३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

साइकल संस्कृतिको सपना

सरिता तिवारी

केही दिनअघि चितवनमा साइकल राइडर्स क्लब गठन भएको समाचार बाहिर आयो । बाइपास रोड, भरतपुरमा नमुनाका रूपमा निर्माण गर्ने भनिएको ‘हरित–मार्ग’ को विषय पनि अहिले चर्चामा छ । पछिल्ला दिनहरूमा साइकल एउटा उपेक्षित र सीमान्तीकृत सवारी साधन बनेको छ ।

साइकल संस्कृतिको सपना

यसको कारणमा वैश्विक उदारवादी अर्थराजनीतिको ठूलो बहस उपस्थित हुन आइपुग्छ । साइकललाई विस्थापित नै गर्ने गरी मोटरसाइकल र कारको प्रचलन तीव्र बन्दै गएपछि सडकहरू ‘डेन्जर जोन’ बनेका छन् । सहर र सडक व्यवस्थापनमा सरकार पटक्कै गम्भीर छैन । यसका कारण, सहरमा सवारीका साधनको उकुसमुकुस मात्रै बढेको छैन, दिन–प्रतिदिन सवारीजन्य प्रदूषण र दुर्घटनाको मात्रा पनि बढ्दै छ । यो चितवनको मात्रै वा नेपालका सहरहरूको मात्रै होइन, विश्वव्यापी चिन्ताको विषय हो ।

यस्तो बेला साइकलमैत्री सडक निर्माण अभियानबारे सोच्नु सुखद आरम्भ हो । भरतपुर महानगरपालिकाको आव २०७६/७७ को नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएको छ । तथापि मुख्य कुरा हो, साइकल लेनको चर्चा क्षणिक लोकप्रियताका लागि मात्रै भइरहेको हो वा हामी साइकल संस्कृतिकै निर्माणको बृहत्तर परियोजनाका लागिसमेत प्रतिबद्ध भएका हौं ?

त्यसो त चितवनको आर्थिक–सामाजिक विकासको इतिहास साइकलको क्यारियरमै अडिएको हो । साइकलको नायकत्वलाई बिर्सिने हो भने यहाँको अर्थतन्त्र निर्माणको कथा पूरै अधुरो हुन्छ । संवत् २०१३ मा मलेरिया उन्मूलन योजना लागू भएसँगै मानव बस्तीको विस्तार हुने क्रममा साइकल चितवनको आर्थिक उत्पादनको मुख्य सहकारी बन्दै आयो । चितवनका खास निर्माता श्रमजीवी किसान नै हुन् र साइकल तिनको आर्थिक–सामाजिक गतिविधिको ठूलो सारथि ।

साइकललाई नेपथ्यमा राखेर चितवनको परिचय र व्याख्या दुवै असम्भव छन् । साइकलसँग यति विशेष नाता रहेको चितवन साइकल सिटी बन्न सक्छ कि सक्दैन भन्ने कुनै प्रश्नै होइन । प्रश्न हो, हामी जनतालाई विषयान्तर गर्दै भुलाउने गफ मात्रै गर्दै छौं कि इमानदारीपूर्वक काम पनि गर्छौं ?


साइकलको लोकप्रियता

मानव इतिहासको कायाकल्पमा पाङ्ग्राको आविष्कारलाई अर्थपूर्ण संघटना मानिन्छ । साइकल त्यही इतिहासको महत्त्वपूर्ण कडी हो ।

युरोप, अमेरिका लगायत पश्चिमी विश्वमा साइकलको प्रयोग संस्कृतिकै रूपमा विकास भइरहेको छ । त्यहाँ मोटरसाइकल, कार, सार्वजनिक बस र तीव्र गतिका ट्रेनहरूको प्रयोगसँगै दैनिक जीवन र अन्तरबाह्य पर्यटनमा साइकलको उपभोग लोभलाग्दो स्तरमा छ ।

