कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

किन चाहियो स्कुल विभाग ?

केशव दाहाल

नेकपाको स्कुल विभाग अहिले निकै चर्चामा छ । चर्चाको केन्द्रमा रस्साकस्सी छ र छन् केही मूर्धन्य नामहरू । पार्टीका अध्यक्षद्वय प्रस्तावित नामलाई लिएर हिसाब–किताबमा लागेका छन् । वर्चस्वको हिसाब–किताब । पार्टी सत्ता, शक्ति र स्वामित्वको जोड–घटाउ । सायद यो लेख प्रकाशित हुँदासम्म कम्युनिस्ट पाठशालाले आफ्नो ‘हेडसर’ पाउला ।

किन चाहियो स्कुल विभाग ?

अथवा, यो लडाइँ लामै पनि जाला । यो प्राविधिक कुरा भयो । मुख्य कुरा भने अर्कै छ । त्यो कुरामा केही प्रश्न निहित छन् । नेकपालाई स्कुल विभाग किन चाहियो ? नेकपाको स्कुलमा के पढाइन्छ ? के यसको बृहत्तर राजनीतिक अर्थ छ ? कि छ, दलगत तुष्टि मात्र ? आज यस्तै प्रश्नमा केही विवेचना गरौं ।

कुनै पनि पार्टीको स्कुल विभागले त्यो समयको ‘राजनीतिक भाष्य’ स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले पार्टीको कार्यदिशालाई पढाउँछ । समाज अध्ययन गराउँछ । सदस्यको ज्ञानलाई गहिरो बनाउँछ । कार्यकर्तालाई सभ्यता सिकाउँछ । यो अर्थमा दलहरूभित्र स्कुल विभाग महत्त्वपूर्ण हुन्छ । प्रश्न उठ्छ— के नेकपाले स्कुल विभागलाई त्यति नै महत्त्व दिएको छ ? के नेकपा गम्भीर राजनीतिक मन्थन र वैचारिक पुनर्गठनको प्रक्रियामा जाँदै छ ?


अन्यथा स्कुल विभागमा नयाँ नेताको खोजी किन पेचिलो बन्यो ? यी सायद आजको नेकपाका लागि बेतुकका प्रश्न हुन् । किनभने पछिल्लो समय नेकपामा चलेको स्कुलको लफडाको गुह्य अर्कै छ । त्यहाँ पार्टीको वैचारिक लाइनलाई अझ स्पष्ट, गतिशील र वैज्ञानिक बनाउने चिन्ता छैन, न त मार्क्सवादको पुनर्व्याख्या गर्ने चिन्ता छ, न छ समाजवादको भविष्यमाथि नै चिन्तन । नेकपाभित्र स्कुल विभागको द्वन्द्व मूलतः पार्टीको वैचारिक सत्तालाई आफ्नो वर्चस्वमा राख्ने नेताहरूको लडाइँ हो । यसलाई गुटगत संकीर्णता र वैचारिक अवसरवादको पछिल्लो प्रवृत्ति मान्न सकिन्छ, जुन स्कुल विभागको आवरणमा नाङ्गेझार भएको छ ।


सबैलाई जानकारी नै छ, एमाले र माओवादीबीच एकीकरण हुँदा वैचारिक एकतालाई थाती राखिएको थियो । वैचारिक एकता भनेको मदन भण्डारीको जनताको बहुदलीय जनवाद र प्रचण्डहरूले भन्ने गरेको एक्काइसौं शताब्दीको जनवादको एकता हो । अथवा, त्यो माओवाद र लेनिनवाद (काउत्की ?) बीचको एकता हो । संगठनको एकताले मात्र कम्युनिस्टहरूको एकता पूरा हुँदैन ।


उनीहरू नै भन्छन्, ‘वैचारिक एकता नै पार्टी एकताको कडी हो ।’ तर नेकपाभित्र वैचारिक बहस यति धेरै सुस्त, छिपछिपे र तदर्थवादी छ, उनीहरू विचारको नयाँ शृंखला निमाण गर्न थोरै पनि उत्सुक छैनन् । उनीहरूको सर्वाधिक चासो पुरानै विचारको वर्चस्व स्थापित गर्नुमा छ । ओली र प्रचण्डहरू विचारको संश्लेषणमा भन्दा आ–आफ्ना पृष्ठविचारको छिपछिपे पोखरीमा पौडिन चाहन्छन् ।


