२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बीपीको मधेस दृष्टि

शब्द साक्षी
सीके लाल

काठमाडौँ — छापा मिडियाको बोलवाला रहेका बेला बेलायत लगायत कतिपय पश्चिमा मुलुकमा गर्मीका केही महिनालाई मूढ मौसम (सिल्ली सिजन) भन्ने गरिन्थ्यो । प्रभावशालीहरू वार्षिक बिदामा गएका हुन्थे । राजनीतिक समाचार खासै हुँदैनथ्यो । अनि अखबारहरू कुकुर र बिरालोको कथा हालेर पाना भर्ने गर्थे ।

बीपीको मधेस दृष्टि

अगामी आर्थिक वर्षको बजेट असार मसान्ततिर सार्वजनिक गर्ने चलन कायम रहेसम्म साउनमा नेपाली छापाका पत्रकारहरूलाई संसदीय गतिविधि एवं विकासे समाचार समाविष्ट गर्न भ्याइ–नभ्याइ हुन्थ्यो । स्वघोषित विज्ञहरूले विश्व बैंकको प्रभाव विश्लेषण गर्ने गर्थे । बजार भाउको चर्चाले किनमेलका लागि घरेलु सहयोगीलाई बजार पठाउनेहरूबीच चर्चा पाउँथ्यो ।


मूढ मौसम अनि भदौतिर मात्र सुरु हुन्थ्यो । वैशाख वा जेठ महिनातिरै बजेट सार्वजनिक गरिने पद्धति सुरु भएपछि भने साउन महिना नेपाली छापाका लागि नयाँ मुढ मौसम बन्न पुगेको छ । बाढी र पहिरो समाचार पृष्ठका मुद्दा हुन् । विचारका लागि केही गुरुगम्भीर कुरा चाहिन्छन् ।


समाचारबाहिर वैचारिकता पनि बाँकी छ भन्ने कुरा देखाउन बुद्धिमत्ता प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यसैले नेपालका दुई सबभन्दा ठूला दलले आआफ्ना पथप्रदर्शकहरूको वार्षिकीलाई वार्षिकोत्सव सरह कीर्तिगानको नयाँ अनुष्ठान बनाएका छन् ।


गिरिजाप्रसाद कोइरालाले व्यावहारिक विवेक प्रयोग गरेर ‘माले–मसाले–मण्डले’ प्रवृत्तिको पहिचान गर्दै तिनलाई एकै ठहर्‍याएका थिए । छोटकरीमा ‘मामम’ भन्न सकिने त्यस समूहको वर्चस्व सन् २०१५ पश्चात बेपत्ता बढेर गएको छ । अंग्रेजीमा ‘सुपरमासिजम’ भनिने जातीय राजनीतिको नश्लवादी विचारधारा छ । नेपालीमा त्यसलाई ठाडै नश्लवाद नठहर्‍याएर जातिमूलक दम्भको वैचारिकी भन्दा हुन्छ । जातिमूलक दम्भको विचार पद्धतिका अनुयायीहरूले आफ्ना कुल, वंश एवं जातलाई अरूभन्दा उच्च ठान्छन् । अन्य जातीय समूहहरूलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने धारणा बनाएका हुन्छन् । बाहिरियाहरूलाई ठाउँमा राख्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्छन् ।


स्वपरिभाषित ‘हामी’ लाई ‘अन्य’ माथि हावी हुने पूर्वाधिकार छ भन्ने दृष्टिकोणले गर्दा जातिमूलक दम्भका अनुगामीहरू नृजातीय ऐक्यबद्धतालाई स्वाभाविक मान्छन् । सन् २०१५ पछि ‘खस–आर्य’ जातीय पहिचानले संवैधानिक मान्यता पाएदेखि कुनै पनि वर्चस्ववादी सार्वजनिक व्यक्तित्वले

आफ्नो नृजातीय पूर्वाग्रह लुकाउन आवश्यक ठान्दैनन् । बरु आफ्नो जातीय पहिचानलाई अहम्मन्यता एवं दर्पका साथ प्रदर्शन गर्न रुचाउँछन् ।


