२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जातीय श्रेष्ठताको दम्भ

पञ्चायती
आहुति

पूर्वकम्युनिस्ट तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पत्रिकामा हालै ‘को आदिवासी ? को खस–आर्य ?’ शीर्षक लेख छपाए, जसको मुख्य कसरत भने खस–आर्य जातिको श्रेष्ठता प्रमाणित गर्नमा केन्द्रित छ । त्यो बाबुराम भट्टराई व्यक्तिबाट लेखिए पनि हिजोदेखि आजसम्मका हिन्दु उच्च जातबाट विकसित नकारात्मक सत्ताधारीहरूको मुख्य वैचारिक सत्त्व व्यक्त भएकाले त्यसबारे गम्भीर मन्थन जरुरी छ ।

जातीय श्रेष्ठताको दम्भ

भट्टराईको विचारको सार छ— खस–आर्य चलायमान र संघर्षशील थिए, फौजी कौशलमा श्रेष्ठ थिए, सांस्कृतिक–भाषिक हिसाबले श्रेष्ठ थिए, ज्ञान उत्पादनमा पनि श्रेष्ठ थिए । त्यसैले प्रभुत्व विस्तार गर्नसके । अरू जातिभन्दा श्रेष्ठ भएकाले उनीहरू शासक हुनु र अरूमाथि विगतमा उत्पीडन गर्नु स्वाभाविक थियो । सबैभन्दा अगुवा जाति भएकाले भविष्यको नेतृत्व पनि खस–आर्यले नै गर्नुपर्छ ।


उक्त लेख पढेका भए उनको पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठहरूलाई कस्तो लाग्यो होला ? किनकि लेखले त उनीहरूलाई हाकाहाकी भन्छ— तिमीहरूको जाति नालायक थियो, तब नै पछि पर्‍यो । अब पनि तिमीहरू त सहयोगी मात्र बन्न सक्छौ, किनकि तिमीहरू अगुवा जातिबाट आएका होइनौ । भट्टराईद्वारा व्यक्त जातीय श्रेष्ठता सम्बन्धी विचार आजसम्मको मानव इतिहास, समाजशास्त्र र राजनीतिक विज्ञानको कसीमा खरो उत्रिन्छ ?


नेपालको संविधानमा भनिएको खस–आर्य जाति निश्चित राजनीतिक तथा प्राविधिक आवश्यकताका कारण तोकिएको समूह मात्र हो, त्यो पहाडिया हिन्दु उच्च जातहरू अर्थात् बाहुन, क्षत्री र संन्यासी जातको समूह हो । पहाडको दलित र दलितको अवस्थालाई अलग गरेर खस–आर्यको न समाजशास्त्रीय परिभाषा पूर्ण हुन्छ, न त खस–आर्य राष्ट्रियताको ज्ञानको प्रकृति प्रमाणित हुन्छ ।


किनभने पहाडको दलित खस–आर्य राष्ट्रियताभित्रको चालक समूह हो । अर्कातिर, मधेसी र नेवारभित्रका आर्य उत्पत्तिका जातहरू र तीमाथिको उत्पीडनलाई कटाएर पनि आर्यहरूको ज्ञान उत्पादनको सीमा प्रमाणित हुन सक्दैन । भट्टराईले लेखमा पहाडको खस–आर्य दलित र अन्य जातिभित्रको आर्य उत्पत्तिको समूहलाई कटाएर खस–आर्य जातिको चर्चा गरेका छन्, जुन समाजशास्त्रीय दृष्टिले गलत छ । यस सन्दर्भमा अन्यत्र छलफल आवश्यक छ ।


अर्को कुरा, खस–आर्य जातिलाई अरूभन्दा अब्बल र अगुवा प्रमाणित गर्ने लालसामा खस–आर्य जातिबाट विकसित शासक वर्गले गरेका अपराधको भारी सिंगै खस–आर्य जातिले बोक्नुपर्ने बाध्यता सिर्जना गर्न भट्टराई उद्यत भएका छन् । खस–आर्य जातिका शासक वर्गले गरेका अपराधको भारी खस–आर्यभित्रको दलितले किन बोक्ने ?


न्यायप्रेमी तथा वर्गीय रूपमा उत्पीडित खस–आर्य आम जनताले किन बोक्ने ? खस–आर्य जाति उत्पीडकका रूपमा रह्यो भन्नुको मुख्य अर्थ त त्यस जातिबाट आएका शोषक र शासक वर्गले उत्पीडन गरे भनेको हो । त्यस जातिका शोषित जनताले पनि उत्पीडनको केही लाभांश पाए नै, तर त्यो सहायक पक्ष मात्र हो । यति गम्भीर विषयलाई भट्टराईले छोपछाप पारिदिएका छन् । जातिको भूमिकाबारे मूल्यांकन गर्दा जातिभित्रको शोषक एवं शासक वर्ग र त्यसभित्रको शोषित वर्ग र न्यायप्रेमी जमातको भूमिकालाई अलग नगरी न्याय हुनै सक्दैन ।


