भलिबल संघलाई खुलापत्र

सुषमा थापा

आदरणीय भलिबल संघका पदाधिकारीज्यूहरू, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबल छनोट समितिको पदाधिकारीज्यूहरू, यस छनोट प्रक्रियालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट आफ्नो प्रभावमा पार्नुहुने महानुभावहरू, तपाई कतिले मलाई चिन्नुहुन्छ, कति मभन्दा सिनियर हुनुहुन्छ, कति मसँगै भलिबल खेलेको हुनुहुन्छ होला, कति मभन्दा जुनियर पनि हुनुहोला ।

म पनि यही घरको धेरै सदस्यमध्ये एक हुँ, जहाँ मैले जीवनको झन्डै दुई दशक उर्वरशील उमेर खर्च गरेँ । स्कुल, कलेज, जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टिममा पुगेँ । सन् १९९९ मा नेपालमा सम्पन्न आठौं साफ खेलकुद अन्तर्गत महिला भलिबलमा पहिलोपटक कास्यपदक जित्यौं, भलिबलको इतिहासमा यो पहिलो अन्तर्राष्ट्रिय पदक थियो, म त्यही टिमको क्याप्टेन हुँ ।


म सिधै विषय–वस्तुतर्फ लग्छु— मेरो चासो र गुनासो यस पटकको महिला भलिबल छनोट प्रक्रियामा हो । टिममा खेल्दै आएका कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ लगायत नेविका चौधरी, कोपिला उप्रेती आदि सिनियर खेलाडीहरू २५ सदस्यको प्रारम्भिक छनोटमा नै परेनन् । भट्ट हेर्दा र सुन्दा लाग्यो, यस्ता खेलाडीहरूलाई चुनौती दिनसक्ने अझै राम्रा खेलाडीहरू आएका रहेछन् । तर अफशोच, वास्तविकता अर्कै रहेछ, राम्रालाई भन्दा हाम्रालाई छानिएछ ।


अझ यी खेलाडीहरूको पीडा सामाजिक सञ्जालहरूमा र व्यक्तिगत रूपमा सुन्दा र हेर्दा म पनि बिचलित भएकी छु । के प्रक्रिया मापदण्ड र आधार थियो, जहाँ यी खेलाडीहरू अट्न सकेनन् ? आम नेपाली खेलप्रेमीको हैसियतले यसको जिम्मेवारीपूर्वक जवाफ हामी सबैले पाउनुपर्छ । यो विवादास्पद छनोट प्रक्रियाले भविष्यमा सचेत हुने संकेत देओस् या नदेओस्, तर पनि उनीहरूप्रतिको यो अपमानजनक व्यवहारबारे बोल्नु मैले आफ्नो धर्म ठानेकी छु ।


तपार्ईंहरूलाई लाग्ला— विदेशिएको मान्छेलाई किन टाउको दुख्यो ? तर म झन्डै २ दशक खेलकुदमा बिताएकी खेलाडी हुँ । उनीहरूलाई आवश्यक पर्दा सहयोग पनि गरेकी मान्छे हुँ । यी खेलाडीहरूको पीडाले मलाई पनि दुखायो । अपमानले मलाई पनि लज्जित बनायो । म मौन रहन सकिनँ । विदेशमै रहे पनि खेलप्रेमीका प्रश्नको झटारोले मलाई पनि हानिरहेको छ । किनकि म पनि त्यही बारीकी हुँ ।


तपाईंहरूले भन्नु भएछ— उमेर बढी भयो, नयाँ खेलाडीलाई पनि अवसर दिनुपर्‍यो, कोहीलाई ढाडको समस्या आदि–इत्यादि । यस्तो कुरा त बुँदागत रूपमा छनोट समितिको मापदण्डमा हुनुपर्‍यो नि । सुरुमै उमेरको हदबन्दी २० या २५ वर्ष ननाघेको, शारीरिक समस्या नभएको, उचाइमा यही हुनुपर्ने भनेको भए स्पष्ट हुन्थ्यो ।


आज यी खेलाडीहरू भन्छन्, यो मौखित मापदण्ड त यिनीहरूमा मात्र लागू भएछ । इतिहास पल्टाएर हेर्नुस्, भरत शाहले पुरुष भलिबल टिमको कप्तानी कति वर्षको उमेरसम्म सम्हालेका थिए ? भलै महिला र पुरुषको उमेर शारीरिक क्षमता बराबर नहोला । आठौं साफको बन्द प्रशिक्षणमा रहँदा ढाडको अपरेसन गरेकी टिना चौधरी टिमबाट निकालिएकी थिइन् र ?