राजनीतिक रूपले विरोधी रहेकाहरूलाई समेत समाहित नगरेसम्म जातिमूलक दम्भको विचार पद्धतिले व्यापक मान्यता पाउन सक्दैन । त्यसैले उनी बाँचुन्जेल ‘मामम’ जमातले ‘गद्दार’ घोषणा गरेका पुष्पलाल श्रेष्ठ एकाएक युगद्रष्टाका रूपमा साम्यवादी इष्टदेवताहरूबीच पुनःस्थापित भएका छन् । बीपी कोइरालालाई ‘अराष्ट्रिय तत्त्व’ घोषणा गरेर फाँसी दिनुपर्छ भन्ने माग तेर्स्याउनेहरूका लागि उनी नयाँ आराध्यदेव बन्न पुगेका छन् ।


जीवित रहेका भए सम्भवतः पुष्पलाल सम्मान, समानता एवं समाजवादको खोजीमा रहेका अशोक राई, राजेन्द्र श्रेष्ठ एवं सीके राउत जस्ता संघर्षशील राजनीतिकर्मीहरूका नेता हुन्थे । नेकपा दोहोरो जस्तो एकलजातीय वर्चस्वको राजनीतिक दलमा पुष्पलाल जस्तो आत्मसम्मान भएको व्यक्ति आटाउन सक्ने कल्पना पनि गर्न सकिँदैन । बीपीले अहिलेको जस्तो परिस्थिति देख्नुपरेको भए भुइँफुट्टाहरूको हालीमुहाली कायम हुन पुगेको दललाई तत्काल भंग गरेर फेरि नयाँ सुरुवात गर्ने थिए ।


संक्रान्ति युग

पहिलो विश्वयुद्धको समापन एवं दोस्रो विश्वयुद्धको बीजारोपण तथा मञ्चनबीच जन्मेर हुर्के–बढेका तथा संसारभरि नै स्वतन्त्रता आन्दोलनको लहर चलेका बेला राजनीति गरेका बीपी तथा पुष्पलाल प्रकारान्तरले शीतयुद्धका सिकार भए ।


त्यस बखतको कालचेतनाका अग्रणीहरूलाई आजभोलिको मान्यताका आधारमा मूल्यांकन गर्न मिल्दैन । भइदियो के भने, पृथ्वीनारायण वा भानुभक्तलाई अगाडि सारेर खस–आर्यको जातीयमूलक श्रेष्ठता स्थापित हुँदैन । तिनका उपलब्धिहरू जतिसुकै महान एवं गौरवशाली रहेका भए पनि एकांगी प्रकृतिका थिए ।


पृथ्वी निःसन्देह बहादुर योद्धा थिए । उनको पराक्रमको प्रतिफल शाह–राणा परिवार एवं तिनका भाइ–भैयादसंँगसँंगै गुरु–पुरोहित तथा आसेपासेका सन्तानले अद्यापि पाइरहेका छन् । भानुभक्तले घाँसीले कुवा खनाएको पद्य रचे, तर आफू भने जनहितका लागि पोखरी बनाउन अघि सरेनन् । पृथ्वी एवं भानुभक्तको गुरुत्वाकर्षण प्रत्यक्ष लाभग्राही समूहबाहिर खासै छैन भन्दा पनि हुन्छ ।


त्यसैले समाज सुधार, साहित्य सिर्जना, संस्कृति निर्माण एवं राजनीतिक परिवर्तनमा उत्तिकै दक्खल भएको पुनर्जागरण व्यक्तित्व (रेनसान्स पर्सनालिटी) भन्न मिल्ने बीपी मरणोपरान्त पूर्वएमाले बाहेकका लगभग सबै राजनीतिक विचार बोक्ने खस–आर्य जमातका लागि आदर्शस्वरूप (आइडिअल) बन्न पुगेका छन् । तर खोपीमा राखिएको देउताबाहेक सर्वथा आलोचनामुक्त कोही पनि हुनु हुँदैन र रहन सक्दैन । मधेसप्रति बीपीको दृष्टिकोणलाई भने उनको पारिवारिक पृष्ठभूमि, दोस्रो विश्वयुद्धपछिको वैचारिक कालचेतना, शीतयुद्धको उत्कर्षताका देखिएको शक्तिराष्ट्रहरू बीचको प्रभाव क्षेत्र विस्तार गर्ने प्रतिस्पर्धा एवं तत्कालीन नेपालको धरातलीय यथार्थको आलोकमा हेर्नुपर्ने हुन्छ ।


