कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चुनौतीको पहाड, अवसरको मैदान

प्रदीप ज्ञवाली

काठमाडौँ — छोराका छोराका छोराहरूले
कस्तो बनाउलान् यो संसार ?
तिनीहरू अब्बल निस्केलान् कि झूर
झिँगासरि कि गहुँसरि ?
तिमी जवाफ त दिन चाहन्नौ,
तर प्रश्न भने मर्दैनन् है !
–पाब्लो नेरूदा

चुनौतीको पहाड, अवसरको मैदान

‘संसारभर वामपन्थी आन्दोलन रक्षात्मक स्थितिमा रहँदा पनि तिमीहरूले यस्तो आश्चर्यजनक सफलता कसरी प्राप्त गर्‍यौ ?’ विदेशी मित्रहरूले हामीसँग भेट्दा आम रूपमा जिज्ञासा राख्छन् ।

हुन पनि, दुनियाँमा दक्षिणपन्थी प्रवृत्ति, नवउदारवादी अर्थनीति र अनुदार राजनीति हावी हुँदै गइरहेका बेला नेपालका वामपन्थीहरूले प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धतिबाट हासिल गरेको झन्डै दुईतिहाइको यो उचाइ धेरैका लागि अपत्यारिलो विषय रहेको छ ।

तर यसमा कुनै आश्चर्य या रहस्य छैन । नेपाली कम्युनिस्ट आन्दोलनको उद्भव जस्तो पृष्ठभूमिमा भयो र सत्तरी वर्षको आरोह–अवरोहपूर्ण यात्रामा यसले जुन मूल्यहरूको विकास र जस्तो दिशाको अवलम्बन गर्‍यो, यसले नै कम्युनिस्ट आन्दोलनलाई समाजको सर्वाधिक लोकप्रिय, रूपान्तरणकारी र नेतृत्वदायी शक्तिका रूपमा स्थापित गरिदिएको छ । यसका विकास र उपलब्धिका आधारहरू यसले खेल्दै आएका भूमिकाद्वारा नै निर्दिष्ट छन् ।

‘नागरिक स्वतन्त्रता सबैलाई आवश्यक, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऔं !’ आफ्नो पहिलो पर्चामार्फत नेपाल कम्युनिस्ट पार्टीले राणाशासनविरुद्ध विद्रोह गर्न नेपाली जनतालाई गरेको आह्वान थियो यो । अर्थात्, नेपाली कम्युनिस्ट आन्दोलन आरम्भदेखि नै लोकतान्त्रिक आन्दोलनको अविभाज्य र महत्त्वपूर्ण अङ्गका रूपमा स्थापित भयो ।

लोकतन्त्रप्राप्तिका लागि यसले सात दशक लामो बलिदानी सङ्घर्ष गर्‍यो । संसारका कतिपय कम्युनिस्ट समूह लोकतन्त्रका बारेमा दिग्भ्रमित र विचलित रहे । सोभियत ढाँचाको प्रणालीमा ‘सर्वहारा अधिनायकत्व’ का नाममा स्थापित एकदलीय व्यवस्थालाई सबै ठाउँमा लागू हुने क्रान्तिकारी सिद्धान्त र समाजवादको एक मात्र ढाँचा ठान्ने गल्ती गरे । तर नेपालको कम्युनिस्ट आन्दोलन एकाध अपवादलाई छाडेर सधैंभरि लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रह्यो ।

सात सालको क्रान्तिताका सहयोगी भूमिकामा सीमित र परिवर्तनपछिका सरकारहरूद्वारा उपेक्षित एवं प्रतिबन्धित पार्टी २०४६ सम्म लोकतान्त्रिक आन्दोलनको सहनेता र मुख्य शक्तिका रूपमा स्थापित हुनुमा यही कारणले भूमिका खेलेको थियो । २०६२/६३ को आन्दोलनसम्म आइपुग्दा यो पार्टी लोकतन्त्रको मुख्य नेता र निर्णायक शक्तिका रूपमा स्थापित भएको छ । आन्दोलनका मुख्य एजेन्डा— संविधानसभा, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय र समावेशिता आदिको मुख्य संवाहक नै वामपन्थी शक्तिहरू थिए । ती उपलब्धिको रक्षा र सुदृढीकरणका लागि आज उनीहरूलाई जनादेश प्राप्त छ । नेपाली कम्युनिस्ट आन्दोलनको सफलतालाई बुझ्नका लागि यसले लोकतन्त्रप्राप्तिमा खेलेको भूमिकालाई आग्रहरहित ढङ्गले देख्न सक्नुपर्छ ।

