२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपाली पुँजीवादको रक्षार्थ 

मुराहरि पराजुली

हामीकहाँ पुँजीवाद–समाजवाद सम्बन्धी बहस एकांगी छ । समाजवादको एकोहोरो प्रशंसा गरिएको छ । अभ्यासमा ल्याउने इमानदार प्रयास गरेको पाइँदैन । पुँजीवादलाई वैचारिक प्रणालीको हिस्सा नै मानिँदैन । यसलाई केवल एउटा मानवीय अपसंस्कृतिका रूपमा बुझ्ने–बुझाउने गरिएको छ । 
नेपालमा पुँजीवादबारे छलफल समाजवादका समर्थकहरूले गर्छन् ।

नेपाली पुँजीवादको रक्षार्थ 

नेपालमा आजको मितिसम्म कसैले औपचारिक रूपमा आफूलाई पुँजीवादी घोषणा गरेको छैन । समाजवादी समर्थकहरूले पुँजीवादबारे गर्ने छलफल पूर्वाग्रहरहित नहुने कुरै छैन । उनीहरूले नेपालमा पुँजीवाद कहिले प्रवेश गर्‍यो भन्ने विषयमा छलफल गरिरहेका छन् । नेपालमा पुँजीवाद कुन चरणमा छ भनिरहेका छन् । एक थरी त नेपालमा पुँजीवाद आएकै छैन भनिरहेका छन् । उनीहरू मुख्य चासोभन्दा बाहिरका कुरा गरिरहेका छन् । यो छलफल पनि अधिकांश राजनीतिक तहमा भइरहेको छ । प्राज्ञिक क्षेत्र बेखबर जस्तै छ ।


दुःखको कुरा, संसारमा प्राज्ञिक क्षेत्रले यी विषय उठाएको थियो । पुनर्जागरण कालमा पश्चिम युरोपका दार्शनिकहरूले राजसंस्था र धार्मिक दण्डाधिकारीहरूको अधिकारलाई चुनौती दिँदै गणतन्त्र, खुला अर्थतन्त्र, प्रतिनिधिमूलक शासन प्रणाली, नागरिक स्वतन्त्रता लगायतलाई जोडले उठाएका थिए । ती विषयलाई आज हामीले पुँजीवाद–समाजवादमा विभाजन गरी विश्लेषण गरिरहेका छौं । तर यी विषय पुनर्जागरण कालभन्दा धेरै पहिलेका हुन्, मान्छेले संगठित राज्यको परिकल्पना गर्न थालेदेखिकै । एसिया, युरोप र विश्वका अन्य भूभागका विभिन्न चिन्तन परम्परामा अनेक रूपमा राज्य–नागरिक सम्बन्धबारे छलफल भएका छन् ।


विचारहरूको द्वन्द्वबाट बहुसंख्यक जनताको हित सुनिश्चित हुने गरी सार्वजनिक नीति तर्जुमा गर्न र त्यसलाई कार्यान्वयनमा ल्याउनमा हामी त्यति धेरै विश्वास गर्दैनौं । पहिलो नम्बरमा हामी अर्को विचारको अस्तित्वलाई अस्वीकार गर्छौं । दोस्रो, यदि विचारजस्तो त्यस्तो केही चीज छ भने पनि त्यसको परखै नगरी पहिल्यै ‘काम नलाग्ने हो’ भन्छौं । अझ विचारका विषयमा छलफलै गर्नुपर्दर्नै भन्नेहरू धेरै छन् । मान्छेले अब थप सोच्नुपर्दैन, विचारहरूको टुंगो उहिल्यै लागिसक्यो भन्नेहरू दायाँ र बायाँ दुवैतर्फ छन् ।


बायाँतर्फकाहरू मार्क्सवाद वैज्ञानिक हो, यसमा थप समीक्षा आवश्यक छैन भन्छन् । दायाँतर्फकाहरू रूससहित पूर्वी युरोप, चीनसहित केही एसियाली, दक्षिण अमेरिकी र केही अफ्रिकी मुलुकमा मार्क्सवाद अभ्यासमा आएर पनि असफल भइसक्यो भन्छन् र थप छलफलको आवश्यकता देख्दैनन् ।