साहित्यकार थिए, त्यसैले बीपीले आफ्ना पितापुर्खालाई अतिशय चित्ताकर्षक बनाएर प्रस्तुत गरेका छन् । खासमा कोइराला कुल गण्डक क्षेत्रका अन्य बाहुन परिवारहरू जस्तै शाह एवं राणा शासनबाट फाइदा उठाउनेहरूमै पर्थ्यो । पिताजी भनेर ख्याति पाएका कृष्णप्रसाद कोइरालाले सरकारी नोकरी छाडेर ठेक्कापट्टा एवं बन्दव्यापारमा आफ्नो भाग्य आजमाउन थालेका थिए । व्यापारमा उँधो–उँभो भइरहन्छ । त्यस्तै केही परेर उनी तत्कालीन बडाहाकिमको सहयोगमा विदेशिए । उनको विस्थापनले गर्दा पिताजीको सम्पूर्ण परिवार भारतमा बिताउन बाध्य भयो ।


त्यसैले बीपीको उत्संस्करण (अकल्चरेसन) उत्तर भारतको ब्राह्मण तथा वाणिक वृत्ति अनुसार भएको देखिन्छ । दुवैथरी जातीय मान्यतामा भूस्वामित्वमा आधारित सामन्ती प्रथाविरुद्ध

ठूलो रोष रहेको हुन्छ । पण्डित, पुरोहित एवं ज्योतिषीले जमिनदारलाई स्वस्ति गर्छन् र आशीर्वाद टक्र्याउँछन् । तिनका मनमा भने तुलनात्मक रूपमा कम पढेका तर बढी शक्तिशाली यजमानप्रति खासै आदरभाव हुँदैन । बीपी पनि त्यस ब्राह्मण मनोदशाबाट मुक्त थिएनन् भन्ने कुरा उनको राजा महेन्द्रसँंगको प्रेम र घृणाको सम्बन्धले देखाउँछ । नेपालको संस्कृति एवं समाजबारे उनलाई बनारस, कलकत्ता एवं दार्जिलिङका प्रवासीहरूसँंग सिक्नुपर्ने भयो । त्यसैले प्रवासीहरूमा सामान्यता देखिने थातथलोका अल्पसंख्यकहरूप्रतिको द्वेषभाव उनले नजानिँदो तवरले ग्रहण गरे ।


भारतीय स्वतन्त्रता संग्राममा सक्रिय सहभागिता रहेकाले त्यस आन्दोलनका मूल्य एवं मान्यताबाट बीपी पनि मुक्त रहन सक्ने कुरा भएन । उपनिवेशवादबाट मुक्त हुन लागेका एसिया एवं अफ्रिकाका अन्य धेरै देशजस्तै भारतको राष्ट्रियताको प्रारूप समावेशी (इन्क्लुजन) भन्दा पनि समाहिकीकरण (असिमलेटिभ) प्रकृतिको थियो, जहाँ बहिष्करणमा परेकाहरूले वर्चस्वशाली समुदायको भाषा, वेशभूषा एवं जीवनशैली अंगीकार गरेर ‘उपयुक्त नागरिक’ बन्न सिक्नुपर्छ । चिनियाँ राजनेता सनयातसेनले प्रतिपादन गरेका जनताका तीन सिद्धान्त मध्येको राष्ट्रियता अवधारणा केही फरक थियो ।


नेपाली कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र एवं जनजीविकामा आधारित समाजवादलाई सनयातसेनको तीन सिद्धान्तबाट प्रभावित ठहर्‍याउन सकिन्छ । बीपी व्यक्तिगत रूपमा भने थातथलो फर्किएका प्रवासीहरूमा देखिने परम्परा मोहबाट आजीवन मुक्त हुन सकेनन् । संयोग नै मान्नुपर्छ, द्वितीय विश्वयुद्धबाट स्थापित राष्ट्रियताको मान्यता अमेरिकी प्रारूपमा आधारित हुन गयो, जहाँ ससाना प्रवाहले आफ्नो स्वत्वलाई मूलधारमा समाहित गर्नुपर्ने हुन्छ ।


