत गरेका छन् ।

विकास बैंक तथा वित्त कम्पनीहरूमा ‘बेसल टु’ पूर्ण रूपमा लागू गर्ने र वित्तीय संस्थाहरूको ‘स्ट्रेस टेस्टिङ’ गर्ने व्यवस्थाले नेपालको बैंकिङ प्रणालीमा वित्तीय स्थायित्व कायम गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । वास्तविक समयमा आधारित भुक्तानी प्रणाली, राष्ट्रिय भुक्तानी द्वार/स्वीच जस्ता पूर्वाधारको विकास र वित्तीय कारोबारको राफसाफ स्वदेशमै हुने व्यवस्थाले नेपालको भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको आधुनिकीकरणतर्फ डोर्‍याउने छ । वित्तीय ग्राहक संरक्षण इकाई स्थापना गरिने व्यवस्थाले समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास थप अभिवृद्धि गर्नमा योगदान पुर्‍याउनेछ ।

उच्च आर्थिक वृद्धिका लागि स्रोत परिचालन
मौद्रिक नीतिले आन्तरिक कर्जा विस्तार २४ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धि २१ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । यसअनुसार, आगामी वर्ष उच्च आर्थिक वृद्धिका लागि ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा बैंकिङ क्षेत्रबाट परिचालन हुनेछ । बैंक तथा वित्तीय संस्थाले लिन सक्ने वैदेशिक ऋण (एक्सटर्नल कमर्सियल बरोइङ) को दायरा फराकिलो पारी पेन्सन फन्ड, हेज फन्ड लगायतका स्रोतबाट समेत ऋण ल्याउन सक्ने र त्यस्तो ऋणको ब्याजदर साबिकको ‘लिबोर’ दरमा ३ प्रतिशत थप गरी ल्याउन पाउने व्यवस्थामा हाल त्यसमा ४ प्रतिशतभित्र व्याजदर कायम गर्न सकिने गरी मिलाइएको छ ।

यसबाट थप वैदेशिक ऋण भित्रिन सघाउ पुग्नेछ । आन्तरिक उत्पादन वृद्धिका लागि उत्पादनशील क्षेत्रहरूमा साधन परिचालन गर्न पुनर्कर्जाका दरहरूमा कटौती गर्ने, बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिन सक्ने ऋणको दायरा फराकिलो पार्ने तथा वैदेशिक लगानीलाई प्रोत्साहन दिनका लागि हेजिङ सम्बन्धी कार्यविधि तर्जुमा गर्नुका साथै विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरलीकरण गर्दै आन्तरिक एवं बाह्य स्रोत परिचालन गर्ने व्यवस्था गरिएको छ ।
मर्जर सर्वाधिक चासोको विषय
मौद्रिक नीति जारी हुनुअघि सबैभन्दा बढी चासोको विषय मर्जर नै बनेको थियो । सर्वाधिक विविध खाले चर्चाका बावजुद मौद्रिक नीतिले मर्जरका लागि प्रोत्साहनस्वरूप थप सहुलियत ल्याएको छ । ब्याजदर अन्तरमा केही समय छुट दिने, शाखा विस्तारमा स्वीकृति लिन नपर्ने, कुलिङ पिरियड नलाग्ने र प्राथमिकताप्राप्त क्षेत्र कर्जा लगायतका सहुलियत दिने व्यवस्था गरेको छ । बाध्यात्मक मर्जर सम्बन्धी व्यवस्था मौद्रिक नीतिले नगरे पनि ऐन र विनियमावलीले विशेष अवस्थामा यसका लागि निर्देशन दिन सक्ने छ ।

अन्त्यमा,
आव २०७६/७७ मौद्रिक नीतिले केन्द्रीय बैंकका बहुलक्ष्य हासिल गर्ने दिशामा आवश्यक सन्तुलन मिलाएको छ । मूल्य स्थायित्व, वित्तीय क्षेत्र स्थायित्व एवं बाह्य क्षेत्र स्थायित्व कायम गर्न ल्याईएका नीतिगत व्यवस्थाको कार्यान्वयनले समग्र आर्थिक स्थायित्व एवं देशले चाहेको समृद्धिको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गर्न सकिन्छ ।

लेखक नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर हुन् ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्