त्यसो त, उदार प्रजातन्त्रको लक्ष्यसाथ नेपाली काङ्ग्रेस यसअघि नै गठन भइसकेको थियो, तर कम्युनिस्ट पार्टीले उदार लोकतन्त्रका सीमालाई निर्क्योल गर्‍यो, यी पर्याप्त छैनन् भन्ने स्थापित गर्‍यो र लोकतन्त्रमा सामाजिक न्यायलाई जोड्ने काम गर्‍यो । महिला अधिकार र समानता, मजदुरका निम्ति सम्मानजनक काम, ट्रेड युनियन र श्रम अधिकार, किसानलाई भूमि अधिकार, दलितलाई समानता, अन्य सीमान्तकृत समुदायका लागि राज्यमा विशेष व्यवस्था र सामाजिक सुरक्षा जस्ता विषय आज जसरी संविधानमा स्थापित भएका छन्, त्यसको श्रेय निर्विवाद ढङ्गले वामपन्थी आन्दोलनलाई जान्छ । सामाजिक न्यायका मुख्य अभियन्ता हुनुको नाताले वामपन्थी शक्तिहरूलाई श्रमजीवी नेपाली जनताको साथ र समर्थन सधैंभरि प्राप्त भयो ।

नेपाली कम्युनिस्ट आन्दोलनको अर्को विशेषता के रह्यो भने, यसले जनताका दैनन्दिनका सरोकारका मुद्दामा आफूलाई जहिल्यै अग्रपङ्क्तिमा उभ्यायो । अधिकांश कम्युनिस्ट नेताले निरङ्कुश शासन व्यवस्थामा भूमिगत जीवनशैली रोजे, र जनतासँग नङमासुको सम्बन्ध स्थापित गरे । कठोर भूमिगत शैलीमा जनाधार निर्माण गरिएका अधिकांश भूभाग आज बलियो निर्वाचन क्षेत्रका रूपमा पनि स्थापित छन् ।

उनीहरू जेलमा या भूमिगत मात्रै बसेनन्, जनताको जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दाहरू— स्थानीय सामन्तबाट हुने शोषण–उत्पीडन, महँगी, भ्रष्टाचार, सार्वजनिक जग्गा कब्जा, महिला र दलितमाथिका अत्याचार लगायतमा स्थानीय सङ्घर्ष पनि सञ्चालन गरे । स्थानीय संस्कृति र समाजसँग सन्निकट हुँदै जनताका सच्चा साथीका रूपमा खडा भए । (अचेल भने जनताको दुःखसुखसँग प्रत्यक्ष जोडिने, उनीहरूका सरोकारका मुद्दामा अगुवाइ गर्ने र कामद्वारै जनताको मन जित्ने कार्यशैली कमजोर बन्दै गएको छ ।) यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई आम जनताको आन्दोलनका रूपमा स्थापित गर्‍यो ।

नेपाल जस्तो मुलुकका लागि राष्ट्रियताको मुद्दा संवेदनशील र अत्यन्त महत्त्वपूर्ण रहेको छ । हाम्रो सन्दर्भमा राष्ट्रियताको प्रश्न अचेल केही ‘बौद्धिक’ ले चर्चा गरे जस्तो कुनै जात, धर्म या समुदायको श्रेष्ठता सिद्ध गर्ने र अरूलाई घृणा गर्न उक्साउने विषय होइन । यो त एउटा सार्वभौम राष्ट्रका रूपमा नेपालले आफ्नो सीमा र भौगोलिक अखण्डताको रक्षा गर्न पाउँछ कि पाउँदैन, संविधान निर्माण, शासन प्रणाली, विकासको ढाँचा र विदेश सम्बन्ध जस्ता विषय आफै निर्णय गर्न पाउँछ कि पाउँदैन र विश्वमानचित्रमा स्वतन्त्र, असंलग्न र सम्प्रभु राष्ट्रका रूपमा विकसित हुन पाउँछ कि पाउँदैन भन्ने निर्णायक प्रश्न हो ।