भन्नलाई जनताको बहुदलीय जनवाद, जनताको जनवाद वा बहुदलीय जनवाद जे भने पनि विचारको पूर्वाग्रह उनीहरूको समस्या हो, जुन पछिल्लो समय वैचारिक कम र प्राविधिक ज्यादा बनेको छ । पार्टी कसको वैचारिक लाइनमा छ भनी प्रबन्धन गर्नु ओली र प्रचण्डका लागि अस्तित्वको प्रश्न हो । यसर्थ स्कुल विभाग आ–आफ्ना गुट, पृष्ठभूमि र नेतृत्वमा राख्न उनीहरू प्रयत्नशील देखिन्छन् ।


यहीँनेर नेकपा, यसको स्कुल र ज्ञानको पछिल्लो प्रवृत्तिमाथि केही प्रश्न गरौं । नेकपाको स्कुलले आजसम्म निर्माण गरेको वैचारिक पाठ्यक्रम के हो ? त्यो कस्तो छ ? त्यसले के उत्पादन गरिरहेको छ ? कुनै बेला भनिन्थ्यो— कम्युनिस्टहरू सिद्धान्तरक्षाका लागि जीवन उत्सर्ग गर्छन् । उनीहरू स्वयं सिद्धान्त मुख्य कुरा हो भनी मान्थे । सिद्धान्तले नै जनतालाई गोलबद्ध गर्छ । सिद्धान्तमा सम्झौता नगर, सिद्धान्तको रक्षा गर । त्यो जब्बर शिक्षाले राम्रो पनि गर्‍यो र नराम्रो पनि । तर २०४६ पछि जब सत्ताको स्वाद चाखे, त्यसपछि उनीहरूलाई लाग्यो— राजनीतिको केन्द्रमा ‘सिद्धान्त’ हुँदैन, ‘सत्ता’ हुन्छ । सत्ताको केन्द्रमा हुन्छ, ‘शक्ति’ ।


शक्ति प्राप्त गर्नु नै राजनीतिको ‘मुख्य ध्येय’ हो । परिणामतः सबै कुरा फेरियो । उनीहरूले सिद्धान्तको अवमूल्यन गरे । जनताको जीवनमूल्य बिर्सिए । र प्रधान बन्यो, व्यक्ति स्वयंको चञ्चलाश्री । राजनीतिको केन्द्रमा स्थापित भए सत्ता, शक्ति, सम्पत्ति र स्वार्थ । त्यसपछि नेपाली कम्युनिस्टहरूका लागि विचार, आस्था र मूल्य–मान्यता गौण बने । सिद्धान्त गौण बन्यो । मुद्दाहरू गौण बने । स्कुलका कक्षाहरू त्यसरी नै चले । त्यसपछि के भयो ? उही भयो । कार्यकर्ताहरू अरिंगाल बने, मौरी बन्न सकेनन् ।


हामी विश्वव्यापी रूपमै राजनीतिक संक्रमणको युगमा छौं । स्वभावतः यो विचारको संक्रमण हो, जसले अर्थराजनीतिमा नयाँ बहसको माग गर्छ । आज मार्क्सवाद र पुँजीवादमाथि ठूलठूला प्रश्न उपस्थित भएका छन् । राज्यको भूमिकामाथि नयाँ चिन्तन सुरु भएको छ । भूराजनीतिक स्वार्थहरू फेरिँदै छन् । संसारभर वैकल्पिक लोकतन्त्र, सुशासन र न्याय प्रखर बन्दै छ । यस्तो बेला राजनीतिले गहिरा बहसहरू माग गर्छ ।


दर्शन र विचारमा विहंगम समालोचना खोज्छ । आजको युगका लागि कस्तो पार्टी बनाउने ? कस्तो राजनीति बनाउने ? कस्तो राज्य बनाउने ? मान्छेको गरिमा र सभ्यताको नयाँ भाष्य के हुने ? नेकपाको पछिल्लो स्कुल यस्ता विषयमा मौनप्रायः छ । त्यहाँ न विचार छ न त राजनीति, न विकास न त समृद्धि । मुद्दाहरू छरिएका छन् र सम्हाल्ने मान्छे छैनन् । नेकपा वैचारिक ठहरावमा छ । अझ भनौं, वैचारिक पतनमा छ । स्वयं नेकपाकै कार्यकर्ताहरू भन्छन्— आजको नेकपाका लागि किताबभन्दा ठूलो कुरा पैसा हो ।


अस्पतालभन्दा ठूलो कुरा अस्पतालका मालिक हुन् । विश्वविद्यालयभन्दा ठूलो कुरा त्यसका पदाधिकारी हुन् । विद्यार्थीको पठन–पाठन, ज्ञान र बौद्धिकताभन्दा ठूलो कुरा विद्यार्थी संगठन हुन् । सुशासित निजामती प्रशासनभन्दा ठूलो कुरा उसका भाले कर्मचारी संगठन हुन् ।


