१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ग्रामीण सडकले विकास होइन, विनाश

प्रकाश थापा

मोटरबाटोलाई विकासको मूल पूर्वाधारका रूपमा लिने गरिन्छ । पहाडी क्षेत्रमा मोटरबाटो (ग्रामीण सडक) ले नै कृषि, व्यापार, पर्यटन, मानव स्वास्थ्य, शिक्षा आदिको ढोका खोल्दै गाउँ–सहर असमानता हटाउन भूमिका खेल्छ । अहिले नेपालमा संघ, प्रदेश र स्थानीय तहको बजेट ग्रामीण सडक बनाई समृद्ध नेपाल निर्माण गर्ने अभिलाषामै केन्द्रित छ ।

ग्रामीण सडकले विकास होइन, विनाश

तर मोटर बाटो बनेसँगै गाउँघरतिर पहिरो र भूक्षय बढिरहेका छन् । बर्खामा नेपालका अधिकांश ग्रामीण सडक गाउँबस्तीमा पहिरोका कारक तत्त्व बन्ने गर्छन् । यसकै कारण तल्लो तटीय क्षेत्रमा पानीको गुणस्तरमा ह्रास र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव परिरहेकै छ । वातावरणीय समस्याहरू थपिँदै गएका छन् । नेपालको विशिष्ट भौगोलिक अवस्था, मनसुनमा अत्यधिक वर्षा, माटोको अस्थिरता, जमिनको कमजोर व्यवस्थापन, अत्यधिक चरिचरन, वन विनाश आदिका कारण भूक्षय बढिरहेको छ ।


सामान्यतया भूक्षय स्प्ल्यास, सिट, रिल र गल्ली गरी चार प्रकारले हुने गर्छ । कोइराला र अन्य (सन् २०१९) ले रिभाइज्डयुनिभर्सल स्वायल लस इक्वेसन (रुस्ले) मोडल बमोजिम गरेको सिट र रिल भूक्षयको अध्ययनले नेपालको औसत वार्षिक भूक्षय २५ टन प्रतिहेक्टर रहेको देखाएको छ ।


यस अनुसार, नेपालको मध्य पहाडमा अन्य क्षेत्रभन्दा बढी मात्रामा, ३८.३९ टन प्रतिहेक्टर प्रतिवर्ष, भूक्षय हुने गरेको छ । अहिलेको असारे विकासको आँकडालाई आधार मानेर यसको गहन अध्ययन गर्ने हो भने नेपालमा भूक्षयको अवस्था कहालीलाग्दो देखिन सक्छ ।


सन्दर्भको उठान

यस पंक्तिकारलाई नेपालका ग्रामीण सडक किन विनाशको कारक बन्दै छन् भन्ने सवालमा प्रा.डा. पाउलो टरोलीको कक्षाले झस्कायो । मार्च २०१९ मा पादोभा विश्वविद्यालयमा एकीकृत जलाधार व्यवस्थापन विषयको कक्षामा प्रा. पाउलो पहाडी भूगोलका ग्रामीण सडकले कसरी पहिरो र भूक्षय निम्त्याउँदै छ भन्ने पाठ पढाउँदै थिए । नेपाली भएका नाताले मलाई बीचैमा उनले यसबारे सोधे अनि भने, ‘तिम्रो देशमा ग्रामीण सडकले निम्त्याएका पहिरोका तस्बिरहरू गुगल अर्थबाट खोजेर ल्याऊ ।’


अर्को दिन कक्षामा मैले आफ्नै गाउँबस्तीमा मोटरबाटोले निम्त्याएको पहिरोका केही तस्बिर प्रस्तुत गरें । तर सन्दर्भ अर्कै रहेछ । विश्वमानचित्रमा नेपाल कसरी तीव्र भूक्षय र पहिरोको सिकार भइरहेको छ भन्ने उदाहरण बनिसकेको रहेछ । प्रा. पाउलोले नेपालको उदाहरण दिंँदै मानव क्रियाकलापबाट कसरी वातावरणमा प्रभाव परिरहेको छ भन्ने विषयलाई भूदृश्यसहित बुझाउँदै लगे ।