म पनि भन्छु, नयाँ खेलाडीलाई अवसर दिनुपर्छ । पुराना खेलाडीलाई चुनौती दिएर मैदानमा हराएर, शारीरिक क्षमतामा जितेर भलिबलका हरेक कला, सीप र दक्षतामा सिनियर खेलाडीभन्दा अब्बल बन्ने/बनाउने वातावरण बन्नुपर्छ । तर खोइ २० वर्षसम्म अर्को विनिता बुढाथोकी जन्माउनसकेको ? १५ वर्षसम्म मञ्जु गुरुङको विकल्प खोजिएको ? भोलि महिला भलिबलले कास्यपदक जित्यो भनेर त्यति धेरै गर्व नगर्नु होला । यो त हामीहरूले आजभन्दा २० वर्ष अगाडि नै जितेका थियौं ।


आज देशमा गणतन्त्रको अभ्यास हुँदैछ । नयाँ युगको सुरुवात भएको छ । परीक्षार्थीले चाहेको खण्डमा कुन विषयमा कति नम्बर आयो भनेर हेर्न पाउने अधिकार छ, आज । यही प्रश्नको जवाफ विनिता, मञ्जु, नेविका, कोपिला लगायत खेलाडीहरूले खोजिरहेका छन् । तपाईहरू कुर्सीमा बसेको मान्छे । तपाईहरूभन्दा माथि पनि ठूला टाउकाहरू छन् । यदाकदा कुनै परिस्थिति या प्रभावले ठूलो टाउकाहरूको तालमा लय मिलाउनुपरेकाले यस्तो अवस्था आएको हो भने तपाईहरूप्रति मेरो सहानुभूति छ । तपाईको धर्म— कम्तीमा पनि सुमधुर सुरमा ताल र लय मिलाउनुहोस्, बेसुरको तालमा होइन ।


तपाईहरूले बुझ्नैपर्ने हुन्छ, आजसम्मको भलिबलको सफल यात्रा तय गर्न यी खेलाडीहरूलाई ५/१०/१५ अनि २० औं वर्षसम्म लाग्यो । हिजोसम्म यिनीहरूलाई नेपाल टिमको खेलाडी कप्तान, उपकप्तान भनी सम्बोधन गरिन्थ्यो । आज भलिबल संघले नयाँ परिचय दिएको छ, असक्षम, अयोग्य फालिएका खेलाडीहरू ।


सिनियर खेलाडीहरूले खेलकुदमा दशक बिताएका छन्, पदक दिलाएका छन् । उनीहरूका हकका संघले सम्मानपूर्वक संन्यास घोषणाको व्यवस्थापन गर्नुपर्ने होइन र ? सबैका हकमा यो व्यावहारिक नहोला । तर कम्तीमा पनि निकै सिनियर खेलाडीहरूलाई बोलाएर यसपटक छनोट प्रक्रियाको प्राथमिकतामा धेरै नयाँ खेलाडी छन्, तिमीहरूको सम्भावना नहुन सक्छ, हामी तिमीहरूबाट सम्मानजनक संन्यास घोषणा अपेक्षा गरेका छौं, त्यसपछि मात्र छनोटमा परेका खेलाडी सार्वजनिक गर्छौं भनेको भए कसको के बिग्रन्थ्यो र ? दुबैतर्फ जित्ने अवस्था हुन्थ्यो ? सम्मानजनक अवतरण भएको भए यसले समाजमा सकारात्मक सन्देश जान्थ्यो ।


जिन्दगीभर हार नखाएका यी खेलाडीले आज पनि जितेर नै संन्यास घोषणा गर्ने थिए । र जिन्दगीभर समाजमा आफ्नो शिर उँचो बनाउने थिए आठौं साफ, महिला भलिबलकी टिम क्याप्टेन थापा हाल बेलायतमा छिन् ।

प्रकाशित : श्रावण १३, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?