संसारमा कुनै पनि मानव समूह चलायमान नभइन्जेल त्यो राष्ट्र (नेसन) वा राष्ट्रियता (नेसनालिटी) का रूपमा अगाडि नै आइपुगेको पाइन्न । किनकि त्योभन्दा अगाडिको अवस्था कबिलाई (ट्राइबल) हुन्छ । कबिलाई मानवको मुख्य ध्यान जीविकामा हुन्छ । तर राष्ट्रोन्मुख मानव समूहको ध्यान सांस्कृतिक प्रगतिमा हुन्छ ।


जाति र राष्ट्रियताका रूपमा स्थापित मानव समूहसँग आफ्नो जातिलाई अगाडि बढाउने आधारभूत ज्ञान हुन्छ, नत्र त्यस अवस्थासम्म पुग्न सम्भवै हुन्न । कुनै विषयमा कसैसँग बढी र कसैसँग कम ज्ञान हुनु भने स्वाभाविक हो । युरोपबाट सिन्धुघाटी आइपुगेका आर्यसँग पशुपालनको ज्ञान थियो । कृषिको ज्ञान भने हडप्पा र मोहेन्जोदारो सभ्यताका निर्माता द्रविड र आष्ट्रिक जातिसँग थियो । कुन ज्ञान श्रेष्ठ हो, दाँज्न मिल्छ ?


फ्रान्सको जाति त्यही हो, जो नेपोलियनको नेतृत्वमा युरोपमा हावी भयो, तर हिटलरको उदयपछि घुँडा टेक्यो । चङ्गेज खाँले भीषण आक्रामकता देखाए, तर त्यही मंगोलियन चीन र हिन्दचीनको सभ्यता युरोपियन अफिममा लट्ठिए पनि । आज फेरि चीन विश्व महाशक्ति बन्न पुगेको छ । दासका रूपमा बोल्ने पशु ठानिएका अफ्रिकन निग्रोहरू क्रमशः आज प्रतिभावान् बनेर अगाडि आउँदै छन् ।


कुनै जाति वा मानव समूह अगाडि आउनुमा त्यस जातिको जातीय श्रेष्ठता होइन, बरु त्यति बेलाको समग्र परिस्थिति र त्यस समाजको नेतृत्व गर्ने व्यक्तिहरूको प्रतिभा, क्षमता र समर्पणले नै निर्णायक भूमिका खेल्ने यथार्थ इतिहाससिद्ध छ, जुन जातीय श्रेष्ठताको विषय नै होइन । बाबुराम भट्टराई जातीय श्रेष्ठताका कारण आजको स्थितिमा पुगेका हुन् ? त्यसो भए गोरखाकै गरिब भट्टराई बाहुनचाहिँ के कारणले उनीभन्दा पछाडि छन् ?


युरोपमा निर्मित आर्य जाति खेतीपातीको ज्ञानमा कमजोर थियो । गंगा मैदान पुगेपछि उसले आयुर्वेद, ज्योतिषशास्त्र र योगशास्त्रको विकास गर्‍यो । औषधिशास्त्र, ज्योतिष विज्ञान र शारीरिक तन्दुरुस्तीबारे त कम–बेसी संसारका सबै जातिको संस्कृति थियो नै । आर्य जातिले आफैभित्र हजार उचनीच हुने र सबैभन्दा श्रमजीवी वर्गलाई अछूत बनाउने ज्ञान उत्पादन गर्‍यो । महिलालाई दान गर्ने ज्ञान अघि बढायो ।


गंगा मैदानमा आर्यले उत्पादन गरेको ज्ञानको सीमा त आजको विश्वमा दक्षिण एसिया प्रगतिको भर्‍याङमा कहाँनेर उभिएको छ भन्ने यथार्थबाटै छर्लङ्ग हुन्न र ? इरानी आक्रमणकारीहरूको सामना गर्न नसकेर नेपालको पश्चिम पहाडमा आएका वैदिक आर्यहरूले आफ्नै ज्ञान र प्रतिभाले अघि बढेका खसहरूलाई जात व्यवस्थामा ढालेपछि चाहिँ अन्य जातिभन्दा अब्बल ठहरिने गरी कुन विशिष्ट ज्ञान उत्पादन गरेका हुन् ? श्रमिक र महिलामाथि लुट, जातका आधारमा अत्याचार र सकेजति मोज, यत्ति न हो मूल रूपमा गरेको !


