सीपको सम्मान

पुष्परमण वाग्ले

मानव जीवनका लागि आवश्यक पर्ने भौतिक तथा सामाजिक पूर्वाधारहरू परिपूर्ति गर्न विज्ञान र प्रविधिको सम्मिश्रणबाट आर्जित परिणाममुखी सिकाइ नै प्राविधिक शिक्षा हो । अहिले प्राविधिक शिक्षा सञ्चालन हेर्दा, विद्यालयमा ज्ञान प्राप्तिको उद्देश्यले घोकाइन्छ भने विश्वविद्यालयमा पढाइन्छ ।

कृषि, इन्जिनियरिङ, स्वास्थ्य र होटल व्यवस्थापन संकायका विषयहरूमा समेत घोकाइ र पढाइका आधारमा उत्तीर्णाङ्क ३२ वा ४० राखी कापीमा लेखेकोलाई मूल्याङ्कनबाट पास वा फेल भनी प्रमाणित गरिन्छ । यस्तो शिक्षा प्रणालीले बोल्ने वा लेख्नेलाई प्रश्रय दिई श्रमलाई निरुत्साहित बनाएको छ । शिक्षा आर्जनका क्रममा कृषिमा उत्पादन गर्न सक्ने, इन्जिनियरिङमा कलकारखाना वा उद्योगमा काम गर्न सक्ने, स्वास्थ्यमा अस्पतालमा र होटल व्यवस्थापनमा होटलमै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने खालको भएको भए नेपाल विश्वकै गरिब मुलुक भनेर चिनिइरहनुपर्ने थिएन ।


आर्थिक–सामाजिक रूपले हाम्रो समाजमा धेरै उन्नति भइरहे पनि सीपयुक्त जनशक्तिप्रति समाजको दृष्टिकोण उस्तै छ, मानौं ती तल्लो दर्जाका मानिस हुन् । त्यसैले पनि हामीकहाँ श्रमको सम्मान हुन नसकेको हो, श्रमप्रति आम रुचि नदेखिएको हो । घरआँगनमै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगबाट उत्पादन वृद्धि गर्ने र उत्कृष्ट सेवा प्रदान गर्ने सीप सिकेको जनशक्ति नै गाउँबाट बजारतर्फ, बजारबाट सहर र सहरबाट विदेश जानेहरूको संख्या पनि दिनानुदिन बढ्दो छ । यसका कारण खेतीयोग्य जमिन बाँझो बसिरहेको छ ।


हाम्रो समाजको मनोविज्ञान अनौठै छ । कोही विद्यार्थी भेटिए सोधिहालिन्छ, ‘बाबु/नानी, तिमी पढ्न जान लागेका हौ वा पढेर आएको ?’ कसैले सोध्दैन, ‘बाबु/नानीबाबु तिमी सिक्न जान लागेका हौ वा सिकेर आएको’ भनेर । श्रम गर्ने सन्दर्भमा, समाजबाट भोग्नुपरेको अपमानले गर्दा हामी विकसित मुलुकमा जस्तै छाती फुलाएर ‘म काममा जान लागेको हुँ’ भन्न सक्दैनौं । भन्छौं, ‘म अफिस जान लागेको हुँ ।’ हाम्रो यस्तो विचित्र मनस्थितिले गर्दा प्राविधिक शिक्षा र व्यावसायिक तालिमबाट आर्जित सीप लुकाई–छिपाई रोजगारीका लागि हिँड्नुपरेको छ । जैविक विविधताले भरिपूर्ण मुलुक भइकन पनि बाह्य मुलुकबाट आयात गरी परजीवी बन्नुपर्नाको मूल कारण नै यही हो ।