उनले डेढ दशकअघि नेपालको भौगर्भिक अध्ययन पनि गरेका रहेछन् । ‘जियोमर्फोलोजी’ (सन् २०१६) जर्नलमा प्रकाशित मानव क्रियाकलाप र भूआकृति सम्बन्धी लेखमा उनले नेपालको ग्रामीण सडकले निम्त्याएको पहिरोबारे उल्लेख गरेका रहेछन् । उनको यो लेखमा गुगल अर्थबाट लिइएको २००८ मा मोटरबाटो बन्नुअघि र २०१० मा मोटरबाटो बनेपछिको ग्रामीण नेपालको तस्बिर प्रस्तुत थियो ।


समस्याको जड

डोजरको अत्यधिक प्रयोग हुनु, पानीले सही निकास लिन नसक्नु, बाटो निर्माणमा उचित क्षेत्र छनोट नहुनु र भूसंरक्षणका पद्धतिको सही अवलम्बन नगर्नु नै भूक्षय तथा पहिरोका कारण बनिरहेका छन् । मोटरबाटो खन्दा हरेक वर्ष हजारौं टन माटो बगिरहेको छ । केही समययता ग्रामीण क्षेत्रमा डोजर बाटो खन्ने काममा प्रयोग हुँदै आएको छ ।


डोजरमा जनप्रतिनिधिहरूको लगानी र अनावश्यक ठाउँमा मोटरबाटोको मोहका समाचारहरू राष्ट्रिय दैनिकहरूमा आइराखेकै छन् । जे होस्, डोजरलाई अव्यवस्थित रूपमा असारे विकासमा लगाइनुले भूक्षय बढ्दो छ । दक्ष प्राविधिकको अभाव र टाठाबाठाको घरछेउ जसरी पनि बाटो पुर्‍याउनुपर्ने स्वार्थले ग्रामीण सडक निर्माणमा डोजरको उपयोग घातक बनिरहेको हो । मोटरबाटो खन्दा स्थानविशेषको पानीको पुरानो धार परिवर्तन हुने गर्छ ।


पहाडी भूगोलको भिरालो जमिनमा बाटो खन्दा एकातर्फ जमिनले पानी सोस्ने प्रक्रिया अवरुद्ध हुन्छ भने, अर्कातर्फ भूमिगत पानीको पुरानो धार र बहाव पनि बदलिन्छ । यही कारण भूक्षयको सम्भावना बढिरहेको हुन्छ । पानीले धार फेर्नु तर निकासका लागि उचित प्रबन्ध नगरिनुले भूक्षय र पहिरो निम्ताइरहेको छ । हाम्रा ग्रामीण सडक निर्माण गर्दा पानीको निकास गर्न नाली र अन्य आवश्यक संरचना निर्माण भएको आइँदैन । भएका नालीहरू पनि सफा गरिँदैनन् ।


स्थानीय स्तरमा हुने राजनीतिक दाउपेच र अनेक स्वार्थले मोटरबाटो निर्माणमा भूमिका खेलिरहेको हुन्छ । यस कारण इन्जिनियर तथा प्राविधिकहरूले तटस्थ रूपमा बाटोको उचित डिजाइन र निर्माण गर्न सक्दैनन् । कतिपय स्थानमा डोजरचालक र स्थानीय नेता–कार्यकर्ताको डिजाइनमा बाटो खन्ने गरिएको छ ।


सीमित स्वार्थका कारण खनिने बाटाहरूमा पहिरोका लागि संवेदनशील क्षेत्र, वनजंगल र खानेपानीको मुहान संरक्षणतर्फ ध्यानै दिइएको हुँदैन । फलस्वरूप दिगो विकासको अवधारणा (आर्थिक, सामाजिक र वातावरणीय पक्षको सन्तुलन) लाई नै कुल्चिने गरिन्छ । अनि प्राकृतिक स्रोत, वनजंगल र सम्पदाको दोहन हुन्छ । यसरी धेरैजसो स्थानीय स्तरमा बजेटको दुरुपयोगका साथै थुप्रै जनधनको क्षति भइराखेको छ ।