खस–आर्य जातिसँग अरूमा जस्तै आफ्नो सभ्यतालाई जसोतसो अघि बढाउने ज्ञान त थियो नै, तर अरूभन्दा अब्बल केही देखिँदैन । भाषा थियो, तर लिखित साहित्य थिएन, मौलिक लिपि पनि थिएन । विज्ञान–प्रविधिमा अरू जातिलाई उछिन्ने गुणात्मक प्रगति थिएन । ललितकलामा त झन् अरू जातिभन्दा कमजोर थियो ।


आजको नेपालभित्र खस–आर्यले निर्माण गरेको कुनै नगर पनि थिएन । सारमा बुझ्नुपर्दा, खस–आर्यले अरूभन्दा अब्बल भएकाले नेपालको नेतृत्व गर्न सके भन्ने निष्कर्ष तथ्यसंगत होइन । जसरी नेपोलियनको विजययात्राको मुख्य कारण फ्रेन्च जातिको विशेषतामा आधारित थिएन, त्यसै गरी नेपोलियनको हारको कारण पनि फ्रेन्च जातिको जातीय गुणमा खोज्न मिल्दैन । नेपोलियनको जितहारको कारण त त्यति बेलाको विश्वपरिस्थिति, नेपोलियनले बोकेको विचार राजनीति, युद्ध रणनीति र नियमित आकस्मिकताहरूमा खोज्नुपर्ने हुन्छ ।


नेपालमा खस–आर्यको विजय र अरू जातिको पराजय पनि पृथ्वीनारायण शाह हुर्केको जातिको गुणमा खोज्नु सर्वथा जातिवादी दृष्टिकोण हो, जसले नेपालका अन्य जाति र राष्ट्रियतालाई कमसल देख्ने धृष्टता गर्छ, जुन सर्वथा गलत हो । यथार्थ त के हो भने, तत्कालीन परिस्थितिमा खस–आर्यभित्रको पृथ्वीनारायण शाहवाला जमातको रणनीति सफल भएको हो । खस–आर्यको त्यो सानो तप्का सफल भएको हो । गण्डकीपारिको विशाल खस–आर्य तप्का नै असफल हुन पुगेबाट पनि, त्यो जातीय विशेषताका कारण सफलता थिएन भनेर सजिलै बुझ्न सकिन्छ ।


खस–आर्य जातिले आजको सिंगो नेपालमा शासन गर्न थालेपछि मधेस, जनजाति, दलित, आदि–इत्यादिमाथि दुई सय पचास वर्षदेखि आर्थिक, राजनीतिक र सांस्कृतिक उत्पीडन भयो । खस–आर्यभित्रकै केन्द्रीय शासनसँग असहमति राख्ने क्षेत्र र तल्लो वर्गमाथि उत्पीडन भयो । नेपाल देशप्रति जति राष्ट्रघात भएको छ, त्यसको मुख्य नेतृत्व खस–आर्यभित्रबाट विकसित शासकले गरेका छन् ।


आजसम्म खस–आर्यबाट विकसित राजनीतिक–प्रशासनिक नेताले नै देश चलाउँदै आए । तब देश कहाँ पुग्यो ? नेपाल यथार्थमा भिखारी शासकहरूले सञ्चालन गरेको देश बन्न पुग्यो । यो देशको सम्पूर्ण असफलताको जिम्मा खस–आर्यबाट विकसित राजनीतिक–प्रशासनिक नेता डफ्फाले लिनुपर्ने हुन्छ । तब भट्टराईले भनेजस्तो, खस–आर्य अगुवा जाति कसरी हुन्छ ? खस–आर्य जाति शासक त भयो, तर अगुवा हुन सकेन । अगुवा त्यो हो, जसले आफू मरेर पनि समाजलाई अघि बढाउँछ । शासक त्यो हो, जसले आफ्नो स्वार्थका निम्ति समाजकै बलि दिन्छ ।


इतिहासमा कुनै जाति र राष्ट्रियतामाथि एकाध सय वर्ष राजनीतिक, आर्थिक र सांस्कृतिक उत्पीडन लादेपछि त्यो उत्पीडनमा परेको जातिले धेरै कुरा गुमाउन पुग्छ । त्यसपछि उत्पीडकहरूले त्यो जाति नै कमसल भनी चित्रण गर्छन् । उपनिवेशवाद वा जातीय अहंकारवादको तर्क निर्माणको प्रक्रिया यही हो । भट्टराईले यही बासी विधि उक्त लेखमा प्रयोग गरेका छन् । यस्तो गलत विधिको लासमाथि उभिएर अझै उनले खस–आर्य जातिले नै नेतृत्व लिनुपर्ने जुन तर्कना अघि सारेका छन्, त्यो वास्तवमा क्षोभ गर्नलायक छ ।


हो, खस–आर्यभित्रबाट पनि ठीक काम गर्न बढीभन्दा बढी मानिस अगाडि आउनुपर्छ । तर उनीहरू कम हुँदाचाहिँ अरू सत्तरी प्रतिशत नेपालीबीचबाट अगाडि आउनेहरूले नेपाली समाजको नेतृत्व लिनै नसक्ने र लिनै नहुने हो ? वास्तवमा आजको हिन्दु उच्च जातवादी दलाल पुँजीपति वर्गीय शासक वर्गले व्यक्त नगरीकन कार्यान्वयन गरिरहेको कथित जातीय श्रेष्ठताको अघोषित रणनीति बाबुराम भट्टराईमार्फत चुहिन पुगेको छ । त्यसका निम्ति भट्टराई धन्यवादका पात्र हुन् । तर यो निकै गम्भीर र खतरनाक भविष्ययात्राको उद्घाटन हो ।

प्रकाशित : श्रावण १३, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?