दूरदर्शी थिए, त्यसैले आफ्ना कमी–कमजोरीलाई सच्याउने तत्परता बीपीमा अन्य समकक्षी राजनीतिकर्मीहरूमा भन्दा धेरै थियो । तर उनलाई जातीय पूर्वाग्रहमुक्त ठहर्‍याउनु उपयुक्त हुँदैन । उनी तत्कालीन कालचेतनाका प्रतिनिधि पात्र हुँदाहुँदै पनि गल्ती सकभर नदोहोर्‍याउने प्रयोगधर्मी राजनीतिकर्मी भने निःसन्देह थिए ।


निरुत्सुक मनोदशा

आफ्नो जीवनकालको फेहरिस्तमा बीपीले प्रस्तुत गरेको विवरण अनुसार उनले पढाइमा १७ वर्ष, जेलमा १२ वर्ष, निर्वासनमा २० वर्ष र सरकारमा २ वर्ष व्यतीत गरे । तीमध्ये २ वर्ष सिरहाको चन्द्रगढी, ४ वर्ष विराटनगर, १९ वर्ष बनारस, ८ वर्ष पटना, ५ वर्ष बिहारको टेढी, ३ वर्ष कलकत्ता, २ वर्ष हजारीवाग एवं १ वर्ष दार्जिलिङमा बितेको थियो । त्यसैले उनको मधेस बारेको बुझाइ आसेपासेले सुनाएको कुरामा आधारित एवं सतही थियो भने त्यसमा कुनै आश्चर्य मान्नु पर्दैन ।


हृषीकेश शाहलाई होच्याउन बीपी ठाडै घोषणा गरिदिन्छन्, ‘तराईमा भोकभोकै कुनै मानिसले बस्नुपरेको छैन’ र पनि दाबी गर्न छुटाउँदैनन्, ‘म पनि त तराईवासी ।’ भारतमा उनको सम्पर्क व्यापक भए पनि उनका लागि ‘तराईवासी’ आफैजस्ता मात्रै थिए जस्तो लागेको हुनसक्छ ।


जातीय विभेदमा परेका अन्य औपनिवेशिक समाजहरू जस्तै मधेसको समृद्ध वर्ग पनि सोझो या घुमाउरो तवरले सत्तासँंग जोडिएको थियो । त्यही कुरा नेपाली कांग्रेसका ‘चार तारा’ व्यक्तित्व बारेमा भन्न सकिन्छ । बीपीको वक्रदृष्टिमा भने जमिनदारहरू सिंह, मिश्र एवं झा पर्छन् ।


उनी सप्तरीमा वेदाबाबुलाई हराउन एउटा रेग्मी खोज्न सक्छन्, तर सरोज कोइरालाका लागि सहर्ष आफ्नो कार्यक्षेत्र समर्पण गर्ने यादवलाई तनहुँ वा कास्कीबाट उम्मेदवार बनाउने आँट जुटाउन सक्दैनन् । नृजातीयताका मामिलामा बीपी एवं राजा महेन्द्रको दृष्टिकोण लगभग समान थियो भन्ने केही राजावादीहरूको मूल्यांकन यथार्थभन्दा धेरै फरक छैन ।


फरक के हो भने सुधारवादी राजनेता भएकाले वस्तुस्थिति बदलिएको चाल पाउनासाथ आफ्नो विचार बदल्न बीपी कति पनि ढिलो गर्दैनथे । राजासंँगको सशस्त्र संघर्षलाई उनैसंँग ‘घाँटी जोडिएको’ सहकार्यसम्म पुर्‍याउन भूराजनीतिको बाध्यताले काम गरेको थियो । नारायणहिटी हत्याकाण्डपछि गणतन्त्र अपरिहार्य हुन गयो । वैश्वीकरणको दुष्प्रभावले नृजातीयता उभारमा छ ।


बीपी अहिले भए के गर्थे भन्ने प्रश्नको तर्कसंगत उत्तर के हो भने, उनी आफ्ना आधारभूत मान्यतालाई यथावत राखेर कार्यनीतिबारे पुनर्विचार गर्थे । निरन्तर सच्चिने प्रयत्न ऐतिहासिक रूपले महत्त्वपूर्ण व्यक्तित्वहरूको प्राथमिक पहिचान हो । त्यस मान्यताको रापमा बीपीको दृश्यमान ‘मधेस द्वेष’ क्षणमै पग्लेर बग्छ ।


प्रकाशित : श्रावण १५, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?