शक्तिराष्ट्रहरूले ‘मेरो राष्ट्रिय हित’ भन्दा लाग्ने अर्थ र नेपाल जस्तो देशले आफ्नो ‘राष्ट्रिय हित’ भन्दा लाग्ने अर्थको भिन्नता नछुट्याई राष्ट्रियताप्रति नकारात्मक भाव सम्प्रेषण गर्नु प्रकारान्तरले राष्ट्रिय हितलाई तिलाञ्जली दिनु हो । कम्युनिस्ट आन्दोलनले एकातिर सबै जातजाति, भाषाभाषी र संस्कृतिमा आबद्ध नेपाली जनताको एकतालाई राष्ट्रका रूपमा परिभाषित गर्दै समानताको लडाइँ लड्दै आयो भने, अर्कातिर सार्वभौम राष्ट्रका रूपमा आफ्नो भूमिको रक्षा र आन्तरिक विषयहरूमा बिनाहस्तक्षेप आफै फैसला गर्न पाउने स्वनिर्णयको अधिकारका लागि लड्दै आयो, बाह्य हस्तक्षेपको विरोध गर्दै आयो ।

संविधान निर्माण र त्यसपछिका परिप्रेक्ष्यमा सन् २०१५/१६ मा विकसित घटनाक्रम यसकै जीवन्त दृष्टान्त थियो । मुलुकले सार्वभौम अधिकारबारे सङ्घर्ष गरिरहेका बेला कतिपय पार्टी कहाँ थिए र जनताले तिनीहरूबारे कस्तो फैसला गरे भन्ने तथ्यको विश्लेषण गर्दा, नेपाली समाजमा राष्ट्रियताको मुद्दा कति संवेदनशील छ र वामपन्थी आन्दोलनको विकासमा यसले कति महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने स्पष्ट हुन्छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको अर्को विशेषता आफूलाई जडताबाट मुक्त गर्न सक्नु पनि हो । मदन भण्डारीले भनेझैं सिद्धान्तका निम्ति जीवन होम्ने होइन, जीवनका निम्ति सिद्धान्तको अन्वेषण र विकास गर्ने क्रममा आज केही मौलिक सिद्धान्त र मूल्यहरू विकास भएका छन् । निश्चय नै, विगतमा उग्रवाम या दक्षिणपन्थी गल्तीहरू पनि भएका छन्, आन्दोलन विभाजित र विखण्डित भएको छ एवं राष्ट्र, जनता र सामाजिक रूपान्तरणलाई आघात पनि पुगेको छ । तर पटक–पटक भुइँमा पछारिँदै, धूलो पुछ्दै र फेरि उठ्दै आन्दोलन यहाँसम्म आइपुगेको छ ।

५० को दशकमा विकसित जनताको बहुदलीय जनवाद नेपालको कम्युनिस्ट आन्दोलनमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको उत्कृष्ट दृष्टान्त थियो, जसले अत्यन्त प्रतिकूलताबीच पनि कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय, स्वीकार्य र नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न निर्णायक भूमिका खेल्यो । आफूलाई लोकतन्त्रका प्रबल हिमायतीका रूपमा स्थापित गर्न, कुशल पौडीबाजका रूपमा प्रतिकूल छालसँग खेल्न एवं समय, समाज र सिद्धान्तबीच समन्वय गर्न सकेको भएर नै नेपाली वामपन्थीहरू यी उपलब्धि हासिल गर्न सक्षम भएका हुन् ।

तर, इतिहासमा खेलिएको भूमिकाले मात्रै संस्था या व्यक्तिको सान्दर्भिकता र भविष्य निर्धारित हुँदैन । लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको ‘च्याम्पियन’ का रूपमा नेपाली कम्युनिस्ट आन्दोलनले गौरवशाली भूमिका खेलेको छ, अब उसका सामु सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिको ‘च्याम्पियन’ बन्नुपर्ने नयाँ दायित्व छ । जेल, नेल, निर्वासन, भूमिगत जीवन र सशस्त्र सङ्घर्षमा गरिएका त्याग र उत्सर्गहरूको महत्त्व आफ्नो ठाउँमा छ । तर राजतन्त्रको अन्त्यपछि जन्मेहुर्केको आजको ‘डिजिटल पुस्ता’ का लागि तीभन्दा महत्त्वपूर्ण छन्— गुणस्तरीय शिक्षा, रोजगारीका निम्ति अवसर र स्वस्थ प्रतिस्पर्धाको वातावरण, विश्वसँग लय मिलाउँदै हिँड्न सक्ने गतिशील अर्थतन्त्र, आफ्ना सपनाको निर्बन्ध उडानका लागि उन्मुक्त आकाश । यी अपेक्षा पूरा गर्न सक्दा नै आन्दोलनको सार्थकता स्थापित हुनेछ ।