प्राकृतिक सौन्दर्यलाई दृश्यावलोकन गर्न आउने पर्यटकलाई अवतरण भए लगत्तै आवागमनमा दिइने, ट्याक्सी ड्राइभर र होटल व्यवसायीले प्रदान गर्ने सेवाका साथै गाइडले दिने सेवा उत्कृष्ट भएमा पाँच दिनका लागि आएको पर्यटक दस दिनसम्म बस्न सक्छ । आफूले देखेका हिमाल, पहाड र तराईको रमणीय दृश्यबारे उसले फर्केपछि सामाजिक सञ्जालमा उल्लेख गर्छ, जसका कारण अन्य पर्यटक आकर्षित हुनेछन् । यस्तो प्रक्रियालाई प्रोत्साहन गर्न आवागमनमा कार्य गर्ने कर्मचारी, ट्याक्सी ड्राइभर, ट्याक्सी धनी, होटल व्यवसायी र गाइडलाई समेत आवश्यक पर्ने खालको रुचि अनुसारको सीप प्रदान गरी उत्कृष्ट सेवा गर्ने विधिको विकास गर्नुपर्ने हुन्छ ।


प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा गुणस्तरीय प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुन्छ । हामीसंँग उपलब्ध सीमित स्रोतसाधनका कारण प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई चाहेजस्तो विस्तार गर्नसकेका छैनौं । सिकेर जान्ने खालको रोजगारोन्मुख शिक्षामा गुणस्तरीय प्रशिक्षणका लागि आवश्यक पर्ने कक्षाकोठा, प्रयोगशाला, प्रयोगात्मक अभ्यासका लागि कार्यशाला वा कार्यस्थलको जरुरी पर्छ ।


शिक्षा प्रणालीमा, सिक्ने क्रममा उद्योग–व्यवसायीलाई समावेश गराई कार्यस्थलको सिकाइलाई महत्त्व दिइयो भने उत्पादन वृद्धि हुन्छ । साथै उद्योग–व्यवसायीको उत्पादन बढेर आर्थिक लाभ हुन्छ भनी विश्वास दिलाउन सक्ने योजना बनाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । उत्पादनका आधारमा मूल्यांकन गर्ने पद्धतिको विकास गर्ने, तहगत प्रमाणीकरण गर्ने र मान्यता हुने खालको शिक्षा प्रणालीको विकास गर्नुपर्ने हुन्छ ।


यही पद्धतिबाट शिक्षा लिँदालिँदै उत्पादनलाई सम्मानित रोजगारीमा परिणत गर्न सकिन्छ । विद्यार्थीले कार्यस्थलमै सीप सिक्न सकून् भन्नका लागि उद्योगी–व्यवसायीलाई अनुकूल हुने खालको ऐन, नियम र नीतिको व्यवस्था गर्नुपर्छ । यस्तो हुनसके विद्यार्थीमा श्रम गर्ने बानी बस्न जानेछ । अनि श्रमप्रति समाजको दृष्टिकोण पनि बदलिन सक्नेछ र रोजगारीलाई सम्मानित बनाउन सकिनेछ । जुनसुकै संकायमा अध्ययन गर्ने विद्यार्थीले सिक्ने क्रममै उत्पादन गर्ने वा सेवा प्रदान गर्ने खालको पद्धतिको विकास हुनेछ । तसर्थ देशमा आर्थिक र सामाजिक उन्नति गर्ने शिक्षा भनेको नै प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम बन्नेछ ।


आधारभूत, मध्यमस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी रोजगारोन्मुख बनाउने उद्देश्यले २०४५ मा स्थापित प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका शिक्षालयहरूले सिकाइका माध्यमबाट सीप बाँड्दै आइरहेका छन् । अहिले

२९२ स्थानीय तहमा सीटीईभीटीको सेवा उपलब्ध छ ।


शिक्षालाई रोजगारोन्मुख बनाउने हो भने ‘सिक, कमाउ र तिर’ को अवधारणा अवलम्बन गरी आयआर्जनबाट निःशुल्क वा न्यून शुल्कमा सिक्ने शिक्षा प्रणालीको विकास गर्न जरुरी छ ।


लेखक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्यसचिव हुन् ।

प्रकाशित : श्रावण १६, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?