पुँजीवादको सम्यक् समीक्षा यसको अध्ययन गरेपछि मात्रै हुन्छ, यसलाई वैचारिक प्रणालीको ‘सबैभन्दा महत्त्वपूर्ण’ विधा स्वीकार गरेपछि मात्रै हुन्छ । ‘सबैभन्दा महत्त्वपूर्ण’ भन्ने कुरै छोडौं, त्यसलाई विचारै मानिँदैन । एरिस्टोटल, बुद्ध दर्शन, हिन्दु दर्शन, क्रिस्चानिटीका पछिल्ला व्याख्याहरूमा पाइने पुँजीवादको झिल्का हामीले देखेकै छैनौं । पुनर्जागरण कालको सेरोफेरोमा युरोपमा जोन लक, एडम स्मिथ, डेभिड ह्युम जस्ता विचारकले राज्य तथा अर्थतन्त्र सञ्चालनबारे ल्याएका नयाँ उपाय र त्यसमाथि कार्ल मार्क्सले सबैभन्दा चर्को आलोचना गरेको इतिहासलाई हामी बिर्सिन्छौं ।


स्कटल्यान्डका दार्शनिक एडम स्मिथले, जसलाई अर्थशास्त्रका पिता भनेर चिनिन्छ, पहिले व्यक्तिको स्वभावबारे पुस्तक लेखेका थिए । ‘मान्छे प्रशंसा मात्रै खोज्दैन, आफूलाई प्रशंसायोग्य बनाउनका लागि प्रयास पनि गर्छ,’ उनले भनेका थिए । त्यसैले प्रशंसा पाउन अरूको हित हुने काम गर्छ । कसैले उसलाई अरूको हित हुने काम गर् भनेर निर्देशन दिनैपर्दैन ।


यसबाट समग्र समाजको कल्याणमा अभिवृद्धि हुन्छ । कम्तीमा मानवीय आर्थिक कारोबारमा एडम स्मिथले राज्यको आवश्यकता देखेका थिएनन् । मूलतः मान्छे आफ्नो आर्थिक हितलाई अधिकतम बनाउन सक्षम छ । उसले अरूको हानि नहुने गरी आफ्नो स्वार्थ सिद्ध गर्न सक्छ । यसमा कुनै अनैतिकता नभएको उनको जिकिर थियो ।


एडम स्मिथको यस्तो जिकिरलाई कार्ल मार्क्सले गलत भने । उनले त्यसलाई ‘पुँजीवादी उत्पादन विधि’ को संज्ञा दिए । त्यसैलाई हाम्रा धेरै बुद्धिजीवीले पुँजीवाद भनिरहेका छन् । पुँजीवादका समर्थकहरूले ‘पुँजीवाद यो हो’ भनेर लेखेका पुस्तक पढ्नेलाई हातका औंलामा गन्न सकिन्छ । नत्र मार्क्सले भनेजस्तै आदिम साम्यवाद, सामन्तवाद, पुँजीवाद र आधुनिक साम्यवादको यात्रामा हामी कहाँ आइपुग्यौं भनेर छलफल हुने थिएन । समाजवादीहरूसँग समाजको यात्रालाई हेर्ने एउटै मात्र मार्क्सवादी चस्मा छ ।


एक छिनलाई समाजवादीले भनेकै अर्थमा पुँजीवाद एउटा स्वार्थप्रेरित अपसंस्कृति हो भन्ने मानौं । अनि हेरौं, हाम्रा राजनीतिकर्मी, प्रशासक र हाम्रा वरपरका मान्छेहरूको व्यवहार । हाम्रा राजनीतिकर्मी वा प्रशासकले कुनै निर्णय वा काम गर्दा ‘यसबाट मैले के पाउँछु’ भन्ने सोच्दैनन् ? आफ्नै र टोलछिमेकमा हुने गतिविधिमा यो प्रश्न आउँदैन र ? हाम्रो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कुन व्यवहारमा यो प्रश्न छुटेको हुन्छ ?