सामुन्ने चुनौतीका पहाड पनि छन् र अवसरको खुला मैदान पनि । वामपन्थी आन्दोलनका लागि मात्रै होइन, उदारवादी मूल्य, सामाजिक सुधार र औपचारिक लोकतन्त्रका लागि समेत स्पेस साँघुरिन थालेको विश्वसन्दर्भ छ । विश्वव्यापीकरणको हिजोको ढाँचा विकासशील देशका लागि धेरै अनुकूल थिएन । आज त त्यो पनि भत्किने हो कि भन्ने जोखिम बढेको छ । ‘मै पहिलो’ भन्ने शक्तिराष्ट्रहरूका अहंका अगाडि विकासशील देशका लागि चाहिने अन्तर्राष्ट्रिय सहयोग र अनुकूल प्रणाली–अनुबन्धहरू सङ्कुचित हुँदै गएका छन् ।

उत्पादनको पद्धतिमा आएको परिवर्तन र तीव्र रूपमा विस्तारित हुँदै गएको प्रविधिको विकाससँगै विदेशी श्रम बजारमा आधारित हाम्रो अर्थतन्त्रमा दबाब थपिँदै छ । वर्षौर्कों द्वन्द्व, अस्थिरता, सङ्क्रमण र भ्रष्टताले थिलथिलो पारेको समाजमा सुशासन, श्रमप्रतिको आस्था र उत्पादनशीलता बढाउन चुनौती थपिएका छन् । अस्थिरतालाई सदाका लागि अन्त्य गर्ने, सामाजिक सद्भाव सुदृढ गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने र समाज बदल्ने सरकारको चाहना र विभिन्न समूहका स्वार्थहरू टकराउन थालेका छन् । त्यसैले घेराबन्दी सुरु भएको आभास हुँदै छ ।

युगान्तकारी राजनीतिक परिवर्तनपछि उर्लिएको जनताको आकाङ्क्षा र हाम्रो कमजोर ‘डेलिभरी क्षमता’ बीचको अन्तरविरोध टड्कारो गरी प्रकट भएको छ । विकृतिका बाछिटाहरू आन्दोलनमा पनि देखिन थालेका छन् । यति नै बेला समाजको एउटा पङ्क्ति ‘सबै उस्तै हुन्,’ ‘यहाँ केही पनि हुँदैन,’ ‘नेपाल अविकसित रहन र विदेशी हस्तक्षेप सहन अभिशप्त छ’ जस्ता सन्देश सम्प्रेषित गर्दै राष्ट्रको मनोबल खस्काउन उद्यत छ । अग्रगमन र पश्चगमन/यथास्थितिबीचको यो द्वन्द्व अस्वाभाविक होइन ।

एउटा सार्वभौम राष्ट्रका रूपमा नेपालको वास्तविक अभ्यास एवं अस्थिरतामा खेल्ने र हस्तक्षेपमा रमाउने प्रवृत्तिबीच द्वन्द्व पनि अनपेक्षित होइन । अनपेक्षित चाहिँ इतिहासले दिएको यो अभूतपूर्व अवसरसँग नसुहाउने गरी बेलाबेला प्रकट हुने हाम्रै गैरजिम्मेवार व्यवहार र अभिव्यक्ति हुन् ।

अबको तीस वर्षपछि नेपालको कम्युनिस्ट आन्दोलन सय वर्षको हुनेछ । भोलिको पुस्ताले जब यसको सान्दर्भिकताबारे सोध्नेछ, यसले लोकतान्त्रिक, शान्त, सामाजिक न्याययुक्त, सबल र समृद्ध समाजको तथ्याङ्क प्रस्तुत गर्दै भन्न सक्नुपर्छ— यसरी हामीले सामन्ती अन्धकारमा रुमलिएको नेपाललाई त्यहाँबाट यहाँसम्म ल्याउन सक्यौं ।

लेखक परराष्ट्रमन्त्री हुन् ।

प्रकाशित : श्रावण १५, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?