युरोपको साइकल संस्कृतिको प्रभाव भारत हुँदै नेपाल छिरेको हो । नेपाली जनसामान्यले साइकलको उपभोग गर्न थालेको सात दशक पार भैसकेको छ, तर यो संस्कृतिको अङ्ग बन्न सकेको छैन । विगतमा चितवनजस्तै तराईका गाउँ–सहरको आर्थिक–सांस्कृतिक जीवनको मेरुदण्ड बनेको साइकल अहिले उपेक्षितजस्तै छ ।

यसका उपभोक्ता कि त न्यून आय भएका श्रमजीवी छन् कि सौखिन साइक्लिस्ट । मध्यम र उच्च वर्ग अहिले साइकल चलाउँदैन । यो वर्गले साइकलको पुनर्प्रचलन थालेर संस्कृतिकै रूपमा विकास गर्ने हो भने ध्वनि, वायु लगायतका प्रदूषणको ठूलो मात्रा स्वतः घट्छ । तर यसका लागि प्रदर्शनीको प्रतिस्पर्धामा दौडिरहेको समाज ठूलो मनोवैज्ञानिक क्रान्तिका लागि तयार हुनुपर्छ ।

साइकल चढ्नुका फाइदा मात्रै छन्, हानि एउटै छैन । यो सस्तो त छँदै छ, स्वास्थ्यवर्धक पनि छ । नियमित साइकल चालकको शरीर स्वतः तन्दुरुस्त हुन्छ । जिम र एरोबिक्समा अतिरिक्त पैसा खर्चिनुपर्दैन । पेट्रोल र डिजेलको खर्च जोगिने भैहाल्यो । त्यसबाट हुने प्रदूषणका कारक र भागीदार दुवै हुनुपरेन । पार्किङ गर्न पनि सजिलो छ । मेन्टिनेन्स खर्च कारको तुलनामा बीसौं गुणा कम लाग्छ । साइकल यसै पनि सामाजिक सवारी हो । साइकल चढ्न थालेपछि मोटरसाइकल र कारसँगै हुत्तिएर कुदिरहँदा छुटेको सामाजिक सम्बन्धको तन्तु फेरि जोडिन थाल्छ । साइकल सवारीलाई अभिन्न जीवनशैलीका रूपमा लोकप्रिय बनाउन यति कारण पर्याप्त छन् ।


साइकलमा गुडिरहेका सभ्यता

गोडाले धकेल्नेदेखि प्याडल, गियर हुँदै इलेक्ट्रिक बाइकसम्मका अनेक जेनेरेसन आइसकेका छन्, साइकलका । यति बेला साइकलको चक्कासँगै संसारका कतिपय देशका समुन्नत सभ्यताहरू गतिमान छन् । अहिले विश्वभर प्रतिवर्ष १० करोड साइकल बन्छन् र त्यति नै बिक्री हुन्छन् ।

चीन, नेदरल्यान्ड, डेनमार्क लगायतमा साइकल अत्यन्तै लोकप्रिय सवारी हो । डेनमार्कको राजधानी कोपनहेगनको साइकल ट्र्याकलाई संसारमै विकसित मानिन्छ । डचहरूको साइकल प्रेम यति अद्भुत छ, तथ्यहरू भन्छन्, त्यहाँ परिवार र साइकलको अनुपात बराबर छ । त्यहाँ कार भनेको ‘अनिच्छित पाहुना’ मात्रै हो । नेदरल्यान्डका आम्स्टर्डम लगायतका सहरमा सडकहरू साइकलले भरिभराउ हुन्छन् । जनसंख्याको आधाभन्दा बढी हिस्साले साइकल चलाउँछ । खरिदारी गर्न, नजिकका ठाउँ घुम्न, स्कुल–कलेज–कार्यालय जान वा अन्य कामकाजले घरबाहिर निस्कन साइकलको उपयोग अत्यधिक हुन्छ ।

साइकल त्यहाँ केवल सवारीको एउटा साधन मात्रै होइन, शताब्दीअघिदेखि स्थापित संस्कृति नै हो । त्यहाँको सरकारले सहर र सडकलाई पर्याप्त मात्रामा साइकलमैत्री बनाउने दूरदर्शी योजनाको निरन्तर कार्यान्वयन गरिरहेका कारण यस्तो हुन सकेको हो । युरोप ‘साइक्लिङ होलिडे’ मनाउन आकर्षक गन्तव्य पनि हो । ‘साइकल प्याकेज’ त्यहाँको लोकप्रिय कार्यक्रम हो । त्यहाँ आन्तरिक र अन्तरदेशीय पर्यटनका लागि व्यवस्थित साइकल रुट नै बनाइएका छन् ।