भिराला जमिनमा खनिएका बाटाहरूमा भू–संरक्षण हुन नसक्नु विनाशको अर्को कारण हो । ग्रामीण क्षेत्रमा मोटरबाटो निर्माणपछि भू–संरक्षणका लागि इन्जिनियरिङ, बायो–इन्जिनियरिङ र वृक्षरोपणका कार्य भएको पाइँदैन । यसले गर्दा असारमा बाटो खन्ने र साउन लागेपछि पहिरो झर्ने क्रम चलिरहेको छ । यिनै कारणले गर्दा नेपालमा विकासका पूर्वाधार नै विनाशको कारक बनिरहेका छन् ।


समाधान कसरी ?

स्थानीय स्तरमा डोजरको अत्यधिक प्रयोगलाई केन्द्र सरकारले निरुत्साहित गर्ने उपाय यथाशीघ्र अवलम्बन गर्नुपर्छ । ग्रामीण भेगका संवेदनशील चुचुरा, टाकुरा, प्राकृतिक सम्पदा, खानेपानीका मुहान र संरक्षित वन क्षेत्रमा मोटरबाटो निर्माणलाई निषेध नै गर्नुपर्छ । प्रारम्भिक वातावरणीय अध्ययन वा प्रभाव मूल्यांकनबिना सीमित व्यक्तिगत स्वार्थमा मोटरबाटो निर्माणलाई दण्डनीय बनाउनु जरुरी छ ।


हतारमा बाटोको ट्र्याक खोल्ने मात्र नगरी निश्चित मापदण्डका आधारमा पानीका लागि उचित नाली र उचित संरचनाको व्यवस्था गर्न आवश्यक छ । मोटरबाटो निर्माणको निश्चित प्रतिशत रकम अनिवार्य रूपमा बायो–इन्जिनियरिङ तथा वृक्षरोपणमा खर्च गर्ने नीतिगत व्यवस्था मिलाउन सके केही मात्रामा भूक्षय घट्नेछ । स्थानीय स्तरमा मोटरबाटो क्षेत्र रेखांकन र निर्माणमा बिनास्वार्थ भौगोलिक अवस्थाको अध्ययन गर्न जरुरी छ ।


अनुगमन र सुधारका लागि बहुसरोकारवालालाई अनिवार्य संलग्न गराई सहभागितात्मक ढंगले काम गर्नुपर्छ । सडक निर्माणको असारे परम्परा त्यागेर हिउँदमा बनाउने र बर्खामा चाहिँ नाली सरसफाइ अभियानलाई नीतिगत रूपमै कार्यान्वयनमा ल्याउनुपर्छ ।


अन्त्यमा,

गाउँको विकासका लागि सडक निर्माण अपरिहार्य नै छ, तर वातावरणीय पक्षलाई ख्याल नगर्ने प्रवृत्ति, सीमित स्वार्थ, क्षेत्रीय दाउपेच र दक्ष प्राविधिकको अभावले ग्रामीण क्षेत्रमा विकासको पूर्वाधार नै विनाशको कारक बन्दै छ । त्यसैले ग्रामीण सडकले निम्त्याएको विनाशलाई सूक्ष्म ढंगबाट अध्ययन–अनुसन्धान गर्नु आवश्यक छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले बजेट सक्न असारे विकास छोडी दिगो विकास अवलम्बन गर्नुपर्छ र गाउँबस्ती तथा वनजंगललाई विनाशबाट जोगाउन जागिहाल्नुपर्छ ।


लेखक इटालीको पादोभा विश्वविद्यालयमा प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर गर्दै छन् ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?