यसको उत्तर पुँजीवाद हो भने हामी सबै पुँजीवादी हौं । अब प्रश्न हामी कुन मात्रा र कुन रूपका पुँजीवादी हौं भन्ने हुन्छ, ‘कहिले पुँजीवाद’ भन्ने हुँदैन । हामीकहाँ कुन मात्रा र रूपको पुँजीवाद छ, त्यसलाई सच्याउन के गर्न सकिन्छ भन्ने प्रश्नमा ध्यानकेन्द्रित गर्ने हो भने हामी राम्रा सार्वजनिक नीति तर्जुमा र कार्यान्वयन गर्न सक्छौं । त्याग, बलिदान, समर्पण, सहादतलाई जोड दियौं भने त्यसले समाजको कुल सम्पत्ति र खुसीलाई घटाउँछ ।


शत्रु र मित्रशक्ति भनेर विभाजनलाई प्रोत्साहित गर्‍यौं, ‘तिमीभन्दा त्यो धनी छ’ भनेर ईर्ष्यालाई मलजल गर्‍यौं भने द्वन्द्व बढ्छ । पुँजीवादमा धनी बन्न सकिने एउटै उपाय हो— बिनाबलप्रयोग अरूलाई खुसी पारेर आफ्नो हित अधिकतम हुने गरी विनिमय गर्नु । यस्तो विनिमयमा दोस्रो पक्षले आफू ठगिएको अनुभव गर्दैन । वैचारिक तहमा यसमा कहाँनेर खोट छ ?


‘यो त सैद्धान्तिक कुरा भयो, व्यवहारको कुरा गरौं न’ भन्ने हो भने कुन वादलाई अँगाल्दा संसारले के पायो, के गुमायो भनी हेर्नुपर्छ । संसारको सर्वांगीण विकास कुन विचार पद्धतिलाई पछ्याउँदा भएको छ ? मान्छेलाई गरिबीबाट पार लाउने विचार कुन हो ? कुन विचारले संसारमै धेरै मानवीय क्षति भएको छ ? यो केलाउन इतिहासको अध्ययन गर्न सकिन्छ ।


एउटा विचारको मुखुन्डो पहिरिएर अर्को व्यवहार गर्ने तरिकालाई बदल्नुपर्छ । पुँजीवाद पूर्ण नहोला, नराम्रो होइन । चर्चिलले भन्ने गरेको संसदीय व्यवस्थाजस्तो मानवीय हितका लागि पुँजीवाद सबैभन्दा खराब विकल्प होला, तर योभन्दा राम्रो विकल्प अर्को देखा परेको छैन । आफूलाई पुँजीवादी घोषणा गर्न लज्जित हुनुपर्दैन । यो कसैले आफूलाई समाजवादी भन्दा जति गौरवान्वित अनुभव गर्छ, त्योभन्दा बढी गर्व गर्न सकिने सुन्दर विचार हो ।

यो अनैतिक होइन । आयन रान्डका अनुसार, आफ्नो स्वार्थका लागि अरूको घाँटी काट्दा वा अरूको हितमा आफ्नो घाँटी काट्दा काटिने घाँटी नै हुन्छ । घाँटी काट्नु मानवीय नैतिकताभित्र पर्दैन । पुँजीवादले घाँटी काट्ने लगायतका त्यागको कुरा गर्दैन, बरु उत्पादन, निर्माण र विनिमयको कुरा गर्छ । सम्पत्ति सिर्जना गर्ने कुरा हो, अर्काको खोसेर संसार धनी हुँदैन । ‘क’ ले ‘ख’ लाई दिएर मूल्य बढ्दैन । ‘क’ र ‘ख’ दुवै मूल्य सिर्जना गर्न सक्षम हुन्छन् । दुवैले सिर्जित मूल्यलाई आफ्नो हित अधिकतम हुने गरी विनिमय गर्छन् ।


सम्पत्ति सिर्जना गरेर हामी आफै र एकले अर्कोलाई धनी बनाइरहेका हुन्छौं । यसैले हामीले आफैलाई सिर्जनशील प्राणी हौं भन्न लजाउनुपर्दैन । हाम्रो सोच र शैलीले यसलाई खारेज गर्न सक्दैन । हामी यसलाई खुलेर स्वीकार गर्न डराएका छौं ।

प्रकाशित : श्रावण १४, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?