त्यसो त दलहरूमा राजनीतिक संस्कृतिको प्रश्न पनि महत्त्वपूर्ण हुन्छ । नेकपाले नेपाली राजनीतिकलाई कस्तो संस्कृति दियो ? यो प्रश्नको कसीबाट हेर्दा पनि समस्या नै देखिन्छन् । हाम्रा कम्युनिस्ट सबैभन्दा जब्बर छन् । अन्तरपार्टी लोकतन्त्र नेतातन्त्रमा पतनशील छ । गुटहरू छन् । बहुसंख्यक कार्यकर्तामा प्रश्न छैन, आलोचनात्मक चेत छैन । जोसँंग छ, उनीहरू किनारमा छन् । चाकडी तीव्र छ ।


पार्टीमा डनहरूको साम्राज्य फैलँदो छ । यसको अर्थ नेकपाको पछिल्लो स्कुलले के उत्पादन गर्दै छ ? राजनीतिमा असल कार्यकर्ता नभई दासहरू नै उत्पादन गर्ने हो भने पार्टी स्कुल किन चाहियो ? त्यसो त नेकपाभित्र विकास र समृद्धिको चिन्तन पनि गहिरो, रचनात्मक र गतिशील देखिँदैन । नेताहरू ज्ञान र तर्कमा दम्भी छन् ।


उनीहरूसँग सबै प्रश्नको मुढेउत्तर छ र पार्टीका बुद्धिजीवीसँग छन्, मात्र ताली बजाउने लोभी हातहरू । उनीहरू दलाल पुँजीवाददेखि दलाल पुँजीवादसम्मको बहसमा रमाउँछन् र पूरा दिन आसेपासेहरूको ज्ञानधारा सुनेर मक्ख पर्छन् । कुनै अध्ययन–अनुसन्धान छैन । परिणामतः तथ्य र तर्कहरू कमजोर छन् र हठ ज्यादा छ । बिचौलियाको भाउ चर्को छ र जनता मूल्यहीन भएका छन् । नेकपाले बनाएको स्कुल यही हैन र ? अतः प्रश्न स्वाभाविक हुन्छ— यस्तो स्कुलको के काम, जसले तथ्य र तर्कको अवमूल्यन गर्छ र स्वतन्त्र चिन्तनको सधैं खिल्ली उडाउँछ ?


जब गर्नु अर्कै थोक छ भने स्कुल खोलेर के हुन्छ ? बरु खोल्नुहोस् अखडा, जहाँ छिर्केदाउ लगाउन र आफ्नै कमरेडलाई पछार्न तालिम दिइयोस् । खोल्नुहोस् यस्तो कोचिङ सेन्टर, जसले विचारको हैन, चाकडीको भाषा सिकाओस् । यदि गुटवाद, सत्तावाद, अवसरवाद नै पढ्ने हो भने नेकपालाई स्कुल किन चाहियो ? त्यसका लागि नेताहरूका कोठरी नै काफी छन् । त्यसैले प्रिय कमरेडहरू, स्कुल विभागको लफडामा समय नफ्याँक्नुहोस् । आउनुहोस्, कृपया स्कुल भत्काउनुहोस् र दासशाला बनाउनुहोस् । आजको नेकपाका लागि त्यो नै सही र ऐतिहासिक निर्णय हुनेछ ।


अन्यथा, नेकपाको वैचारिक पुनर्गठन आजको आवश्यकता हो । नेकपाको सांस्कृतिक पुनर्गठन आजको आवश्यकता हो । यो अर्थमा नेकपाका अगाडि मात्र दुइटा बाटा छन् । पहिलो, सत्ताको मायाजाल नै राजनीतिको सर्वोपरि सत्य हो भन्ने स्थापित गर्ने । त्यही लेख्ने, त्यही पढ्ने, चाकडी र चाप्लुसी पढाउने । मान्छेलाई भुत्ते बनाउने ।


मानवीय मूल्य–मान्यताको तेजोवध गर्ने र पूर्वाग्रहको शिर उठाउने । दोस्रो बाटो छ, राजनीतिका आदर्शहरूलाई पार्टी, राज्यसत्ता र समाजमा स्थापित गर्ने । कमरेडहरू कुन बाटो हिँड्ने ? पहिलो बाटो नै प्रिय छ भने तपाईंहरूले गर्ने स्कुल विभागको पजनी फगत एक थान मठाधीशको आत्मतुष्टि मात्र हुनेछ, जसको राजनीतिमा कुनै अर्थ छैन ।

[email protected]

प्रकाशित : श्रावण १६, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?