यो रुट ४,५०० किलोमिटरसम्म लामो छ । हाम्रा छिमेकी भारत र चीन हामीले प्रयोग गर्ने साइकलका उत्पादक मात्रै होइनन्, यहाँ ठूलो मात्रामा साइकल प्रयोगकर्ता पनि छन् । भारतका दिल्ली, मुम्बई, पुणे, अहमदाबाद र चण्डीगढमा सुरक्षित साइकल लेन छन् । सन् २०१४ मा गरेको नेदरल्यान्ड भ्रमणपछि उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री अखिलेश यादवले लखनउमा २७० किलोमिटर लामो साइकल करिडोरको निर्माण थाले । यो हालसालै सम्पन्न भएको छ ।

चीनले साइकल सवारीमा एक प्रकारको क्रान्ति गरिरहेको छ । सडकमा कारैकार मात्रै हुने स्थिति आएपछि सरकारले जनतालाई साइकल चढ्न प्रेरित गर्ने उद्देश्यले अलग्गै लेन बनायो । परिणामतः १९९५ मा ६७ करोड चिनियाँ साइकलमा गुडेको तथ्यांक छ । यो संख्या २०१३ मा आइपुग्दा ३७ करोडमा ओर्ल्यो । त्यसयता साइकल प्रयोगकर्ता उत्साहित हुने लोकप्रिय योजना ‘बाइक सेयरिङ’ अन्तर्गत क्युआर कोड र जीपीएस पद्धति लागू गरिएको छ । यसमा सार्वजनिक ठाउँमा पार्किङ गरिएका साइकललाई स्मार्ट फोनमार्फत क्युआर कोडको ‘लक’ खोलेर कसैले पनि प्रयोग गर्न सक्छ । यो कार्यक्रमपछि ‘बाइक सेयरिङ’ का लगानीकर्ता र साइकल प्रयोगकर्ताको संख्या उल्लेख्य रूपले बढ्दै छ ।


अन्त्यमा,

‘साइकल सिटी’ परियोजना चितवनको मात्रै होइन, काठमाडौं, पोखरा, विराटनगर लगायत ठूला–साना हरेक सहरको लक्ष्य हुनुपर्छ । भिरालो भू–बनोट भएका हिमाली र पहाडी क्षेत्रबाहेक उपत्यका र तराईका कुनै पनि ठाउँमा साइकल मज्जाले चल्छ । जनस्तरमा साइकलको प्रयोगलाई उल्लेख्य दरमा बढाउन सबैभन्दा गम्भीर हुनुपर्ने राज्य नै हो ।

प्रदूषणमुक्त स्वच्छ वातावरण र स्वस्थ, मितव्ययी नागरिकको कल्पनामा शासकहरूले एक छिन अडिएर घोरिनु जरुरी छ । साइकल करिडोरको निर्माणसँगै स्वदेशमै साइकल उत्पादन गर्ने योजना पनि ल्याइनुपर्छ भन्नेमा समेत राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । साइकल राइडर्स क्लबजस्ता नागरिक प्रयत्नहरूलाई प्रोत्साहन गरेर ‘साइकल ट्र्याक’ र ‘ग्रिन बेल्ट’ को अवधारणालाई मूर्त रूप दिन राज्यसँग साइकल संस्कृतिको प्रवर्धन गर्ने इमानदार प्रतिबद्धता जरुरी छ ।

साइकलको क्यारियरमै अडिएको अर्थतन्त्रको गौरवपूर्ण विगत बोकेको चितवनजस्तो ठाउँ आम्स्टर्डम वा हटनजस्ता ‘साइकल सिटी’ बन्न सक्नेमा शंका छैन । तर यो संघीयसँगै स्थानीय सरकार र नागरिक संकल्प दुवैमा भर पर्छ ।

ट्वीटर : @saritatiwari36

प्रकाशित : श्रावण २१, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?